मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाल महिला क्रिकेट टोली आठ विकेटले विजयी

नेपाल महिला क्रिकेट टोली आठ विकेटले विजयी


काठमाडौँ ।  दुवईमा जारी आइसिसी टी–ट्वान्टी वुमेन एसिया रिजनल क्वालिफायर प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली विजयी भएको छ ।
 
नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो । दुवईमा सम्पन्न खेलमा भुटानले टस जितेर ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरको खेलमा भुटानले ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो । भुटानका लागि नगावाङ छोदेनले सर्वाधिक १३ रन बनाइन् । त्यस्तै, सोनाम पाल्देनले ११, यासी छोदेनले ९ रन बनाए पनि अन्य भुटानी महिलाहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
 
नेपालका लागि सीता रानामगरले ४ ओभरमा १० रन खर्चंदै भुटानको ३ विकेट लिन सफल भएकी थिइन् । करूणा भण्डारीले ४ ओभरमा ६ रन दिँदै १ विकेट लिएकी थिइन् । ६२ रन विजय लक्ष्यसहित मैदानमा उत्रेको नेपाली महिला क्रिकेट टोलीले आठ ओभर तीन बलमा २ विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको थियो ।  
 
नेपालको जितमा सीता रानामगरले १३ बल खेल्दै २ चौकाको मद्दतमा १७ रन बनाएर क्याचआउट हुन पुगेकी थिइन् । कप्तान रूविना क्षेत्री व्यक्तिगत १० रनमा रनआउट भएकी थिइन् । इन्दु बर्मा नटआउट १८ रन र कविता जोशीले २ बलमा २ चौका प्रहार गरी ८ रन बनाएकी थिइन् । भुटानका लगि टासी छेकीले १ विकेट लिन सफल भइन् । अन्य बलरहरुले कुनै विकेट लिन सकेनन् । 
 
४ ओभरमा १० रन खर्चंदै ३ विकेट र १७ रन बनाएकी सीता रानामगर प्लेयर अफ दी म्याच धोषणा भएकी थिइन् । टप दुईमा रहने महिला क्रिकेट टोली आइसिसी टी–ट्वान्टीको क्वालिफायर खेल्नेछ । नेपाल आफ्नो पहिलो खेलमा दुवईसँग ६ विकेटले पराजित भएको थियो ।