विचार / ब्लग

साइकलसँगका सम्झना

‘पख्लास् मुर्दार मैले चिन्या छैन र’

प्रकाशित |
साइकलसँग कहिलेदेखि म आकर्षित भएँ भन्ने ठ्याक्कै एकिन त छैन । तर मलाई यति चाहि याद छ जीवनका महत्वपूर्ण क्षणहरुमा मलाई साइकलले साथ दिएको छ । ६ वर्ष जति उमेरको थिएँ होला । घरमा साइकल आइपुग्यो । पिताजीले काठमाडौंबाट पेडल पेलेर बालाजु, तीनपिप्ले, ओखरपौवा, ककनी, रानीपौवा, पैतिसकिलो, बाराहीथान, तीगाउँ, अमारे, बेल्कोट हुँदै ६० किलोमिटर यात्रा गरेर पहिलोपल्ट घरमा साइकल भित्राउनुभएको ।
 
मेरो घरमा मात्रै नभएर गाउँ पिपल्टारकै पहिलो साइकल थियो त्यो । साइकलसँगै हावा हाल्ने पम्प, केही टुल्सहरु पनि पिताजीले काठमाडौंबाटै ल्याउनुभएको थियो । इण्डियन एभन ब्राण्डको साइकल थियो । पछाडी सामान राख्ने क्यारिज (हुनत क्यारिएर हो । तर उच्चारण गरेर भन्दा क्यारिज भनिन्थ्यो) पनि थियो । त्यही क्यारिजमा बसेर म गाउँ नजिकको बजार बट्टार, विदुर, त्रिशूलीसम्म धेरै पटक पुगेको थिएँ ।
 
म जन्मिनुभन्दा पनि १५ वर्ष अघि मेरो घर मुन्तिरबाट गाडी गुड्थ्यो । कच्ची होइन पिच भएको सडक थियो । हाम्रो बारीलाई चिरेर काठमाडौं–त्रिशूली सडक गएको थियो । यही सडकमा कैंयौँ पटक भएका दुर्घटनालाई सानैदेखि देख्दै आएको पनि छु ।
 
घरमा साइकल भएर पनि गतिलोसँग चलाउन सिकिएन । देब्रे पेडलमा दाहिने खुट्टा राखेर आँगनको एउटा छेउदेखि अर्को छेउसम्म पुर्‍याउने भन्दा केही सिकिएन । त्यही क्रममा कतिपटक साइकल सहित पछारिएर घर मुनि बारीका पाटामा पुगेँ । साइकलको चेनमा औँला च्यापिएर धेरैपटक घाउ पनि भए ।
 
एक बिहान त्यस्तै ९ बजेको हुँदो हो । एकजना नौलो मान्छेलाई लिएर पिताजी आउनुभयो । गफगाफको कुरो विषय बुझ्दै जाँदा साइकलको मोलतोल भैरहेको रहेछ । साँझ स्कुलबाट घर आइपुग्दा घरको पिँढीमा साइकल थिएन । साइकल नहुँदा घरै शुन्य जस्तो, के नभएजस्तो, केही हराएजस्तो लागिरह्यो । र सबैभन्दा नमिठो चाहि राम्रोसँग साइकलै नसिकी त्यो साइकल गयो भन्ने रह्यो ।
 
हरेक दिन स्कुल जाँदा सडकमा त्यो साइकल देखिन्छ कि भन्ने आशाले हेरिरहन्थे । तर गाउँभन्दा टाढाको खानीगाउँ ढिकुरेका सुदर्शन पाण्डेको स्वामित्वमा पुगेको हुँदा देखिने संभावना नै भएन । २०४९ को स्थानीय चुनावमा जिल्ला विकास समितिको सदस्य विजयी भएका पाण्डे त्यतिखेर तीगाउँ या अमारेको प्राथमिक विद्यालयका शिक्षक थिए ।
 
घरमा साइकल नभएपनि सिक्ने रहर फेरि जाग्यो । ७ कक्षामा पढ्दै गर्दा घरभन्दा चार किलोमिटर टाढा रहेको बट्टार बजारमा गएर चलाउन सिक्ने प्रयास गरेँ । त्यतिखेर बट्टारबाट तल रहेको देबीघाट जलविद्युतको पाउरहाउस जाने सडक सुनसान हुन्थ्यो । मानिस, गाडी, पशुपन्छीले यो सडकमा अवरोध हुँदैनथ्यो । त्यसैले धेरैले साइकल सिक्नका लागि यही सडक उपयुक्त ठान्थे । तर साइकल सहित लडेर सडकको नालीमा बजारिएपछि त्यो रहर फेरि जागेन ।
 
साइकल देख्दा कताकता आकर्षण भने जारीनै रह्यो । कसैले साइकल चलाएर हिँडेको देख्दा मनमनै रहर जाग्थ्यो–‘मैले पनि यसरी साइकल चलाउन कहिले सकुँला ?’
 
सडकबाट घरमा उक्लिन गोरेटो बाटो थियो । गोरेटोमा कहिलेकाँही साइकलको चक्काको डोबहरु देखिन्थे । त्यो डोबले मनमा मिठो आशा जगाउँथ्यो– फेरि पिताजीले घरमा नयाँ साइकल ल्याउनुभयो कि ?
 
त्यो आशा पुरा हुन एसएलसी पास हुनैपर्‍यो ।
२०४६ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि मेरा लागि दुईवटा मात्र विकल्प थिए । पहिलो, घरकै खाना खाएर नजिकैको क्याम्पस पढ्ने । अर्को चाहि काठमाडौं गएर डेरा गरेर पढ्ने ।
 
सेकेण्ड डिभिजन आएकोले चाहेको विषय पढ्न सकिएन । काठमाडौं गएँ भने चाँहि आर्टस् नै पढ्छु । किन हो किन पत्रकारिताको भुत चढेको थियो । पत्रकारिता, भूगोल र मेजर अंग्रेजी लिएर रत्नराज्य क्याम्पसमै पढ्छु भन्ने सोच थियो । तर काठमाडौंमा पढ्नका लागि डेरा गर्ने आँट मैले लिन सकिन । परिणाम घर नजिकैको बट्टार क्याम्पस (तत्कालिन नुवाकोट आदर्श मानविकी क्याम्पस) जान थाले ।
 
बिहान पढाई हुन्थ्यो । कस्सिएर हिँड्दा पनि घरबाट क्याम्पस पुग्न एक घण्टा लाग्थ्यो । साइकल किन्नुको विकल्प रहेन ।
 
काठमाडौं जानुभएका पिताजीले एक साँझ बसको छतबाट साइकल झार्नुभयो । साइकलका फ्रेममा कागजले बेरिएको, डाइनामो सहित बत्ती भएको इण्डियन एटलस साइकलले घरमा प्रवेश गर्‍यो ।
 
मंसिर पुसका महिना थियो । बिहान क्याम्पस जाँदा निकै अँध्यारो हुन्थ्यो । त्यसो हुँदा मेरो चाहना पनि डाइनामो भएको साइकल भयो भने सजिलो हुन्छ भन्ने थियो । मेरो चाहना अनुसारनै पिताजीले त्यतिखेर अतिरिक्त तीनसय रुपैयाँ डाइनामोको लागि तिरेर साइकल किनिदिनुभएको थियो । साइकलको पछिल्तिरको चक्काले घुमाउँथ्यो डाइनामोलाई । जति स्पिडमा चक्का घुम्यो डाइनामोले उत्पादन गर्ने बिजुली उत्तिनै चहकिलो हुन्थ्यो । साइकल स्लो भएसँगै डाइनामोको उज्यालो मधुरो हुँदैजान्थ्यो । विज्ञान पढ्दा जानेको कुरा डाइनामोभित्र हुने चुम्बकलाई घुमाएपछि क्वाइलले बिजुली उत्पादन गर्ने रहेछ ।
 
साइकल चलाउन अझै हात बसिसकेको थिएन । साइकल चलाउँदा सडकमा मान्छे देखिएभने परैबाटै साइड लगाएर चलाउँथे । गाडी आयो भने त सडक पेटीको छेउमै पुर्‍याएर रोक्थेँ । गाडी पास भैसकेपछि मात्र फेरि चलाउथेँ ।
 
एकपटकको घटना हो । त्यतिखेर अहिलेजस्तो घरघरमै मिटर सहितको धारा, पानी थिएन पिपल्टारमा । बिहान ५ बजे र बेलुकी ४ बजे धारामा पानी झर्न सुरु हुन्थ्यो । साइकल चलाएर क्याम्पस जाँदै गर्दा बिहान त्यस्तै साढे ५ जति बजेको थियो । आफ्नो गाउँ पिपल्टार सकिएर माझिटार आउनै लागेको थियो । डाइनामोको उज्यालोमा कम्मरमा गाग्री बोकेर घरतिर जाँदै गरेकी एक महिला सडकको बीचमा हिँड्दै गरेको देखियो । टिनिनिनिनि..... साइकलको घण्टी बजाउँदै म छेउतिरबाट पास हुन खोज्दैथिएँ । ती महिला पनि छेउतिरै आइपुगिन् । साइकललाई नियन्त्रण गर्न खोज्दाखोज्दै साइकलको दाहिने ह्याडल कम्मरमा बोकेको उनको गाग्रीमा नमज्जाले ठोकियो । पानी भरिएको तामाको गाग्रीमा साइकल स्पिडले ठोकिँदा भ्याक्क ... आवाज आयो । आवाजबाटै प्रष्ट भयो गाग्री नमज्जाले कुच्चिएको छ । साइकल अनियन्त्रित भएर पेटीतिर पुग्यो । कसोकसो मैले नियन्त्रण गरे र त्यो अँध्यारोमा सुइकुच्चा ठोकेँ ।
 
‘पख्लास् मुर्दार तँलाई मैले चिनेको छैन र ?’ ती महिलाको गालीलाई वास्तै नगरि जतिसक्दो पेडल पेलेर साइकल दौडाएँ । मनमनै सोचे–‘तिमीले त के चिन्यौ होला र यो अँध्यारोमा । तर मैले चाहि तिमीलाई चिनेँ ।’ हुनपनि ती महिला मैले चिनिराखेकै थिइन् । अनुहार नदेखिएपनि स्वरले चाहि चिनिहालेँ ।
 
१० बजेतिर क्याम्पसबाट फर्किदा ती महिलाको घर आउनै लाग्दा निकै डर पनि लाग्यो । डाइनामो भएको साइकल गाउँमा अरु कसैको नभएको हुँदा कतै चिनिहाल्छिन् कि भन्ने शंका पनि थियो । तर त्यो सडक भएर देबीघाट, फिर्केप, जिलिङसम्मका विद्यार्थीहरु त्यही समयमा आउने हुँदा उनले शायद मलाई चिन्न सकिनन् ।
 
अरुले भन्दा साइकलको विशेष हिफाजत गर्थे म । त्यसो हुँदा क्याम्पसमा मेरो साइकल आकर्षक देखिन्थ्यो । अरु विद्यार्थी घाम, पानी, शीतको पर्वाह राख्दैनथे । म चाँही छत भएको ठाउँनै रोज्थेँ । यो साइकले धेरै वर्ष मलाई सेवा दियो ।
–०–
त्यतिखेर नुवाकोटमा एउटा कहानी थियो । कसैको छोरीचेलीको चितवनमा बिहे भयो भने घरपक्षकाले सुरुमै सिकाउने साइकल हो । अर्थात साइकल बिना चितवनमा नत महिला, नत पुरुष कसैको पनि जीवन चल्दैन भन्ने भनाई थियो ।
टाढाको नाता पर्ने एकजना हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो–मानिसले जीवनका सिक्नैपर्ने दुईटा कुरा छन् । उहाँका अनुसार पौडी खेल्न र साइकल चलाउन चाहि जान्नैपर्छ । पौडी खेल्न जानियो भने धेरै धेरै संकटमा जीवन बाँच्ने र साइकल चलाउन जानिएमा जीवन सहज हुन्छ भन्ने उहाँको तर्क थियो ।
 
उहाँको यहि भनाईलाई ध्यानमा राख्दै दुबैमा आफूलाई पारंगत त भन्दिन । तर सामान्य रुपमा जान्दछु ।
 
अब फेरि लाग्छु साइकलतिरै ।
 
दोस्रो साइकल मैले २०५१ सालमा किनेँ । मोडल चाहि गियरवाला माउण्टेन बाइक जस्तै । तर गिएर भने थिएन । ह्याण्डल चाहि भेडाको सिङ जस्तो । उद्योग वाणिज्य संघमा काम गर्न थालेपछि आफैँ काठमाडौं गएर किनेको थिएँ ।
 
मेरो पत्रकारिताको सुरुवातमा त्यो साइकलले धेरै सहयोग गर्‍यो । त्यही साइकल चढेर सदरमुकामा वरपर रिपोर्टिङका लागि पुगेको छु । रात, बिहान, घाम, पानीमा त्यही साइकल चढेर समाचारको खोजीमा धेरै हिँडे । राति घर आइसकेपछि साइकलमा त्यतिकै आँगनमा छाड्ने मेरो स्वभाव थियो । कैंयौ वर्षदेखि त्यसै गर्दै आएको थिएँ । साइकललाई लक समेत नगरि छाडिदिने मेरो बानी थियो ।
 
एकबिहान बिहान आमाको स्वरले ब्युँझिएँ । आमा चिच्याउँदै हुनुहुन्थ्यो–‘लौन भैंसीलाई पानी दिने ठूलो डेक्ची त छैन त ?’ केहीबेरमै उहाँको ध्यान साइकल पनि नभएको तिर पुगेछ । ‘ल, खै त साइकल ?’ आमाको आवाजले म एकैपटक माथिबाट आँगनमा पुगेँ । साइकल, भैँसीलाई पानी दिने ठूलो डेक्ची, अरु धेरै सामानहरु गायव भए । राति चोरी भएको निश्चित भयो । प्रहरीमा रिपोर्ट पनि गरेँ । तर पाउने आशा थोरै पनि थिएन ।
 
साइकल हराएको झण्डै तीन महिनापछिको घटना हो । भान्दाई (बासुदेव पनेरु) चितवन गएर फर्किएका थिए । त्यतिखेर देबीघाट–गल्छीसडक पूर्ण रुपमा खुलेकै थिएन । कच्ची ट्र्याक मात्र खुलेको थियो ।
 
‘भाई, तेरो जस्तै साइकल गल्छी भन्दा अलि यता, कोल्पुखोला भन्दा उता धादिङपट्टी एउटा घरको बरण्डामा देखेँ । पक्कै तेरै हो’ भान्दाईले भने । साइकलको ताल्चा पनि मैले जुन प्रयोग गरेको त्यही हो भनेर भान्दाईले ठोकुवा गरे ।
 
 अब त्यो साइकल त्यतिकै छाड्ने कुरा पनि भएन । सदरमुकाम विदुरमा रहेका ४÷५ जना साथीहरु, जोसँग मोटरसाइकल छ । उहाँहरुलाई लिएर हरेक बाइकमा २/२ जना गल्छीतिर हानियौँ ।
 
भान्दाईले भनेको घरमा पुगेर अघिल्तिर ४/५ वटा बाइक र १० जनाजति हामी झर्‍यौँ । एउटा सानो चिया पसल जस्तो रहेछ । चिया पिउने निहुँ जस्तो गरेर हामी बस्यौँ । त्यही बीचमा मैले अगाडी बरण्डामा रहेको साइकल नियालेर हेरेँ । मेरै साइकल, मेरै ताल्चा, मैले नै केही ठाउँमा टाँसेका स्टिकरहरु थिए । मसँग जाने सबैले मेरै साइकल हो भनेर एकीन गरे । किनकी मेरो साइकलसँग सबै परिचित थिए ।
 
‘साहुजी, यो साइकल तपाईकै हो ?’ मैले सोधे ।
‘मेरो घरको साइकल कस्को हुन्छ त । मेरै हो’ उनको जवाफ आयो ।
‘कहाँ किन्नुभएको ?’ मैले प्रतिप्रश्न गरेँ । किनकी म उनको जवाफले शान्त हुने अवस्थानै थिएन ।
मेरो प्रश्नले ती पसले सशंकित भए । ‘जहाँ किने पनि तपाईहरुलाई के चासो ? काठमाडौंमा गएर किनेको नि’ उनले जर्जराउँदै जवाफ फर्काए ।
‘काठमाडौंमै किनेको हो त तपाईले ? यो त मेरो पिपल्टारबाट हराएको साइकल हो’ म पनि किन दब्थेँ र ?
 
‘नचाहिँदो कुरा गर्नुहुन्छ । मैले किनेको साइकल कसरी तपाईको हुन्छ ?’ उनले त्यति भन्दै साइकललाई उठाएर भित्र राख्न खोजे । उनको अनुहारले उनी गलिसकेको प्रष्ट संकेत गर्‍यो । उनी परिस्थितीबाट उम्किन खोज्दै थिए । त्यही कारण साइकल भित्र लैजान खोज्दैथिए ।
 
मैले अलि कडा शव्दमा भने–‘पख्नुस् । यो साइकल तपाईको हो कि मेरो हो अब थाहा हुन्छ । तपाईहरु यहाँ भएका सबैले हेर्नुस् । यो साइकल कस्को हो अनि भन्नुहोला ।’
 
मैले त्यति भन्दै लक गरेको ताल्चामा मैले आफैंसँग लिएर गएको चाबी घुसारेँ । ताल्चा खुल्यो । पसलमा भएका मानिसहरु छक्क परे । पसले अझै पनि साइकल उसैको हो भनेर अड्डी कस्दैथिए । ‘तपाई साइकल खुरुक्क दिनुहुन्छ कि चोरीको केस अघि बढाउन बैरेनी चौकी गएर पुलिस लिएर आउँ ? यो साइकलसँग मेरो घरमा धेरै सामान हराएका छन् । चोरीमा जाक्दिउँ ?’ मेरो कडा शव्दले माछा मारेर पसल चलाउने ती व्यक्ति लल्याक लुलुक परे । बोली बन्दनै भयो ।
 
‘मैले पनि एकहजार रुपैयाँमा किनेको हो यो साइकल’ उनले भने  । साइकल सहजै दिएमा लफडा नगर्ने मुडमा म पुगिसकेको थिएँ । साइकल सहजै दिएपछि हामी फर्कियौँ ।
 
साइकल हराएपछि झण्डै ८ हजार रुपैँयामा मैले माउण्टेन बाइक किनेँ । अगाडी र पछाडी दुबैतिर सक अब्जर्भ भएको १८ गिएरको साइकल थियो । झण्डै डेढ वर्ष चलाएपछि म काठमाडौं पसेँ । त्यसपछि मैले काठमाडौंमा साइकल चलाउने र किन्नेतिर म सोच्नै सकिन । काठमाडौं छिरेको चारवर्षपछि मेरो सवारीसाधन प्रमोसन भयो इन्जिनवाला साइकल अर्थात मोटरसाइकलमा ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया