मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

माघ महिनाको चमत्कारिता : एक परिचर्चा

माघ महिनाको चमत्कारिता : एक परिचर्चा


ज्योतिष शास्त्रका अनुसार विसं २०७८ साल माघ १ गते माघे सङ्क्रान्तिको छुट्टै महिमा भएको जनाइएको छ । यस वर्ष माघे सङ्क्रान्ति शनिबार परेको छ । माघ १ गते सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्छन् । 

 
यो सालको माघे सङ्क्रान्ति शनिबार पर्न गएको र सूर्यदेव र शनिदेव दुवै पिता–पुत्रको एकैदिन मिलन हुन जाने दिन पनि पर्न गएको ज्योतिषीय मान्यता छ । यस दिन हरेक वर्ष पुरानो शत्रुतालाई बिर्सेर सूर्य भगवान् आफ्ना पुत्र शनिदेवको घरमा गएर निवास गर्छन् । यसरी यस वर्षको माघ १ गतेका दिन सूर्य, शनि सँग–सँगै हुन्छन् ।
 
सूर्यदेवको सद्भावका कारण माघ महिनाभर शनिशङ्कटा, साढेसाती आदिको चपेटाभित्र रहनेहरुका लागि पनि शनिको प्रतिकुल प्रभावका बाबजुत अनुकुल प्रभाव पर्न जाने बताइएको छ । अन्य ग्रह दशाहरु पनि शान्त रहने अवस्था यो वर्षको माघ महिनाभरि रहेको भनेर उल्लेख गरिएको छ । 
 
माघ महिना माघमास महात्म्यको महिना पनि हो । ईश्वरीय बन्दना र आराधना यो महिनामा गर्नु अत्युत्तम मानिएको छ । यस वर्षको माघ महिनाभरी देखिएका निम्न खालका रात्रि सपनाहरु ज्यादै फलदायी भएको कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।
 
१) कन्याले कुमार केटोसँग र कुमार केटोले कन्यासँग सहबास भएको देखेमा :
यो सपनाले ती दुवैको शिघ्र विवाह हुने र दवैलाई धन लाभ हुने संकेत भएको मानिन्छ ।
 
२) कुकुरले टोकेको देखेमा :
यस्तो सपना देखियो भने स्याहार्न धौ–धौ पर्ने सम्पति जम्मा हुने संकेतका रुपमा बुझ्नुपर्छ । अथाह धन–माल जम्मा हुने योग परेको ठानिन्छ ।
 
३) गाईका बाच्छाले माउको दूध खाइरहेको देखेमा :
यो सपना देख्ने मान्छेको शिरबाट महालक्ष्मीको कृपा बर्सने भयो भन्ने बुझे हुन्छ । सपनाधारी छोटो समयमै मालामाल बन्न जान्छ ।
 
४) अरुको धनमाल आफूले लुटेर लगेको देखेमा :
यस्तो सपना देख्ने मान्छेको सुदिन फिरेर आएको मानिन्छ । व्यापार–व्यवसाय फस्टाउँदै जाने, शेयर खरिदबाट लाभै–लाभ हुने, चिठ्ठा पर्ने, अचानक एवं अप्रत्याशित रुपले धन प्राप्त हुने योग परेको ठानिन्छ ।
 
५) कुनै पक्षीले कसैको मालसामान झम्टेर लगिरहेको देखेमा :
यो खालको सपनाधारी व्यक्तिलाई सोच्दै–नसोचेको धन प्राप्त हुने, ईश्वरबाट अब उप्रान्त कृपाको वर्षा हुने, अपत्यारिलो काम बन्ने योग परेको संकेत हुन्छ ।
 
६) कमिला ताँती लाएर हिँडिरहेको देखेमा :
यस्तो किसिमको सपनाले भाग्य संगालिएर निकट आउँदै गरेको संकेत हुन्छ । चारैतर्फ फलिफलाऊ हुँदै जान्छ, सफलता हात लाग्छ ।
 
७) कुनै पनि भगवान्को मन्दिर देखेमा :
मन्दिरमा अरुले पूजा गरेको, प्रसाद खाएको अथवा अरुलाई प्रसाद वितरण गरेको, मन्दिरमा शङ्ख, घण्ट बजेको सुनेमा, धनको वर्षा हुने योग परेको संकेत हुन्छ ।
 
८) काँचो नरिवल देखेमा :
सपनामा काँचो नरिवल आफूले खाएको र अरुलाई पनि खान दिएको देखेमा दरिद्रता पूर्णरुपले हरण हुने, अधुरो काम बन्ने, पास हुन नसकेको जग्गा, घर, घडेरी तुरुन्तै पास हुने, वैभव, धन–दौलत प्राप्त हुने योग परेको बुझ्नुपर्छ ।
 
९) महालक्ष्मीको स्वरुपलाई देखेमा :
सपनामा महालक्ष्मीले आफैँलाई या अरु कसैलाई केही दिइरहेको देखियो भने धन–सम्पत्तिको ओइरो लाग्ने भयो भन्ने बुझे हुन्छ । यो सपनाले अपार धनको उपभोग गर्ने अवसर मिल्ने संकेत गरेको हुन्छ ।
 
१०) झण्डा फर्फराएको देखेमा :
कुनै पनि देशको राष्ट्रिय झण्डा, कुनै राजनीतिक दलको झण्डा, कुनै धर्म–सम्प्रदायको झण्डा फर्फराइरहेको सपनामा दिखियो भने यसले उन्नति, प्रगति र समृद्धिको संकेत गरिरहेको हुन्छ । यो सपनाले कंगाल भए धनाड्य बन्ने शुभ सन्देश दिन खोजिरहेको हुन्छ ।
 
११) मसी देखिएमा :
राति सपनामा कलममा राखेर लेख्ने मसी देखियो, मसी भाँडा–भाँडामा भरेर राखिएको देखेमा यो सपनाले अनुत्तीर्ण भएको तह उत्तीर्ण हुने, समाजमा मान–प्रतिष्ठा बढ्दै जाने, समाजको अगुवाई गर्ने अवसर मिल्ने, धन लाभ हुने आदिको संकेत भइरहेको मानिन्छ ।
 
१२) सपनामा एकमुष्ट धन देखेमा :
यदि राति सपनामा नोटको बिटो, सिक्काहरुको थुप्रो, बैंकमा पैसाको लेनदेन भइरहेको आदि देखियो भने यसले आकस्मिक धनलाभ, धनको ठूलै रकम हात पर्ने, मालामाल भइने आदि अवस्थाको संकेत गर्छ ।
 
१३) भगवान्को प्रसाद देखेमा :
राति सपनामा भगवान्लाई चढाएको या चढाउने कुनै पनि प्रकारको फलफूल, प्रसाद, भोग आदि देखेको, आफूले खाएको र अरुलाई पनि वितरण गरेको देखेमा समाजमा आफ्नो यश, मान–सम्मान, कीर्ति, बढ्दै जाने सन्देश भइरहेको बुझ्नुपर्छ ।
 
१४) स्वस्तिक चिन्ह देखेमा :
राति सपनामा स्वस्तिक चिन्ह देखेमा लक्ष्मी माता खुशी भएर चारैतिरबाट धनको वर्षा हुने भयो भन्ने बुझ्नुपर्छ । पारिवारिक, व्यावसायिक, राजनीतिक, शैक्षिक आदि जुनसुकै क्षेत्रमा उन्नति, प्रगति र लाभैलाभ हुने निश्चित भयो भन्ने संकेत हुन्छ ।
 
१५) हरियो सुगा देखेमा :
सपनामा हरियो सुगा उडिरहेको यदि देखियो भने त्यस सुगाको उडान जस्तै गरी धन र वैभवको वर्षा हुने संकेत भएको हुन्छ । देश–विदेशबाट पैसा हात पर्ने, व्यापार गरेको भए चौतर्फी लाभ हुने निश्चित हुन्छ ।
 
१६) तराजु देखेमा :
सपनामा सुन या अन्य सर–सामानहरु जोख–तौल गर्ने तराजु देखेमा व्यापार–व्यवसायमा गाडिएको भए अबदेखि फस्टाउने, घाटै–घाटा हुँदै गएको भए अबदेखि नाफै–नाफा हुँदै जाने आदि जस्तो सुदिनको संकेत हुन्छ ।
 
१७) गोबर, गुईंठा देखेमा :
राति सपनामा गाई, गोरु आदिको गोबर देखेमा कृषिजन्य उत्पादनहरु फस्टाउने, नोकरीमा पदोन्नति हुने, तलब–सुविधा वृद्धि हुने आदिको भविष्यवाणी भइरहेको संकेत हुन्छ ।
 
१८) हुलाकी देखेमा :
राति सपनामा हुलाक कार्यालय, हुलाकी, हुलाक टिकट, डाँक गाडी गुडिरहेको आदि देखेमा विदेशबाट शुभ समाचार, धन आदि प्राप्त हुने, नाम, मान–प्रतिष्ठा चारैतर्फ फैलिँदै जाने आदिको संकेत भइरहेको ठान्नुपर्छ ।
 
१९) फलेको वृक्ष देखेमा :
सपनामा राति लटरम्म फलेको बोट, फल पाकेर पहेलै भएको, भुईंभरी फल झरेर छापिएको आदि देखेमा शिघ्र धन प्राप्त हुने, परीक्षा उत्तीर्णको समाचार मिल्ने, सफलतै–सफलताको योग निकट आउँदै गरेको संकेत हुन्छ ।
 
२०) पितृहरुले धन दिएको देखेमा :
आफ्ना बिस्तरामा राति सुतिरहेको अवस्थामा कुनै पनि पितृहरुले आफू अथवा अरु कसैलाई धन–सम्पत्ति दिएको देखिएमा अबदेखि कुदिन गएर सुदिनहरु फिर्न लागे, जताततै शुभा–शुभ हुने भयो, धनका मालिक कुबेरको आशीर्वाद प्राप्त हुने भयो आदि भन्ने संकेत हुन्छ ।
 
उपरोक्त खालका सपनाहरुको तद्–तद् बमोजिमको फल मिल्ने कार्यमा प्रभाव पार्ने केही अन्य बाह्य अवस्थाहरु पनि रहेका हुन्छन् । स्वप्नाध्यानका अनुसार कुनै पनि सपनाको निश्चित फलका निम्ति निम्न प्रावधानहरु तय गरिएका हुन्छन्, ती हुन् :
 
(१) राति सहबास गरेपछि यस्तो सपना देखियो भने त्यो सपना निस्फल हुन्छ अर्थात तोकिएअनुसारको कुनै पनि फल मिल्दैन ।
 
(२) सपना देखेपछि व्युँझेर फेरि सुतियो र निदाइयो भने त्यो सपना निस्फल हुन पनि सक्छ ।
 
(३) रातको समयलाई चार प्रहरमा विभाजित गरिएको हुन्छ । प्रत्येक प्रहर दुईदेखि तीन घन्टासम्मका हुन्छन् । पहिलो प्रहरमा देखिएको सपनाको फल एक वर्षभित्र, दोस्रो प्रहरमा देखिएको सपनाको फल ६ महिनाभित्र, तेस्रो प्रहरमा देखिएको सपनाको फल तीन महिनाभित्र र चौँथो प्रहरमा अर्थात उज्यालो हुनै लाग्दाको समयमा देखेको सपनाको फल एक हप्तादेखि एक महिनाभित्र मिल्छ ।
 
(४) राम्रो सपना देखेपछि व्युँझियो भने त्यसपछि नसुती उठेर बिहानको स्नानादि कार्यबाट निवृत्त भई ईश्वरीय मनन, चिन्तन गर्ने, देखेको सपना कसैसँग नकहने, यदि कहनै परे आफूभन्दा मान्यजन, सन्त, सुपात्र ब्राह्मण आदिसँग मात्र कहने गर्न सकियो भने उक्त सपना बढी फलदायी हुन्छ ।
 
(५) बेलुका आफ्ना बिस्तरामा गएर सुत्दाखेरि यदि शरीर अशुद्ध छ, मदिरा पान गरेको अवस्था छ, कसैसँग झैझगडा, कोही–कसैको निन्दा, कोही–कसैको मानहानी हुने कार्य आदि गरिएको छ भने त्यस्तो व्यक्तिले त्यो रातमा देखेको राम्रो सपना पनि निस्फल हुने सम्भावना बढी रहन्छ भनिएको छ ।
 
(६) राति सपना देख्नुअघि या पछि सपनादोष हुन्छ भने उक्त सपनाको पनि राम्रो फल नमिल्न सक्छ ।
 
(७) राम्रो सपनाको राम्रो फल पाउनका लागि सपना देखेर व्युँझेपछि बिस्तराबाट उठेर बिहानको स्नानादि कर्मबाट निवृत्त भई भगवान्को कुनै पनि मन्दिरमा गएर दर्शन गरियो भने मन शुद्ध र प्रसन्न हुन्छ । यस्तो किसिमको भगवत् भक्तिले अशुभ (नराम्रो) सपना पनि शुभ (राम्रो)मा परिणत हुन सक्छ भने शुभ सपनाको त के कुरा ?
 
(८) सिकिस्त बिरामी भएर थला परेको अवस्थामा देखिएका राम्रा सपनाहरु पनि फलदायी हुँदैनन् भनेर बताइएको छ ।
अतः सपना दर्शकहरुले सपना देख्नुअघि या पछि आफूले अपनाउन सकिने सतर्कताहरु पूर्णरुपले अपनाएर सपनाहरुलाई शतप्रतिशत फलदायी बनाउन सकौँ, राम्रो सपनाको राम्रै फलबाट लाभान्वित हुन सकौँ, सबैमा मेरो यही सादुभाव । अस्तु !