विचार / ब्लग

भूकम्प डायरी–२०७२ (संस्मरण)

प्रकाशित |
विसं २०७२ साल वैशाख १२ गते शनिबारको दिन । त्यतिखेर हामी वनस्थलीमा डेरा गरेर बसेका थियौँ । म बिहानको खाना खाईवरी खाटमा पल्टेको थिएँ । छोराछोरी पल्लो कोठामा पढ्दै थिए । म त कतिखेर निदाएछु, पत्तै भएन । व्युँझ्दा खाट जोडले हल्लिरहेको थियो । झट्पट उठ्न खोजेँ तर सकिनँ । छोरा पल्लो कोठाबाट निस्केर भागौँ भागौँ भन्दै भर्र्याङको रेलिङ समात्दै तल दौडेर गयो । छोरी आत्तिदै मेरो कोठामा पसिन् र खाटको खुट्टा समातेर बसिन् । भन्साका भाँडाकुँडाहरु बज्न थाले । हेर्दाहेर्दै भाँडाकुँडाहरु ढल्न थाले । बाहिरतिरबाट पर्खाल भत्केको आवाज आयो । मानिसहरु चिच्याउँदै घरबाहिर निस्कन थाले । हामी पनि तेस्रो तलाबाट झरेर घर नजिकको खाली चौरमा गयौँ ।
 
चौरमा मानिसहरु जम्मा भएर भगवान् पुकार्न थाले । कहाँँ कहाँ के कति क्षति भयो होला भनेर बुझ्न सबै आतुर देखिन्थे । बारम्बार भूकम्पको पराकम्पन आइरहेको हुँदा घरभित्र जान र कतै घुम्न जान मानिसहरु डराइरहेका थिए । विद्युत् सेवा अवरुद्ध भएको थियो । टेलिफोनको नेटवर्क व्यस्त रहेको थियो । सबैले आफ्ना आफन्त र इष्टमित्रसँग फोनमा कुरा गर्न थाले । रिचार्ज ब्यालेन्स नभए पनि नेपाल टेलिकमले फोन सुविधा उपलब्ध गराएको थियो । त्रासै-त्रासमा दिन बिताएर साँझमा सबैले पाल टाँगेर बस्ने ठाउँँ बनाउन थाले । निरन्तर पराकम्पन आइरहेको हुँदा खाना खान कोठामा जान समेत डराउनुपर्ने अवस्था थियो । जसोतसो खाना खाएर सबैजना मिलेर पालमुनि एकछत्त भएर रात कटाइयो ।
 
यही रीतले एकहप्ता घरबाहिर पालमा बिताइयो । होटल, पसल र फुटपाथे व्यापार सबै बन्द थियो । दानापानी जुटाउन पनि समस्या थियो । हामीले भान्सा भुईंतलामा सार्‍यौँ र घरभेटीसँग एउटै भान्सामा खाना खान थाल्यौँ । यसैबीच, वैशाख मसान्तसम्मको लागि शिक्षण संस्थाहरु बन्द भए । छोराछोरीहरु घर जाने भए । म एक हप्तापछि अफिस पुल्चोक जाने भएँ ।
 
पालमुनिको बसाइ असहज भए पनि समूहमा बसेकोले कुराकानी र भलाकुसारी गरेर बित्दथ्यो । कोही मादल, खैजेडी बजाएर भजनकीर्तन गर्थे । कोही ख्यालठट्टा गरेर र चुट्किला सुनाएर रमाइलो गर्थे । म पनि चुट्किला सुनाउने, आई क्यू सोध्ने, मुक्तक र कविता सुनाउने गर्थें । पालको बसाइले सबै मानिसहरुमा आपसी सम्बन्ध र सद्भाव बढाएको थियो । धनी र गरिबको दिनचर्या र बसाइ उस्तैउस्तै बनाएको थियो ।
पराकम्पको मात्रा अलि कम हुन थालेपछि दैनिकी अलिक सहज हुँदै गयो । हामी बेलाबेलामा वनस्थली, बोहोराटार, रानीवन र ढुङ्गेधारातिर भत्केका संरचनाहरु अवलोकन गर्न जान्थ्यौँ । भत्केका घर पर्खालहरु देख्दा मन भारी भएर आउँथ्यो । तर पनि भगवान्को लीला सम्झेर हामी आफू बाँच्न सफल भएकोमा गर्व गर्थ्र्यौं ।
 
केही दिनमा नै हाम्रो मोबाइल र टर्चको चार्ज सकियो । पछि पैसा उठाएर हामीले जेनेरेटर चलाएर चार्ज गर्यौं र पालमा बत्ती पनि जडान गर्यौं । अब झिलिमिली उज्यालोमा नाचगान झनै रमाइलो हुन थालेको थियो । छोराछोरी घरमा गएपछि म दिदीको घरमा काँडाघारी वीरेन्द्रचोक जाने भएँ । त्यतैबाट अफिस जाने आउने गरी म वनस्थलीको समूहबाट बिदा भएर काँडाघारी गएँ । त्यहाँ दिदीहरु पनि चौरमा पाल टाँगेर र समूहमा मेस चलाएर बस्नुभएको रहेछ । दिदी रेड्क्रस अफिसमा जागिरे हुनुभएकोले उहाँको कार्यव्यस्तता निकै बढेको थियो ।
 
एक हप्तापछि म आफ्नो अफिस दुर्गम क्षेत्र विकास समिति श्रीमहल पुल्चोक गएँ । हाम्रो अफिस नयाँ भवन भएकोले कुनै क्षति भएको रहेनछ । तर, दराज र र्‍याकहरु ढलेर कागजात र फाइलहरु छरपष्ट भएका थिए । सबैले आआफ्नो कोठाका सामानहरु मिलाएर राख्यौं र बगैँचा फूलबारीमा गएर बस्थ्यौँ । किनभने, कोठाभित्र काम गर्दागर्दै वैशाख २७ गते पुनः अर्को ठूलो पराकम्प गएको थियो । यसले हामीलाई तर्साएको थियो । पुरानो राणाकालीन भवन भने भत्केको र चर्केको हुँदा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को कार्यालय भने सस्पेन्सन ब्रिज डिभिजन छेउको बगैँचामा पाल टागेर काम सुरू गरिएको थियो ।
 
अफिसमा गएर पत्रपत्रिका हेरेर समय कटाइन्थ्यो । पत्रिका पढेर भूकम्पको असरबारे धेरै कुरा थाहा पाइयो । वैशाख १२ गते बिहान नेपाली समयअनुसार ११ः५६ मा लगातार ४९ सेकेन्डसम्म कम्पन भएको उक्त भूकम्पको नाप सात दशमलब आठ रेक्टरको रहेछ । गोरखाको बारपाक केन्द्रबिन्दु रहेको उक्त भूकम्पमा राष्ट्रको शान धरहरा ढल्न पुगेको थियो र धरहरा चढ्न गएका ७२ जनाको मृत्यु भएको थियो । सर्वोच्च शिखर सगरमाथामा हिमपहिरो जाँदा २२ जना पर्वतारोही पुरिएका थिए । त्यस्तै रसुवाको लाङ्टाङमा हिमपहिरो आएर गाउँ सिङ्गै बगाउँदा २५० जना बेपत्ता भएका थिए । देशभर ५१६२ जनाको मृत्यु भएको रहेछ ।  
 
म आफू फिल्डमा खटिने कर्मचारी भएकोले बाह्रै महिना भनेको समयमा गाउँ घुम्नुपर्ने बाध्यता आउने गर्थ्यो । कर्तव्य पालनाको सिलसिलामा ललितपुर, मनाङ, मुस्ताङ, कालिकोट, गोरखा, धादिङ, संखुवासभा र रसुवाका गाउँबस्तीमा हिउँदबर्खा, झरी हिमपात केही नभनी घुमियो । तर, म सशस्त्र द्वन्द्वग्रस्त क्षेत्र र प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा घुम्दा कतै पनि असहज परिस्थिति र बाधाहरुको सामना गर्न सधैँ सफल भएँ । त्यसैले मलाई ‘सोझोको सहारा दैव’ भन्ने लोकोक्तिमा पूरापूर विश्वास लागेर आउँछ ।  

-नवराज न्यौपाने ‘मौन’

-नवराज न्यौपाने ‘मौन’ -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया