विचार / ब्लग

सफला एकादशी र यसको पौराणिक महिमा

प्रकाशित |
हिन्दु पञ्चाङ्गअनुसार एक महिनामा दुई वटा, एक वर्षमा २४ वटा र अधिकमास या मलमासमा दुई वटा एकादशी थपिन गएर एक वर्षमा २६ वटा एकादशीहरु हुन्छन् । जसरी नागमा ठूला शेषनाग, पक्षीमा ठूला गरुढ, ग्रहमा ठूला चन्द्रमा, यज्ञमा ठूला अश्वमेध यज्ञ, मनुष्यमा ठूला ब्राह्मण र देवताहरुमा ठूला विष्णु भगवान् हुन त्यसैगरी व्रतमा ठूलो एकादशी मानिएको छ । एकादशी विष्णु भगवान्को लागि अति प्रिय मानिन्छ । हरेक वर्षमा पौष महिनाको कृष्णपक्षमा आउने एकादशीलाई सफला एकादशी भनिन्छ । यस एकादशीको पूर्ण विधिपूर्वक व्रत गर्नाले पाँच हजार वर्षसम्म तपस्या गर्दा नमिल्ने फल सहजै प्राप्त हुने बताइएको छ । सूर्यग्रहणको समयमा कुरुक्षेत्रमा स्नान गर्दा पाइने फल(पुण्य)भन्दा हजारौँ गुणा बढी फल सफला एकादशीको व्रतबाट पाइन्छ । यस एकादशीको व्रतका प्रभावले कार्यसम्पादनमा विफल भएको मान्छे पनि सफल हुने र दुर्भाग्यको भुमरीमा फसिरहेको मानिसको जीवन सौभाग्यमय भएर जान्छ । यस एकादशीको व्रत नगरीकन व्रत कथा सुन्दा–सुनाउँदा मात्र एकसय गाई दान गरेबराबरको पुण्य प्राप्त हुन्छ भनेर पद्मपुराण र ब्रह्माण्ड पुराणमा उल्लेख गरिएको छ । विफल भएको मानिसको जीवन सफल बनाउन यस एकादशीको अग्रणी भूमिका रहेको हुनाले यसलाई सफला एकादशी भन्ने गरिएको हो भन्ने किम्बदन्ती छ । सफला एकादशीको व्रत कथा सुन्दा–सुनाउँदा मात्र एक राजसूय यज्ञको फलबराबरको फल प्राप्त हुन्छ भन्ने कुरा विभिन्न हिन्दु ग्रन्थहरुमा बताइएको पाइन्छ ।
 
द्वापरयुगमा कुन्तीपुत्र युधिष्ठिरले परम पुण्यकारी सफला एकादशीका बारेमा केही जान्ने चाहना राखेर श्रीकृष्णसँग प्रश्न गरेछन् । श्रीकृष्णले यस एकादशीको बारेमा एक  पौराणिक कथा सुनाउँदै युधिष्ठिरको प्रश्नको उत्तर दिएछन् जुन यस प्रकारको छ ।
 
परापूर्वकालमा चम्पावती नगरमा महिष्मान् नाम गरेका एक राजाले राज्य गर्दथे । उनका चार भाइ छोरा रहेछन् । यीमध्ये जेठा छोराको नाम लुम्पक थियो । यो अत्यन्तै दुष्ट तथा महापापी स्वभावको थियो । ऊ परस्त्री गमन जस्तो अतिनिन्दनीय कार्य गरेर आफ्ना पिताको धन–सम्पत्ति खर्च गरिदिने गर्दथ्यो । देवता, विद्वान्, ब्राह्मण आदिजस्ता सुपात्रको निन्दा गर्नमा ऊ उद्यत् हुन्थ्यो । त्यस राज्यका सबै प्रजा उसको यस्तो कुकर्मबाट ज्यादै दुःखी थिए । तर, ऊ राज्यको यवराज भएको हुनाले कोही–कसैले उसको खिलापमा बोल्न नसकी चुपचाप रहन्थे । 
 
