मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

‘दशैँलाई मेरिल्याण्ड राज्यमा सांस्कृतिक चाडको मान्यता दिलाउने प्रयास निर्णायक मोडमा’

‘दशैँलाई मेरिल्याण्ड राज्यमा सांस्कृतिक चाडको मान्यता दिलाउने प्रयास निर्णायक मोडमा’


मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यमा दशैँलाई एक सांस्कृतिक चाडका रूपमा मान्यता दिलाउन गरिएको विधायिकी प्रयास निर्णायक मोडमा पुगेको मेरिल्याण्ड हाउस अफ एसेम्बेली, डिस्ट्रिक्ट–८ का डेलिगेट ह्यारी भण्डारीले विज्ञप्तिमार्फत जनाएका छन् । 
 
बुधबार साँझ मेरिल्याण्ड राज्यसभाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा विधेयक बहुमतले पारित भएर संसद्को पूर्ण बैठकमा पठाउने निर्णय भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । विधेयक दुवै दलका सांसद्को भारी मत पाएर बाइपार्टिसन विधेयकका रूपमा पारित भएको हो । समितिमा आउनुअघि विधेयक सरकार सञ्चालन उपसमितिमा सर्वसम्मतिले पारित भएको थियो । 
 
डेलकेट भण्डारीका अनुसार यो विधेयक कानुन बन्न अझै केही खुड्किलाहरु बाँकी छन् । तथापि यो विधेयक संसद्को पूर्ण बैठकमा जाँदैछ र त्यहाँ पारित भएमा यसले अर्को खड्को पार गर्ने छ । माथिल्लो सदन सिनेटमा क्रस फाइल भएको विधेयक त्यहाँ छलफल भएर पूर्ण बैठकको प्रक्रियामा छ । अब दुवै सदनको पूर्ण बैठकले पारित गरेपछि विधेयक गभर्नरकोमा जान्छ । र, गभर्नरले हस्ताक्षर गरेपछि विधेयक कानुन बन्छ । 
 
गर्भनरले हस्ताक्षर नगरे पनि संसद्को दुवै सदनमा भिटो बहुमत रहेकाले यो विधेयक कानुन बन्छ । अझ, गभर्नरले भिटो प्रहार गरे पनि अर्को संसद् सत्रमा भिटो ओभराइड गर्ने संख्या डेमोक्रेटिक पार्टीसँग हुने भएकाले सो विधेयकले मान्यता पाउने भण्डारीले जनाएका छन् ।   
 
सोे विधेयक कानुन बनेमा मेरिल्याण्ड राज्यमा दशैँ नेपालमा उत्पति भएको एक सांस्कृतिक चाडका रूपमा मान्य हुनेछ । र, हरेक वर्ष अक्टोबर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिकरूपमा ‘दशैँ डे’ मनाउँछ । यो उपलब्धि नेपाल र नेपालीले अमेरिकामा सामूहिकरूपमा हासिल गरेको अहिलेसम्मकै मानक उपलब्धि हुने र यसले अमेरिकाको नेपाली समुदायलाई ठूलो पहिचान मिल्नुका साथै प्रत्यक्ष लाभ मातृभूमि नेपाललाई प्राप्त हुने उनले विज्ञप्तिमा भनेका छन् । 
 
‘मैले यो विधेयकलाई आजको विन्दुसम्म ल्याइपु¥याउन मेरो पहिलो कार्यकालको चार वर्ष नै ठूलो विधायिकी कसरत गरेको छु’, उनले भनेका छन्, ‘एकपटक मात्र हैन, पटकपटक प्रयास गरेको छु । आप्रवासी त्यो पनि अत्यन्तै अल्पमतमा रहेको नेपालीको चाड दशैँलाई सांस्कृतिक चाडका रूपमा प्रस्तुत गर्नु र त्यसलाई डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीको समर्थनमा बाइपार्टिसन बिधेयक बनाएर यो रूपमा ल्याउनु सामान्य उपलब्धि होइन ।’ 
 
उनले विज्ञप्तिमा थपेका छन्, ‘म चुनावी वर्षमा छु । स्मरणीय कुरा के छ भने, मेरो निर्वाचन क्षेत्र ७ प्रतिशतभन्दा कम एसियन मूलका आप्रवासी रहेको क्षेत्र हो । जहाँ दक्षिण एसियालीको ज्यादै नगण्य बसोबास छ, नेपाली मतदाताको संख्या त अझ कम छ । यस्तो प्रतिकुल दृश्य हुँदाहुँदै पनि उमेदवारी घोषणा गरिसकेको मैले यो विधेयकका लागि ठूलो संघर्ष गरेको छु । तर, मैले यो सारा संघर्ष मेरो मातृभूमि नेपाल र आदरणीय नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीका लागि गरेको हुँ ।’ 
 
उनले भनेका छन्, ‘अझै पनि हामी सफलताको शिखर चुमिसकेका छैनौँ, हामीले निर्णायक खुड्किला पार गरे पनि अझै केही महत्त्वपूर्ण खुड्किला बाँकी नै छन् । मलाई आशा एवं विश्वास छ, हामी यसै सप्ताहान्तमा ती खुड्किला पार गरेर हामी शिखरमा हुनेछौँ । हामी त्यो सुखद क्षणको प्रतीक्षा गरौँ ।’