विचार / ब्लग

देउवा अब नेपालकै शेर बन्नुपर्छ

प्रकाशित |
नेपालको मानचित्र र मेरै जीवनमा यो गाउँले निकै महत्त्व र अर्थ राख्छ। रूवाखोला नेपालको कुनै गाउँभन्दा भिन्न छैन। तर, यसको हैसियत र औकात उच्च छ।
 
केही वर्ष अगाडिको कुरा हो। शेरबहादुर देउवा अमेरिका आएका थिए, मलाई लाग्थ्यो उनी रूवाखोला लिएर आएका थिए। उनलाई भेट्न गएँ। शेरबहादुर गाउँले शैलीमा बोलिरहेका थिए। मैले अभिवादन गरेँ। उनले भने, ‘के छ ला तेरो हाल खबर ?’
 
उनको बोलीमा मैले रूवाखोलाको न्यानोपन पाएँ। माटोको सुगन्ध पाएँ। त्यसमा रूवाखोलाका गाउँलेका दुःख पीडा, श्रम र पसिनाको समीश्रण थियो। जो म जस्ता मजदुरले अनुभूत गर्न सक्थ्यो। त्यसैले मैले सुरूमैँ भने रूवाखोलाको हैसियत र औकात उच्च छ। रुवाखोलाको छोरा शेरबहादुरको हैसियत र औकात पनि त्यस्तै उच्च छ।
 
मलाई थाहा छ, देउवा सर्वत्र आलोचित छन् । शायद कतिपयले उनलाई घृणा पनि गर्लान् । तर, उनीसँग मेरो पुरानो सम्बन्ध हो । हरेक मान्छेमा झैँ देउवामा पनि कमजोरीविहीन छैन । उनमा कमजोरीहरू छन् । उनले थुप्रै गल्ती गरेका छन् । तर, छुच्चो र कठोर देखिने शेरबहादुर देउवाको मन कोमल छ । त्यो बुझ्न रूवाखोला जानुपर्छ।
 
उनले आफ्नो गाउँमा गएर कथित दलितप्रति सदियौँदेखि भेदभाव भएको भन्दै कथित उपल्लो जातिले माफी माग्नुपर्ने भनेका थिए । कतिपयले उनलाई एलिट भन्छन् । तर, जसले सडकमा कपडा सिलाइ गरिरहेको बूढो मान्छेलाई आफ्नो लावालस्कर सुरक्षासहितको गाडीबाट उत्रिएर अँगालो हाल्छ, त्यो कसरी एलिट हुनसक्छ ? ती सडकमा कपडा सिलाउने बूढो मान्छे अरू कोही नभएर मेरा आफ्नै हजुरबा हुनुहुन्थ्यो।
 
यो दृश्यले मलाई कुनै वादमा विश्वास नगर्नू भन्ने पाठ सिकायो सिवाय मानवतावाद । मानवतावादको योभन्दा सुन्दर दृश्य मैले कहिल्यै देखेको थिइनँ ।
 
सुदूरपश्चिममा एक दलितलाई चुनावमा उठाएर जिताउन सक्ने क्षमता उनी राख्छन् । उनी सबैलाई तिमी या तँ भन्छन् । मलाई त उनको तँ मा न्यानोपन लाग्छ ।
 
उनको जति विरोध गरे पनि उनीसामु विरोधी पनि चुप रहन्छन् । उनले गरिबी, अभाव, यातना भोगेको छन् । त्यसैले कमजोर र गरिबलाई नराम्रो व्यवहार गरेको उनको इतिहास छैन ।
 
निश्चय पनि सुदूरपश्चिम उनको सम्पति होइन । मलाई लाग्छ, शेरबहादुर भनेपछि सम्पूर्ण सुदूरपश्चिम हुरूक्क हुन्छ। यद्यपि देउवा देशका प्रिय र सबैका नेता अझै बन्न सकेका छैनन् ।
 
देउवा परिवार मोहमा चुर्लुम्म डुबे । सेटिङ र लेनदेनको राजनीतिलाई चुनैती दिन उनले हिम्मत गरेनन् । नेताको काम कार्यकर्ताको जस्तोसुकै माग पूरा गर्ने हो भन्ने संस्कारबाट मुक्त हुन सकेनन् । कांग्रेसभित्र बिरामी हुँदै गएको विचारशीलतालाई थप मृत्युको मुखमा उनी र उनका उनका कथित सहयोगीले पुर्‍याइदिए।
 
हाम्रो नेतामा कमजोरी छ, कल्पनाशीलताको खडेरी छ, इमान्दार छैनन् । तर, के उनीहरू हामीमध्येका एक होइन र ? के हामीले उनीहरूलाई बनाएका होइनौँ र ? हामीले नेतामा खोट देखाउनुभन्दा पहिला आफूमा परिवर्तन ल्याउन आवश्यक छ, कस्ता मान्छेलाई हामी नेता बनाउँदैछौँ ।
 
आज तपाईं मुलुकमा दोस्रो नेपाली काग्रेस 
 
सभापति बन्दा म मेरो देशको अवस्था सुध्रिन्छ भन्नेमा आशावादी छैन। घोचपेच र निन्दाका आधुनिक माध्यम बनेका ट्विटर र टिकटकमा उनीमाथि भएका टिप्पणीलाई अलग राखेर पनि यति पक्कै भन्न सकिन्छ— आममानिसले देउवालाई आशाका नजरले हेरेका छैनन् ।
 
आफ्नो फाइदाका लागि तपाईंको समर्थक बनेकाबाहेक अरू कोही खुशी छैनन् ।  जनताले केपी ओलीको निरंकुश, मनपरीतन्त्रबाट राहतको सास मात्र लिएका हुन्। देउवाले यति सत्यलाई मात्र मनन गरे भने यो कार्यकाल उनका लागि अविस्मरणीय बन्ने छ।
 
त्यसका लागि देउवाले परिवार, भाइ, छोराको मोह र कांग्रेसभित्र व्याप्त दाजुवाद र चम्चागिरी त्याग्नुपर्छ। इतिहासले देउवालाई सुन्दर अवसर प्रदान गरेको छ। जनताको टुटेको आशालाई पुनः जीवित गर्ने मौका पाएका छन् । समयले दिएको यो ऐतिहासिक अवसरलाई लात नहानुन् देउवालाई यहीँ कामना छ।
 
देउवा अब रूवाखोलाको शेर मात्र होइन, नेपालकै शेर बन्नुपर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया