मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सन् २००७ को त्यो घटना

सन् २००७ को त्यो घटना

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – झण्डै १४ वर्ष पहिले नेपाली महिलाहरु तीजमा पूजाका लागि भारतीयहरुले निर्माण गरेको अर्भिङको एउटा मन्दिरमा पुगे । पूजाका क्रममा स्वभाविक रुपमा अबीरको प्रयोग भयो । पूजाकै क्रममा फूलहरु छरियो, ग्यालेनको दुध खोलेर कसैले महादेवको मूर्तिमा चढाए । 
 
त्यस लगत्तै नेपालीहरुलाई त्यो मन्दिरमा अघोषित प्रतिवन्ध जस्तै लाग्यो । ‘हामीलाई त्यतिखेर मन्दिरमा तिमीहरु फोहोर गर्छौ भनेर प्रवेश गर्न दिइएन’ त्यतिखेरलाई स्मरण गर्दै नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका महासचिव छवी चापागाईले भने–‘शायद त्यो घटना हाम्रा लागि एकजुट गराउने अवसर भयो । त्यो नभएको भए शायद हामीहरु यतिखेरसम्म पनि त्यही मन्दिरमा गएर पूजा गरिरहेका हुनेथियौैँ ।’

 
त्यो घटना पछि तातेका नेपाली समुदायका अगुवाहरुले बेल्टलाईनमा भाडामा लिएर केही समय नेपाली मन्दिर चलाए । त्यसपछि अर्भिङमै अहिले सञ्चालन भएको मन्दिरको भवन खरिद गरे । मन्दिरलाई ऋणमुक्त गरे । 
 
अर्भिङको मन्दिर साँघुरो भएको महसुस गरेर यतिखेर ५५ लाख डलर लागतमा युलेस परियोजना अघि बढिरहेको छ । यृुलेसमा बन्ने भव्य मन्दिरका लागि हात र मन दुबै खोलेर सहयोग गर्ने नेपालीहरु दिनानु दिन बढिरहेका छन् । टेक्ससको युलेसमा निर्माणाधिन त्यही पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारको लागि अहिलेसम्म एकहजार तीनसय परिवार प्रत्यक्ष संलग्न भैसकेका छन् । 
 
शनिबार साँझ आयोजना गरिएको सम्मान पत्र प्रदान कार्यक्रममा दिइएको प्रगति विवरण अनुसार मन्दिर तथा विहारका लागि ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेका नेपाली परिवारहरु यसमा आवद्ध भएका छन् । अन्य केही राज्यमा रहेका नेपालीहरुले पनि अमेरिकाभरि रहेका नेपाली समुदायको गौरवपूर्ण यो प्रोजेक्टमा सहयोग गरेर आवद्धता जनाएका छन् । 
 
शनिबार ८३ परिवार फाउण्डिङ मेम्बर, २२ परिवार ट्रष्टी र २ परिवारले प्याट्रोन सदस्यता ग्रहण गरेका छन् । मन्दिर निर्माणका लागि तीनहजार डलर सहयोग गर्नेलाई फाउण्डिङ मेम्बर, ११ हजार सहयोग गर्नेलाई ट्रष्टी र ५० हजार भन्दा बढी सहयोग गर्नेलाई प्याट्रोन प्रदान गरिन्छ । 
 
टेक्ससमा निकै सकृय चिकित्सक डा. सञ्जीव श्रेष्ठ र डा. झरना श्रेष्ठ दम्पत्तिले प्याट्रोन ग्रहण गरेका छन् । त्यस्तै कृष्णबाबु पन्त र नगिन पन्त दम्पत्तिले पनि मन्दिर निर्माणमा मन खोलेर सहयोग दिँदै प्याट्रोन ग्रहण गरेका छन् ।
 
गत बुधबारसम्म मन्दिरलाई सहयोग गर्नेलाई शनिबार साँझ बिशेष समारोहबीच सम्मान गर्दै सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ । समितिले दिएको जानकारी अनुसार हालसम्म एकहजार ७५ परिवारले फाउण्डिङ मेम्बर, दुईसय १४ परिवारले ट्रष्टी र १० जनाले प्याट्रोन हुनका लागि तोकिएको सहयोग प्रदान गरिसकेका छन् ।

 
बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्यालले पेश गरेको विवरण अनुसार अर्भिङमा रहेको मन्दिर आउँदो फेब्रुअरी १३ तारिकसम्ममा युलेस सारिसक्ने योजना छ । त्यसका लागि युलेसमा पहिलो चरणमा पुरानो भवनलाई पुनरसंरचना गर्ने काम ५२ प्रतिशत पुरा भैसकेको छ । पहिलो चरणको काम पुरा भैसके लगत्तै दोस्रो चरणमा पर्ने पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको विहार निर्माण सुरु हुनेछ । सबै गरेर झण्डै ५५ लाख डलर खर्च लाग्ने अनुमान गरिएको छ ।
 
‘हामी जो जो अहिले सदस्य भैसकेका छौँ, एकजनाले अर्को एकजना थप्न पहल गरौं । त्यसो गर्दा कुनै ऋण बिनानै सजिलोसँग मन्दिर खडा गर्न सक्नेछौँ’ युलेस प्रोजेक्ट फण्ड रेजिङ कमिटीका संयोजक कृष्ण लामिछानेले आग्रह गरे । अहिले अमेरिकाका बिभिन्न राज्यबाट टेक्ससका नेपालीहरु सर्ने क्रम तीब्र छ । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स अन्तरगतका सिटीहरुमा झण्डै ६० हजार नेपालीभाषी नेपाली र भुटानी) हरुको बसोबास रहेको अनुमान छ ।
 
मन्दिर बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष मनोज सिग्देलका अनुसार ५० हजार डलर भन्दा बढी सहयोग गरेर प्याट्रोन हुन ७/८ जनाले प्रतिवद्धता जनाएका छन् । 
 
यो मन्दिर निर्माण भैसकेपछि धेरै हिसाबले नयाँ पुस्तालाई जोड्न पनि सक्ने अपेक्षा पदाधिकारीहरु र समुदायका अग्रजहरुले लिएका छन् । ड्यालस फोर्टवर्थमा बस्ने र भरखरै सरेर आएका नेपाली समुदायलाई जोडिन आग्रह पनि गरेका छन् । मन्दिर बनिरहेको युलेस सिटी हालै न्यूयोर्क टाइम्सले अमेरिकामा बसोबासका लागि सबैभन्दा उपयुक्त भनेर सूचिकृत गरेको एक नम्बरको सिटी हो ।