मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

चेन माइग्रेसन

चेन माइग्रेसन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘साँची एउटा कुरा थाहा पायौ ?’

‘कुरा के हो ? भन्दै नभनि थाहा पाउनसक्ने अन्तरयामी ठान्यौ कि कसो मलाई ?’ बुरिटो चपाउँदै रघुले वंशीलाई नै प्रश्न फिर्ता गर्‍यो ।
 
रघु र वंशी एकै अफिसमा काम गर्छन् । रघु सफ्टवयर डेभलपर हो, वंशी भने क्वालिटी टेष्टर । कम्पनीमा अधिकांश कर्मचारीहरु अमेरिकन छन् । थोरै भारतीय र चिनियाहरु पनि छन् । झण्डै तीनसय कर्मचारी काम गर्ने यो कम्पनीमा उनीहरु दुईमात्र नेपाली छन् ।
लञ्च ब्रेकको समयमा दुबैजना अमेरिकाको नेपाली समुदाय, नेपालको राजनीति, खेलकुदका बारेमा छलफल गर्छन् । दुबै ड्यालसमै बस्ने भएकाले स्थानीय नेपाली संघसंस्थाका गतिविधि पनि उनीहरुको कुराकानीको विषय हुन्छ कहिलेकाँही । आफूले जानकारी पाएको नयाँ सन्दर्भ, घटनाका बारेमा लञ्ज समयमै शेयर गर्दै आएका छन् ।
 
मानिसहरु जन्मिदा उसको धर्म हुँदैन, नत जात हुन्छ । नत उनीहरुले जन्मेर आउँदा कुनै भाषा लिएर आएका हुन्छन् । धर्तीमा आइसकेपछि हुर्कने क्रममा यी सबै विस्तारै जीवनमा जोडिने विषयहरु हुन् । तर संसारका मानिसहरुबीच एउटा चाहि समानता हुन्छ । त्यो हो जन्मेको ठाउँदेखि जति दूर हुँदै जान्छ नयाँ ठाउँमा भेटिनेहरु बीच आत्मियता बढ्दै जान्छ । जुम्लाकै सदमुकाममा भेटिने एउटा जुम्लीले अर्को जुम्लीलाई वास्ता गर्दैन । तर जब जुम्ला छोडेर सुर्खेत या नेपालगञ्ज आइपुग्छ जुम्ला भन्ने शव्द टाढै सुनिदा पनि नजिकै गएर गफगाफ गर्न मन लाग्छ ।
 
चाहे मेचीका हुन् या महाकालीका । नेपाल छाडेर भारत पुगेका दुई नेपाली भेट भए भने घनिष्ठ हुन्छन् । दुई दक्षिण एसियालीहरुबीच युरोपमा भेट भयो भने नजिकै गएर कुराकानी गर्छन् । अमेरिकामा दुई एसिएन भेट भयो भने कुराकानी सुरु भैहाल्छ । वंशी र रघु नेपालमा एकै जिल्लाका त होइनन् । रुकुमको रघु र भोजपुरको वंशी एउटै संस्कार, एकै संस्कृतिबाट आएका हुन् । उनीहरुको बोली फुटेपछि बोलेको पहिलो शव्दनै नेपाली थियो । त्यसले पनि उनीहरुलाई निकट गराएको थियो ।
 
‘एक वर्ष अघि एनएसटी (नेपाली समाज टेक्सस) को कार्यक्रममा परिचय भएको पुण्य थियो नि । उसको बाउ आमा पनि आउने भएछन् । ग्रीनकार्ड भएरै आउन लागेका रे’ वंशीले प्रसंग अघि बढायो ‘नेपालीहरु धेरै भएको ठाउँमा बस्दा छोराछोरी बिग्रन्छन् भन्दै उता पर वेदरफोर्डतिर घर किनेर भरखरै सरेको छ । कोही नेपाली नभेटिने ठाउँमा वृद्ध बा–आमालाई त गाह्रै हुनेभयो ।’
 
वंशीको कुराले रघुको अनुहारको भाव फेरियो । ‘कस्ता कस्ता झ्याँसलाई पनि ग्रीनकार्ड दिन्छ यो अमेरिका पनि’ तत्कालै प्रतिकृया जनायो । ‘अमेरिकाको भाउ राख्नका लागि भएपनि जेपिटीलाई त नियन्त्रण गर्नु नि’ उसले आफ्नै शव्द र शैलीमा अमेरिकी आप्रवासी नीति प्रति आक्रोश जनायो ।
 
रघुको प्रतिकृया सुनेर वंशी अचम्म पर्‍यो । अमेरिकी सरकारले दिएको सुविधाको प्रयोग गरेर पुृण्यले आफूलाई जन्म दिने बा–आमालाई ल्याउँदा अरु कसैलाई हानी नोक्सानी हुने विषय हुँदै होइन । वंशीको थोरै मात्र चासो नेपाली बाहेक अरु भाषा बोल्न नजान्ने वृद्ध बा–आमालाई नेपालीहरु बढी भएको युलेस, फोर्टवर्थ, केलर, अर्भिङ्ग जस्ता सिटीमा बस्दा सजिलो हुने र नेपालको त्यति विधि न्यास्रो पनि लाग्ने थिएन भन्नेमात्र थियो । वेदरफोर्ड अलिक टाढा भयो भन्ने मात्र थियो । अन्तरमुखी स्वभावको उसले नेपाली समुदायबाट टाढा रहन किन चाह्यो वंशीले पनि बुझ्न सकेको छैन । हुनतः अमेरिकामा मानिसको व्यक्तिगत कुरामा त्यतिविधि सोधीखोजी गर्नु जाति मानिदैन । व्यक्तिको इमिग्रेसन स्टाटस, राष्ट्रियता जस्ता विषयहरुमा कसैले पनि नीतिखोजी राख्दैनन् । यी सबै अमेरिकी सिस्टमले मात्र हेर्ने, सोध्ने अधिकार राख्छन् । कार्यालयहरुले भेरिफाई गर्ने पनि उसको अमेरिकामा काम गर्ने अधिकार छ या छैन भन्ने मात्र हो । त्यसभन्दा बाहिर गएर कसैको पनि व्यक्तिगत विषयमा गहिरिएर हेर्ने, सोध्ने अधिकार कसैसँग छैन ।
 
एक वर्ष अघि कार्यक्रममा चिनजान भएपनि पुण्य र वंशी अलिक नजिक छन् । उनीहरु दुबैको पेशा एउटै भएकोले बेलाबेलामा सफटवयरको विकासका नयाँ ट्रेण्डका बारेमा फोनमै घनीभूत छलफल गर्छन । तर यो संबन्ध पनि यान्त्रिक भन्दा माथि चढ्न सकेन । 
 
अर्थात हेलो हाई र एकाध पटक भेटघाट भन्दा बाहेक पारिवारिक रुपमा त्यति घनिष्ठता हुन बाँकीनै छ । तरपनि पुण्यले आफ्ना बा–आमा पनि ग्रीनकार्डमा आउन लागेको खुशीयाली वंशीसँग भने साटेको थियो । त्यही कुरा रघुलाई जानकारी दिँदा आएको अप्रत्याशीत प्रतिकृयाले वंशी मौन रहन वाध्य भएको छ । किनकी प्रतिकृया दिँदै अघि बढिरहँदा अनावश्यक कुराकानी, अनावश्यक विवाद बढ्ला भन्ने कुराले उ सचेत भयो । उसले प्रसंग अन्तैतिर मोड्यो ।
 
तर यो खबरले रघुको मन भने एकाएक बेचैन हुन्छ । उसको मुटु भतभती पोल्छ । अमेरिकी नीतिलाई फलाक्न थाल्छ । युएससीआइएसलाई मन लागे जति गाली गर्छ । ‘बुझ्यौ, मैले डोनाल्ड ट्रम्पलाई सपोर्ट गर्दा तिमीले एक पटक आपत्ति प्रकट गरेका थियौ नि । हो, मैले यस्तैगरि अमेरिका वृद्धखाना नहोस् भनेर नै ट्रम्पलाई फेरि पनि जिताउनुपर्छ भनेको हो’ उसले गुम्सिएर उकुसमुकुस भएको आफ्नो भाव अोकल्ने मौका पाइहाल्यो ।
 
चेन माइग्रेसनको विपक्षमा कडा ढंगले प्रस्तुत हुने डोनाल्ड ट्रम्पलाई उ आदर्श नेता मान्छ । परिवारको एकजनाले अमेरिकी नागरिकता लिएपछि पत्नी, छोराछोरी, आफ्ना बा–आमा, दाजु–भाई, दिदीबहिनीलाई ग्रीनकार्डको प्रकृया अघि बढाउन पाइन्छ । यसलाई ट्रम्पले ‘चेन माइग्रेसन’ को उपमा दिँदै विरोध गरेका थिए । डिभीलाई समेत खारेज गर्ने प्रकृया अघि बढाउन ट्रम्पले अथक प्रयास गरेका थिए । तर अमेरिकी अदालत, संसदले असहयोग गर्‍यो । आप्रवासीलाई कडा गर्ने नीति ल्याउँदा र ट्रम्पले बोल्दा रघु औधी खुशी हुन्थ्यो । रघुले चेन माइग्रेसनलाई खिसीटिउरी गर्दै नेपाली नामाकरण गरेको छ– लहरे आप्रवास ।
 
‘हेर वंशी, यो डिभीले पनि अमेरिकाको चार्मनै बाँकी नराख्ने भयो । अस्ति अर्भिङ्गको बेल्ट लाइनमा एकजना नेपालीको अपार्टमेन्टमा गएको थिएँ । बाहिर बरण्डामा फरिया सुकाइराखेको थियो । नेपाली बुढाबुढीहरु हुल बाँधेर सडक पार गर्दैथिए । भिसा लिन पनि सजिलो छ कि क्या हो हिजोआज ? जो पनि आएको देख्छु’ रघुले अर्को असन्तुष्टी व्यक्त गर्‍यो । वास्तवमा यो उसको कुण्ठा थियो । आफूले बाउ आमालाई तीन पटकसम्म भिसाको लागि गरेको प्रयास सम्झियो । तीनै पटक बाउ आमाको भिसा आवेदन ‘रिजेक्ट’ भएको थियो ।
 
फेमिली पेटिसनमा कसैका परिवारका सदस्यहरु ग्रीनकार्ड भएर अमेरिका आउन लागेको खबर जब रघुले सुन्छ उ यसैयसै भुतभुतिन्छ । अमेरिकाले कहिले यो बन्द गर्ला भनेर सपना-जपना गर्न थाल्छ । केही महिना अघि गाउँकै शंख विश्वकर्माको छोरो डिभीमा अमेरिका आएको खबरले त उ असिन पसिन भएको थियो ।
 
यसरी जस्ले पनि ग्रीनकार्ड पाएर अमेरिका आउन थाले भने त गाउँमा आफ्नो भाउ नै नहुने सोचाइ उसको छ । अमेरिकामा छोरो छ भन्ने थाहा पाउने बीच उसको बाउको ठूलो मान छ गाउँमा । ‘छोरो अमेरिकामा छ माइला काजी साबको त । उहाँले देश विदेश देख्नुभएको छ । उहाँका कुरामा दम हुन्छ । उहाँलाई बोल्न दिउँ’ रघुको बाउले कतै बोल्नु अघि गाउँलेले यस्तो फुँदा गाँस्थे । अब शंखेको छोरो पनि अमेरिका आइपुगे पछि बाउको इज्जत गाउँमा पक्कै पनि गिर्‍यो भनेर उ अझै भयभीत छ । गाउँलेले शंखे र उसको बाउलाई एउटै तुलामा राखेर हेर्छन भन्ने चिन्ताले उ ग्रस्त छ ।
 
हुन पनि हो । बाउले उसलाई अमेरिका पठाउनका लागि १० वर्ष अघि ४० लाख रुपैयाँ खर्चेका थिए । नयाँ दिल्ली, ब्राजिलको साओपाउलोबाट दक्षिण अमेरिकाका आधा दर्जन (कोलम्बिया, पानामा, कोष्टारिका, निकारागुवा, होण्डुरस, ग्वाटेमाला) हुँदै ६ महिना लगाएर उ मेक्सिकोबाट अमेरिका छिरेको थियो । बडो कष्ट साथ रियोग्राण्डे नदी पार गर्दै मध्यरातमा अमेरिका पसेको थियो उ । तीन महिना त सम्पर्क विहिन भयो । त्यतिखेर परिवारमा रुवाबासी चल्यो । कैयौ दिनसम्म पत्नीले खाना खाइनन् । दलालले मागे अनुसारको रकममा एक पैसा पनि बार्गेनिङ नगरि ४० लाख दिएकाले माइला काजी भने आफ्नो छोरो अमेरिका छिरिछाड्छ भनेर ढुक्क थिए ।
 
रघु अमेरिका आइपुगेपछि उसका बाउ अर्थात माइला काजीको इज्जतमा एकै पटक ५ वटा सिँढी थपिएका थिए । त्यो इज्जतले गर्दा कञ्जुस्याईमा माहिर माइला काजीले छोरालाई अमेरिका पुर्‍याउन दलाललाई बुझाएको ४० लाख खर्चलाई मज्जैसँग भुलेका थिए । उनको मुल्यांकनमा त्यो खर्चको साँवा र व्याज दुबै अशुल भयो ।
 
हरेक वर्ष वर्ष माइला काजीका दम्पत्तिनै अमेरिका आउने गर्छन । ६ महिना अमेरिका र ६ महिना नेपाल बस्ने उनीहरुको रुटिन जस्तै थियो । चिसो खप्न नसक्ने भएकोले गर्मी याम अप्रिलदेखि अक्टोबरसम्म उनीहरु अमेरिका बस्थे । उनीहरुका लागि अमेरिका पानी पँधेरो जस्तो बनेको छ । पूर्बमा बोस्टनदेखि पश्चिममा लसएन्जलससम्म, उत्तरमा सिकागोदेखि दक्षिणमा ह्युस्टनसम्म घुमिसके । यताबाट फर्केपछि रघुले पठाएको क्याण्डी उनको घरमा दुई महिनासम्म आउने जानेलाई प्रसाद जसरी बाँडिन्छ ।
 
‘यी डिभीबाट आएकाहरु आफूलाई अमेरिकाको ज्वाई ठान्छन् । १० डलरमा ग्याँस स्टेशनमा काम गरेर गुजारा चलाउँछन्’ एक दिन लञ्चब्रेकमै उसले वंशीसँग भनेको थियो–‘डिभीमा आएकाहरु अधिकांश लेबर काम गर्ने हुन् जस्तो लाग्छ मलाई त ।’
 
उसका भनाई रेसिष्ट मात्र नभएर सभ्य समाजले पचाउन नसक्ने खालको थियो । डिभीवाल प्रति एक प्रकारको इगो उसको मनमा रहेको तथ्य वंशीले बुझिहाल्यो । ‘सबै जना त्यस्तो त हुँदैनन् है । डिभीमै आएर पनि मेहनत गरेर माथि पुगेका कति त मेरै साथी पनि छन् । यो सबै व्यक्तिको इच्छा, मेहनत र लगावमा भर पर्ने कुरा हो । डिभी, स्टुडेन्ट भिसा, एक्स्ट्रा–अर्डिनरी, असाइलम यी त फगत अमेरिका प्रवेशको एउटा माध्यम मात्र हुन् । त्यसपछिका अध्याय त कसरी अघि बढाउने भन्ने कुरा व्यक्तिमै निर्भर गर्छ’जवाफ दिएर वंशी बाहिरियो । डिभी चिठ्ठामा अाएर पनि वंशीले अमेरिकाको युनिभर्सिटी ज्वाइन गरेर इन्जिनियर भएको छ । त्यसदिन देखि उसले डिभीमा कुरा लञ्चको समयमा निकाल्नै छाड्यो ।
 
डोनाल्ड ट्रम्पको कट्टर समर्थक बनेको छ उ । रिपब्लिकन पार्टीको सिद्धान्त, नीति, कार्यक्रम बुझेर ट्रम्पलाई भोट दिएको भने होइन । ‘मेक अमेरिका ग्रेट अगेन’ नाराले उसलाई छोएको छ । जथाभावी आप्रवासी आउन रोकेर, भिसामा कडाई गरेपछि मात्र यो देश ग्रेट अगेन अर्थात फेरि महान हुन्छ भन्ने छाप उसको रघुको दिमागमा घुसेको छ । चाहे जुनसुकै देशबाट मानिसहरू आउन्, तर नेपालबाट चाहि आउने क्रम बन्द भइदिए हुन्थ्यो भन्ने उसको चाहना छ । आप्रवासीलाई शीटहोल नेसनबाट आएका हुन् भनेर ट्रम्पले गाली गर्दा पनि यो त हामीलाई भनेको होइन भनेर निलो हाँसोमा पचाउने खुबी उसमा प्रचुर छ । फक्स न्यूज उसको प्रिय च्यानल हो । निद्राबाट ब्युँझिएर फक्स न्यूजनै हेर्ने, सुत्नु अघि पनि त्यही हेर्ने र फक्स न्यूज हेरेरै धारणा बनाउने बानी परेको छ ।
 
आज धेरै दिनपछि वंशी र रघुसँगै लञ्च ब्रेकमा छन् । यसबीचमा कोरोना प्रकोपले गर्दा ‘वर्क फ्रम होम’ को सहुलियतले गर्दा उनीहरु कहिले दुई हप्तामा त कहिले महिनामा एकपटक मात्र अफिस आउँथे । घरबाटै अनलाइनमा काम गर्दै आएका थिए उनीहरुले यो अवधिमा ।
 
यसै सातादेखि कम्पनीले सबै कर्मचारीहरुलाई कार्यालयमै उपस्थित भएर काम गर्न निर्देशन दिएको छ । त्यसले गर्दा एक महिना पछि उनीहरु सँगै लञ्च गर्दैछन् ।
 
‘साँची तिमीले एक महिना अघि नेपालबाट कुन किताब मगाउने कुरा गर्दैथियौ नि’ भेजिटेबल स्याण्डवीच चपाउँदै रघुले सोध्यो ।
‘अँ भनेको थिएँ । कोही आउँदै छ र ?’ वंशीले सोध्यो ।
‘मेरा बा–आमा आउँदै हुनुहुन्छ’
‘हो र ? कहिले ?’
‘दुई महिना अघिनै आइपुग्नुपर्ने थियो । कोरोनाको ओमिक्रोन लहरले गर्दा अलि अप्ठेरो परेर दुई हप्ता पछि आउँदै हुनुहुन्छ’ उसले बेलिबिस्तार लगायो ।
‘कति समय बस्नुहुन्छ ?’ वंशीले फेरि सोध्यो ।
 
‘उहाँहरुले ग्रीनकार्ड पाउनु भएकै दुई वर्ष भैसक्यो त । म नेचुरलाईज हुनासाथ आइ–१३० फर्म भरेर प्रकृया अघि बढाएको थिएँ । त्यसको एक वर्षमै उहाँहरु ग्रीनकार्ड होल्डर हुनुभएको हो । त्यही भएर उहाँहरु ६ महिना अमेरिका र ६ महिना नेपाल बस्दै आउनुभएको छ’ रघुले आफ्नो सबै अवस्था खोल्यो ।
 
‘ए तिम्रो त सबै यतै हुनुहुँदो रहेछ । धेरै राम्रो भयो त’ वंशीले संक्षिप्त प्रतिकृया जनायो ।
‘मैले त दुईवटा दाजुहरु र तीनवटी बहिनीको निम्ति पनि ग्रीनकार्ड प्रकृया अघि बढाइसकेको छु । त्यसमा चाँही अलि समय लाग्ने रहेछ । शायद १०/१२ वर्षभित्र त सबै यतै सेटल भैसक्छौ होला’ रघुको यो भनाईले परिवार र अमेरिकी कानुनले मिल्ने जति सबैका लागि ग्रीनकार्ड फाइल गरिसकेको तथ्य सजिलै बुझियो ।
 
केही महिना अघि पुण्यको बा–आमा ग्रीनकार्डमा आउन लाग्दा रघुले व्यक्त गरेको प्रतिकृया वंशीका दिमागमा सररर आए । आफु चाँही अमेरिकाको नागरिक हुने बित्तिकै परिवारका सबैका लागि ग्रीनकार्डका लागि प्रकृया सुरु गर्ने र अरुका बा–आमा आउँदा चाँही आफ्नै भाग खोसेजस्तो गरि देखाएको व्यबहार वंशीले सम्झियो ।
 
‘तिमी त चेन माइग्रेसनको उग्र विरोधी थियौ त ?’ वंशीले सोधिहाल्यो ।

वंशीको प्रश्नले रघुको अनुहारको भाव पहिलेभन्दा पनि चर्कोसँग बदलियो । उसले स्याण्डविच चपाउनै व्यस्त भएको भाव देखायो ।

‘मैले त अहिले भरखर एप्लाई गरेको हो र ? ५ वर्ष पहिलेनै परिवारका लागि गरेको थिएँ । फेरि मेरो परिवार अरु जस्तो कहाँ हो त ?’

उसको तर्क सुनेर वंशी एक पटक मुसुक्क हाँस्यो । उसले प्रतिकृया जनाउनु आवश्यकनै ठानेन । उस्ले नेपाली एउटा उखान सम्झियो-‘खसी किन्नु, मान्छे चिन्नु ।’