मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा एक घर एक बुटिक

अमेरिकामा एक घर एक बुटिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘बिशाल ल त्यहाँ गएर आई हालौ न त । भोलि टीकाको दिन छ पाइयो भने तिमी र मामाको लागि एकएक वटा कुर्था किनेर ल्याउँ । भोली टिकामा लगाउनु पर्छ’ दसैंको नवमीको दिन माइजुले भन्नुभयो । दशैंको टिका भोली पल्ट भएकाले र घरमा सबै कुरा तयार गर्नु पर्ने अवस्थाका बीच म र मेरो माइजु हाम्रो घर बाटो पारि एकजना दिदीको बुटिक पसलमा जाने निधो गरियो ।
 
‘हो हो यतै साईडमा रोक्दा हुन्छ होला र यहि हो ल’ एउटा घर अघिल्तिर पुगेपछि माइजुले भन्नुभयो । म अचम्मित भएँ । ‘माइजु अनि बुटिक पसल जाने भन्नुभएको होइन र ?’ मैले जिज्ञासा राखेँ ।
 
‘हो हो यही घरको गराजमा हो के पसल । यहिँ कपडाहरु बेच्छन्’ माइजुले भन्नु भयो । एकछिन ढोका अगाडीको पर्खाई पछि बुटिक घरको दिदीले ढोका खोल्नुभयो ।
 
जब हामी ढोका भित्र छिरियो मलाई एकछिन काठमाण्डौ बागबजारको बुटिक पसलमा छिरेको जस्तो अनुभूति भयो । दिदीको घरमा तीनवटा कोठाहरु मध्ये एउटा कोठामा कपडाहरु राख्ने गोदाम, गराजमा कपडाहरु देखाउने अनि बेच्ने काउन्टर र अर्को कोठामा कपडा सिलाई बुलाई तथा डिजाइन गर्ने ठाउँ रहेछ । त्यो देखे पछि मेरो दिमागले अमेरिकामा अझ भन्नु पर्दा नेपालीहरु धेरै बस्ने सहरहरुमा एक घर एक बुटिकको कल्पना गरि हाले ।
 
‘हेरन यस्तो बिजी छौ कि हामी । मेरो आधा जति आउनु पर्ने समानहरु दशैं पछि मात्र आउने भयो भन्या । यति धेरै नयाँनयाँ ग्राहकहरु आएका छन् कि कुरै छोडौ । खोइ कताकता बाट थाहा पाउने हुन्’ बुटीककी धनीले सुनाउँदै हुनुहुन्थ्यो ।
 
माइजु र म एकदमै अचम्म पर्दै त्यो बुटिक घरमा चाग लगाएर राखेका कपडाहरु, डिजाइन गर्ने चिजहरु हेर्न थाल्यौ I कपडा किन्न गएका म र माइजु दुबै अचम्म पर्दै एकछिन त हेरेको हेर्यै भयौँ । दिदी एकोहोरो रूपमा हामीलाइ के के सुनाउँदै हुनुहुन्थ्यो । हाम्रो ध्यान भने उनको कुरामा भन्दा पनि कपडामा ज्यादा केन्द्रित थियो ।
 
‘हेर न भन्या, सात वर्ष भैसक्यो यो बुटीक खोलेको । अहिले त नेपालीहरू पनि के सारो भएका, घरैपिच्छे बुटीक खोलेका छन् । जान्नु बुझ्नु केही छैन’ पछिल्ला समयमा नेपालीहरूको बढ्दो गराज बुटीक पसल प्रति गुनासो गर्दै थिइन् दिदी । उनको चिन्ता प्रतिस्पर्धी थपिएको र अरूको पसलमा नेपालीहरू धेरै जान थालेकोमा चिन्ता रहेको बुझ्न हामीलाइ गाह्रो भएन ।
 
पहिले अलि अलि मात्र फाटफुट यस्ता बुटीक रहेकोमा अहिले घरै पिच्छे जस्तो पसल खुलेकोमा उनको गुनासो थियो ।
 
अमेरिकामा हामी थुप्रै मानिसहरुले यो कुरा भोग्दै आएको हुनु पर्छ । बढ्दै गएको शहरीया संस्कार र यताको रितितिथिले एउटा सामान्य परिवारको सदस्यहरु समेत अनेकौ सामाजिक संजालहरु जस्तै टिकटक, इन्स्टाग्राम, फेसबुकको मध्यमबाट यस्तो बुटिक बाट समानहरु किन्ने गरेको सुनिन्छ । यस्ता घरेलु बुटिकहरुले सामाजिक संजालको मध्यामबाट आफ्नो सामानको मार्केटिंग गरिरहेका हुन्छन । कति सम्म भने नेपाल जाँदा फोन चाहियो भने समेत टिकटकको मध्यमबाट प्रत्येक सहरहरुमा कुरियर गरेर पठाइदिने शर्तमा फोनहरु बेचिरहेको देखिन्छ । 
 
‘ल उता गराजमा जाउँ ! हिजो मात्रै मैले ५० वटा भन्दा बढी केटाहरु को कुर्था बेचे होला । यो फेस्टिवलको सिजन त सुपर बिजी होइन्छ भन्या । अब बाँकी एउटा छ । तिम्रो बुढाको लागि चाहिँ पछि लैजाउ । अहिले भान्जाको लागि त्यही एउटा साईज बाँकी छ । त्यो हुन्छ त ? यी यहि हो !’ दिदीले भनिन् ।
 
म उत्साहित हुँदै फिटिंग रूम कता हो भनेर सोधेँ । दिदीले सँगै रहेको रेष्टरूम तर्फ संकेत गर्दै भनिन्–‘हाम्रो फिटिंग रूम त्यही हो ।’
 
म रेष्टरूम पसेर त्यो कुर्था लगाएर चेक गरे । बाँकी रहेको एउटा कुर्था मलाई ठिक्क भयो । कुर्था शरिरमा त फिट भयो । तर कताकता निकै पातलो जस्तो लाग्यो । मेरो जिज्ञासालाई शान्त पार्ने प्रयास गर्दै दिदीले भनिन्–‘खासमा केटीहरुको कुर्था प्राय यस्तै पातलो हुन्छ । शीतल अनि कम्फर्टेबल हुनको लागि हो ।’
 
हामीले मूल्य सोध्यै । २५ डलर रहेछ । ‘क्यासै (नगद) नै देउ है’ दिदीले भनिन् । जम्मा २५ डलर मात्र । निकै सस्तो रहेछ भन्दै हामी माइजु र भान्जा कुरा गर्दै त्यहाँबाट घर फर्किइयो । सस्तो भएको हुँदा नै तुरून्तै सकिने रहेछ भनेर अनुमान पनि गरियो ।
 
पहिले पहिले नेपालबाट फर्कदा कोही आफन्त नातागोतासँग कपडाहरु मगाउने गरिन्थ्यो ।  तर आजकाल प्रत्येक जस्तो घरघरमा खोलिएको बुटिक पसलले गर्दा नेपालमै पाउने सामानहरु सस्तो र सजिलो तथा सरल तरिकाले पाइन्छ । एक हिसाबले यो तरिका ठिक होला तर समाजमा यस्तै व्यवसाय संचालन गरेका  व्यबसायीहरूलाई भने यस्ता घरेलु बुटिक पसलहरुले असर गर्न सक्छ । हामीले खोजेको समान त मिल्न सक्ला तर गुणस्तर भने हुन नसक्ला कि ? टिकटक बुटिक पसलहरु तपाई हाम्रै घर छिमेकहरुमा प्रसस्त भेट्न सकिन्छ । व्यवसायीक रूपमा भन्दा पनि साइड जबका रूपमा घरका एउटा कोठा,गराजहरूमा तयारी कपडा राखेर पसल जसरी चलिरहेका यस्ता व्यवसाय भोलीका दिनमा कुन रूपमा अघि बढ्लान् ? फर्किदै गर्दा मेरो दिमागले यी प्रश्नका जवाफ खोजिरहेको थियो ।
 
भोलीपल्ट दशैंको टिका लगाइयो । कहिल्यै कुर्था नलगाउने बानीले गर्दा होला मलाई एकदम असहज भैरहेको थियो I कुर्थाको दाहिने बाहुला तिर नजर पुग्यो । धागो उध्रिएर च्यातिसकेछ ।
 
‘धन्न टीका लगाईसके पछि च्यातिएछ । नत्र त फेरी अर्को किन्न जानु पर्ने हुनसक्थ्यो’ माइजुले हाँस्दै मलाई जिस्क्याउनुभयो । २५ डलर तिरेर  किनेको कुर्था २५ घण्टा पनि नबित्दै च्यातियो ।