उसको अत्याचार सहन गर्न उनीहरु बाध्य थिए । राजाका सामुन्ने त्यस युवराजको सिकायत गर्ने कसैमा साहस तथा हिम्मत थिएन ।
‘सत्य डग्दैन, झुठो तग्दैन’ भन्ने उखान जस्तै आखिरीमा एक दिन त राजा महिष्मान्लाई आफ्ना जेठा छोराको कुकर्मका बारेमा सबै कुरा थाहा हुन गएछ । त्यसपछि उनी आफ्नो त्यो छोरासँग ज्यादै रिसाएर त्यसलाई राज्यबाट धपाई दिएछन् । पिताबाट त्यागिएको लुम्पकलाई अरुले पनि त्यागिदिए । अब उसले सोच्न थालेछ– म कहाँ जाऊँ र के गरुँ ? अन्त्यमा उसले आफ्नै पिताका राज्यमा राति धन–माल लुट्न र चोरी गर्न सुरू गरेछ । दिनमा राज्य बाहिर वन–जङ्गलमा गएर बस्ने र राति आफ्नै पिताको नगरमा गएर चोरी तथा अन्य दुष्कर्म गर्न लागेछ । रातमा नगरवासीहरुलाई कुटपिट पार्ने, उनीहरुको धन–माल लुट्ने आदि गरेर सताउन थालेछ । कुनैदिन चोरीको सिलसिलामा पक्रियो भने पनि राजाका डरले गस्ती–प्रहरीले त्यसलाई छोडिदिँदा रहेछन् । लुम्पकको यस्तो क्रियाकलापलाई देखे–बुझेर ऋषि–महर्षिहरुले भन्न थालेछन् कि कहिलेकाहीँ अञ्जानमा पनि प्राणीले यस्ता कार्य गर्न प्रवृत्त हुन्छ जसमा भगवान्को पनि साथ, कृपादृष्टि हुन सक्छ । जुन वनमा लुम्पक बस्ने गर्दथ्यो, त्यो वन भगवान्को अति प्यारो क्षेत्र रहेछ । त्यस वनमा देवताहरु आएर विभिन्न क्रिडा गर्ने गर्दा रहेछन् । त्यस वनमा एक ज्यादै पुरानो पीपलको बोट रहेछ । त्यस बोटलाई सबै मानिसले देवताहरुको निवासस्थान मान्दा रहेछन् । त्यही बोटको फेदमा त्यो महापापी लुम्पक रहने गर्दोरहेछ ।
 
केही दिनपछि पौष कृष्णपक्षको दशमीका दिन बेलुका निर्वस्त्र हुनाका कारण लुम्पक भीषण शीतलहरबाट मूर्छित भएछ । त्यस राति अशक्त चिसो भएर ऊ सुत्न सकेनछ, हात–खुट्टा चिसाले कठ्याङ्ग्रिएछन् । सारा रात ननिदाईकन अत्यन्तै कठिनसँग बितेछ, बिहान सूर्योदय भएपछि पनि ऊ सचेत (होसमा आउने) हुन सकेनछ । सफला एकादशीका दिनको दुई प्रहरसम्म त्यो पापी मूर्छित भएरै रहेछ । जब धरतीमा सूर्यको ताप बढ्दै गयो । तब उसको शरीर तात्दै जानाले उसमा चेतना (होस) आउन लागेछ र खानाको खोजीमा त्यो पापी यता–उता विचरण गर्न लागेछ । त्यस दिन पशुपक्षीको बध गरेर मासु खान ऊ असमर्थ थियो । 
 
यसकारण बोटबाट भुईंमा झरेका फलफूलहरु बटुलेर साथमा लिई पीपलको फेदसम्म आफू बस्ने ठाउँमा जिउँ–तिउँ घिस्रँदै पुगेछ । ऊ अघिल्लो दिनदेखि भोक–भोकै हुनाका कारण ती फलफूल खान खोज्दा पनि खान सकेनछ, यसो किन हुन गएछ भने उसले जङ्गली जीव–जन्तु मारेर तिनको मासु खाने गरेको बानी थियो । ती फलफूलहरु जति सबै पीपलको फेदमा राखेर ज्यादै दुःखी हुँदै पुकार गर्न लागेछ– हे भगवान ! यी फलफूलहरु मैले तपाईंलाई अर्पण गर्दछु । यिनलाई खाएर तपाईं तृप्त हुनुहवस् । यसो भन्दै ऊ धुरु–धुरु रुन लागेछ । 
 
सफला एकादशीको दिन सबै बितिसकेर रातभरि पनि ऊ ननिदाईकन रात काटेछ । यसरी त्यस पापीबाट दशमीका रातिदेखि एकादशीको दिन पूरै र रात पनि पूरै अञ्जानमा उपवास हुन गएछ । त्यसको त्यो सबै निराहार उपवास र रातभरिको जागरणबाट विष्णु भगवान् ऊसँग अत्यन्तै प्रसन्न भएछन्, जसका कारण त्यस पापीका सबै पापहरु नष्ट हुन गएछन् । द्वादशीका दिन उज्यालो हुनासाथ नानाभाँतीका अनेक सुन्दर वस्तुहरुबाट सजिएको एक दिव्य रथ त्यहाँ आएछ र लुम्पकसामु उपस्थित भएछ । त्यसै समयमा यस्तो एक आकाशवाणी पनि भएछ– हे युवराज ! भगवान् विष्णुको कृपाले तिमीले गरेका सबै पापहरु नष्ट भएर गए । अब तिमी आफ्ना पितासँग गएर आफ्नो राज्य प्राप्त गर्न योग्य भयौ ।
 
यस्तो आकाशवाणी सुनेपछि लुम्पक अत्यन्त प्रसन्न हुँदै बोल्न थालेछ– हे प्रभु ! तपाईंको कल्याण होस् । ॐ नमो भगवते वासुदेवाय । लुम्पकले यति भन्दाबित्तिकै उसको शरीरले सुन्दर वस्त्र धारण गरेको एक दिव्य तथा तेजस्वी रुप धारण गरेछ । त्यसपछि भगवान्को नाम पुकार गर्दै लुम्पक आफ्ना पितासमक्ष पुगेछ र त्यहाँ पुगेपछि उसले पितालाई आफ्नो सबै वृत्तान्त सुनाएछ । बिग्रेको छोरो सुध्रिएको देखेर खुसी हुँदै महिष्मान् राजाले आफ्नो सम्पूर्ण राज्य लुम्पकलाई सुम्पी आफू सन्यासीको रुप धारण गरेर जङ्गलतिर प्रस्थान गरेछन् ।
 
त्यसपछि लुम्पकले शास्त्रीय मान्यताअनुसार त्यस राज्यको शासन गर्न लागेछन् । उनकी श्रीमती, छोरा, सबै विष्णुभक्त भएछन् । वृद्धावस्था भएपछि लुम्पकले आफ्नो छोरालाई राज्य सुम्पेर आफू भागवत् भक्तिका निम्ति जङ्गलतिर गएछन् । अन्त्यमा लुम्पकले मृत्युपश्चात परम–धाम प्राप्त गरेका थिए भनी हाम्रा धार्मिक पुराणहरुमा जनाइएको छ ।       
 
सफला एकादशीको व्रत विधि 
 
–दशमीका दिन सात्विक भोजन गर्ने । सूर्यास्तपछि भोजन नगर्ने । राति भुईंमा सुत्ने ।
 
–एकादशीका दिन बिहान ब्रह्ममुहूर्तमा उठी स्नानादि गरेर शुद्ध र पवित्र भई दाहिने हातको अञ्जुलीमा जल, फूल समातेर हे विष्णु भगवान् ! मैले आज अंक कार्य सिद्धिका लागि सफला एकादशीको व्रत गर्दैछु, यो व्रत विधिपूर्वक सम्पन्न गर्नका लागि प्रभुबाट मलाई प्रेरणा मिलोस् भन्दै संकल्प गर्ने ।
 
–त्यसपछि पूजाकोठामा गएर लक्ष्मी–नारायणको प्रतिमामा पहेँलो या रातो वस्त्र धारण गराउने । देवी–देवताहरुको प्रतिमा स्थापना गरेर ती सबैलाई जल, फूल, चन्दन, अक्षता, अघ्र्य आदिले पूजन गर्ने । लक्ष्मी–नरायणको प्रतिमामा जौ, तिल, कुश, अघ्र्य, बेलपत्र, तुलसीपत्र र कमलको फूल चढाउने ।
 
–दिउँसो निराहार उपासना गर्ने । व्रत कथा सुन्ने–सुनाउने । विष्णु भगवान्सँग सम्बन्धित भजनहरु श्रवण गर्ने । ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने ।   
 
–बेलुका सूर्यास्तपश्चात शुद्ध र पवित्र भएर पुनः सबै देवी–देवताहरुको पूजन गर्ने । अनि धूप, दीप, आरती, पञ्चामृत, नैवेध, फलफूल अन्य प्रसाद देवताहरुलाई अर्पण गर्ने, शंख, घण्ट, बजाउने । त्यसपछि सबैलाई प्रसाद वितरण गर्ने । निराहार र रातभरि जाग्राम गर्दा श्रेष्ठ फल प्राप्त हुने भएको हुनाले सकिन्छ भने रातभरि विष्णु भगवान्सम्बन्धीका भजन–कीर्तन सुनी निराहार उपासना गर्ने । त्यसो गर्न कसै नसक्ने अवस्था भएमा दूध, फलफूल, चिया खान सकिने । यस दिन अन्न र नून पूर्णरुपले वर्जित छ । रातभरि जाग्राम बस्न नसक्ने भएमा रातको कम्तीमा पनि पहिलो प्रहर व्यतीत गरेर भुईंमा सुत्ने ।
 
–द्वादशीका दिन बिहान सबेरै उठी स्नानादि गरेर शुद्ध र पवित्र भई दाहिने हातको अञ्जुलीमा जल, फूल, अक्षता लिएर हे विष्णु भगवान् ! तपाईंको प्रेरणाले मैले यस सफला एकादशीको ब्रत गरी त्यसको अहिले पारण गर्दैछु । व्रतका क्रममा मबाट जान–अञ्जानमा कुनै भूल, त्रुटि हुन गएको भए क्षमा पाऊँ । हे प्रभु ! मबाट तपाईं अब प्रसन्न भएर मलाई अंक कार्यको सिद्धिका लागि हजुरबाट कृपाको वर्षा होस् भन्दै हातमा भएको सबै वस्तु भगवान्लाई चढाएर प्रणाम गर्ने । त्यसपछि पण्डित र ब्राह्मणहरुलाई सक्दो दक्षिणा दिएर भोजन गराउने । त्यहाँ भएका अन्य बन्धु– बान्धवहरुलाई भोजन गराउने । आफ्नो औकातअनुसार सक्दो अन्न, द्रव्य, लत्ता–कपडा, गाई, छाता, जुत्ता आदि दान गर्ने । अन्त्यमा मौन रहेर आफूले पनि भोजन गर्ने ।
 
–ब्रतको पारण कार्य द्वादशी तिथिको समयभित्र गरिसक्नु पर्ने धार्मिक प्रावधान छ ।
 
पुण्यदायिनी, करुणामयी सफला एकादशीको हिन्दु परम्परामा अति नै ठूलो मान्यता रहेको छ । युवराज लुम्पकले आफ्नो बिग्रेको मतिलाई जसरी सफला एकादशीका व्रतका प्रभावले सपार्न सके, त्यसको सिको हामीले पनि गरौँ । लुम्पकले अञ्जानमा उपासना गर्दा त त्यस्तो आश्चर्य हुँदोरहेछ भने हामीले जाना–जानी व्रत गर्दा कस्तो र कहाँसम्म फलिफलाऊ हुँदो हो, यसबारे पनि हामीले आफ्नो अन्तर–आत्माले मनन–चिन्तन गरौँ, केही दीक्षा अवश्यमेव पाउने छौँ । व्रत, उपासना गर्नु आध्यात्मिक दृष्टिले मात्र नभएर भौतिक हिसाबले पनि फलदायी, स्वस्थ्यकर हुन्छ भनेर विद्वान्हरु चर्चा गर्छन् । मन, वचन र कर्मलाई शुद्ध र पवित्र पार्न व्रत, उपासनाको एकाग्र अभ्यास अहिलेको जगत्मा पनि नितान्त आवश्यक महसुस भएको छ । अतः यस सफला एकादशीको व्रतगरी मनवाञ्छित पुण्य लाभ गरौँ । समस्त हिन्दु बन्धुहरुमा मेरो यही आग्रह छ । अस्तु !

चक्रपाणि शर्मा गौतम

चक्रपाणि शर्मा गौतम -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया