मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

राजनीतिले दुषित पारेको एनआरएनए

राजनीतिले दुषित पारेको एनआरएनए


नब्बेको दसक वा २००० को सुरुमा हामीले सान फ्रान्सिस्को बे-एरियामा सांस्कृतिक उत्सवको रूपमा ‘काठमाडौं नाइट’ मनाउने गरेका थियौँ । हाम्रा दाजुभाइ दिदीबहिनीहरूले नोर्टेडम कलेज, बेलमन्ट क्यालिफोर्नियामा सांस्कृतिक भेलाको आनन्द लिन घण्टा-घण्टा ड्राइभ गर्थे। हामी सबै एकअर्कालाई परिवार जस्तै माया गर्थ्यौँ । पार्किङस्थलमा नेपाली बोलेको सुन्दा हामीलाई परिवारका सदस्यहरूसँग मिलन भएको अनुभूति गराउँथ्यो । हामीबाट राजनीति, जात, धर्म वा पृष्ठभूमिबारे कहिल्यै कुरा भएन ।
 
हामीले मनाउने दोस्रो पर्व  बर्कली शहरको पार्कमा हिमालयन फेयर थियो। पसलको वरिपरि नेपाली उत्पादनहरू सजावटी रूपमा झुण्डिएका देख्न सक्थ्यौं, प्रत्येक फूडस्ट्यान्डमा तातो तातो मम पाकी रहेको हुन्थ्यो , सेल रोटी, आलुको अचारका साथ सजिएका हुन्थे। हामी मध्ये धेरैले नेपालीपनको गौरबकासाथ नेपाली टोपी लगाएर देखिन्थे। हामी दिदीबहिनीहरूले रंगमञ्चमा केही सांस्कृतिक कार्यक्रम गर्थे भने हामी श्रवण नेपाली दाइले ल्याएको मदल र अन्य बाजा बजाउने गर्दथ्यौं ।
 
२००७ को आगमन सँगै, नेपाली जनसङ्ख्या सान फ्रान्सिस्को बे-एरियामा मात्र नभई संयुक्त राज्य अमेरिका भरि तीव्र रूपमा बढ्यो। यो वृद्धिले नेपाली राजनीतिक मानसिकता पनि भित्र्यायो । हाम्रा धेरै मानिसहरूले आफ्नो नेपालमा भएको राजनीतिक पृष्ठ भुमी  बारेमा कुरा गर्दै राजनीतिक घमण्ड  गर्न थाले। अधिकांश वा नेपाली कांग्रेससँग आवद्ध नेताहरू आफ्ना परिवारका सदस्य वा साथीभाइलाई भेट्न वा कोष जुटाउन नियमित अमेरिका आउन थाले। आफ्ना परिवारका सदस्यहरूलाई भेट्न जाँदा उनीहरूले ‘जनसंपर्क समिति’ बनाएर केही फोहोर राजनीतिक बीउ पनि रोपे। नेतृत्वको भूमिकामा हुनका लागि हाम्रा साथीहरूले नेपालमा केही राजनीतिक ज्याक खोज्न थाले। अन्ततः जनसंपर्क समिति विभाजित भयो, एकता भयो, विभाजित भयो, एकता भयो र धेरै कुरा भए यो अवधिमा । राम्रा कम र नराम्रा धेरै भए । एकता कम, विभाजन ज्यादा भए । जनसंपर्क समितिको विभाजित नेतृत्वलाई मध्यस्थता गर्न नेपाली नेताहरूलाइ अमेरिका आउने वहाना मिल्यो । 
 
बास्तबमा यो जनसम्पर्कमा लाग्ने साथिहरु नै एक अर्कामा पूर्वग्रह स्वरुप ब्यबहार गर्न सुरु गरे किनकि कुन ब्यक्ती कुन नेताको खेमाको हो, त्यसप्रती एक अर्कालाई सह्य हुन्न थियो र अझै सम्म पनि त्यो पन छ ।   
 
जनसंपर्क समितिले नेपाली डायस्पोराहरूद्वारा सञ्चालित स्थानीय सामाजिक संस्थाहरूलाई बिकराल प्रभाव पार्न थाले । यसले यी स्थानीय गैर राजनीतिक सामाजिक संगठनहरूको लागि नेतृत्व चयन  गर्न सबै तिकडम गर्न थाले । यदि कसैले तटस्थताको वकालत गर्यों भने, उसको आवाज ओझेलमा पर्थ्यो वा उसले पूर्ण अपमानित पराजय भोग्नु पर्थ्यो।
 
जनसंपर्क समिति संयुक्त राज्य अमेरिकाभर यसरी फैलियो कि सिंगो अमेरिकालाई नेपाल जस्तै व्यवहार गरियो। तिनीहरूले धेरै राज्यहरू वा सबै राज्यहरूमा च्याप्टरहरू गठन गरे।
 
त्यो प्रभावले अहिले अाएर अन्ततः एनआरएनएलाई पनि निल्यो। एनआरएनए विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुको संस्था हो । जसमा नेपाली भावना, नेपाली रगत र नेपालीता छ तर उनीहरुको अहिलेको पहिचानले उनीहरुलाई गैर-नेपाली बनाएको छ । NRNA मार्फत यी एनआरएनहरूले आफ्नो मातृभूमिमा आफ्नो अधिकार र स्वतन्त्रताको रक्षाको लागि आवाज उठाइरहेका छन्। सामान्यतया अधिकारहरूमा दोहोरो नागरिकता, सम्पत्तिको स्वामित्व, लगानीको सुरक्षा, भिसा र दोहोरो करसम्बन्धी मुद्दाहरू पर्दछन्।
 
NRNA  अरुका लागि कति महत्वपूर्ण हुन सक्छ थाहा छैन तर हाम्रो आफ्नै परिस्थितिले नेपाली नागरिकता त्यागेर विदेशको नागरिकता ग्रहण गरेका म जस्ता धेरै गैर नेपालीहरुका लागि  निकै महत्वपूर्ण छ । अरु देशको नागरिकता पाउनुको अर्थ हामीले आफ्नो रगत, छाला र मस्तिष्क सबै पखालेको पटक्कै हैन। यो बुझ्न जरुरी छ कि बाख्रालाई रङ्ग लगाएर भेडा बनाउन सकिन्न।
 
तर एनआरएनएका यी वास्तविक एजेन्डाहरूलाई राजनीतिक निहित स्वार्थमा परिणत गरिएको छ। यस समयसम्म, हाम्रा पहिलो पुस्ताका नेपालीहरू आर्थिक र शैक्षिक रूपमा एक पाइला माथि बढेका छन्। तर, हामीले आफूलाई धेरै तरिकामा अपग्रेड गर्न सकेनौं: लोकतन्त्र, प्रणाली, संस्कृति, फेसन, खाना, बिदा, जीवनस्तर र अन्य धेरै। हामीले त्यही पुरानो नेपाली फोहोरी राजनीतिलाई अमेरिका र अन्य धेरै देशहरूमा ल्याएका छौं। नेपालको लोकतन्त्र साँच्चै जवान छ र हामीले यसलाई गलत तरिकाले अभ्यास वा उपभोग प्रयोग गर्यौं । नेपालका धेरै निर्वाचन क्षेत्रमा दबाब, धम्की, धोका र पैसाको माध्यमबाट चुनाव तय हुन्छ । एनआरएनएको निर्वाचन पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस्तै भइरहेको छ । खैर, त्यहाँ कुनै डर वा भय तत्व छैन तर त्यहाँ प्रलोभन, भ्रामक र पैसाको मामला समावेश छ।
 
यी सबै देख्दा मलाई तत्कालै अमेरिकी राष्ट्रपति चेस्टर ए आर्थरले हस्ताक्षर गरेको १८८२ को चिनियाँ बहिष्करण ऐन (Chinese Exclusionary Act) समझना आयो। संयुक्त राज्य अमेरिकामा दास प्रथा उन्मूलन हुनेबित्तिकै याहा सडक, रेल मार्ग र विभिन्न निर्माण परियोजनाका लागि सरकारलाई धेरै कामदारको आवश्यकता पर्यो। त्यसैले सरकारले ती रिक्त पदहरू पूरा गर्न धेरै चिनियाँ ल्यायो। तर, चिनियाँसँगको समस्या आत्मसात गर्नु थियो (problem of assimilation):  भाषा न सिक्नु, अमेरिकी संस्कृतिलाई नअपनाउनु, अमेरिकी प्रणालीमा संलग्न नहुनु र अमेरिकी खाना नखानु। Maine का एक सिनेटरले भनेका थिए ‘म रोटीखाने मान्छे हुँ, म भात खाने होइन।’ यस्को मतलब हामीले गरेजस्तै तिमीहरु पनि गर वा यस्का धेरै व्याख्याहरु आउन सक्छन।
 
हाम्रो जनसङ्ख्या तत्कालीन चिनियाँ जनसङ्ख्यासँग तुलना गर्न  सकिन्न। यद्यपि, यदि हामीले प्रतिव्यक्ति अन्तर्गत हाम्रो जनसंख्यालाई तुलना गर्ने हो भने, हामी तिनीहरूको संख्या भन्दा बढी हुन सक्छौं। र, यदि यी अमेरिकीहरूले हाम्रो तिकडम बुझे भने हामीसँग आत्मसातको समस्या छ भन्ने पनि बुझ्दछन । हामीले यहाँ राजनीतिक लन्ड्री ल्याएका छौं भन्ने पनि उनीहरूले देख्नेछन्।
 
हाम्रो सानो जनसङ्ख्या नेपाली राजनीतिक दलको नाममा लडिरहेको छ । तर, हामीमध्ये अधिकांशले नेपालमा मतदानको अधिकार त्यागिसकेका छौँ । जसको अर्थ हामीले राहदानी उपलब्ध गराउने देशप्रति वफादार रहने शपथ लिएका छौं । यो संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा वा अरू धेरै हुन सक्छ। बाह्य मुलुकमा बसी यस्तो राजनीतिक गतिबिधी गरी अझै पनि नेपालको फोहोरी राजनीतिलाई एनआरएनए जस्तो सामाजिक संस्थाहरूमा ल्यायौं भने हाम्रा दोस्रो पुस्ताले हाम्रो संस्कृति, जरा, भाषा, परम्परा, भेषभूषा, धर्म, खानपिन र नेपालमा रहेका आफन्तहरूलाई बिर्सनेछन् । यस संस्थाको माध्यमबाट हामीले नेपाल र हामी अहिले जहाँ छौँ, बीचको दूरी कम गर्नुपर्छ ।
 
साथै एनआरएनएको व्यक्तिगत मामिलामा राजनीतिक दलहरूले अवरोध वा हस्तक्षेप गर्नुहुँदैन। बेलाबेलामा राजनीतिक दलका नेताहरूले प्रत्यक्ष रूपमा एनआरएनएमा संलग्न भई त्यसको नेतृत्व र नीतिलाई प्रभाव पार्ने प्रयास गर्छन्, जुन सरासर गलत हो । NRNA अन्तरराष्ट्रिय सम्मन्वय समितिमा एमालेले भात्री संगठन बनाएको छ् भन्ने पनि हल्ला उती नै छ। यदी त्यसो हो भने, त्यो झन गलत छ। जुन प्रकारले संगठनको पारीकल्पना गरियो त्यो भन्दा ठुलो भाइसक्या छ यो संगठन। यो संगठनमा चाहे कांग्रेस होस्, एमाले होस् वा अरु कुनै पार्टिका स्रस्ठाहरु हुन, लाग्नुस् तर नेपाली मन लिएर, नेपाली पन बोकेर।
 
एनआरएनएले यस्तो हस्तक्षेप बहिष्कार गर्नुपर्छ र कुनै पनि राजनीतिज्ञबाट हुने यस्तो प्रयासको सामुहिक निन्दा हुन जरूरी छ । एनआरएनएले कुनै पनि व्यक्तिले पार्टीमा राजनीतिक पोर्टफोलियो लिएर नेतृत्वको भूमिका खेल्न नपाउने गरी कानुन बनाउनुपर्छ र त्यस्तो व्यक्तिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दा राजनीतिक भाषा बोल्यो भने उसलाई बोर्डबाट निष्कासन गर्ने अधिकार हुनु पर्दछ । उसले एनआरएनको समग्र हितको प्रतिनिधित्व गर्न सक्दैन । अरु देशमा थाहा भएन तर अमेरिकामा जनसंपर्क समितीको ज्यादती NRNA मा अत्यधिक भैरहेको छ  । यसो हुँदा संगठनको अन्त्यष्टी जनसम्पर्क समितिकै कारणले गर्दा नै भएको हो र समाज भड्काउने काम तपाईंहरुले नै मात्रै गरेको हो भन्दा खासै फरक नपर्ला।
 
यतिखेर एनआरएनए अहिले बिभाजनको सँघारमा छ । जुन विश्वभर बस्ने सबै एनआरएनहरूको लागि दुर्भाग्यपूर्ण छ । किनभने तिनीहरूका मागहरू कमजोर भएका छन् । तिनीहरूको आवाज जति चर्को स्वरमा सुन्नुपर्थ्यो त्यो सुन्न सकिन्न। संगठनले आफ्नो आदर्श वाक्यलाई थप जीवन्त बनाउन अगाडि बढ्न धेरै सदस्यहरूलाई आइन्दा उप्रान्त आकर्षित गर्न सक्दैन।
 
(लेखक क्यालिफोर्निया स्थित एक्वेष्ट ल फर्मसँग सम्बद्ध हुनुहुन्छ । यो लेखले उहाँको कानुनी वकालत पेशा, फर्मको प्रतिनिधित्व गर्दैन ।)