मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई खुल्ला पत्र

नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई खुल्ला पत्र

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हरेक गन्तव्य पुग्नका लागि सबल मार्गहरूलाई आत्मसात् गरी आवश्यकताअनुसार विभिन्न किसिमका टुल्स र विधिहरूको उपयोग गर्नु पर्दछ । गन्तव्यमा पुगिसकेपछि परिपक्क नेताले विगतका कुराहरूलाई बिर्सिएर गुट र उपगुटभन्दा माथि रहेर कूटनैतिक तवरले समन्यकारी भूमिका निर्वाह गर्नु राजनीतिशास्त्रको नीति नियम , लोकतान्त्रिक सिद्धान्त र दर्शनभित्र पर्दछ ।
 
नेपाली कांग्रेसका आदरणीय सभापतिज्यूले माथि उल्लिखित सिद्धान्त र लोकतान्त्रिक परिपाटीलाई आत्मसात् नगरेको स्पस्ट संकेत गर्दछ । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा सबैलाई समन्वय गरेर फराकिलो छाती बनाई पार्टी चलायमान बनाउन जरूरी देखिन्छ । तर, सभापतिज्यूको पछिल्लो कदमले त्यस्तो देखाउँदैन । आफूलाई सहयोग गर्ने र भोट हाल्नेलाई मात्र लिएर हिँडेको देखिन्छ । सबै कांग्रेसजनहरूको अपनत्व र प्रतिनिधित्व बोध हुने गरी भोट दिने र नदिनेबीचमा पूर्वाग्रह गरी नेपाली कांग्रेसलाई कमजोर बनाउन सभापतिज्यूलगायत कसैलाई पनि अधिकार छैन । 
 
आदरणीय सभापतिज्यू, तपाईंको चुनावी प्रतिबद्धता र हामी सबै नेपाली कांग्रेसजनहरूको इच्छा र आकांक्षा आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई संघीय सांसदमा पूर्ण बहुमत, सातै प्रदेशमा नेपाली कांग्रेसको बहुमत र ७७३ स्थानीय तहमा नेपाली कांग्रेसको सरकार हुनु पर्दछ। त्यसका लागि कांग्रेसभित्र जीत र हारको दम्भ र घमण्डलाई परित्याग गरी तपाईंको उपविजेता डा. शेखर कोइरालाले प्राप्त गरेको ४०.१६ प्रतिशत मतलाई सम्मान र कदर गर्दै हातमा हात, काँधमा काँध मिलाउँदै कार्यकर्ता र जनताको माझमा जानु आजको आवश्यकता हो । 
 
नेपाली कांग्रेसको प्रचलन र परम्पराअनुसार तपाईं पनि विगतमा उपविजेता हुँदा नेपाली कांग्रेसको कुन तह, पद, मान सम्मान र प्रतिष्ठामा हुनुहुन्थ्यो सम्झिन ज़रूरी छ । हालै सम्पन्न १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूको अभिमतले डा. शेखर कोइरालालाई जिम्मेवारी दिइसकेका छन् । यस्तो अवस्थामा सभापतिज्यूबाट किन ढिलासुस्ती र कन्जुस्याइँ गरी उपविजेता डा. शेखर कोइरालालाई दोस्रो स्थानमा राख्न किन अलमल गर्नु भएको छ ? यो प्रश्न को जवाफ सभापतिज्यूले सम्पूर्ण कांग्रेसजनलाई दिन सक्नु पर्दछ । पार्टीभित्रको आन्तरिक मामिलालाई मिलाउन नसक्ने र नखोज्ने सभापतिज्यूले कसरी तीन करोड नेपालीको मन जितेर तीनै तहको निर्वाचनमा बहुमत ल्याउन सक्नुहुन्छ यो गम्भीर प्रश्न तपाईंप्रति छ । 
 
आदरणीय सभापतिज्यू, तपाईं राजनीतिशास्त्रको विद्यार्थी भएकोले विश्वको राजनीतिक घटनाक्रमबारे जानाकार नै हुनु होला । राजनीतिशास्त्रको विधि विधान र नीति नियमले सिनियर जुनियर भन्ने शब्द लोकतन्त्रमा जनतामा निहित गरेको छ । नेपाली कांग्रेस पनि प्रजातान्त्रिक पार्टी भएकोले पक्कै पनि अनुशरण गर्दछ होला । त्यही जनताको अभिमतअनुसार डा. शेखर कोइराला दोस्रो नम्बरमा हुनु पर्दछ । राजनीतिमा को पहिला आयो र गयो भन्ने महत्त्व राख्दैन । यो सेना, प्रहरी र निजामती कर्मचारीको जागिर होइन यो नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको अभिमत भएकोले तपाईंले कदर र सम्मान गर्न सक्नु पर्दछ । 
 
तपाईंलाई याद दिलाउन चाहन्छु फ्रान्समा Emmanuel Jean-Michel Frederic Macron ३९ वर्षको उमेरमा जनताले पताएर फ्रान्सका राष्ट्रपति निर्वाचित भए पार्टी मा खासै ठूलो भूमिका थिएन उनको । डेभिड क्यामरुन ४० वर्षमा बेलायतका प्रधानमन्त्री भए ती पनि पार्टीमा पुराना नेता होइनन् । डोनाल्ड ट्रम पनि रिपब्लिकन पार्टीको साधारण सदस्यता लिएर अमेरिकाको शक्तिशाली राष्ट्रपति पदमा निर्वाचित भएको तपाईं जानाकार नै हुनु पर्ने हो । कुन सिनियर कुन जुनियर पद र सम्मानको निर्धारण लोकतान्त्रिक देशमा जनताले गर्ने गर्दछन् । त्यस्तै युक्रेनमा Volodymyr Oleksandrovych Zelenskyy एउटा नाटक कलाकारले  सिनियर नेताहरूलाई पराजित गरी राष्ट्रपति पदमा निर्वाचित भई देश चलाइरहेका छन् ।  
 
हाम्रो छिनेकी देश भारतमा पनि सत्तारूढ दलका सिनियर नेता एलके एडवानी र डा मुरलीमनोहर जोशी भन्दा जुनिएर नेता नरेन्द्र मोदी शक्तिशाली प्रधानमन्त्री छन् । डा. शेखर कोइरालालाई तपाईंले कस्तो सिनियर जुनियर नेता भन्न खोज्नु भएको हो, १४ औँ महाधिवेशनको परिणामले स्पस्टरूपमा डा कोइरालालाई दोस्रो स्थान निर्धारण गरेको छ। 
 
आदरणीय सभापतिज्यू, तपाईंको राजनीतिक इतिहासलाई पल्टाएर हेर्दा पहिलोपटक प्रजातान्त्रिक कांग्रेसको सभापति र दुईपटक नेपाली कांग्रेसको निर्वाचित सभापति हुनु भएको छ भने पाँच पटकसम्म मुलुकको प्रधानमन्त्री हुने सौभाग्य प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाली कांग्रेसको विधानअनुसार १५ औँ महाधिवेशनमा तेस्रोपटक सभापति पदमा उम्मेदवार बन्न वञ्चित गरेको छ ।

आदरणीय सभापतिज्यू, त्यसैले तपाईंबाट ईगो, लोभ, मोह, मेरो र उसको, गुट र उपगुट, पूर्वाग्रही एवं भेद्भावको राजनीतिलाई अन्त्य गरी तपाईं आफूले आफैँलाई उच्च स्थान राख्न सक्नु पर्दछ । 

 
विपीको विचार र लोकतान्त्रिक पद्धतिलाई अविलम्बन गरी नेपाली कांग्रेसलाई एकढिक्का र बलियो बनाउन तपाईंको नेतृत्व सबल रहोस् भन्ने कामना गर्दछु ।