मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

गीताको सातौँ अध्याय : पितृमोक्षको मूल मार्ग

गीताको सातौँ अध्याय : पितृमोक्षको मूल मार्ग


विष्णु भगवान्का साक्षात्कार प्रारुप श्रीकृष्णको मुखारबिन्दुबाट जन्म भएको श्रीमद्भगवतगीता अठार अध्यायहरुमा आबद्ध छ । अध्याय एकदेखि अठारसम्मका सबै अध्यायहरुले एक न एक विशेष अभिप्रायः बोकेका छन् । जसमध्ये सातौँ अध्याय पनि एक हो । यस अध्यायले ज्ञान–विज्ञान योगको वर्षा गराउँछ । यस अध्यायलाई पितृमोक्षको अध्याय भनेर पनि सम्बोधन गर्ने गरिन्छ । 

 
पितृपक्षमा यो अध्यायको पाठ गर्नु, सुन्नु–सुनाउनु अति फलदायी हुन्छ भन्ने मान्यता रहँदैआएको छ । देवादिदेव महादेवले पार्वतीलाई गीताको सातौँ अध्याय सुन्ने हो भने कान अमृतमय हुन्छन् भनेर भनेका छन् । उनले यसै सन्दर्भमा पार्वतीलाई एक कथा पनि सुनाएका छन्, जो यस प्रकारको छ–
 
कुनै समयमा पाटलीपुत्र नाम गरेको एक दुर्गम नगरमा शंकुकर्ण नामका एकजना ब्राह्मण बस्दथे । वैश्य–वृत्तिको आश्रय लिएका हुनाले उनले धन त प्रशस्त कमाए । तर, उनले न पितृहरुलाई तर्पण–पिण्ड दिए, नत देवताहरुको पूजन नै गरे । बरु राजा–महाराजाहरुलाई र सेठहरुलाई भने बेला–बेलामा भोज दिने गर्थे ।
 
एक समयको कुरा हो । शंकुकर्ण ब्राह्मणले धन–सम्पत्तिबाट उन्मत्त भई आफ्नो चौंथो विवाह गर्नुप¥यो भनेर पुत्रहरु र बन्धु–बान्धवहरु साथमा लिएर यात्रा गर्न लागेछन् । जाँदा–जाँदै बाटोमा एक ठाउँमा बास परेछ । राति सुतेको समयमा आधिराततिर कहीँबाट अचानक एक सर्प त्यहाँ आएर उक्त ब्राह्मणको हातमा टोकिदिएछ । 
 
त्यसपछि त्यस घाउमा मन्त्र–तन्त्र, जडीबुटी, औषधि आदि केही गर्दा पनि टोकेको घाउ निको हुन नसकेर झन्–झन् पीडा थपिँदै गई त्यस वैश्यको त्यहीँ मृत्यु हुन गएछ र प्रेतयोनीमा पुगेछ । त्यसको धेरै समयपछि उक्त वैश्य सर्पयोनीमा उत्पन्न हुन पुगेछ । त्यस्तो दुःखदायी समयमा पनि उसको चित्त धनको वासनामा लिप्त हुन थालेछ । आफ्नो पहिलो अवस्थाबारे उसले चिन्तन, स्मरण गर्न लागेछ । मैले करोडौँको संख्यामा धन–दौलत घरदेखि बाहिर टाढा लगेर माटोमुनि जमिनमा गाडेको थिएँ । त्यस धनबाट आफ्ना छोराहरुलाई पनि वञ्चित गरेर म आफैँले उपभोग गर्नेछु भनेको थिएँ । यस्तै–यस्तै कल्पना, चिन्तना त्यो सर्परुपी ब्राह्मणले बराबर गरिरहन्थ्यो ।
 
एक दिन त्यस सर्परुपी वैश्यले आफू सर्पयोनीमा भएर पीडा भोगिरहेको अवस्थामा एक राति आफ्ना छोराहरुसँग गएर सपनामा आफ्नो मनोभाव सबै बेलीविस्तार गरी बताएछ । सपनामा आफ्ना पिताको यस्तो वाणी सुनेपछि उसका छोराहरु बिहान ब्रह्म्मुहूर्तमा उठेर एकअर्काबीच सपनाको कुरा कहन थालेछन् । 
 
तीमध्ये माहिलोचाहिँ छोराले कोदालो हातमा लिएर आफ्ना पिता भएको ठाउँमा गएर जमिन खन्दै गाडेको धन खोज्न लाएछ । तर, ठीक ठाउँ फेला पार्न गाह्रो भएछ । तथापि लोभका कारण जमिन खन्दै जान छोडेनछ । 
 
जमिन खन्दै धन गाडेको ढुँड पत्ता लगाउन अघि बढ्दै गर्दा त्यस ढुँडबाट एक ठूलो सर्प प्रकट भएछ र बोल्न लागेछ– ‘ओ मूर्ख ! तँ को होस् ? यहाँ किन आएको ? यसरी खनेर यहाँ तैँले के खोज्दै छस् ? तँलाई कसले पठाएर यहाँ आएको होस् ? मलाई सबै भन् !’ 
 
छोराचाहिँले भन्यो– ‘म तपाईंको पुत्र हुँ । मेरो नाम शिव हो । राति देखेको सपना मुताविक गाडेको धन खोज्न अहिले म यहाँ आएको हुँ ।’
 
छोराको यस्तो बोली सुनेर उक्त सर्प पहिले त हाँस्यो अनि पछि उच्च स्वरले कराउँदै यदि तँ मेरो सच्चा पुत्र होस् भने मलाई तुरुन्त यो बन्धनबाट मुक्त गराइदे । पूर्वजन्ममा मैले नै गाडेको धनका कारण म अहिले सर्पयोनीमा उत्पन्न भएको हुँ । यो सुनी पुत्रले भन्यो, ‘तपाईंको मुक्ति के गर्दा हुन्छ ? त्यसको उपाय मलाई बताउनुहोस्, यस्तो रातको समयमा सबैलाई छोडेर म तपाईंसँग एक्लै आउनुको कारण पनि यही हो ।’
 
छोराको यस्तो वचन सुनेर सर्परुपी पिताले भन्यो– ‘गीतामा भएको अमृतमय सातौँ अध्यायबाहेक मेरो मुक्ति अरु कुनै तीर्थ, तप, दान, यज्ञादि केहीबाट पनि हुन सक्दैन । यस कार्यका लागि गीताको सातौँ अध्यायमात्र सक्षम छ । मेरो श्राद्धका दिन गीताको सातौँ अध्यायको ब्राह्मणहरुद्वारा पाठ गराउने र त्यस ब्राह्मणलाई उचित दक्षिणा दिएर श्रद्धापूर्वक भोजन गराउने । अन्य वेदपाठी ब्राह्मणहरुलाई पनि यसैगरी श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराउने । यति गरेमा मेरो मुक्ति हुनेछ ।’
 
सर्पयोनीमा परेको आफ्ना पिताको यस्तो वचन सुनेपछि सबै पुत्रहरु जुटेर पिताको आज्ञानुसार र त्योभन्दा पनि अधिक कर्म गरिदिएपश्चात् तब शंकुकर्णले सर्प शरीर त्यागेर आफ्नो पूर्वको दिव्यदेह धारण ग¥यो । त्यसपछि त्यहाँ भएको धन, दौलत जति सबै उक्त वैश्यले आफ्ना पुत्रहरुको अधिनमा बनाइदियो । आफ्ना पिताले यसरी करोडौँ धन बाँडिदिएको व्यवहारबाट वैश्यका पुत्रहरु अतिप्रसन्न भए ।
 
त्यस क्षणदेखि वैश्यका पुत्रहरुको बुद्धि, धर्म, सद्कर्म, परोपकार र निष्ठाप्रति आशक्त हुँदै जान थाल्यो । उनीहरुले कुवा, पाटीपौवा, देव मन्दिर, यज्ञशाला, अन्नशाला एवम् अन्य कैयौँ लोककल्याणकारी कार्यहरु सन्पन्न गराइदिए । गीताको सातौँ अध्याय निरन्तर जप गर्दै तिनीहरु सबैले अन्त्यमा मोक्ष प्राप्त गरे भन्ने कुरा हाम्रा धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
 
यसकारण जसले आफ्ना पितृहरुका लागि मरेपछि गरिने किरिया कर्म, तर्पण, पिण्डदान आदि १५ दिनभित्र गर्नैपर्ने कर्म गर्न सकेका थिएनन् । तिनले गीताको सातौँ अध्यायको ब्राह्मणहरुद्वारा पाठ गराउने, अन्य ब्राह्मणहरुद्वारा पनि वेदपाठ गराएर तिनलाई आफ्नो औकातअनुसारको दक्षिणा दिई श्रद्धापूर्वक भोजन गराउने हो भने तिनका पितृहरुले अवश्यमेय मोक्ष प्राप्त गर्दछन् भनेर गीतामा भनिएको छ ।
 
अन्त्यमा सम्पूर्ण हर्ताकर्ता, जन्मरहित, अविनाशी, परमात्मा परमेश्वर उनै श्रीकृष्णप्रति अनन्य भक्तिभावका साथ अन्तरमनदेखि श्रद्धा–सम्मान पस्कन सकेमा परमधाम प्राप्त हुन्छ भन्ने लोकोक्ति छ ।