विचार / ब्लग

हरिबोधनी एकादशी र यसको पौराणिक महिमा

प्रकाशित |
हिन्दुहरुको दैनिक व्यावहारिक पञ्चाङ्गअनुसार हरेक वर्षको कार्तिक शुक्ल पक्षको एघारौँ तिथिको दिनलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका विष्णु भगवान् ठीक चार महिनापछि कार्तिक शुक्ल एकादशीको दिन उठ्छन् भनेर शास्त्रहरुमा बताइएको छ । यो समयलाई आराध्य चौमासको समय पनि भनिन्छ ।
 
श्रद्धालु भक्तजनहरु यो चौमासको समयभरि अन्न नखाई फलफूलमात्र खाएर व्रत, उपासना गरी कार्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्राम (विष्णु भगवान्का प्रारुप) भगवान्सँग विधिवत् सम्पन्न गरेपश्चात् उत्सव मनाएर व्रतको विसर्जन (पारण) गर्ने गर्दछन् । यसदिन नेपालका पशुपति क्षेत्र आर्यघाट, देवघाट, बराह क्षेत्र, त्रिवेणीघाट, गलेश्वर, मोदीवेणी, रिडीजस्ता तीर्थस्थलहरुमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ । 
 
गङ्गाजलमा स्नान, जप, ध्यान गरी त्रिलोकपति विष्णु भगवान्का नाउँमा भजन–कीर्तन गरेर बडो धुमधामका साथ यो एकादशी पर्व मनाउने गरिन्छ । कार्तिकमास विष्णु भगवान्को लागि अतिप्रिय मास भएको र एकादशी त झनै प्यारो तिथिको दिन भएको हुनाले यसदिन गङ्गा स्नान गरी तुलसीको पात विष्णु भगवान्लाई अर्पण गरेमा सर्वोत्तम पुण्य प्राप्त हुने बताइएको छ । 
 
देवउठनी एकादशी या प्रबोधिनी एकादशी या ठूली एकादशीसमेत भनेर चिनिने यस दिन सूर्य तथा अन्य ग्रहहरु आफ्नो अवस्थाबाट परिवर्तित हुन्छन्, जसको प्रत्येक मनुष्यका इन्द्रियहरुमा प्रतिकूल प्रभाव पर्नसक्छ । यस्तो प्रतिकूल प्रभावबाट बच्न आध्यात्मिक चिन्तन र यस एकादशीको व्रत, उपासना गर्न उत्तम मानिएको छ । चौमासभरि व्रत गर्नेहरुले त्यस समयभरि भगवान्का नाममा अर्पण गरेका फूलपाती, चन्दन–अक्षता, फूलमाला, तोरन आदि सबै यसै दिनमा गङ्गाजल या कुनै जलाशयमा बगाइदिने गर्दछन् ।
 
द्वापरयुगमा श्रीकृष्णले आफ्ना प्रियसखा पार्थ (अर्जुन) लाई हरिबोधनी एकादशीका बारेमा देवर्षि नारद र ब्रह्माबीचको सम्वाद सविस्तार सुनाएका थिए । देवर्षि नारदले आफ्ना पिता ब्रह्मासँग राखेको जिज्ञासाबारे विस्तृत व्याख्या गर्दै ब्रह्माजी अगाडि भन्छन्, ‘हे पुत्र ! कार्तिक शुक्ल एकादशीको व्रत सच्चा श्रद्धा र भक्तिभावका साथ गरिन्छ भने त्यस्तो व्यक्तिले नरकको दुःख भोग्न कहिल्यै नपर्ने, विष्णुलोक प्राप्त हुने, १००० वर्ष तपस्या गर्दा नमिल्ने पुण्य प्राप्त हुने ब्रह्मवैव्रत पुराणमा उल्लेख छ । 
 
यो व्रतको प्रभावबाट यमलोकको गमन कहिल्यै नहुने, स्वर्गको ढोका खुला रहने, आयु, आरोग्य, ऐश्वर्यवान हुने, सद्वुद्धि मिल्ने, सुख–समृद्धि तथा राज्य प्राप्त हुने भनिएको छ । यस एकादशीको कथा सुन्दा–सुनाउँदा मात्र १०० गाई दान गरेबराबरको पुण्य प्राप्त हुने, भगवत भक्ति प्राप्त गर्न सहायक हुने, व्यक्ति धनवान्, भोगी, तपस्वी र आफ्ना इन्द्रियहरु जित्न सक्ने हुने बताइएको छ । 
 
यो एकादशीको व्रत गर्ने व्यक्तिलाई सूर्य ग्रहण स्नान गर्दाबाट भन्दा १००० गुणा बढी पुण्य प्राप्त हुने कुरा हाम्रा पुराणहरुमा उल्लेख छ । यस एकादशीको व्रतको फल १००० अश्वमेध यज्ञ, १०० राजसूय यज्ञको फलबराबरको हुन्छ भनिएको छ । व्रत आंशिक गर्दा दुई जन्मको र पूर्ण गर्दा सात जन्ममा गरेका सबै पापहरु नष्ट हुन्छन् भनिन्छ । जुन वस्तु त्रिलोकमा पाउन दुर्लभ छ, त्यो वस्तु यस एकादशीको व्रतबाट सहजै प्राप्त हुने कुरा उल्लेख छ । 
 
जसले यो एकादशीको व्रत श्रद्धापूर्वक शुद्ध मनले गर्दछ, त्यसलाई पर्वत समानको अटल पुण्य प्राप्त हुन्छ भनेर भनिएको छ । व्रतका क्रममा जो व्रतालुले यस एकादशीको राति विष्णुसम्बन्धीका भजन–कीर्तन गरी जाग्राम गर्छ, उसका बितेका १० पिंढी र आउँदा १० पिंढीहरुले विष्णुलोक बास गर्न पाउँछन् भनेर पद्मपुराणमा बताइएको छ । यो एकादशीको व्रत गर्नेका घरमा यस धरतीमा भएका जति सबै तीर्थहरुले बास गर्छन् भनेर वर्णन गरिएको छ । यस दिन गरेको दान, तप, यज्ञ, पूजा आदि सबैबाट अक्षय पुण्य प्राप्त हुन्छ भनिएको छ । यस एकादशीसँग अनेकानेक पौराणिक कथाहरु गाँसिएका छन् जसमध्ये कुनै एकको वर्णन यहाँ गरिएको छ ।
 
धेरै समय पहिले कुनै एक देशमा अति धर्मात्म राजा थिए । हरेक एकादशीका दिन उनका राज्यमा कोही–कसैले पनि अन्न खाँदैनथे । त्यस दिन फलाहार गर्थे । एकादशीका दिन त्यस राज्यमा अन्नादिको किनबेच पनि हुँदैनथ्यो । त्यस राज्यका राजा खुब धर्मनिष्ट भएको चर्चा चारैतिर फैलिएको थियो ।
 
एक पटक विष्णु भगवान्ले यी राजाको परीक्षा लिने विचार गरेर एक अति सुन्दर स्त्रीको भेष धारण गरी नगरको बाटोको किनारमा बसेछन् । त्यसै समयमा त्यस राज्यका राजा घुम्न भनेर बाहिर निस्केको बेलामा ती सुन्दरीलाई देखेर मोहित भई भन्न लागेछन्, ‘हे सुन्दरी ! तिमी को हौ ? यहाँ किन यसरी बसेकी ?’ राजाको यस्तो कुरा सुनेर ती सुन्दरीले भनिछन्– ‘हे महाराज ! मेरो यहाँ कोही छैन । मैले कसैलाई पनि चिन्दिन । म असहाय छु ।’
 
सुन्दरीको यस्तो कुरा सुनेपछि राजा उनीबाट अझ मोहित भएर भन्न लागेछन्, ‘हे सुन्दरी ! हिँड् मेरा दरबारमा जाऊँ । त्यहाँ तिमी मेरी पटरानी भएर बसौली ।’ राजाको यस्तो वचन सुनेर सुन्दरीले भन्न लागिछन्, ‘हे महाराज ! यदि तपाईंले राज्यको सबै अधिकार मलाई सुम्पनु हुन्छ र मैले पकाएर दिएको खानेकुरा मन पराएर खानुहुन्छ भने तपाईंको प्रस्ताव मैले मञ्जुर गर्छु ।’ सुन्दरीलाई देख्दासाथ मोहित भैसकेका ती राजाले दायाँबायाँ केही पनि नसोची सुन्दरीका सबै प्रस्तावहरु स्वीकार गरेर तिनलाई आफ्नो साथमा लिई राजदरबारमा गएछन् ।
 
समय बित्दै गयो । केही दिनपछि कार्तिक मास शुक्ल पक्षको हरिबोधनी एकादशीको दिन पनि आइपुगेछ । त्यस दिन ती सुन्दरीले बजारमा अरु दिनमा जस्तै गरी सबै प्रजाले अन्न किनबेच गर्ने आदेश दिइछन् । अनि माछा र मासुसहितको स्वादिष्ट भोजन बनाएर राजालाई खान भनी दिइछन् । यो देखेर राजाले भनेछन्, ‘हे महारानी ! आज कार्तिक ठूली एकादशीको दिन हो । मैले फलाहार गर्दछु ।’ राजाको यस्तो बोली सुनेपछि ती सुन्दरीले पहिले भएको वाचा कबुलको स्मरण गराउँदै राजालाई भनिछन्, ‘हे महाराज ! तपाईंले यदि यो खानेकुरा खानुहुन्न भने मैले तपाईंका जेठा राजकुमारको शिर काटिदिन्छु ।’ 
 
सुन्दरीको यस्तो कडा वचन सुनेर राजा डराई आफ्नी जेठी रानीसँग सल्लाह गर्न भनी गएछन् । जेठी रानीले आँखाबाट आँसु झार्दै भन्न लागिछन्, ‘हे महाराज ! छोरा त फेरि पाउन पनि सकिन्छ, धर्म त फेरि पाउन सकिन्न । त्यसैले धर्म नष्ट गर्न हुन्न । दैवसंयोग त्यसैबेला आफ्ना साथीहरुसँग खेल्न बाहिर गएको १२ वर्ष उमेरको राजाको जेठो छोरा टुप्लुक्क त्यहीँ आइपुगेर आफ्नी आमाका आँखाबाट आँसु झरिरहेको देखेर चिन्तित हुँदै आमालाई सोध्दा उनीले राजकुमारलाई सबै बेलीबिस्तार गरिन् । यो सबै वृ्रतान्त सुनेपछि ती राजकुमार सुन्दरीसामु गएर भन्न लागेछन्, ‘म आफ्नो शिर काट्न दिन तयार छु । पिताजीले आफ्नो धर्म छोड्न हुन्न ।’  
 
त्यहाँको त्यस्तो अवस्था देखेपछि सुन्दरी रुपिणी विष्णु भगवान्ले ती राजा र तिनका परिवारको धर्म निष्टताप्रति अतिप्रसन्न भएर आफ्नो पूर्वरुप धारण गरी भन्न लागेछन्, ‘हे राजन ! तपाईं मेरो परीक्षामा सफल हुनुभयो । तपाईंदेखि म प्रसन्न भएँ, अब वर माग्नुहोस् । विष्णु भगवान्को साक्षात्कार स्वरुपलाई आफूसामु देख्न पाएर साष्टाङ्ग प्रणाम गर्दै ती राजाले भन्न लागेछन्, ‘हे प्रभु ! हजुरको कृपाले मलाई सबैथोक पर्याप्त छ, अरु केही कुराको आवश्यक छैन, मुक्ति पाऊँ ।’ राजाको यस्तो वचन सुनेपछि तत्काल त्यहाँ एक दिव्य विमान आएछ । ती राजाले राज्यको सबै अभिभारा जेठो छोरालाई सुम्पेर आफू त्यसै विमानमा विष्णुलोक गएको प्रसङ्ग हाम्रा धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
 
हरिबोधनी एकादशीको व्रत विधि :
 
–दशमीका दिन सात्विक भोजन गर्ने । सूर्यास्तपछि भोजन नगर्ने । भुईंमा सुत्ने ।
 
–एकादशीका दिन ब्रह्म मुहूर्तमा उठेर स्नान, जप, ध्यान आदि गरी शुद्ध र पवित्रभै दाहिने हातको अञ्जुलीमा जौ, तिल, फूल, जल लिई हे विष्णु भगवान ! मैले हरिबोधनी एकादशीको व्रत गर्दैछु । मलाई प्रभुबाट यो व्रत पूर्ण निष्ठाका साथ सम्पन्न गर्ने प्रेरणा मिलोस् भन्दै संकल्प गर्ने ।
 
–त्यसपछि पूजास्थलमा गई लक्ष्मी–नारायणको प्रतिमामा पहेँलो वस्त्रले अनावरण गर्ने । गणेश, इन्द्रदव, अरुणदेव, वरुणदेव, पवनदेव, कुबेर साथै अन्य सबै देवी–देवताहरुको स्थापना गर्ने अनि दियो, कलशको स्थापना गरेर त्यहाँ भएका सबै देवी–देवताहरुको जल, फूल, चन्दन, अक्षता, अर्घ, नैवेद्य, पञ्चामृत आदिले क्रमैसँग पूजन गरी फलफूल, प्रसाद आदि अर्पण गरी प्रणाम गर्ने । लक्ष्मी–नारायणको प्रतिमामा तुलसीपत्र पनि चढाउने ।
 
–मध्यान्हमा सूर्य भगवान्लाई अर्घ चढाएर प्रणाम गर्ने । त्यसपछि पितृहरुलाई तर्पण दिने ।
 
–दिनभरि निराहार उपासना गर्ने । यदि स्वास्थ्यका कारण निराहार बस्न नसक्ने अवस्था भएमा दूध, फलफूल खान सकिने । दिउँसो विष्णु भगवान्सम्बन्धीका भजन–कीर्तन र कथाहरु श्रवण गर्ने, ॐ नमो भगवते वाशुदेवाय मन्त्रको जप गर्ने, हरे राम हरे राम महामन्त्रको पनि जप गर्ने ।
 
–सूर्यास्तपछि बेलुका पुनः शुद्ध र पवित्र भएर पूजा मण्डपमा भएका सबै देवी–देवताहरुको पूजन गर्ने, धूप, दीप, आरती गरी उपस्थित सबैलाई टीका लगाइदिएर प्रसाद वितरण गर्ने । सकिन्छ भने रातभरि लक्ष्मी र विष्णुसम्बन्धीका भजन–कीर्तन गरेर जाग्राम बस्ने यदि सकिँदैन भने फलाहार गरी भुईंमा सुत्ने, विष्णु सहस्रनामको स्मरण गर्ने ।
 
–द्वादशीका दिन बिहान सबेरै उठेर नुहाइधुवाइ गरी चोखोनिष्ट भएर दाहिने हातको अञ्जुलीमा जल, फूल, अक्षता समातेर हे विष्णु भगवान् ! तपाईंको प्रेरणाले मैले हरिबोधनी एकादशीको ब्रत गरी त्यसको अहिले बिसर्जन (पारण) गर्दैछु । ब्रतका क्रममा यदि कुनै त्रुटि हुन गएको भए क्षमा पाऊँ, अब मलाई प्रभुबाट आरोग्य, ऐश्वर्यको कृपादृष्टि प्रदान होस् भन्दै अञ्जुलीमा भएको जल, फूल प्रभुमा अर्पण गर्ने अनि दुई हात जोडी प्रणाम गरेर व्रतको विसर्जन गर्ने । पण्डित, ब्राह्मणहरुलाई उचित दक्षिणा दिएर भोजन गराउने । यस दिन गरेको दानको पुण्य अक्षय हुने भएको हुनाले आफ्नो औकातअनुसार केही अन्न, द्रव्य, वस्त्रादि दान गर्ने । त्यसपछि छिमेकीहरुलाई भोजन गराएर अन्त्यमा मौन भई आफूले पनि भोजन गर्ने ।
 
–व्रतको विसर्जन समय द्वादशी तिथिको समयभित्र हुनुपर्छ भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ ।
 
हरिबोधनी एकादशीका दिन नेपाल, भारत र अन्य हिन्दु राज्यका विभिन्न धार्मिक पीठ र तीर्थस्थलहरुमा सन्त–महन्त र श्रद्धालु भक्तजनहरुको जमघट हुन्छ । विभिन्न जलाशयहरु र गण्डकीहरुमा स्नान गरेर पवित्र भई हरिकीर्तन गर्ने गरिन्छ । स्थानीय बाजा–गाजासहित वातावरण आकर्षक र रमाइलो पारिन्छ । बाटो–किनारमा बसेका वृद्ध–वृद्धा, दुःखी–गरिब, असहाय–अपाङ्गहरुलाई यस दिनमा सक्दो द्रव्यदान गर्ने चलन पनि छ । केही पौराणिक घटनाहरु फरक हुन गए तापनि वर्षभरिका एकादशीहरु सबै समान हुन्छन् र विष्णु भगवान्का लागि अतिप्रिय हुन्छन् ।
 
एकादशीका दिन मैले व्रत गर्छु, व्रत कथा सुन्छु भनेर सात्विक भोजन गरी कथामात्र सुने पनि जुनी–जुनीमा गरिएका सबै पापहरु नष्ट भएर जान्छन् भनेर पद्मपुराणमा बताइएको छ । मन, वचन र कर्मले कुनै पनि एकादशीको व्रत गर्नु यस जुनीमा सुख, ऐश्वर्यको भोग गरी मृत्युपश्चात् यमलोक कदापि जान पर्दैन, वैकुण्ठलोक प्राप्त हुन्छ भनेर हिन्दु समाजमा वृद्ध–वृद्धा जति सबैले एकादशीको व्रत अनिवार्यरुपले स्वतःस्फूर्त भएर गर्ने गर्दछन् । कार्तिक मासमा पर्ने यस पावन हरिबोधनी एकादशीको व्रत, उपासना गरी आफ्नो जीवन भगवत्–भक्तिमय बनाऔँ, सबै हिन्दुहरुप्रति यस प्रसङ्गमा आफ्नो तर्फबाट यही सदिच्छा प्रकट गर्न चाहन्छु । अस्तु !

चक्रपाणि शर्मा गौतम

चक्रपाणि शर्मा गौतम -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया