मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

समाजवादी आम जनताको हित गर्ने पार्टी हो : नेता नेपाल

समाजवादी आम जनताको हित गर्ने पार्टी हो : नेता नेपाल


लितपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूको पार्टी मुलुकका आम जनताको हित गर्ने पार्टी रहेको बताएका छन् । 
 
गोदावरी नगर कमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा बोल्दै उनले समाजवादी अन्याय र अत्याचारका विरुद्धमा परेका जनताको हितमा सदैव लड्ने पार्टी रहेको बताए । 
 
उनले भने, “विद्रोहको जगमा निर्माण भएको यस पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिस्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नेछ ।” समाजवादी गरिब तथा सर्वहारा जनताको हित गर्ने पार्टी रहेको बताउँदै भेदभाव समाप्त पार्ने दाबी गरे । 
 
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एमालेमा विचार र निष्ठा कम हुँँदै गएको बताए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले कम्युनिस्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिस्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित भएको धारणा राखे ।
 
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले स्वच्छ र पारदर्शी भई देश विकास र जनताको सेवामा जुटेका जनप्रतिनिधि एकीकृत समाजवादीमा रहेको दाबी गरिन् । शनिबार आयोजित कार्यक्रमबाट ठाकुर घिमिरेको अध्यक्षतामा ७५ सदस्यीय कमिटीको घोषणा तथा शपथग्रहण सम्पन्न भएको छ ।
 
सो कमिटीका उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन रहनाका साथै सचिवमा राजन महर्जन र उपसचिवमा नवीन महर्जन, शारदा घिमिरे दुलाल र रुदिना महर्जन रहेका छन् । 
 
कार्यक्रममा नगर कमिटीको तत्काल बैठक बसी स्थानीय विकास तथा जनताको सेवामा पार्टी पङ्क्ति परिचालित हुने र भ्रष्टाचार ढिलासुस्ती तथा अपारदर्शिता विरुद्धमा पार्टी अभियान केन्द्रित गर्ने बताइएको थियो ।
 
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा केन्द्रीय निर्वाचन आयोग प्रमुख माधव पौडेल, एकीकृत समाजवादीका केन्द्रीय सदस्य उमेश शर्मा, सरला केसी, राधा सिलवाल, जिल्ला अध्यक्ष हरिकृष्ण थापा, केन्द्रीय परिषद् सदस्य रामसिंह महर्जन, रामशरण बस्नेत, अनुशासन आयोगका सदस्य रामकुमार वान्तवा, केन्द्रीय सल्लाहकार मीरा थामीलगायतका नेताहरूको उपस्थिति थियो । रासस