खेलकुद

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आँकलन

प्रकाशित |
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ ।
 
साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले आगामी एशियन र ओलम्पिकमा र्‍याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको प्रतिक्रिया दिए । 
 
नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ । त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, मस्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन् ।
 
नेपालका छ हजारभन्दा बढी नदीनाला रहेकामा त्यसमध्ये दोस्रो स्तरका सहायक नदीमा पनि र्‍याफ्टिङ प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिनेछ । नेपालका नदीमा सन् १९६० देखि सुरू भए पनि सन् १९९० को दशकमा नेपाल भित्रनेमध्ये २० प्रतिशतसम्म पर्यटक जलयात्रामा निस्कने गरेको तथ्यांक छ ।
 
नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीद्वारा गत फागुन अन्तिम साता त्रिशूलीमा भएको र्‍याफ्टिङमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र सचिव रेग्मी सहभागी भएसँगै साहसिक जलयात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने विषयले पुनः चर्चामा पाएको हो ।
 
सचिव रेग्मी भन्छन्, ‘त्रिशूलीमा भएको ¥याफ्टिङमा सहभागी भएसँगै हामीमा स्वामित्व ग्रहण भएको छ, आयोजक र खेलाडीमा ठूलो उत्साह देखियो, विभागीय टिममात्र होइन, व्यक्तिगत खेलाडीमा पनि प्रतिस्पर्धा गर्ने क्षमता उच्च छ, पर्यटक र साहसिक खेलकुदलाई सँगै अघि लैजानुपर्छ, यस विधामा नेपालको पदक जित्ने सम्भावना अधिक छ ।’
 
नेपालका र्‍याफ्टिङ प्रशिक्षक (गाइड)ले दक्षिण एशियामा मात्र नभई युरोप र अमेरिकामा समेत अनुभवी तथा साहसिकको परिचय बनाएका छन् । नेपालमा हाल र्‍याफ्टिङसँग सम्बन्धित संस्था ८२ को हाराहारीमा छन् भने गाइडको संख्या करिब ६०० रहेको अनुमान छ । नदीको बहाव उत्तरबाट दक्षिणतर्फ भएका कारण नेपालमा र्‍याफ्टिङ प्रतियोगिताको सम्भावना व्यापक छ ।
 
साहसिक खेलका रुपमा ¥याफ्टिङ र कायकिङलाई अब राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिता समावेश गरिने बताउँदै सचिव रेग्मीले खेलनीति र वार्षिक कार्यक्रममा यस्ता खेलका लागि बजेट विनियोजन गर्ने तथा खेल एवं खेलाडीको क्षमता विकास गर्न प्रदेश र स्थानीय तहलाई आग्रहसमेत गरिने जानकारी दिए । 
 
प्रतियोगिता र पदकको प्रचूर सम्भावना
 
नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीका अध्यक्ष गङ्गाप्रसाद नेपालले सुगमताका हिसाबले त्रिशूली र भोटेकोसी भए पनि र्‍याफ्टिङका लागि कर्णाली, सुनकोसी, तमोर विश्वका उत्कृष्ट १० भित्र पर्ने भएकाले प्रतियोगिताको प्रचूर सम्भावना रहेको बताए । 
 
तालिम प्राप्त तयारी अवस्थामा रहेकाबाहेक पनि नेपालमा नदी र ताल किनारमा रहेका माझी र बोटेलगायतका जातजातिको माछा मार्ने, डुङ्गा चलाउने र पौडी खेल्ने पुख्र्यौली पेसा रहेकाले पनि नेपालमा जलयात्राका पथप्रदर्शक अर्थात् प्रशिक्षकको संख्या प्रशस्त छ ।
 
नेपालमा प्रसस्त नदीनाला भएर पनि र्‍याफ्टिङ हालसम्म राष्ट्रिय प्रतियोगितामै पनि सामेल हुन सकेको छैन । यद्यपि एजेन्सिको अग्रसरतामा विगतमा केही वर्ष भने भोटेकोसीको सुकुटे क्षेत्रमा १८ देशका खेलाडीसमेत सामेल गराई ह्वाइट वाटर च्यालेञ्ज र्‍याफ्टिङ र कायकिङ प्रतियोगिता सञ्चालन गरिएकामा द्वन्द्व र कोभिड–१९ का कारण हाल स्थगित छ ।
 
प्रतियोगिता सञ्चालनका लागि करिब रु ३० लाख खर्च हुने तथा ¥याफ्टिङ डुङ्गाको मूल्य करिब रु १० लाख एवं एक जना मात्र बस्न मिल्ने डुङ्गा कायकिङलाई रु डेढ लाख पर्ने संस्थाका पदाधिकारीले जानकारी दिए । 
 
केही वर्षअघि विश्वको सबैभन्दा लामो २१८ किमी र्‍याफ्टिङ प्रतियोगिता सञ्चालन लक्ष्य लिएकामा कोरोनाका कारण स्थागित हुन पुगेको अध्यक्ष नेपालले बताए । संस्थाका पूर्वअध्यक्ष निम मगर भन्छन्, ‘फ्रान्स र कोरियामा गएर पनि कायकिङ प्रतियोगिता खेलेको छ, प्रत्येक दिन डुङ्गा चलाउने भएकाले हाम्रा गाइडमा लामो अनुभव छ, प्रतियोगिता जित्ने सम्भावना पनि प्रशस्त छ, बजेट विनियोजन र राष्ट्रिय प्रतियोगिता हुनुप¥यो, विजयीलाई मनोबल बढाउन एशियन र ओलम्पिकमा पठाउन प¥यो ।’
 
बागमती सफाइ अभियानको प्रचारप्रसारका लागि विगतमा सुन्दरीजलदेखि गोकर्णसम्म मिडियालाई संलग्न गराएर प्रतियोगिता हुँदै आएकामा पछिल्ला वर्षमा त्योसमेत हुन सकेको छैन । निजी क्षेत्रकै पहलमा सिन्धुपाल्चोकको बलेफीमा ¥याफ्टिङलगायत नदी खेल प्रशिक्षण केन्द्र स्थापना गरिएको छ ।
 
‘नीति र वातावरण बनाऔँ’
 
एजेन्सीका पूर्वध्यक्ष मेघ आले नेपालमा पहिलो पटक सन् २०६० को दशकमा ¥याफ्टिङ  त्रिशूलीमा भएकामा त्यसमा अमेरिकन, जर्मन, फ्रेञ्च र बेलायतीको सहभागिता रहेको जानकारी दिए । 
 
उनी भन्छन्, ‘नदी पर्यटनका लागि त्रिशूली ऐतिहासिक नदी हो, धार्मिक, पर्यटन संस्कृति र सामाजिक महत्व बोकेका नदी क्षेत्रलाई सम्पदाका रुपमा घोषणा गरी र्‍याफ्टिङ प्रतियोगिता सञ्चालनका लागि नीति र वातावरण बनाउनुपर्छ ।’  
नेपाल ¥याफ्टिङका लागि संसारकै सर्वाेत्कृष्ट गन्तव्य भएकाले ¥याफ्टिङ र कायकिङ खेल विधालाई ठीक ढङ्गबाट अघि बढाइएमा ओलम्पिकबाट नेपालले छोटो अवधिमै पदक ल्याउन सक्ने प्रशस्त सम्भावना छ । रासस
 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया