मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अभियान्ताहरुमा सिमित एनआरएन के आम मान्छेको संस्था बन्न सक्दैन ?

अभियान्ताहरुमा सिमित एनआरएन के आम मान्छेको संस्था बन्न सक्दैन ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- बिदेशमा बस्ने मित्रहरुले देश खत्तम भो, बर्बाद भो, बिचरा हाम्रो मुलुक भनेर आफ्नो मातृभूमिलाई सत्तोसराप गरेर सामाजिक संजालमा स्टाट्स लेख्नेहरुलाई मैले कमेन्टमा भन्ने गरेको छु, महाशयहरु गल्ती देशको होईन्, राजनीतिक दलहरुको हो, तपाईका नेता भनाउँदाहरुको हो ।
 
ठयाक्कै अहिले त्यस्तै गाली गलौज बिचरा गैरआवासीय नेपाली संघले खेपिरहेको छ । अहिले सामाजिक संजालहरु होलीको रंग जस्तै रंगिएका छन् । पक्ष र बिपक्षमा रहेका एनआरएन अभियान्ताहरु संस्था खत्तम भो, बर्बाद भो, जहाजनै ढुब्यो भन्ने ढंगले बिश्लेषण र प्रतिकृया नजिकबाट पढन पाएको छु । अधिकाशं नेपालका राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका नेता गणहरु मेरो फेसबुक प्रोफाइलमा भएका कारण त्यो अहोभाग्य मलाई प्राप्त भएको छ । म मौन ढंगले त्यो प्रतिकृया पढिरहेको छु, त्यसमा मेरो प्रतिकृया तपाईले भेट्नु हुन्न् ।
 
संस्थाका बारेमा समाजमा यसरी बिश्लेषण भईरहेको छ कि पक्षमा र बिपक्षमा लाग्नु ठूलै अपराध हो । अरे यार मित्रहरु तपाईहरुले कति छिटो भुल्नु भएको हो, हामी सबै त्यही परिवेश अनि राजनीतिक प्रशिक्षणबाट आएका हौं भनेर । एनआरएन नेता गणहरु पनि त्यही मुलको पानी पिएर आनु भएको हो, वहाँहरु कुनै छुट्टै ग्रहबाट आउनु भएको होईन भन्ने किन भुल्नु भो ? तपाई हामीलाई केपी बा, देउवा वा अन्य बाहरुलाई ज्वारो आउँदा बढ्ता टाउको यताका नेताहरुलाई दुख्छ, अनि फरक संस्कार खोजेर पाइन्छ ?
 
यो साता सामाजिक संजाल यसरी रंगिए कि, संस्थाको अधिवेशनका लागि नेपाल जाँदा लेखेका स्टाट्स समेत ब्यङ्ग्यात्मक भए । यता रहेका संचारकर्मी र अभियान्ताहरु सत्तोसराप गर्दै समय खर्चिए । उता नेपाल पुगेका अभियान्ताहरुले समेत खुलेर संस्थाका बारेमा बोल्न र लेख्न पाएनन् ।
 
केही दिन अघि नेपालका एकजना चर्चित पत्रकार अनिल गिरीले ब्यङ्ग्य गर्दै सामाजिक संजालमा स्टाट्समा लेख्छन्, एनआरएनहरुले नेपाल बनाउँछौं भन्थे, आफ्नै चुनाव गर्न सकेनन् । यो स्टाट्सले प्रष्ट प्रश्न गर्छ, प्रजातान्त्रिक प्रकृयाबाट चुनाव गर्न नसक्नेले के देश बनाउँछौं हो ? एनारन हो ? चुनावको बिषयलाई लिएर मुलुकका अर्थमन्त्रीले समेत हपारेछन्, उनले तपाईहरुबाट देशले ठूलो आशा गरेको छ, तर आफ्नै संस्था ठिक ढंगले चलाउन सक्नु भएन भने तपाईहरु माथी प्रश्न उठ्छ ।
 
अझै रमाईलो पक्ष हामी नेपाल सरकारसंग लडेर फलानो गछौं, ढिस्कानो गछौं, भन्दै खोक्ने नेताहरुसमेत प्रधानमन्त्री र मन्त्रीको पाउ मोल्न बाध्य भए । संस्थाको चुनाव र साख जोगाई दिनु पर्यो भनेर दुवै पक्षमा रहेकाहरुले गुहार माग्नुपर्ने अवस्था आयो । अब भन्नुस यि नेताले हामीलाई यो चाहियो, त्यो चाहियो भनेर माग्दा ति नेताहरुबाट के जवाफ आउला ।
 
मलाई केही बर्ष सम्म लाग्थ्यो एनआरएनका गतिविधिबारे नेपालका मुलधारका मिडियाहरुले किन स्पेस दिँदैनन्, भनेर । तर अहिले आएर प्रष्ट भो, यो स्पेस दिने बिषयनै रहेनछ । आफनै व्यक्तिगत स्वार्थमा केन्द्रित भएको जस्तो देखिने भएकाले नेपालका मिडियाहरुले भाउ नदिएका रहेछन् । नेपालको मुलधारको मिडियामा काम गर्ने एक जना पत्रकारले मलाई म्यासेन्जरमा भने, एनआरएन भनेको त्यहाँ हाली मुहाली गर्ने नेताहरुको ब्यापारमा केन्द्रित छ, उनि लेख्छन्, इष्ट अल अबाट बिजनेश । यो आम मान्छेको चासोको बिषयनै होईन् । देशको ठूलो मिडिया हाउस कान्तिपुरले एनआरएनलाई आर्थिक पेजमा मात्रै स्पेस दिँदो रहेछ भन्ने पछी आएर थाहा पाएँ । मैले म आवद्ध रहेका मुलधारका मिडियाका प्रधानसम्पादक र सम्पादकलाई पटक पटक एनआरएनका बिषयमा केही म लेख्छु नि छाप्नु हुन्छ ? भनेर सोध्दा कुनै जवाफ पाएको थिईन, कारण आज आएर प्रष्ट भो ।
 
यो साता यति ठूलो संस्थाको चुनाव केही व्यक्तिको सामाजिक संजालको प्रतिकृया बाहेक अर्को ठूलो समाचारनै बनेन् । कारण, व्यक्ति चरित्र र यस यसभित्र रहेकाहरुको इगोनै मुख्य कारण हो भन्ने पत्रकारलाई थाहा थियो । वास्तवमा भन्नु हुन्छ भने, संघ सस्था या मुलुककै चुनाव सबै भन्दा धेरै पत्रकारलाई लाग्छ । तर यस पल्ट गैरआवासीय नेपाली संघको चुनाव चार जना पत्रकारलाई पनि लागेन् । कसैले पनि चासो पूर्वक यसलाई हेर्दै, हेरेनन्, कुनै पनि उम्मेदवारको चर्चा परिचर्चा कहिँ कतै पढ्नै पाईएन् । मैले एक जना एनआरएन बारे जानकार पत्रकारलाई सोधेँ दाइ यस पल्ट मैले अलिक कम चासो राखेको छु, तपाईले कम्तीमा १५ सय शब्दको समाचार लेख्नुस न यार, आम मान्छेलाई त जानकारी दिनु पर्यो नि यहाँ के भईरहेको छ भनेर सोध्दा वहाँको उत्तर थियो १५ जना साधारण मान्छेले त्यो समाचार पढ्र्दैनन्, तपाई मलाई किन मेरो समय खर्च गर्न लगाउनु हुन्छ ।
 
मैले माथी लेखेको भूमिकाले प्रष्ट पार्छ, यस संस्थाप्रति मान्छेहरुको धारणा गलत बन्दै गईरहेको छ । अभियान्ता भनिने बाहेक अरु दुई जना मान्छेलाई पनि यस बारेमा चासोनै छैन्, भर्खरै २ या ३ जना अध्यक्ष बन्ने भन्ने सहमति भयो रे, त्यस्तै गाँइ गुँई सुनिन्छ, तर अहँ नेपालका राष्ट्रिय तथा यहाँका नेपाली अन्तर्राष्ट्रिय मिडियाहरुले वास्तवमा के सहमति भएको हो, को को अध्यक्ष भएका हुन या कार्यकाल कसरी संचालन हुने हो भन्ने बारेमा बिश्लेषणात्मक समाचार लेखेको मैले चाहीँ पढ्न पाएको छैन् ।
 
भलै संस्थामा विवाद हुँदा समाधानका लागि कहिले काहीँ डबल नेकपाको जस्तो दुई या तिन अध्यक्ष राख्दा पहाडनै खस्ने होईन तर अध्यक्ष फलानो भयो, भनेर बधाईको समाचार सम्म नबन्नु आफैमा लज्जाको बिषय होईन र । यस्तो हेलत्तो भएर संस्थामा रहनेहरुलाई कति गौरवको महशुस भयो त्यो वहाँहरुलेनै जान्ने कुरा भयो । मैले त सहमतिमा एक जना अध्यक्ष हुन्छन होला अरु संस्थाको हितका लागि सहकार्य गर्न तयार हुन्छन होला भन्ने सोचेको थिएँ तर त्यति ठूलो मुटु कसैसंग रहेनछ् ।
 
अहिले गैरआवासीय नेपाली संघप्रति प्रवासमा रहेका भूईँ मान्छेहरुको चासो कम हुँदै गएको स्विकारनै पर्छ, अब लौन सदस्य बन्नुस भन्दा लौरो हान्लान भन्ने परिस्थिति बन्दैछ । संस्थाको काम समाजमा रहेका विवादहरुलाई समाधान गरेर सबैलाई एकै मालामा गाँस्नु हो । त्यसरी गाँसिएको माला लगाएर मञ्चमा बस्दा र अध्यक्षता ग्रहण गर्दाको ठाँट कति भब्य हुँदो हो । तर अहिले बन्नु भएका अध्यक्ष तथा पदाधिकारीहरुलाई कहाँ कल्ले ब्यङ्ग्य हान्ने हो पत्तो छैन् । यस संस्थाप्रतिको चासो यसरी कम हुँदै गएको छ कि, कसैलाई यसबारेमा बोल्नुनै छैन् ।
 
यसर्थ सम्पूर्ण नेता गणहरु तथा अभियान्ता ज्यूहरु कृपया यो संस्थाको बचेखुचेको साख जोगाउनका लागि आजै, अहिल्यैदेखी लाग्नुस । भोली तपाईहरुले म फलानो संस्थाको अध्यक्ष या ठूलो मान्छे भन्दै परिचय गर्दा समाजले स्विकार गरेन भने के मजा आयो र ? माथी देखी यहाँ सम्म पढ्दा तपाईलाई पनि लाग्ला अब के ? मलाई लाग्छ, संस्था फुट्नबाट जोगिएर यो अवस्था आयो केही पनि बिग्रिएको छैन्, तर अब बढीमा ६ महिना मित्र अर्को बिशेष अधिवेशन बोलाएर नयाँ कार्यसमिति बनाई, आम मान्छेसंग माफी माग्नु भयो भने यो संस्थाको गरिमा अझै उचो हुनेछ ।
 
अन्यथा एनआरएनहरुलाई देशका मिडियाहरु र यहाँका नेपाली अन्तर्राष्ट्रिय मिडियाहरुले भाउ दिन त छाडे छाडे, आम मान्छेहरुले पनि भाउ दिने छैनन् । कुनैपनि संघ सस्था आफैमा खराब हुँदै हुँदैनन्, व्यक्तिको खराबीलाई लिएर संस्थालाई गाली गलौज नगरौं ।
 
एनआरएनए एनसीसी अमेरिकाको बोर्ड सदस्यमा उम्मेदवारी दिएकै दिन मैले एउटा प्रतिज्ञा गरेको थिएँ, एनसीसी अमेरिकाको आधिकारिक धारणा बाहेक कुनै व्यक्तिका बारेमा समाचार, टिप्पणी या सामाजिक संजालमा स्टाट्स समेत लेख्न म नैतिक रुपमा खुल्ला छैन् । र म आज पनि त्यो प्रतिज्ञामा यो कार्यसमितिको कार्यकाल भर प्रतिवद्ध रहको जानकारी गराउँदछु ।