विचार / ब्लग

नेपाली काँग्रेस अरूको अकर्मण्यताका कारण होइन, आफ्नै सुकर्मले अगुवा बन्न सक्नुपर्छ

प्रकाशित |
जय नेपालको नाराले !
मुक्ति पाउछन् साराले !
रुख कसको ? काँग्रेसको !  
काँग्रेस कसको ? जनताको !
 
अति नै मन छुने यी काँग्रेसी नाराहरू एकताका नेपाली राजनीतिमा चर्चाको शिखरमा थिए । यी नाराहरू चर्चाको शिखरमा पुग्नुमा वजनदार शब्दहरूको चयन र उचित संयोजन मात्र होइन, नेपाली राजनीतिमा विपीको समाजवाद, नेपाली काँग्रेसको ऐतिहासिक भूमिका, नेपालीको भावना, देश र जनताको आशा तथा भरोशा र देश र जनताप्रतिको काँग्रेसको जबाफदेही प्रतिबद्धता प्रमुख कारक थिए । २०४६ सालको जनआन्दोलनले प्रजातन्त्रको पुनर्स्थापना गरेसँगै यी र यस्ता नाराहरू नेपाली आकाशमा निकै गुन्जिए । त्यतिबेला यी नाराले काँग्रेसीहरूका लागि उर्जाशील उत्प्रेरक आदर्श वचन, अन्य राजनीतिक दलहरूका लागि चुनौतीको पहाड र जनताका लागि काँग्रेसप्रति आशा र भरोशाको प्रतिबिम्बको भूमिका निर्वाह गरेका थिए । 
 
खासगरी, २०४८ सालको आमनिर्वाचनताका निकै बुलन्द भएका यी नाराहरूले काँग्रेसलाई देश सञ्चालन गर्न एकमाने सरकारको बागडोर सुम्पने अभियानमा भर्याङको काम गर्यो । तर, जब काँग्रेसले यी नाराहरूलाई सार्थक बनाउन इमानदारी र बफादारीका साथ भूमिका निर्वाह गर्ने  समय आयो, तब काँग्रेस चुक्यो । अनि आफ्नै आन्तरिक कलहको भूमरीमा फस्न पुग्यो । र, आफ्नो खुट्टामा आफैंले बन्चरो हानेर आफ्नैका बीच एकअर्कालाई सिध्याउने प्रतिशोधको बीउ रोप्न पुग्यो । जसको नकारात्मक असर काँग्रेसमा मात्र सीमित रहेन । त्यसको असर अन्य राजनीतिक दलहरू हुँदै समग्र देशमै पर्न गयो । 
 
त्यतिबेलादेखि उँधो बाटो लाग्न सुरु गरेको काँग्रेसले आजका मितिसम्म आइपुग्दा अनेकखाले आन्तरिक तथा बाह्य चुनौतीहरूको उतारचढाबहरू सामना गर्न बाध्य भयो। पछिल्ला राजनीतिक घटनाक्रमहरूले व्यवस्थाको औचित्य र अस्तित्वप्रति नै प्रश्नचिह्न खडा गर्दै गर्दाको अवस्थामा, आफू सप्रिएर आफैंले जनप्रिय काम गरेका कारणले भन्दा पनि अरु बिग्रिएर उनीहरूले जनअप्रिय काम गरेका कारण पुनः एक पटक ऐतिहासिक जिम्मेवारी प्राप्त गर्न त सफल भयो । तर, कथनी र करणीको परिणाम हेर्दा आफूलाई सच्याई जनप्रिय भूमिकाहरू निर्वाह गरेर पुनः अगुवामा आफूलाई स्थापित गराउने यो दुर्भाग्यपूर्ण सौभाग्यलाई भरपुर सदुपयोग गर्न भने चुकिरहेको देखिन्छ। 
 
हुन त विपीवादले प्रतिपादन गरेको सिद्धान्तका आधारमा नेपाली काँग्रेसले १) राष्ट्रियता २) लोकतन्त्र र ३)समाजवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तको मूल मन्त्र बनाउँदै आइरहेको छ। जो विपीका पालामा काँग्रेसको सैद्धान्तिक आत्मा र व्यावहारिक मेरुदण्ड थियो । जसको मुख्य जग नै देश र सार्वभौम जनतालाई मानिएको छ । तर, वर्तमानमा कथनी र करणीमा भने पर्याप्त तारतम्यता मिलिरहेको देखिन्न । 
 
देशमा चरम राजनीतिक अकर्मण्यताका कारण बनेको लथालिङ्ग राजनीति र भताभुङ्ग व्यवस्थाले चुलोदेखि तुलोसम्म टुटेको र चुकेको एवम् नेपाली जनताको मन निकै कुँडिएको यो अत्यन्तै विषम परिस्थितिमा नेपाली काँग्रेसले, ''उत्साह, एकता र रुपान्तरण''लाई आफ्नो महाधिवेशनको मूल नारा बनाउँदै आन्तरिक सांगठानिक महायज्ञ 'चौधौं राष्ट्रिय महाधिवेशन - २०७८' सम्पन्न गरिसकेको छ। जसले पार्टीको आगामी स्पष्ट मार्गचित्र बनाएर आवश्यक दिशानिर्देश गर्न नसके तापनि तुलनात्मक रूपमा अन्यभन्दा लोकतान्त्रिक अभ्यास गरेर प्राविधिक रूपमा जिम्मेवारी बाँडफाँटसहित सांगठानिक संरचनाअनुसार स्थानीय तहदेखि केन्द्रीय तहसम्म नयाँ कार्यसमिति चयन गर्न भने सफल भएको छ। यद्यपि, महाधिवेशनले आफ्नै नारा 'उत्साह, एकता र रुपान्तरण' लाई यथोचित न्याय दिन चुकेको कुरा भने जगजाहेर नै छ । 
 
कुनै समय सक्कली हिङसहितको टालोको धनी काँग्रेस अहिले हिङबिनाको टालो मात्र देखाएर भए पनि आफ्नो हैसियत बचाउन राजनीतिक खरखजानाको जोहो गर्दै छ। सोही क्रममा आफैं सुध्रिएर गरिएका आफ्ना सुकर्महरूका कारण भन्दा पनि अरु बिग्रिएर उनीहरूले गरेका अकर्मण्यताका कारण अगुवा बन्ने अवसर प्राप्त गरेको काँग्रेसले अझै पनि जनमन जित्न पर्याप्त विश्वसनीय लक्षणहरू देखाउन सकिरहेको छैन । यही अवस्था रहिरहे जनप्रिय भएर स्थायी रूपमा अगुवा बनिरहन सक्दैन भन्नेमा कुनै शङ्का छैन । 
 
वर्तमान परिस्थितिलाई चिन्तन-मनन गर्दा साँचो अर्थमा: ''अगुवा नेपाली काँग्रेस नै नसुध्री, अरू राजनीतिक दलहरू सुध्रिदैन। सबै राजनीतिक दलहरू नसुध्री, देशको मूल राजनीति सुध्रिदैन । देशको मूल राजनीति नसुध्री, राष्ट्रियता, लोकतन्त्र र समाजवाद सुदृढ हुँदैन। राष्ट्रियता, लोकतन्त्र र समाजवाद सुदृढ नभएसम्म, व्यवस्था सुदृढ हुन सक्दैन । व्यवस्था सुदृढ नभएसम्म, नेपालमा शान्ति र समृद्धि सम्भव छैन।''
 
सबैभन्दा जड कुरा त अझै समयको माग र जनभावनाअनुसार काँग्रेसको नीति, रणनीति, कार्यनीति र नेताहरूको प्रवृत्ति सुध्रिनु अपरिहार्य छ । त्यसका लागि महाधिवेशन समाप्त भए पनि महाधिवेशनको मूल नारा ''उत्साह, एकता र रुपान्तरण''लाई सार्थक तुल्याउनका लागि आवश्यक पर्ने भूमिकाहरूलाई निरन्तरता दिनु जरुरी छ। तसर्थ, आगामी दिनहरूमा काँग्रेस सिङ्गो पार्टी नै आफ्नै सैध्दान्तिक मूल मन्त्र "राष्ट्रियता, लोकतन्त्र र समाजवाद''प्रति इमानदार, बफादार र प्रतिबद्ध हुन सकोस् । 
 
वर्तमान अन्योलताबाट देशलाई निकास दिन प्राथमिकताका साथ जनताको सार्वभौम अधिकारको संरक्षण, संवर्धन र सुनिश्चितता गर्दै यथाशीघ्र ताजा जनादेश लिन हिम्मत गरेर अगुवा बन्न सकोस् । सिद्धान्त र व्यवहारहरू बीचको तारतम्यता, एकता र एकरूपताको कदर गर्न लायक बनेको र शुद्धीकरण, सुदृढीकरण र सबलीकरण भएको सुन्न, देख्न र अनुभूति गर्न पाइयोस् !
 
पार्टीको सैद्धान्तिक मर्म तथा देश र जनताको आत्मा समेटिएका ती ऐतिहासिक नाराहरू...
 
''जय नेपालको नाराले,
मुक्ति पाउछन् साराले।''
''रुख कसको ...? काँग्रेसको ।''
''काँग्रेस कसको ...? जनताको ।''
 
नारालाई पुनर्जीवन दिएर बुलन्द पार्दै सार्थक तुल्याउन सफल रहोस् ! साथै, बिग्रिएकाहरू सुध्रिन सकून्, सुध्रिएकाहरू सप्रिन सकून्, सप्रिएकाहरू फूल्न सकून्, फुलेकाहरू सुगन्ध छर्न सकून्, सुगन्ध छर्नेहरू फल्न सकून् ।
 
मूलभूत रुपमा नेपाली काँग्रेस अरूको अकर्मण्यताका कारण होइन, आफ्नै सुकर्मले अगुवा बन्न सकोस् भन्ने सदिच्छासहित ''चौधौं राष्ट्रिय महाधिवेशन-२०७८' बाट निर्वाचित व्यक्तित्वहरू, अमूल्य मतदान गर्ने मतदाताहरू र साधारण सदस्यसहित सम्पूर्ण काँग्रेसीजनहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया