मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा ह्वात्तै बढ्यो कोरोना, एकैदिन १० हजार २५८ जनामा सङ्क्रमण पुष्टि

नेपालमा ह्वात्तै बढ्यो कोरोना, एकैदिन १० हजार २५८ जनामा सङ्क्रमण पुष्टि


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा मुलुकभर थप १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सोमबारभन्दा तीन हजार ५२४ ले बढी हो । सोमबार देशभर छ हजार ७३४ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । 

 
पछिल्लो २४ घन्टामा १७ हजार ८७२ पिसिआर र चार हजार ९५६ एन्टीजेन विधि गरी कूल २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा ५६२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १७ हजार ५४७ पुगेको छ । यो दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ६८ हजार २१५ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा एक लाख तीन हजार ९८३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । यसरी पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ३६ हजार १२० र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९६ हजार दुई पुगेको छ । कुल सङक्रमण दर १७ दशमलव दुई प्रतिशत छ । 
 
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घन्टामा दुई लाख १३ हजार १४८ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ रहेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
 
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । हाल भेन्टेलेटरमा २८ र आइसियुमा १५१ जना रहेका छन् भने होम आइसोलेसनमा ३७ हजार ८२६, संस्थागत आइसोलेसनमा एक हजार २१८ र क्वारेन्टिनमा १०० जना रहेका छन् । 
 
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुर छन् । 
 
शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १७ हजार ७०९, ललितपुरमा चार हजार ४७१ र भक्तपुरमा दुई हजार ३९६ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।