मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री


लितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भीमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताएका हुन् । 
 
प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको बताए । उनले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौँ भन्दै धार्मिक सम्पदा निर्माणमा नीजि क्षेत्रको सहयोग पनि अपरिहार्य भएको उल्लेख गरे ।  
 
प्रधानमन्त्री देउवाले स्थानीय तहलाई विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारद्वारा निर्माण भएका विकाससम्बन्धी अधिकांश काम राम्रो, छिटो र गुणस्तरीय रहेको बताए । उनले भने, “स्थानीय तहलाई नै विकासको काममा जिम्मेवारी दिन अतिआवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन । ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेका ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।”
 
प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउँदै भीमसेन मन्दिर पनि निजी क्षेत्रको सहयोगमामा निर्माण भएकाले अन्य मठमन्दिर पनि नेपाली मौलिक झल्कने खालको बनाउनुपर्नेमा जोड दिए ।  
 
ललितपुर महानगरपालिकामा प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रका धार्मिक सम्पदाको पुनःनिर्माणलाई महानगरपालिकाले तीव्रताका साथ सम्पन्न गरेको उल्लेख गर्दै स्थानीय सरकारले मुलुकको विकासलाई अगाडि बढाउन सहयोग पु¥याएको बताए ।  
 
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नीजि क्षेत्र व्यापार व्यवसायमा मात्र नभई धार्मिक सम्पदाको निर्माण गर्नुपर्दछ भन्ने मान्यता राखेको बताए । 
 
पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरको पुनःनिर्माण ललितपुर उद्योग बाणिज्य सङ्घको अगुवाइमा भएको हो र यसमा ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले २०७२ सालको भूकम्पले क्षति पुगेको मन्दिर पाँच वर्ष लगाएर पहिलेकै शैलीमा निर्माण गरिएको जानकारी दिए ।  
 
उनका अनुसार करिब रु चार करोड ९७ लाखको लागतमा निर्माण गरिएको मन्दिर महानगपालिकाले रु एक करोड, एभरेष्ट बैक र इन्भेष्टेमेन्ट बैकले रु एक÷एक करोड तथा स्थानीय श्रमदानमा निर्माण गरिएको हो । यो मन्दिर झण्डै तीन सय वर्षअघि श्रीनिवास मल्लको पालामा निर्माण भएको बताइएको छ । रासस