मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारका छ महिना : ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण प्रगति

सरकारका छ महिना : ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण प्रगति


काठमाडौँ । वर्तमान गठबन्धन सरकारले देश र जनतालाई केन्द्रमा राखेर विभिन्न कार्यक्र अगाडि बढाएको छ । जनतालाई प्रत्यक्षरुपमा राहत प्रदान गर्ने उद्देश्यका साथ सरकारले संविधान प्रदत्त समाजवादउन्मुख व्यवस्थालाई कार्यान्वयन गराएको छ । 
 
वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भए गरेका सकारात्मक कामकारबाहीबारे शुक्रबार जानकारी दिएका हुन् । वर्तमान सरकार गत असार २९ गते गठन भएको हो । सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दल सहभागी छन् । 
 
प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा देशको ऊर्जा तथा सिँचाइको क्षेत्रमा भए गरेका प्रगतिकाबारे जानकारी दिएका छन् । वर्तमान सरकारले झण्डै २५ लाख विद्युत्का उपभोक्तालाई निःशुल्करूपमा २० युनिट बिजुली उपलब्ध गराएको छ । 
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार सरकारले आफ्नो सार्वजनिक दायित्व अन्तर्गत २० युनिट बिजुली निःशुल्करुपमा उपलब्ध गराइएको यसअघि नै सार्वजनिक गरिसकेका छन् । वर्तमान सरकारको प्रमुख उपलब्धीका रुपमा प्रधानमन्त्री देउवाले सो विषयलाई आज आफ्नो सम्बोधनका क्रममा उल्लेख गरेका हुन् ।  
 
प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, “विद्युत्को ग्राहस्थ खपतमा २० यूनिटसम्म उपभोक्तालाई महसुल छूट गरिएको छ ।” त्यसैगरी सिँचाइ सुविधामा विस्तार गर्नका लागि साविकको विद्युत् महसुलमा ५० प्रतिशत कम गरी प्रतियूनिट रु दुई कायम गरिएको छ । यसबाट कृषि क्षेत्रमा प्रत्यक्ष लाभ भएको छ । कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले सिँचाइतर्फको महसुलमा आकर्षक छूट दिएको हो । 
 
यस्तै, विद्युत् उत्पादनतर्फ पनि यस वर्ष उल्लेख्य प्रगति भएको छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न आयोजना सम्पन्न भएका छन् । सरकारले चालु आवमा एक हजार ३०० मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखेको छ । लक्ष्यको ५० प्रतिशत बिजुली वर्तमान सरकार गठन भएको छ महिनामा नै प्रणालीमा जोडिएको छ । 
 
यस अवधिमा माथिल्लो तामाकोशी ४५६ मेगावाटको जलविद्युत् आयोजना पूर्णरूपमा सञ्चालनमा आएको छ । आयोजनाले व्यावसायिकरुपमा बिजुली उत्पादन गरेकाले नेपाल विद्युत् प्राधिकरणले छ महिनासम्म भारतबाट बिजुलीसमेत आयात गर्नुपरेन । 
 
यस्तै, निजी क्षेत्रको लगानी रहेका मिस्त्री खोला ४२ मेगावाट र लिखु खोला ५२ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय ग्रिडमा जोडिएको छ । त्यस्तै अन्य साना तथा मझौला आयोजनाले पनि बिजुली उत्पादन सुरु गरेका छन् । यसबाट बिजुलीमा देश क्रमशः आत्मनिर्भर बन्दै गएको छ । 
 
प्रसारण लाइनतर्फ ५९ सर्किट किलोमिटर थप भएको छ । त्यस्तै सरकारको निरन्तरको प्रयासका कारण विवादको केन्द्रमा रहेको सोलु कोरिडोर १३२ केभी क्षमताको प्रसारण लाइनको पनि निर्माणको कार्य सम्पन्भएको छ ।
 
त्यस्तै, नेपालको बिजुली भारतमा निर्यात शुरु भएको छ । गत लक्षमीपूजाको दिनदेखि नुवाकोटका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारतमा निर्यात सुरु भएको हो । आगामी हिउँदमा झण्डै ५०० मेगावाट बिजुली निर्यात गर्ने गरी आवश्यक तयारी भइरहेको छ । त्यसका लागि आवश्यक पहल भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ । 
 
यस अवधिमा औद्योगिक, गार्हस्थ्य तथा विभिन्न प्रयोजनका लागि बिजुली खपतमा वृद्धि गरी निर्वाधरूपमा बिजुली आपूर्तिको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले जानकारी दिए । 
 
यस्तै सुनकोशी–मरिन डाइभर्सन, भेरी बबई बहुउद्देश्यीय आयोजना, काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य समयमै सम्पन्न गर्ने गरी तीव्रगतिमा काम अगाडिसमेत बढाइएको उनले सम्बोधनका क्रममा उल्लेख गरे । रासस