मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मार्गशीर्ष पूर्णिमा र उधौली पर्व : एक विवेचना

मार्गशीर्ष पूर्णिमा र उधौली पर्व : एक विवेचना


सनातन वैदिक सभ्यता र हिन्दु पञ्चाङ्गअनुसार हरेक महिनाको शुक्लपक्षको अन्तिम तिथिको दिनलाई पूर्णिमा (पूर्ण चन्द्र) भनिन्छ । एक वर्षमा १२ ओटा पूर्णिमाहरु हुन्छन् र यी सबै पूर्ण फलदायी हुन्छन् । यस दिन चन्द्रमा अर्थात चन्द्रदेवको पूर्ण स्वरुप धरतीबाट देख्न सकिन्छ । प्रत्येक पूर्णिमासँग कुनै न कुनै पौराणिक कथा जोडिएको हुन्छ नै । आजको यो पूर्णिमासँग त्रिदेव (ब्रह्मा, विष्णु, महेश), त्रिदेवी (सरस्वती, लक्ष्मी, पार्वती), देवर्षि नारद, अत्रि ऋषि र उनकी पत्नी अनसूया, दत्तात्रेय (त्रिदेवका अंशावतार स्वरुपका भगवान्)सँगको पौराणिक कथा जोडिएको छ । मार्गशीर्ष पूर्णिमाका दिन बेलुका दत्तात्रेय भगवान्को जन्म भएको हुनाले यस दिनलाई दत्तात्रेय जयन्तीको रुपमा पनि मनाइने गर्दछ ।
 
नेपाल पञ्चाङ्ग निर्माण समितिका अनुसार विसं २०७८ सालका लागि (सन् २०२१) पूर्णिमा व्रत पौष ३ गते (दिसेम्बर १८) को दिन तोकिएको छ । यस पूर्णिमाको व्रत गर्नेहरुले पौष ३ गते नै बिहान सबेरै उठेर स्नानादि कर्मबाट निवृत्त भई विधिपूर्वक व्रत गरेर पौष ४ गते (डिसेम्बर १९) बेलुका चन्द्रोदय भएपछि पूर्ण चन्द्रलाई अघ्र्य चढाएर प्रणामगरी व्रत बिसर्जन गर्नुपर्ने बताइएको छ । यसरी पौष ३ र ४ गते यी दुवै दिनलाई पूर्णिमा मानिएको प्रसङ्ग हाम्रो पात्रोमा जनाइएको छ । चन्द्रमालाई चढाउने अघ्र्य गाईको दूधको हुनुपर्ने, सो नमिलेमा भैँसीको दूध पनि प्रयोग गर्न सकिने तर दूध भने नपकाएको हुनुपर्ने विधानमा उल्लेख छ । चन्द्रदेवलाई चढाउने अघ्र्यमा चिनी या सखर (मिस्री) मिलाइएको हुनुपर्ने प्रावधान छ । 
 
चन्द्रमालाई अघ्र्य चढाई सकेपछि हे चन्द्रदेव ! म तिम्रै शरणमा छु । मेरो रक्षा गर्नुहवस् तथा मेरो अंक मनोकामना पूरा गर्नुहवस् भन्दै दुवै हात जोडेर चन्द्रदेवलाई प्रणाम गरी व्रतको पारण गर्ने विधि छ । यस दिन व्रतालुहरुले पूजा–आराधना चन्द्रदेवको गर्ने भए तापनि मुख्य आराध्यदेव भने विष्णु भगवान् नै हुन् भन्ने सम्झेर पूजा–अर्चना गर्नुपर्ने धार्मिक विधानमा उल्लेख छ । यसरी गरिने पूर्णिमाको व्रतका प्रभावबाट अधुरा रहेका सबै कामहरु पूरा हुने, चाहेको फल प्राप्त हुने, जीवन सुखमय हुने धार्मिक विश्वास छ । 
 
यस पूर्णिमालाई उधौली पर्वको रुपमा पनि मनाइन्छ भने नेवार समुदायमा यमरी पुन्हीका रुपमा मनाइने गरिन्छ । हिन्दु मुलुकहरु जस्तै–नेपाल, भारत, बंगलादेश, भुटान आदिको हिमाली क्षेत्रमा बस्ने वासिन्दाहरुले जाडो छल्न उधो (तल्लो समथल भाग, बेँसी) झर्दछन् । नेपालका विशेषगरी मनाङ्ग, मुस्ताङ्ग, हुम्ला, जुम्ला, मुगु, डोल्पा आदिका वासिन्दाहरु यस दिन आ–आफ्नो परम्पराअनुसार मान्दै आएका थानी–मानी, सिमे–भूमे, भंयर–झाँक्री, दोख–दोखादि, कूलदेवता, देवी–देउराली, गोठका देवताको विधिपूर्वक पूजा–अर्चना गरेर भव्यरूपले उत्सव मनाएर तल झर्दाको अवस्थामा कुनै आपत्–विपत्, दुःख–पीडा, रोगव्याधी, दुर्घटना आदिको सामना गर्न नपरोस् भन्ने कामना गर्दछन् । आफूहरु तल झर्दा प्रत्येक घरमा वयोवृद्ध व्यक्तिलाई घर कुर्ने जिम्मा लगाई बाँकी अन्य सबै परिवार साथमा त्यस क्षेत्रका उत्पादित वस्तुहरु जस्तै–यार्सागुम्बा, कर्तुरी, सतुवा, निरमसी, बोथो, राडी, पाखी, गलैँचा, चौँरीको घ्यू, छुर्पी, पुच्छर, स्याउ, ओखर, कीट आदि तल विभिन्न ठाउँमा लगेर राम्रो मूल्यमा बेच्ने गर्दछन् । यस्ता उच्च पहाडी क्षेत्रका वस्तुहरुले तल्लो क्षेत्रमा बजार पनि राम्रो पाउने गर्दछन् । यसरी माथिल्लो हिमाली क्षेत्रबाट तल झर्नेहरुले नेपाल र भारतका विभिन्न भागहरुमा घुमेर व्यापार–व्यवसाय गरी झण्डै छ महिनाको समय बिताएर चिसो छलिसक्छन् र गर्मी सुरू भएपछि आफ्ना लागि आवश्यक लत्ता–कपडा र अन्य सरसामग्रीहरु साथमा लिएर आ–आफ्नो घर–ठेगानामा फर्कने गर्दछन् । होचो भागमा रहने समय बितिसकेपछि माथिल्लो भागमा फर्कन त्यस्तै किसिमले पूजा–आजा गरेर उहौली पर्व मनाउँछन् । उहौली पर्व जेष्ठशीर्ष पूर्णिमा जेठ महिनामा पर्दछ । यो पूर्णिमा पछिको समय हिमाली क्षेत्रमा जानका लागि उपयुक्त हुन्छ ।
 
मार्गशीर्ष पूर्णिमाका दिन बीच पहाड, बेँसी र समथल भाग तराईका वासिन्दाहरुले आ–आफ्नो चलन–वर्तन र परम्पराअनुसार गोठको पूजा, कूलपूजा, माईपूजा, देवी–देउरालीको पूजा आदि गरेर उत्सव मनाउने गर्दछन् । यो पूर्णिमा ताक बालीनालीको उब्जा लिने समय भएको हुनाले मुख्यबाली विशेषगरी धान बाली भण्डार गरेको भकारीमा आ–आफ्नो विधि र परम्पराअनुसार पूजा गरी वर्षभरि अड्कली–अड्कली त्यहाँबाट झिकेर प्रयोग गर्ने गरिन्छ । यसैले यो पूर्णिमालाई धन–धान्य पूर्णिमा पनि भनिन्छ । जेष्ठशीर्ष पूर्णिमामा यस धरतीमा विभिन्न बालीनालीहरु लगाउने समय हो । यसकारण यो पूर्णिमाका दिन उत्तम बीउ र बिरुवाको अपेक्षा राख्दै आ–आफ्ना थानी–मानीको पूजा–अर्चना गरेर उत्सव मनाउने गरिन्छ । धरतीमा लगाउने बालीहरु सबैको राम्रो वृद्धि–विकास होस्, रोगव्याधी नलागोस्, खेतीको लागि मौसम उपयुक्त रहोस् भनी आ–आफ्ना इष्ट देवतालाई पुकार गर्ने गरिन्छ । यो पर्व नेपालका किरात जातिहरुले त अझ बढी धूमधामका साथ मनाउने गर्दछन् ।
 
हरेक सालको पौष १५ गते नेपालीहरुले पुसे पन्ध्र भनी यस दिनलाई चाडको रुपमा मनाउने गर्दछन् । यो दिन वन तरुल, भ्याकुर, विभिन्न परिकारको वनभोज खाने चलन पनि छ । राई, लिम्बु, गुरूङ जातिले यो दिनलाई ल्होसार (नयाँ वर्ष) पर्वको रुपमा धूमधामसँग आ–आफ्नो जातीय भेष–भूषासहित प्रदर्शन गरेर हर्षोल्लासका साथ मनाउने गर्दछन्, जसलाई तमु ल्होसार पर्व पनि भन्ने गरिन्छ । नेपालमा यस दिन सार्वजनिक बिदा पनि हुन्छ । हरेक वर्ष मार्ग महिनामा पर्ने यो पूर्णिमा यो साल पुसमा पुगेको कुरा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।   
 
अनादिकाल(सत्ययुगभन्दा पनि पहिले)तिरको कुरा हो, एक पटक देवलोकमा ब्रह्मापत्नी सरस्वती, विष्णुपत्नी लक्ष्मी र महेशपत्नी पार्वतीलाई हामी जत्तिको पतिव्रता नारी यस संसारमा कोही पनि छैनन् भन्ने खालको अभिमान भैरहेको रहेछ । उनीहरु आपस–आपसमा आ–आफू बढ्ता पतिभक्त भएको जिकिर पनि गर्न लागेका रहेछन् । संयोगवश त्यसै समयमा देवर्षि नारद उनीहरु एक–आपसमा यसै कुरालाई लिएर भनाभन भैरहेको स्थानमा टुप्लुक्क आइपुगेछन् । उनीहरु सबैको कुरा सुनेपछि नारदले भनेछन्, ‘अत्रि ऋषिपत्नी अनसूया जति पतिव्रता नारी यस जगत्मा अरु कोही पनि छैनन् ।’ 
 
यो कुरा सुनेर उनीहरु सबैमा आफूहरुको घोर अपमान भएको लागेछ । त्यसपछि नारद तुरुन्तै त्यहाँबाट हिँडेछन् । यी त्रिदेवीहरुले आ–आफ्ना पतिहरुलाई नारदले भनेको कुरा सुनाएर अनसूयाको परीक्षा लिन आग्रह गरेछन् । त्रिदेवहरुले उनीहरुको कुरालाई त्यति ध्यान दिएनछन् । अन्त्यमा नारीहटअनुसार त्रिदेवीले त्रिदेवलाई अनसूयाको परीक्षा लिन जान बाध्य पारेछन् र ती त्रिदेवले ब्राह्मणहरुको भेषधारण गरी अतिथि बनेर अनसूयाको परीक्षा लिनका लागि अत्रि ऋषिका आश्रममा पुगेछन् । उनीहरु त्यहाँ पुगेपछि ब्राह्मण देवहरु आए भनेर अनसूयाले उनीहरुको राम्रो स्वागत गरी पटाहामा आसनग्रहण गर्नका निम्ति आग्रह गरिछन् । त्यतिबेला अत्रि ऋषि अन्यत्र कतै तपस्यामा लीन भएका थिए ।    
 
अनसूयाको यस्तो बोली सुनेपछि त्रिदेवरुपी ब्राह्मणहरुले एकैस्वरमा भनेछन्, ‘यदि तपाईंले हामीहरुलाई आफ्नो काखमा बस्न दिनुहुन्छ भने हामीले तपाईंको आतिथ्यता स्वीकार गर्छौं अन्यथा यहीँबाट फर्केर जान्छौँ । अतिथि ब्राह्मणदेवहरुको यस्तो कुरा सुनेपछि अनसूया भारी संकटमा परिछन् । उनीहरुलाई आफ्नो काखमा बस्न दिउँ भने मेरो पतिव्रता धर्म नष्ट हुने, यसो नगरुँ भने ढोकामा आएका पाहुनाहरुलाई निरास गराएर फर्काउँदा अतिथि पालना धर्मविपरीत हुन जाने । अब मैले के गरुँ ? हे भगवान् ! मलाई दिशानिर्देश गराइदेऊ । केही क्षण अनसूयाले यस्तै–यस्तै सोच–विचार गर्न लागिन् । अन्त्यमा, उनले मनमनले निर्णय गरेर भन्न लागिन्, ‘हे परमेश्वर ! ममाथि किन यस्तो आपत्ति परिआएको होला ? यदि म सच्चा मन, वचन र कर्मले पतिभक्त नारी छु भने यी तीनै जना तत्कालै छ महिनाका बालकसरह होऊन् ।’ अनसूयाको मुखबाट यो वचन निस्किँदाबित्तिकै ब्राह्मणभेषी त्रिदेवहरु छ महिनाका बालक भए । त्यसपछि उनीहरुलाई अनसूयाले आलो–पालोगरी आफ्ना गोद(काख)मा राखिन् र उनीहरुको लागि आवश्यक सेवा, स्याहार गर्न लागिन् ।
 
समय बित्दै गयो । यता देवलोकमा लामै समयसम्म त्रिदेवहरु नफर्कंदा त्रिदेवीहरुमा चिन्ता बढ्न लाग्यो । यसैबीच, देवर्षि नारद अनसूयाको धर्म र कर्म  देखेर आश्चर्यचकित हुँदै फर्के । देवर्षि नारदले त्रिदेवीहरु स्वयं आ–आफ्ना पतिहरुको खोजीमा आफैँ जानुपर्ने कुराको जानकारी गराए । त्यसपछि सरस्वती, लक्ष्मी र पार्वती सँगसँगै आफ्ना पति परमेश्वरहरुलाई लिन भनेर अत्रि ऋषिको आश्रममा अनसूयासामु पुगे । त्यहाँ आफ्ना पतिहरु बालकरूपमा देखेर अचम्मित भई त्रिदेवीहरुले अनसूयालाई एकैस्वरमा भने– ‘हे अनसूया ! तिम्रो शक्ति र भक्ति देखेर हामी ज्यादै प्रभावित भयौँ । हामीहरुबाट तिम्रो निष्ठाप्रतिको परीक्षा लिने काम गर्न भूल भएछ । यसमा हामी क्षमाप्रार्थी छौँ । कृपया अब हाम्रा पतिहरुलाई आफ्नो पूर्वकै अवस्थामा परिणत गराएर हामीहरुलाई फिर्ता दिनुहवस् ।’ त्रिदेवीहरुको यस्तो अनुनय–विनय सुनेपछि अनसूयाले भन्न लागिन्, ‘हे परमेश्वर ! यदि म सच्चा मन, वचन र कर्मले पतिभक्त नारी छु भने यी तीन बालकहरु पुनः आफ्नो पूर्वको वास्तविक रूपमा परिणत भएर जाऊन् ।’ अनसूयाले यति भन्दाबित्तिकै ती तीन बालकहरु पहिलेको आ–आफ्नो ब्रह्मा, विष्णु, महेशको भेषमा परिणत भए । त्रिदेवहरु अत्रि ऋषिपत्नी अनसूयाको यस्तो भक्ति र शक्तिको प्रभावबाट अति प्रसन्न भएर अनसूयालाई आफूहरु सरहका तीन पुत्रको वरदान दिएर देवलोक फर्के ।
 
त्यसपछि अत्रि ऋषिपत्नी अनसूयाको कोखबाट सबैभन्दा पहिले दत्तात्रेयको जन्म भयो । दत्तात्रेय ब्रह्मा, विष्णु, महेश यी तिनै देवताहरुको अंशाबतार थिए । यिनको जन्म मार्गशीर्ष पूर्णिमाका दिनको बेलुका भएको थियो । दुर्वाशा नाम गरेका दोस्रा पुत्र अनसूयाको कोखबाट जन्मे, जसलाई शिवको अंशाबतार भनिन्छ । चन्द्रदेव तेस्रो पुत्रको रुपमा अनसूयाको कोखबाट जन्मे, जसलाई ब्रह्माका अंशाबतार मानिन्छ ।
आजको यसदिन हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घर परिसरमा विभिन्न देवालयहरुमा र धार्मिक पीठहरुमा दत्तात्रेय भगवान्को बडो भक्तिभावका साथ पूजा–आराधना गरेर दत्तात्रेय जन्मजयन्ती मनाउने गर्दछन् । दत्तात्रेय एक भगवान्लाई पुज्दा एकैपटक त्रिदेव (ब्रह्मा, विष्णु, महेश) भगवान्हरुको पूजा हुन्छ र फल पनि तीनओटै देवताहरुबाट प्राप्त हुन्छ । हिन्दु धर्मग्रन्थहरुमा अत्रि, अनसूया, दत्तात्रेय, दुर्वाशा, चन्द्रदेवको बारेमा ज्यादै महŒवपूर्ण ढङ्गले वर्णन गरिएको छ । माथि उल्लेखित घटना यस धरतीको संरचना भएको केही समयपछि घटेको हुनुपर्छ भन्ने धेरैको कथन छ । यो पौराणिक कथाबाट एक सच्चा पतिभक्त नारीको शक्ति कस्तो र कतिसम्म हुनसक्दो रहेछ भन्ने कुराको बोध गराउन खोजिएको छ ।