विचार / ब्लग

उत्पत्तिका एकादशी र यसको पौराणिक महिमा

प्रकाशित |

 

वैदिक सनातन र हिन्दु पञ्चाङ्गअनुसार हेमन्त ऋतुअन्तर्गतको मार्ग महिना कृष्णपक्षको एघारौँ तिथिलाई उत्पत्तिका एकादशी भनिन्छ । एक महिनामा दुई वटा, एक वर्षमा २४ वटा अनि मलमास या अधिकमास परेको वर्ष दुई वटा एकादशी थपिन गएर मलमाससहितको एक वर्षमा २६ वटा एकादशी पर्दछन् । उत्पत्ति भन्ने शब्द यसको नामबाटै यस एकादशीको एक पौराणिक गाथा बोकेको भान हुन्छ । सत्ययुगमा त्रिलोकपति भगवान् विष्णुु आफ्ना १० इन्द्रिय र एक मन गरी ११ (एकादश) इन्द्रियहरुलाई वशीभूत पारी योगनिद्रामा लिप्त भएको अवस्थामा उनको शरीरको योगशक्तिबाट एक दिव्य र तेजस्वी स्त्रीको उत्पत्ति भएछ, जसको नाम २४ स्वरुपिणी एकादशी थियो । यो दिन मार्ग कृष्णपक्षको एघारौँ दिन अर्थात् आजकै दिन थियो । एकादशी नाम गरेकी तिनै दिव्य स्वरुपिणी देवीले दुष्ट मुरदानवको वध गरी लोक कल्याणकारी काम गरेकी र त्यस कार्यबाट विष्णु भगवान् अतिप्रसन्न भएर ती देवीलाई मनवाञ्छित वरदान दिई तिनलाई आफ्ना नयनमा स्थान दिएर राखेका हुनाले त्यसै समयदेखि हरेक पक्षको एघारौँ तिथिलाई शक्ति स्वरुपिणी देवी एकादशीका नाममा व्रत गर्ने परम्पराको थालनी भएको कुरा ब्रह्मवैवर्त पुराणमा जनाइएको छ ।

 

द्वापरयुगमा धर्मराज युधिष्ठिरलाई एकादशीको उत्पत्तिका बारेमा केही जान्ने जिज्ञासा राखेर श्रीकृष्णसँग प्रश्न गरेछन् । श्रीकृष्णले एकादशीको उत्पत्ति बारेको एक पौराणिक कथा सुनाएर युधिष्ठिरको प्रश्नको उत्तर दिएछन् जो यस प्रकारको छ-

धेरै–धेरै समय पहिले सत्ययुगमा चन्द्रावती नगरमा नाडी–जङ्ग नाम गरेको एक असुर रहेछ । त्यसको मुरदानव नामको एक अतिबलशाली र उग्र स्वभावको पुत्र रहेछ । त्यसले ब्रह्माजीका नाममा कठोर तपस्या गरेर देवता, मानव, दानव कोही कसैबाट पनि आफू नमर्ने वरदान पाएपछि त्यो झन् उग्र हुन गएछ । मुरदानव बलमत्त भएर देवताहरुसँग युद्ध गर्न थालेछ । युद्ध जितेपछि देवताहरुलाई देबलोकबाट धपाएर आफू त्यहाँको अधिपति भई इन्द्रको सिंहासनमा बसेछ । देवताहरु पृथ्वीमा डुल्दै–फिर्दै हिँड्न लागेछन् । धेरै दुःख झेल्दै जान पर्दा केही समयपछि देवताहरु एकजुट भई ब्रहमाकहाँ गएछन् । त्यहाँ ब्रह्माबाट केही हुन नसकेपछि उनीहरु त्यहाँबाट देवादिदेव शिवसँग गएछन् । शिवले पनि केही गर्न नसक्ने भएर देवताहरुलाई विष्णुुसँग जाने सल्लाह दिएछन् । देवताहरु त्यहाँबाट क्षीरसागरतर्फ लागेछन् । त्यहाँ नागशैयामा योगनिन्द्रामा शयन गरेका विष्णुु भगवान्सामु गएर सबै देवताहरुले स्तुति गर्दै एकै स्वरमा पुकार गर्न लागेछन्, ‘हे त्रिलोकपति ! हे करुणासागर ! त्राहीमाम् त्राहीमाम्, हाम्रो रक्षा गर्नुहवस्, हाम्रो रक्षा गर्नुहवस्’ भन्दै अखण्ड आराधना गर्न थालेछन् । देवताहरुको यस्तो पुकार र आराधनाबाट व्युँझेर विष्णुु भगवान्ले भन्न लागेछन्, ‘हे देवताहरु हो ! के कष्ट पर्न गयो र अहिले यस्तो पुकार गरिरहेका छौ ? यसबारे मलाई सबैकुरा बताऊ ।’

यो सुनी देवराज इन्द्र्रले भनेछन्, ‘हे प्रभु ! मुरदानवले हामी सबै देवताहरुलाई युद्धमा परास्त गरेर देवलोकबाट धपाइदियो । हामी माउबिनाका चल्लाजस्ता भएर अहिले यो दुःख, कष्ट भोग्न बाध्य भएका छौँ । त्यस दैत्यको सम्हार गरी हाम्रो रक्षा गर्नुहवस् प्रभु !’ इन्द्रादि देवताहरुको यस्तो बिन्तीभाव सुनेपछि विष्णुु भगवान्ले भन्न लागेछन्, ‘हे देवताहरु हो ! मुरदानव को हो र त्यो कहाँ बस्छ ? मलाई सबै बताऊ ।’ यो सुनेर इन्द्र्रले मुरदानवबारे सबै बेली–बिस्तार गरेपछि विष्णुु भगवान्ले देवताहरु सबैलाई साथमा लिएर मुरदानव भएको इन्द्रावती नगरमा गए । त्यहाँ देवताहरु र मुरदानवबीच घम्समान युद्ध हुन लाग्यो, देवताहरु युद्धबाट भागाभाग गरे । विष्णुु भगवान् र मुरदानवबीच १००० वर्षसम्म निरन्तर युद्ध भयो । विष्णुु भगवान्ले आफ्नो सुदर्शन चक्रद्वारा सयकडौँ दैत्य सेनाहरुलाई मारे, मुरदानवलाई पनि मार्न त सक्थे तर ब्रह्माजीको बरदानको मानका खातिर त्यस दुष्टलाई त्यहीँ छाडेर आफू बदरिआश्रमस्थित १२ योजन लामो सिंहावती नामको गुफामा गईं आफ्ना सबै इन्द्रियहरु वशीभूत पारी सुते ।

केही समयपछि मुरदानव पनि विष्णुु भगवान्को खोजीमा त्यतै गयो । जाँदा–जाँदै विष्णुु भगवान् सुतिरहेको गुफामा मुरदानव त पुग्यो । तर, आश्चर्य के हुन गयो भने मुरदानव त्यहाँ पुग्नासाथ उसले त्यहाँ हातमा खड्ग, तरबार आदि जस्ता सबै शस्त्र–अस्त्र धारण गरेकी एक दिव्य स्वरुपिणी स्त्रीलाई देख्यो । सुन्दरी स्त्रीलाई देखेर मोहित भई आफ्ना शत्रु विष्णुु भगवान्लाई मुरदानवले भुल्यो । अब उसले प्रेमका कुरा गर्न थाल्यो । साथै, सुन्दरीसँग विवाहको प्रस्ताव पनि राख्यो । मुरदानवका यस्ता कुरा सुनेपछि ती सुन्दर स्त्रीले भन्न लागिन्, ‘हे दानवराज ! मेरो एक प्रतिज्ञा छ त्यो के त भने जसले युद्धमा मलाई जित्छ, त्यसैसँग मैले विवाह गर्नेछु ।’

सुन्दरीको यस्तो कुरा सुनेर असाध्यै खुसी हुँदै त्यो दुष्ट मुरदानवले उनको प्रस्ताव स्वीकार ग¥यो । दुवैले आ–आफ्ना सस्त्र–अस्त्र धारण गरेर युद्ध गर्न थाले । केही समयसम्म घमसान युद्ध भयो । आखिरमा शक्तिरुपिणी स्त्रीले मुरदानवको शिर काटिदिएर दुई टुक्रा पारिन् र उसको मृत्यु भयो । ठीक त्यसै समयमा विष्णुु भगवान् आफ्नो योगनिन्द्राबाट व्युँझेर आफूसामु हेर्दा एक दिव्य रुप धारण गरेकी स्त्रीलाई देखेर आश्चर्य मानी भन्न लागेछन्, ‘हे देवी ! तिमी को हौ ? यहाँ तिमी कहाँबाट कसरी आयौ ? यो सुनेर स्त्रीले भन्न लागिछन्, ‘हे प्रभु ! म तपाईंका १० इन्द्रिय र एक मनगरी ११ इन्द्रियहरुलाई वशीभूत पारी योगनिन्द्रामा रहनुभएको अवस्थामा तपाईंको योगबलद्वारा उत्पत्ति भएकी शक्ति स्वरुपिणी एक भक्ति हुँ ।मेरो नाम २४ स्वरुपिणी एकादशी हो । तपाईंको तपबाट उत्पत्ति भएकी हुनाले म एक तपस्विनी पनि हुँ ।’

ती स्त्रीको यस्तो बोली सुनेर विष्णुु भगवान् अति खुसी हुँदै भन्न लागेछन्, ‘हे तपस्विनी ! हे एकादशी ! आज तिम्रो उत्पत्ति भएर यो दुष्ट मुरदानवको बध हुनाले संसारभरी आनन्दै–आनन्द छाएको छ । मैले तिमीलाई वरदान दिन्छु, ल जे माग्छ्यौ माग ।’ भगवान्को यस्तो वचन सुनेपछि एकादशीले भन्न लागिछन्, ‘हे प्रभु ! तपाईं मदेखि यदि प्रसन्न हुनुहुन्छ भने मलाई यस्तो वरदान दिनुहोस् कि जसले मेरो नाममा व्रत गर्छ, त्यसका सम्पूर्ण पापहरु नष्ट भएर आयु, आरोग्य, ऐश्वर्यवान् भई मुत्युपश्चात् बैकुण्ठलोक प्राप्त हुन सकोस् । एकादशीका यस्ता कुरा सुनेपछि विष्णुु भगवान््ले तथास्तु भन्दै भुक्ति, मुक्ति सबैथोक प्राप्त हुने संकेत पनि दिएछन् । यो सुनी एकादशीले फेरि अगाडि भन्न लागिछन्, ‘हे प्रभु ! म त मेरा २४ रुपले रहनेवाली हुँ । यी मेरा २४ रुपमा तपाईं स्वामी भएर मेरा साथमा रहिदिनुहवस् । यो सुनी विष्णुु भगवान्ले भनेछन्, ‘हे एकादशी ! तिमीले त यस ब्रह्माण्डमा सबैभन्दा उत्तम र परोपकारी बर माग्यौ, तथापि मैले तिम्रा यी सबै कामनाहरु पूर्ण गरिदिने छु । जो मनुष्यले एकादशीको व्रत, उपासना गर्छ, त्यसका जन्म–जन्मान्तर गरिएका सबै पापहरु नष्ट भई सम्पूर्ण मनोरथ पूर्ण हुनेछ ।’ त्यसपछि ती एकादशीलाई आफ्ना साथमा लिएर विष्णुु भगवान् बद्रिकाश्रम धाममा गएछन् । त्यहाँ भएका सबै ऋषिमुनिहरु र सन्त–महन्तहरुलाई एकादशी देवीको परिचय गराएछन् र सबैलाई एकादशीको व्रत गर्ने सल्लाह दिएर उनी विष्णुुलोकका लागि अन्तध्र्यान भएछन् । विष्णुु भगवान्को आज्ञानुसार त्यसै समयदेखि सबै ऋषिगणले एकादशीको व्रत गर्न सुरू गरेछन् भनी पुराणहरुमा उल्लेख गरिएको छ ।

यता एकादशी देवीले फेरि पनि विष्णुु भगवान्को श्रीअङ्गमा निवास पाउनका लागि स्वेतदीप धाममा गएर १०० वर्षसम्म कठोर तपस्या गर्न लागिछन् । एकादशीको तपस्याका प्रभावले विष्णुु भगवान् त्यहाँ प्रकट भएर भन्न लागेछन्, ‘हे देवी एकादशी ! तिम्रो तपस्यादेखि म प्रसन्न भएँ । के बरदान माग्न चाहेकी छ्यौ माग ।’ प्रभुको यस्तो बोली सुनेर एकादशीले भनिछन्, ‘हे सर्वेश्वर ! यदि तपाईं मबाट अति प्रसन्न हुनुहुन्छ भने मलाई तपाईंले आफ्नो श्रीअङ्गमा बास दिनुहवस् ।’ यो सुनी भगवान्ले भन्न लागेछन्, ‘हे देवी ! मेरो शरीरको कुनै पनि अङ्ग खाली छैन, मैले कहाँ निवास गराऊँ तिमीलाई ?’ भगवान्को यस्तो बोली सुनेर एकादशीले भन्न लागिछन्, ‘हे जगदीश्वर ! तपाईंका आँखामा कसैले निवास गरेका छैनन् होला नि त ! मलाई तपाईंका तिनै खाली आँखामा निवास दिनुहवस् ।’ एकादशीका यस्ता कुरा सुनेपछि विष्णुु भगवान्ले उनलाई बडो चातुर्यताको संज्ञा दिँदै आफ्ना आँखामा निवास दिन मञ्जुर भई तथास्तु भनेछन् । एकादशी देवीले पुनः भन्न लागिछन्, ‘हे परमेश्वर ! तपाईंका आँखा त सधैँ खुला रहन्छन् । मलाई सुख, शान्ति र आराम कहिले दिनुहुन्छ त ?’ यो सुनी भगवान्ले भन्न लागेछन्, ‘हे एकादशी ! त्यसो भए म हरेक वर्षको आषाढ शुक्लपक्षको एकादशीका दिनदेखि कार्तिक शुक्लपक्षको एकादशीका दिनसम्म चार महिना क्षीरसागरमा शयन गर्नेछु । त्यसै समयमा तिमीलाई जे–जस्तो सुखभोगको लालसा होला, त्यो सबै मैले पूर्ण गरिदिने छु ।’ भगवान्का यस्ता वचन सुनेपछि एकादशी स्वरुपिणी देवी विष्णुु भगवान्का नयनमा गई विराजमान भइन भन्ने कुरा विभिन्न पुराणहरुबाट अवगत हुन आउँछ ।

यस्तो गरिमामय पौराणिक गाथा बोकेकी सर्वतीर्थ स्वरुपिणी, सर्वबिघ्न नासिनी, सिद्धिदात्री देवी एकादशीको व्रत, उपासना प्रत्येक मनुष्यले गर्न अत्युत्तम मानिएको छ । एकादशीहरु सबै समान, उत्तम फलदायिनी तर केही फरक पौराणिक गाथा बोकेका भए तापनि मान्यताक्रममा यिनीहरु सबै एकै हुन्छन् । वर्षभरिका एकादशीहरु सबैको व्रत गर्नु अत्युत्तम, तर देवशयनी, हरिपरिबर्तिनी र हरिबोधिनी एकादशीको व्रत सबैले लिनै पर्नी प्रावधान हिन्दु ग्रन्थहरुमा बताइएको छ । एकादशीको व्रत गर्दा १३ वटा गुणहरु जस्तैः (१) क्षमा, (२) सत्य, (३) दया, (४) सौच, (५) दान, (६) इन्द्रियनीग्रह , (७) देवपूजा, (८) होम, (९) सन्तोष, (१०) चोरी नगर्नु, (११) ब्रह्मचर्यको पालना, (१२) अहिंसा, (१३) रसस्वादको त्यागीको पालना गर्नु अत्यावश्यक हुन्छ । अन्नादि त यस दिन पूर्णरुपले वर्जित गरिएको हुन्छ । दूध, पानी, चिया आदि पनि बारम्बार खाने गरेमा व्रत भङ्ग हुन सक्ने बताइएको छ । यस दिन रोटी, परोठा, जुलपी, पकौडा साथ–साथै मिष्ठानजन्य खानेकुराहरु पनि वर्जित छन् । नुन त यस दिन पूर्णरुपले वर्जित छ । एकादशीका दिन पूर्णरुपले व्रत गर्न नसकिए तापनि फलाहार गरेर कथा सुन्ने–सुनाउने मात्र गरेमा पनि १०० गाई दान गरे बराबरको पुण्य प्राप्त हुने भनिएको छ । १००० वर्षसम्म तपस्या गर्दा नमिल्ने पुण्य एकादशीको व्रत एकाग्र ढङ्गले गरिएको खण्डमा सहजै प्राप्त हुन्छ भनी पद्मपुराणमा बताइएको छ ।

उत्पत्तिका एकादशीको व्रत विधि :

–दशमीका दिन सात्विक भोजन गर्ने । सूर्यास्तपछि भोजन नगर्ने । राति भुईंमा सुत्ने ।

–एकादशीका दिन ब्रह्ममुहूर्तमा उठी स्नानादि गरेर शुद्ध र पवित्र भई दाहिने हातको अञ्जुलीमा जल, फूल लिएर हे विष्णुु भगवान् ! मैले आज उत्पत्तिका एकादशीको व्रत गर्दैछु । यो व्रत विधिपूर्वक सम्पन्न गर्ने प्रभुबाट प्रेरणा पाऊँ भन्दै संकल्प गर्ने ।

–त्यसपछि पूजाकोठामा गएर लक्ष्मी–नारायणको प्रतिमामा पहेँलो वस्त्र धारण गराउने । अनि शिव–पार्वती, इन्द्र्रदेव, अरुणदेव, वरुणदेव, पवनदेव, कुबेर, शालिग्राम आदि देवी–देवताहरुको स्थापना गरेर दियो, कलशको पनि स्थापना गरी जल, फूल, चन्दन, अक्षता, पञ्चामृत आदिले सबै देवी–देवताहरुको पूजन गरेर फलफूल, प्रसाद अर्पण गर्ने । लक्ष्मी–नारायणको प्रतिमामा तुलसी पत्र चढाउने ।

–मध्यान्हमा सूर्य भगवान्लाई अर्घ चढाएर प्रणाम गर्ने । पितृहरुको स्मरण गर्दै तर्पण दिने ।

–दिनभरि निराहार उपासना गर्ने । निराहार बस्न नसक्ने अवस्था भएमा दूध, फलफूल, चिया खान सकिने । विष्णुु भगवान्का सहस्रनाम या ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने । एकादशी व्रत कथा र विष्णुु भगवान्सम्बन्धीका भजन–कीर्तन श्रवण गरेर दिन बिताउने । आफू थोरै बोल्ने, शान्त रहने ।

–सूर्यास्तपछि पुनः सबै देवी–देवताहरुको विधिपूर्वक पूजन गरी धूप, दीप, आरती गर्ने, शङ्ख–घण्ट बजाउने, फलफूल, प्रसाद एवम् अन्य पाक्य सामग्रीहरु सबैबीच वितरण गर्ने । अन्त्यमा आफूले पनि फलाहार गर्ने । सकिन्छ भने रातभरि भजन–कीर्तन गरी जाग्राम बस्ने, नसक्ने अवस्था भएमा रातको पहिलो प्रहर बितेपछि भुईंमा सुत्ने, हरे राम हरे राम– महामन्त्रको स्मरण गर्ने ।

–द्वादशीको बिहान सबेरै उठी स्नान, जप, ध्यान आदि गरेर शुद्ध भई दाहिने हातको अञ्जुलीमा जल, फूल, अक्षता लिएर हे विष्णुु भगवान् ! मैले आज उत्पत्तिका एकादशीको व्रतगरी त्यसको अहिले बिसर्जन (पारण) गर्दैछु । व्रतका क्रममा मबाट कुनै भूल, त्रुटि हुन गएको भए क्षमा पाऊँ मलाई अब प्रभुबाट मनोरथ् पूर्ण गराउने कृपा होस् भन्दै हातमा भएको सबै चीज भगवान्लाई अर्पण गरेर प्रणाम गर्ने । पण्डित, ब्राह्मणहरुलाई सक्दो दक्षिणा दिई भोजन गराउने, छिमेकीहरुलाई पनि भोजन गराउने । यस दिन गरेको दानबाट अक्षय पुण्य प्राप्त हुने बताइएको हुनाले आफ्नो औकातअनुसार अन्न, द्रव्य, छाता, जुत्ता, चप्पल, वस्त्रादि दान गर्ने । अन्त्यमा मौन भएर आफूले पनि भोजन गर्ने ।

–व्रतको बिसर्जन कार्य द्वादशी तिथिको समयभित्र गर्नुपर्ने प्रावधान शास्त्रमा छ ।

उत्पत्तिका एकादशीलाई सम्पूर्ण एकादशीहरुकी माता स्वरुपिणी मानिन्छ । आजको यसैदिन विष्णुु भगवान्को शरीरबाट उत्पत्ति भईं भगवान्कै श्रीअङ्गमा निवास गर्ने एकादशी तिथिको विशेषगरी हिन्दु समाजमा असाध्यै ठूलो महिमा छ । जन्म–जन्ममा गरेका पाप जति सबै पखालेर जीवन शुद्ध, निर्मल र गङ्गामय बनाई अपार सुख, समृद्धि दिलाएर मृत्युपश्चात् मोक्ष गराइदिने करुणामयी तथा शक्ति स्वरुपिणी एकादशी व्रतको उपादेयताबारे बखान जति गरे पनि थोरै नै हुन्छ । साक्षात् देवी स्वरुपिणी यस उत्पत्तिका एकादशीको हामी सबैले व्रत, उपासना गरौँ, जीवन पुण्यमय र धन्य बनाऔँ । मृत्युपश्चात् आफू जाने सत्मार्गको रुपरेखा कोरी परमधाम प्राप्त गर्न सकौँ । यस प्रसङ्गमा समस्त हिन्दु बन्धु–बान्धवहरुलाई मेरो यही प्रातःकालीन नमन एवम् सादुभाव छ । अस्तु !


चक्रपाणि शर्मा गौतम

चक्रपाणि शर्मा गौतम -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया