विचार / ब्लग

मोक्षदा एकादशी र यसको पौराणिक महिमा

प्रकाशित |
वैदिक सनातन र हिन्दु पञ्चाङ्गअनुसार एक वर्षमा २४ वटा र मलमास या अधिकमाससहितको वर्षमा दुई वटा एकादशी थपिन गएर जम्मा–जम्मी एकादशीहरुको संख्या २६ हुन्छ । यी एकादशीहरु फरक–फरक नाम र फरक–फरक पौराणिक गाथा बोकेका भए तापनि समग्रमा यिनीहरु सबै समान अस्तित्वका हुन्छन् । एकादशीहरु सबै अपार पुण्य र फलदायिनी हुन्छन् । हरेक वर्षको मार्ग शुक्लपक्षमा पर्ने मोक्षदा एकादशी अरु सबै एकादशीसरह पुण्यदायी मात्र नभएर मोक्षदायी पनि हुन्छ । यस एकादशीको व्रतका प्रभावले पूर्वजन्मका दुष्कर्मका कारण नरकको यातना भोगिरहेका माता–पिता, दाजु–भाइ, सङ्गी–सखा आदिलाई उन्मुक्ति मिलेर स्वर्गलोक प्राप्त हुन्छ भनेर हाम्रा पुराणहरुमा उल्लेख गरिएको छ ।
 
आजको यसै दिन द्वापरयुगमा श्रीकृष्णको मुखारबिन्दुबाट श्रीमद्भगवतगीताको जन्म भएको थियोे । पारिवारिक मोहमा अल्झिरहेका अर्जुनलाई उनको यस्तो मोहभङ्ग गर्नका लागि श्रीकृष्णले मोक्षदायिनी गीताको उपदेश दिएका थिए । यसकारण आजको यस दिनलाई समस्त हिन्दुहरुले सबैभन्दा ठूलो धार्मिक ग्रन्थ गीताको जयन्तीका रुपमा पनि मनाउने गर्दछन् । द्वापरयुगमा धर्मराज युधिष्ठिरले मार्ग शुक्लपक्षमा पर्ने एकादशीका बारेमा केही जान्ने जिज्ञासा राखेर श्रीकृष्णसँग प्रश्न गरेका थिए । युधिष्ठिरको प्रश्नको उत्तर दिँदै उनलाई यस एकादशीका बारेमा श्रीकृष्णले एक पौराणिक कथा सुनाएका थिए, जुन यसप्रकार छ । 
 
धेरै वर्ष पहिले वैखानस नाम गरेका राजाले गोकुल नाम गरेको प्राचीन नगरमा राज्य गर्दथे ।  उनका राज्यमा चारै वेदका ज्ञाता ब्राह्मणहरु थिए । यी राजाले आफ्नो राज्यका सबै प्रजालाई आफ्नै पुत्रसरहको माया–ममता गर्दथे । त्यस राज्यमा कुनै कुराको कमी थिएन । त्यहाँका प्रजाहरुले सुखमय जीवन व्यतीत गरिरहेका थिए ।
 
एकपटक वैखानस राजाले आफ्नो शयनकक्षमा निदाइरहेको अवस्थामा एक विचित्रको सपना देखेछन् । त्यो सपना कस्तो भने, उनका पिताले नरकमा ठूलो यातना भोगिरहेका । यस्तो सपना देखेपछि राजाको निद्रा भङ्ग भएछ, उनी आकुल–व्याकुल भएछन् । निद्राबाट व्युँझेपछि उनलाई झन्–झन् चिन्ता बढ्दै जान थालेछ । राजालाई त्यो रात वर्षदिन बराबरको भएछ । जब उज्यालो भयो, राज्यका सबै ब्राह्मणहरुलाई राजदरबारमा आउन आमन्त्रण गरेछन् । ब्राह्मणहरु राजदरबारमा उपस्थित भैसकेपछि ती राजाले आफूले देखेको सपनाका बारेमा बताउँदै भन्न लागेछन्, ‘हे ब्राह्मणहरु हो ! गएराति सपनामा मैले मेरा पिताले नरकको यातना भोगिरहेको देखेँ । पिताले मलाई भन्नुभयो– ‘हे पुत्र ! मैले नरकको घोरयातना भोगिरहेको छु । मलाई यो कष्टबाट मुक्त गराइदिन प¥यो ।’ जब मैले पिताको यस्तो बोली सुनेँ, त्यस क्षणदेखि मेरो मन शान्त छैन । मलाई मेरो राज्यको यो सुख, ऐश्वर्य, हात्ती–घोडा, धन–दौलत, स्त्री, पुत्र आदि कसैको पनि लालसा छैन । म यो व्यथा लिएर कहाँ र कोसँग जाऊँ ? यही दुःखका कारण मेरो शरीर बेचैन भैरहेको छ । तपाईंहरुले मलाई त्यस्तो कुनै तप, दान, व्रत, त्याग आदि बताइदिनु प¥यो, जसबाट मेरा पितालाई मुक्ति मिलोस् । यदि मैले मेरा पितालाई नरकको यस यातनाबाट मुक्त गराउन कुनै प्रयास नगर्ने हो भने मेरो जीवन निरर्थक हुनेछ । जसका पिताले नरकको यातना भोगिरहेका छन्, त्यस्तो पुत्र मलाई यस धरतीको सुख भोग गर्ने कुनै अधिकार छैन । मैले यस लोकमा आफू बाँच्ने अधिकारी भएको ठान्दिनँ ।’
 
राजाको यस्तो आन्तरिक दुःख र पीडा सुनेर ब्राह्मणहरु एक–आपसमा विचार–विमर्श गर्न लागेछन् । आफूहरुसँग समस्या समाधानको कुनै बाटो नभएपछि सबैले एकमत भएर राजालाई भन्न लागेछन्, ‘हे महाराज ! हामीहरु कसैबाट तपाईंको यो व्यथा निवारण गर्न सक्ने उपाय केही पनि हुन सकेन । यहाँदेखि केही पर पर्वत नाम गरेका भूत, वर्तमान र भविष्य तीनैकालका ज्ञाता एक जना मुनि आफ्नो आश्रममा रहन्छन् । उनी भएको ठाउँ यहाबाट धेरै टाढा छैन । तपाईंले यो समस्या उनीसमक्ष लिएर जानु भएमा उनीबाट अवश्यमेव यसको निदानको कुनै सरल उपायको जानकारी हुन सक्नेछ ।’ आफ्ना राज्यका विद्वान् ब्राह्मणहरुको यस्तो सल्लाह उचित ठानेर ती राजा पर्वत मुनिका आश्रममा पुगेछन् ।                              
 
पर्वत मुनिका त्यस आश्रममा अनेकौँ शान्तचित्तका योगीहरु, मुनिहरु तप, ध्यान, यज्ञ, हवन, वेदवाचन आदि गरेर त्यहाँको वातावरण गुञ्जायमान पारिएको रहेछ । त्यस आश्रममा त्रिकालदर्शी ती पर्वत मुनि मानौँ दोस्रा ब्रह्मासरह भएर रहेका रहेछन् । त्यस ठाउँमा पुगेपछि राजाले मुनिलाई साष्टाङ्ग दण्डवत् गरेर आफ्नो परिचय दिएछन् । पर्वत मुनिले पनि राजालाई तिनका राज्यको कुशल–मङ्गलका बारेमा सोधपुछ गरेछन् । तब राजाले ऋषिलाई भन्न लागेछन्, ‘हे मुनिश्रेष्ठ ! तपाईंको कृपाले मेरा राज्यमा सबैथोक कुशल–मङ्गल छ । तर, मेरा अगाडि अकस्मात् एक यस्तो समस्या आइलाग्यो जसले मेरो हृदय अशान्ति बनाइरहेको छ ।’ अनि राजाले आफ्नो सपनाको सबै कुरा मुनिलाई कहँदै ज्यादै दुःख, विनयका साथ फेरि भन्न लागेछन्, ‘हे महर्षि ! मैले के गर्दा मेरो पितालाई नरकको दुःख, कष्ट भोग्नबाट मुक्त गराउन सकुँला ? कृपापूर्वक मलाई यसबारे मार्गदर्शन गर्नुहवस् ।’
 
राजाबाट भएका यी सबै कुरा सुनेर गम्भीरतापूर्वक विचार गरी ती पर्वत मुनिले आफ्ना नेत्र बन्द गरेर राजाका पिताको भूत र भविष्यको अध्ययन–अवलोकन गर्न लागेछन् । आफ्नो दिव्यदृष्टि र योगशक्तिद्वारा अन्वेषण गरेर केही समयपछि पर्वत मुनिले भन्न लागेछन्, ‘हे महाराज ! मैले आफ्नो योगबलद्वारा तपाईंका पिताको सबै कुकर्मको ज्ञान प्राप्त गरिसकेँ । उनले आफ्नो पूर्वजन्ममा आफ्ना पत्नीहरुबीच भेदभाव गरेका रहेछन् । जेठी पत्नीको वशमा परी कान्छी पत्नीलाई बारम्बार ऋतुदान माग्दा पनि दिएका रहेनछन् । त्यसै पापको फलका कारण तपाईंका पिता नरकमा जानु परेको हो ।’ ती मुनिका यस्ता कुरा सुनेपछि राजाले बडो याचनामयी स्वरमा पुनः बिन्ती गर्न लागेछन्, ‘हे मुनिवर ! कृपा गरी त्यस्तो कुनै उपाय मलाई बताइदिनु हवस् जसद्वारा मेरा पिता आफ्नो पापकर्मबाट मुक्त हुन सकून् ।’ राजाको यस्तो बिन्तीभाव सुनेर ऋषिले भन्न लागेछन्, ‘हे राजन ! मार्ग महिनाको शुक्लपक्षको जुन एकादशी हुन्छ, त्यसलाई मोक्षदा एकादशी भनिन्छ । यो एकादशी मोक्ष प्रदान गर्ने एकादशी हो । तपाईंले यो एकादशीको विधिपूर्वक व्रत गरेर त्यस व्रतबाट मिल्ने सबै पुण्य संकल्प गरेर आफ्ना पिताका नामामा अर्पित गर्नुहोस्, यस पुण्यको प्रभावबाट अवश्यमेव तपाईंका पिताको मुक्ति हुनेछ ।’
 
राजा वैखानसले पर्वत मुनिबाट प्राप्त सल्लाहअनुसार आफ्नो राजदरबारमा आएर परिवारसहित सम्पूर्ण विधि–विधानपूर्वक मोक्षदा एकादशीको व्रत गरेर त्यसबाट पाउने सबै पुण्य आफ्ना पिताका नाममा संकल्प गरी अर्पण गरेछन् । जब त्यस व्रतको पारण कार्य सम्पन्न भयो । त्यसको तत्कालै ती राजाले आकाशमा प्रत्यक्ष देखेछन् कि उनका पिता नरकबाट बैकुण्ठतर्फ जाँदै थिए । पिताले भनेछन्, ‘हे पुत्र ! मैले केही समय स्वर्गको सुख भोगेर मोक्ष प्राप्त गर्नेछु । यो सबै तिमीले गरेका व्रतको पुण्यको फल हो । तिमीले मलाई नरकको जीवनबाट मुक्त गराएर साँचो अर्थमा पुत्र धर्म निभायौ, त्यसैले तिम्रो सदा कल्याण होस् । यसरी राजा वैखानसले मोक्षदा एकादशीको व्रत गरेर आफ्ना पिताका पापहरु क्षय गरी उनलाई मोक्ष प्रदान गराएका हुनाले त्यसै समयदेखि यस एकादशीको नाम मोक्षदा एकादशी रहन गएको हो भन्ने कुरा हाम्रा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
 
मोक्षदा एकादशीको व्रत विधि
 
–दशमीका दिन सात्विक भोजन गर्ने । सूर्यास्तपछि भोजन नगर्ने । राति भुईंमा सुत्ने ।
–एकादशीका दिन बिहान ब्रह्ममुहूर्तमा उठी स्नानादि गरेर शुद्ध र पवित्र भई दाहिने हातको अञ्जुलीमा जल, फूल समातेर ‘हे दामोदररुपी विष्णु भगवान् ! मैले अहिले मेरा नरक भोग गरिरहेका अंक नाम गरेका व्यक्तिको उन्मुक्तिका लागि यो मोक्षदा एकादशीको व्रत गर्दैछु । मलाई यो व्रत विधिपूर्वक सम्पन्न गर्ने प्रेरणा प्रभुबाट पाऊँ’ भन्दै संकल्प गर्ने ।
–त्यसपछि पूजाकोठामा गई लक्ष्मी–नारायणको मूर्ति स्थापना गरेर त्यसमा पहेँलो वस्त्र धारण गराउने । अन्य सबै देवी–देवताहरुको पनि प्रतिमा स्थापना गरेर जल, फूल, चन्दन, अक्षता आदिले पूजन गर्ने । लक्ष्मी–नारायणको प्रतिमामा जौ, तिल, कुश, तुलसीपत्र, कमलको फूल चढाउने ।
–दिनभरि निराहार उपासना गर्ने । व्रत कथा सुन्ने–सुनाउने । विष्णु भगवान्सँग सम्बन्धित भजन–कीर्तन सुन्ने । ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने ।
–मध्यान्ह भएपछि सूर्य भगवान्लाई अघ्र्य चढाएर प्रणाम गर्ने । आफ्ना पितृहरुको स्मरण गर्दै तर्पण दिने ।
–सूर्यास्तपछि आफू शुद्ध र पवित्र भएर पुनः देवी–देवताहरु सबैको पूजन गर्ने । नैवेद्य, पञ्चामृत, फलफूल, प्रसाद देवताहरुलाई चढाउने अनि धूप, दीप, आरती गर्ने । उपस्स्थित सबैलाई प्रसाद वितरण गर्ने । अन्त्यमा आफूले पनि ग्रहण गर्ने ।
–राति जाग्राम गर्न सके श्रेष्ठ फल पाइने भएको हुनाले सकिन्छ भने भजन–कीर्तन सुनेर रातभरि जाग्राम बस्ने । कसैगरी नसक्ने अवस्था भए रातको पहिलो प्रहर बिताएर भुईंमा सुत्ने । अन्न र नून यस दिन पूर्णरुपले वर्जित छ । निराहार बस्न नसक्ने अवस्था भएमा दूध, फलफूल, चिया खान सकिने ।
–द्वादशीका दिन बिहान सबेरै उठेर स्नानादि गरी शुद्ध भएर दाहिने हातको अञ्जुलीमा जल, फूल, अक्षता समातेर हे दामोदररुपी विष्णु भगवान् ! मैले यो मोक्षदा एकादशीको व्रत गरी त्यसको अहिले पारण गर्दैछु । व्रतका क्रममा मबाट कुनै भूल, त्रुटि हुन गएको भए क्षमा पाऊँ । हे प्रभु ! यो व्रतबाट मैले जे–जति पुण्य पाउने हो त्यो सबै पुण्य मेरा अंक नाम गरेका व्यक्तिको उन्मुक्तिका लागि अर्पण गर्न चाहन्छु भन्दै हातमा भएको सबै चीज भगवान्लाई चढाएर प्रणाम गर्ने । अनि पछि पण्डित र ब्राह्मणहरुलाई सक्दो दक्षिणा दिएर भोजन गराउने । त्यहाँ भएका अन्य सबैलाई भोजन गराउने । आफ्नो औकातअनुसार अन्न, द्रव्य, छाता, जुत्ता, गाई, वस्त्रादि दान गर्ने । अन्त्यमा मौन रही आफूले पनि भोजन गर्ने ।
–व्रतको पारण द्वितीया तिथिको समयभित्र गरिसक्नु पर्ने धार्मिक प्रावधान छ ।
 
यस एकादशीको विधिपूर्वक व्रत गर्नाले नरकको यातना भोगिरहेका जो–कोहीको पनि उद्धार भएर उनीहरुलाई स्वर्गलोक प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । यस एकादशीको कथा सुन्ने र सुनाउने मात्र गर्नाले एकसय गाई दान गरेबराबरको पुण्य प्राप्त हुन्छ भनेर वर्णन गरिएको छ । अतः कसैका पुत्र भएको नाताले हामी हिन्दुहरु सबैले मोक्षदायिनी यस एकादशीको व्रत गरी प्राप्त हुने पुण्य आ–आफ्ना पितृहरुलाई अर्पण गरेर नरकमा कतै दुःख पाएर छट्पटिइरहेका भए उनीहरुलाई मुक्ति दिलाऔँ । पुत्र धर्म र कर्तव्य निभाऔँ । मृत्युपश्चात् आफू जाने सत्मार्गको रुपरेखा कोरी परमधाम प्राप्त गर्न सकौँ, यही सबैमा मेरो प्रासङ्गिक आग्रह छ । अस्तु !
 

चक्रपाणि शर्मा गौतम

चक्रपाणि शर्मा गौतम -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया