अमेरिका समाचार

अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, क्रिसमसका कार्यक्रम रद्द गर्न डब्ल्युएचओको आग्रह

प्रकाशित |
न्युयोर्क । अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको सङ्क्रमणमा सबैभन्दा धेरै सङ्क्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् । 
 
 
अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा।एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको सङ्क्रमण सर्न सक्ने बताएका छन् । यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन् ।
 
अमेरिकाका अधिकारीहरुले विश्वका अरु देशका तुलनामा ओमिक्रोन भाइरस अमेरिकाका निकै नै दू्रत गतिमा फैलिएको जनाएका छन् । उनीहरुले गएको डिसेम्बर १ मा मात्र अमेरिकामा पहिलो सङ्क्रमित देखिएकामा अहिले आएर यहाँका करिब ४८ राज्यमा नै यो सङ्क्रमण फैलिएको जनाएका छन् ।
 
उता कोभिडको ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षाका लागि भन्दै आफ्ना छुट्टीका कार्यक्रमहरु तथा योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य संगठनले आग्रह गरेको पनि गरेको छ ।
 
विश्व स्वास्थ्य संगठनका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले कठिन परिस्थिति भएकाले यस्तो कठिन निर्णय गर्न पनि पछि हट्न नहुने सुझाव पनि सबैलाई दिएका छन् । उनले ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य पत्ता लागेको भन्दै यो क्रिसमसका बेला हुने ओहारदोहोरले अझ धेरै असर गर्नेतर्फ सबैजना सचेत हुनुपर्ने बताए ।  
 
क्रिसमसका बेला हुने यात्राले कोभिडको नयाँ भेरियन्ट फैलाउने अमेरिकी विज्ञको पनि भनाइ यसअघि नै आएको थियो । फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागू गर्नुका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध पनि लगाइरहेका छन् । एजेन्सी    
 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया