छुटाउनु भयो कि?

कपासमा डुबेका डाक्टर पराजुली

प्रकाशित |
लबक (टेक्सस) – टेक्सस राज्यको ड्यालस-फोर्टवर्थबाट उत्तर पश्चिम तर्फ अघि बढ्दै जाँदा हाइवे ८४ को दायाँबायाँ विशाल कृषि फार्महरुसँग साक्षात्कार हुन्छ । सेप्टेम्बर महिनामा पुग्ने हो भने हिउँले ढाके जस्तो गरि कपास फुलिरहेको हुन्छन् ती फार्महरुमा ।
 
त्यही फार्महरुमा कपासको अध्ययन, अनुसन्धानमा एक जना नेपालीले सारा अमेरिकनको नेतृत्व गरिरहेका छन् । विगत २१ वर्षदेखि अमेरिकाको टेक्सस राज्यमा कपास खेती विस्तार र प्रवर्धनमा निरन्तर खटिएका छन् उनी । एक हिसाबले उनको ध्यान, सोचाई, योजना बिहान उठेदेखि बेलुकी ननिदाएसम्म कपासमै बित्छ । उनको मन मस्तिष्क हरबखत कपासमै डुबिरहेको हुन्छ । 
 
नेपालको ग्रामीण दूर दराजबाट ३२ वर्ष अघि अमेरिका आएका प्रोफेसर डा. मेघनाथ पराजुली यतिखेर टेक्ससमा कपास खेतीका विश्वकोष अर्थात ‘इन्साइक्लोपेडिया’ बनेका छन् । 
 
अमेरिकाको हाइवे–२० मा जोडिएर रहेको एभिलिन सिटीबाट जति जति उत्तर तर्फ अघि बढ्यो त्यति कपासका विशाल फार्महरु देखापर्छन् । हवाईजहाजबाट तल हेर्ने हो भने गोलाकार (रोटी आकारका) फार्महरु अत्यन्तै सुन्दर देखिन्छन् । 
 
ती फार्महरुमा उत्पादकत्व वृद्धि, किसानहरुलाई सहजीकरण, अनुसन्धानको क्षेत्रमा विगत २० वर्षदेखि अनवरत लागेका छन् डा. पराजुली । ‘टेक्सस राज्यको सात लाख एकड जमिनमा कपास खेती हुँदै आएको छ । म यही कपासमा सिंचाई, माटो, मल र यसबाट निस्कने धागोको गुणस्तरको क्षेत्रमा संलग्न छु’ पराजुलीले आफ्नो भूमिकाका बारेमा संक्षिप्तमा बताए ।
 
एक एकडमा जमिनमा आठ रोपनी हुन्छ । विशाल फर्ममा गरिने कपास खेतीमा पूर्णत मेसिनमा निर्भर छ । फार्म जोत्ने, बीउ रोप्ने, औषधी मल छर्ने र अन्तिममा कपास भित्राउनेसम्मका काम मेसिनबाटै हुन्छन् । 
 
टेक्ससको उत्तर–पश्चिमी भेगमा निकै चर्को गर्मी हुन्छ । अर्ध मरुभूमि खालको जमिन छ । बलौटे रातोमाटो छ । तर यस्तै खालको जमिन राम्रो गुणस्तरको कपासको लागि उपयुक्त हुने धारणा डा. पराजुलीको छ । ‘जुन समयमा कपास बाली तयार हुन्छ, त्यो बेला हिउँ पर्योम या वर्षा भयो भने ठूलो क्षती पनि हुन्छ र गुणस्तरमा पनि र्हापस आउँछ । टेक्ससको एभिलिनदेखि अमारिलोसम्मका जग्गामा पानी कम पर्ने र कपास तयार हुने समयमा चर्को गर्मी हुने भएकोले निकै राम्रो गुणस्तरको कपास उत्पादन हुन्छ’ उनले भने । 
 
टेक्ससको सुदुर पउत्तर पश्चिममा रहेको लबक सिटीमा डा. पराजुली सपरिवार बस्छन् । टेक्सस टेक युनिभर्सिटी मा कृषि विषयको अध्ययन गराउने डा. पराजुली सन् २००१ देखि लबक बस्न थालेका हुन् । 
 
टेक्सस राज्यभरिनै ज्यादै थोरै नेपालीहरु थिए त्यतिखेर । २० वर्ष अघिको सम्झना गर्दै डा. पराजुली भन्छन्–‘जति पनि थिए अधिकांश ड्यालस या ह्युस्टन केन्द्रित थिए । लबकमा त छँदै थिएनन् भन्दा पनि हुन्छ । टेक्सस टेक युनिभर्सिटीमा अध्ययन गर्ने विद्यार्थीहरुकै वाहुल्यता थियो ।’ 
 
उनको घर नेपाल छाडेर आएका विद्यार्थीहरुका लागि न्यास्रो मेटाउने थलो बन्यो । उनले नेपाली विद्यार्थीहरुको अभिभावकको भूमिका निर्वाह गरे । ठूलो लिभिङ रुम तर्फ संकेत गर्दै उनले भने–‘दशैं, तिहार, नयाँवर्ष, तीज जस्ता नेपाली चाडबाड यही लिभिङ रुममा बसेर मनायौं । एकसय जनासम्म सहजै अटाएर चाड मनाइएको थियो ।’

ड्यालसबाट साढे तीनसय माइल टाढा रहेको लबक सिटीमा अहिले तीनसयको हाराहारीमा नेपालीहरु छन् । अधिकांश विद्यार्थीहरु छन् । पारिवारिक र रोजगारीका रुपमा भने झण्डै ४० परिवारको बसोबास यो सिटीमा छ । 
 
कृषि क्याम्पस रामपुरदेखि टेक्सस टेकसम्मः
गोरखाको दुर्गम गाउँ हर्मीमा जन्मिएर ६ वर्षको उमेर हुँदा पराजुलीको परिवार चितवन बसाई सरेको थियो । गतिलो खेतीयोग्य जमिन, पानीको सुविधा खोज्दै पराजुलीका परिवार चितवन सरेका थिए । 
 
सन् १९७९ मा एसएलसी पास गरेपछि पराजुलीको रुची कृषि अध्ययन तर्फ मोडियो । उनी कृषि क्याम्पस पक्लिहवा पुगे । त्यहाँबाट आइएस्सी (एग्री) गरे । त्यसपछि तत्कालिन युएसएडको सहयोगमा भारतको हिमाञ्चल प्रदेशमा बिएस्सी (एग्री) को अध्ययन पुरा गरे ।
 
सन् १९८७ मा बिएस्सी गरेर फर्केपछि घर नजिकैको रामपुर क्याम्पसमा अध्यापन गराउन थाले । उनले रामपुर क्याम्पसमा अध्यापन गरेका विद्यार्थी अहिले नेपालमा कृषि क्षेत्रका उच्च तहदेखि लिएर विश्वका धेरै देशमा पुगेका छन् । 
 
नेपालमा पञ्चायती व्यबस्थानै थियो । सन् १९९० को जनवरी १३ तारिकका दिन थप अध्ययनका लागि अमेरिका आइपुगे । ‘अमेरिकाको उत्तरमा रहेको विन्सकन्सिन राज्यको युनिभर्सिटी अफ विन्सकन्सिन म्याडिसन आएँ’ उनले भने । त्यहीबाट उनले पिएचडीसम्मको अध्ययन पुरा गरे । 
 
कपास खेतीमा कसरी डा. पराजुलीको प्रवेश भयो ? हिमालय खबरलाई निकै चासोको विषय थियो । उनले अध्ययन गरेको विषय कपास छँदै थिएन । पढेको विषय मकैबाली हो । अन्न भण्डारणमा लाग्ने किरालाई जैविक विधिबाट नियन्त्रण गर्ने विषय थियो । तर अमेरिका यस्तो देश हो, जहाँ गर्छु भन्ने आँट देखाएपछि विश्वास गरिन्छ । डा. पराजुलीलाई पनि अमेरिकी सरकारले पत्यायो । 
 
‘विन्सकन्सिनबाट पिएचडी सकेर टेक्ससको कलेज स्टेशनमा रहेको एएण्डएम युनिभर्सिटीमा कार्यरत थिएँ । त्यही बेला कपास खेतीका लागि प्राविधिक आवश्यकता रहेको सूचना पाएँ । एप्लाई गरिहालौं न त भनेर गरियो । तीन जनाको आवेदन परेको रहेछ, तर तीनै जना कपास बाहिरका’ उनले सुनाए–‘तीन जनामध्य म बाहेक दुइ गोराहरू थिए । तर मलाई विश्वास गरे ।’
 
उनले नेपालमा कपासको बोट देखेको भएपनि अमेरिकामा चाँही देखेका थिएनन् । कपासको बोट समेत नदेखेको मलाई विश्वास गरेर ठूलो जिम्मेवारी र दायित्व उनीहरुले दिएका थिए ।
 
आँट भएका, केही गरौं भन्ने उत्साह भएका युवा पिढीका लागि अमेरिका अवसरै अवसरको भूमि भएको उनको अनुभव छ । आफूले ३२ वर्ष अमेरिका बस्दा आर्जन गरेको ज्ञान, शीप, अनुभव साट्ने ठूलो चाहना छ उनमा । त्यसो हुँदा उहाँ युवापुस्तालाई जानेको, सिकेको कुराहरु दिन कति पनि कञ्जुस्याई गर्नुहुन्न । 
 
‘सूचना प्रविधि, प्राविधिक विषयमा मात्र नभएर अमेरिकामा कृषि प्राविधिकको पनि ठूलो खाँचो छ । अवसरै अवसर छ’ उनी भन्छन् । मानिसलाई बिहान ब्युँझिएर उठेपछि पिउने चिया कफीदेखि बेलुकी सुत्नु अघि खाने डिनरम्म सबै कृषिका उपज हुन् । त्यसो हुँदा कृषिको व्यबसायीकरण, बजारीकरण, उत्पादकत्व वृद्धिका क्षेत्रमा अमेरिकामा ठूलो अवसर छ । युवापुस्ता यसमा आउन उनले आव्हान गरेका छन् । 
 
कपासमा नियुक्तिसँगै उनको लबक बसाई सुरु भयो । टेक्सस टेकमा सन् २००१ देखि लगातार १२ वर्ष अध्यापन गरे । सन् २०१३ देखि भने उनी पुरै टेक्ससमा कपासको अध्ययन, अनुसन्धान, विकास र विस्तारमा संलग्न छन् । ‘म टेक्सस राज्य सरकारको कपास अनुसन्धान केन्द्रमा प्रोजेक्ट लिडरको भूमिकामा छु’ उनले भने ।
 
अमेरिका आइपुग्दा पराजुलीका दुई दम्पत्ति थिए । यही दुई छोरा पैदा भए । पराजुलीका जेठा छोरा मेडिकल डाक्टर छन् । उनले टेक्सस टेकबाटै डाक्टरी अध्ययन पुरा गरे । कान्छो छोरा कानुनको अध्ययन पुरा गरेर प्राक्टिसमा छन् । डा. पराजुलीकी धर्मपत्नी शर्मिला पराजुली रजिष्टर्ड नर्स हुन् ।  
 
नेपालमा भन्दा फरक जातः
जसरी मानवको लागि अन्नको जरुरी पर्छ, कपास पनि त्यस्तै जरुरी आवश्यकतको वस्तु हो । तपाई हामी आफ्नो शरिरलाई ढाकेको लुगातर्फ एकपटक ध्यान दिउँ त । अधिकांश लुगा कपासबाटै बनेको हुन्छ । थोरैमात्र नाइलन, पोलिष्टरका कृत्रिम रेशाबाट बनेका हुन्छन् ।
 
अमेरिका संसारमा तेस्रो ठूलो कपास उत्पादक मुलुक हो । यो कुरा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । तर अमेरिकामा जे जति पनि खेती हुन्छन् व्यबसायीक रुपले ठूलो स्केलमा हुन्छन् । जस्तै अमेरिकाको माथिल्लो अर्थात उत्तरी बेल्टमा गहुँको ठूलो खेती हुन्छ । मध्य बेल्टमा मकैको र तल्लो बेल्टलाई कपासको लागि उपयुक्त मानिन्छ । 
 
त्यही भएर जर्जियादेखि लिएर तल्लो बेल्टका अलाबामा, टेक्सस, न्यू मेक्सिको, एरिजोना लगायतका राज्यहरुमा ठूलो मात्रामा कपास खेती हुन्छ । अमेरिकाका १४ वटा राज्यहरुमा कपास खेती भएपनि सबैभन्दा बढी सात लाख एकड चाँही टेक्ससमै हुन्छ । टेक्ससपछि जर्जियामा एकलाख एकडमा खेती हुन्छ । बाँकी राज्यहरुमा चाँही एकलाख एकडभन्दा पनि थोरै क्षेत्रफलमा कपासको खेती हुन्छ । 
 
नेपालको कपास अग्लो जातको हुन्छ । तर अमेरिकामा भने होचा बोटहरु हुन्छन् । ‘मेसिनले कपास टिप्नुपर्ने भएकोले बोटहरु अग्लो हुन खोज्यो भने पनि ब्रिडिङ्ग गरेर होचो बनाइन्छ’ उनले जानकारी दिए–‘कपासका बोटहरु धेरै हौसिएर अग्लो भने भने औषधी छरेर बढ्न रोकिन्छ ।’
 
मे महिनामा छरेको कपासले अक्टोबर सुरुदेखि मध्यसम्ममा उत्पादन दिइसक्छ । हिउँ पर्नु अघि अर्थात कपास तयार हुनुभन्दा दुई हप्ता अघि हर्बिसाइड (हरियो पात मार्ने विषादी) छरिन्छ । त्यसपछि हरियो पात सबै मरेपछि कपासका थुङ्गामात्र बाँकी रहन्छन् । त्यसलाई एकैपटकमा मेसिनले सोहोरेर टिप्छ ।
 
बीउ उम्रिएन भने किसानलाई झनै फाइदाः
कपासको बीउ मे महिनामा रोपी सक्नुपर्छ । रोपेदेखि कपास भित्राउनु अघिसम्मको व्यबस्थित बीमाको व्यबस्था गरिएको हुन्छ । त्यसले गर्दा किसानले कुनै पनि नोक्सानी, घाटा कपास खेतीबाट व्यहोर्नु पर्दैन । अमेरिकामा किसानलाई प्रोत्साहन गर्न सरकारले निकै प्रवद्र्धनात्मक भूमिका निर्वाह गरिरहेको छ ।
 
मे महिनामा रोपेको कपास जुनको पहिलो हप्ताभित्रै उम्रिसक्नुपर्छ । जुन ५ देखि ७ सम्म निरीक्षणमा बीमा कम्पनीका कर्मचारीहरु आउँछन् । त्यतिखेर नउम्रिएको बीउहरुको निक्र्यौल गरेर किसानलाई राम्रोसँग क्षतीपूर्ति दिने व्यबस्था छ । 
 
‘बीउ उम्रिनुभन्दा नउम्रिदा किसानलाई बढ्ता फाइदा छ । किनकी त्यही जमिनमा किसानले फेरि सूर्यमुखी खेती गर्छन र राम्रो प्रतिफल निकाल्छन्’ डा. पराजुलीले उल्लेख गरे । 
 
छाड्नुस यार कपासका कुराः
अमेरिकामा तीन दशकसम्म कपासमा सिकेको विषयलाई नेपालमा प्रयोगमा ल्याउन डा. पराजुली निकै उत्साहित थिए । आइएस्सी नेपालमै पढेको, झण्डै चारवर्ष रामपुर कृषि क्याम्पस पढाएको नाताले आफ्नो रिटायर्ड लाइफ मातृभूमिमा गएर कपासको क्षेत्रमा योगदान दिने लक्ष्य बोकेका थिए उनले ।
 
बाँकेको खजुरामा कपास अनुसन्धान केन्द्र पनि छ । लामो समयदेखि रहेको त्यो केन्द्रमा मार्फत नेपालमा योगदान गर्ने योजना बुनेका थिए । ‘मैले सोचेको थिएँ, मलाई कुनै तलब सुविधा पनि चाहिँदैन । पद पनि चाहिदैन । मात्र आफूले सिकेको कुरा त्यहाँ गएर सिकाउँछु, कपासमा परिवर्तन ल्याउँछु भन्ने थियो’ उनले सुनाए ।
 
तर एउटा घटनाले उनको यो योजना, लक्ष्यलाई केही समय थाँती राखेका छन् । आफ्नो योजना लिएर केही वर्ष पहिले एकजना कृषिमन्त्रीलाई भेट्न उनी सिंहदरबार पसे । ती कृषि मन्त्रीले अमेरिकाका कुरा चाख मानेर सुने । अन्तिममा प्रतिकृया दिए–‘अरे यार छाड्नुस यो कपासका कुरा । केही हुनेवाला छैन कपासमा यहाँ ।’ 
 
मन्त्रीको यस्तो भनाईले उनी निरुत्साहित भएका छन् । तर उनले हार मानेका भने छैनन् । ‘नेपालले जन्म दियो, नाम र दाम अमेरिकाले दिएको छ । अझै रिटायर्ड लाइफमा नेपाल गएर कृषि क्षेत्रमा आफ्नो योगदान दिने विचार त्यागेको छैन’ उनले भने । 
 
यता अमेरिकाबाटै नेपालको कृषि क्षेत्रमा सहयोग गर्नका निम्ति ‘एसोसिएसन अफ नेप्लिज एग्रीकल्चर प्रोफेसनल अफ अमेरिका’ (नापा) नामक संस्था खडा भएको छ । प्रा. डा. पराजुली अहिले यो संस्थाको अध्यक्ष पनि छन् । 
 
अमेरिकामा डा. पराजुलीले कपासमा गरेको समर्पण, योगदानको मूल्यांकन गर्दै अमेरिकी सरकारले पटक पटक पुरस्कृत गरेको छ । सरकारले सन् २०१९ मा ‘प्रेसिडेण्ट भोलेन्टियर अवार्ड’ प्रदान गरेको छ । नेपाली संघसंस्थाहरुले पनि उहाँलाई सम्मान गर्न, पुरस्कृत गर्न छुटाउँदैनन् ।  






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया