मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार एलबी विश्वकर्माको निधनको घटनामा महासंघले अध्ययन गर्ने

पत्रकार एलबी विश्वकर्माको निधनको घटनामा महासंघले अध्ययन गर्ने


काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकार एलबी विश्वकर्माको निधन भएको घटनाका बारेमा महासंघले अध्ययन गर्ने बताएका छन् । 
 
 ‘काठमाडौँको एक टेलिभिजनमा कार्यरत युवा पत्रकार विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको छ । सहज उपचारको अभावमा उनको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ’ अध्यक्ष पोख्रेलले भने, ‘स्वास्थ्य संस्थामा सहज उपचारको प्रबन्ध नहुनु र बिरामीसँग उपचार रकमको अभाव हुँदा परीक्षण समेत नहुनु दुःखद र गम्भीर विषय हो ।’
 
संञ्चार संस्थामा कार्यरत पत्रकार बिरामी पर्दा उसको उपचारको जिम्मा सम्बन्धित सञ्चारसंस्थाले लिनुपर्नेमा त्यसो भएको पनि नदेखिएकाले अध्ययन गर्न आवश्यक भएको पोख्रेलले जिकिर गरे । ‘यो अध्ययनले एउटा श्रमजीवी पत्रकारको समस्या र राज्यको कमजोर स्वास्थ्य सेवाको अवस्था चित्रण हुने छ’ पोख्रेलले भने । 
 
मृतक पत्रकार विश्वकर्माले आफूले काम गरेका सञ्चारसंस्थाहरूबाट आफ्नो तलब सुविधासमेत नपाएको बुझिएको छ । ‘यो विषयलाई महासंघले गम्भीरतापूर्वक लिएको छ’ पोख्रेलले भने,  ‘उपचारको समयमा समेत पारिश्रमिक उपलब्ध नगराउने संस्थाहरुका बारेमा पनि हामीले अब एउटा धारणा बनाएर अगाडि बढ्न पर्ने भएको छ ।’ उनले पारिश्रमिक नदिने संस्थाले उन्मुक्ति नपाउनेसमेत बताए ।
 
‘फ्रन्टलाइनर पत्रकारको उपचारको सवालमा गम्भीर बन्न राज्यलाई दबाब नै दिनुपर्ने अवस्था देखियो’ भन्दै पोख्रेलले कोरोना संक्रमण देखिएका पत्रकारहरुको उपचारको प्रबन्ध मिलाउन महासंघका सबै संरचनाहरुलाई तयारी अवस्थामा राखिएको जानकारी पनि दिए ।