मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डब्ल्युएचओद्वारा कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउन नयाँ कार्यदल गठन

डब्ल्युएचओद्वारा कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउन नयाँ कार्यदल गठन


काठमाडौँ । चीनको वुहान सहरमा डेढ वर्षभन्दा बढी समयअघि पत्ता लागेको कोरोनाभाइरस पहिलोपटक कहाँ उत्पत्ति भयो भन्ने कुरा अझै स्पष्ट हुनसकेको छैन ।
 
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउन एउटा नयाँ कार्यदल बनाएको छ । डब्ल्युएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ । 
 
डब्ल्युएचओले सो कार्यदलको काम कोरोनाभाइरस उत्पत्तिको स्थान पत्ता लगाउने अन्तिम मौका हुन सक्ने जनाएको बिबिसीले उल्लेख गरेको छ ।
 
आपत्कालीन मामिलासम्बन्धी डब्ल्यूएचओका निर्देशक माइकल रायनले नयाँ अनुसन्धान टोलीको काम कोरोनाभाइरसको उत्पत्ति स्थानबारे बुझ्ने अन्तिम मौका हुन सक्ने बताएका हुन् ।
 
डब्ल्यूएचओको टोलीले कोरोनाभाइरस वुहानमा जनावरबाट मानवमा सरेको अथवा दुर्घटनावश प्रयोगशालाबाट ‘लिक’ भयो ९चुहियो० भन्नेबारे अनुसन्धान गर्नेछ । चीनले भने प्रयोगशालाको कुरालाई कडा शब्दमा खण्डन गर्दै आएको छ ।
 
गएको फेब्रुअरीमा पनि कोभिडको उत्पत्ति पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको एउटा अनुसन्धान टोली चीन गएको थियो र कोरोनाभाइरस सम्भवतः चमेरोबाट मानिसमा सरेको निष्कर्ष निकालेको थियो । तर, त्यसका लागि थप काम गर्नुपर्ने औँल्याएको थियो ।
 
पछि डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस एड्हानोम गहब्रयससले तथ्यांकको अभाव र चीन पारदर्शी नहुँदा अनुसन्धान प्रभावित भएको बताएका थिए । प्रस्तावित नयाँ अध्ययन टोलीमा यसअघि चीन गएको टोलीमा संलग्न ६ जना विज्ञ पनि समावेश छन् ।
 
यसका साथै टोलीले अतिजोखिमयुक्त अरू ‘प्याथोजिन्स’को उत्पत्तिको बारेमा पनि अध्ययन गर्नेछ । भविष्यमा महामारी फैलिनबाट रोक्नका लागि नयाँ प्याथोजिन्सहरू कहाँबाट आउँछन् भन्ने कुरा थाहा पाउनु महत्त्वपूर्ण हुने महानिर्देशक टेड्रोसको भनाइ छ ।
 
साइन्स जर्नलमा एउटा संयुक्त सम्पादकीय लेख्दै महानिर्देशक टेड्रोस र अरू अधिकारीले कोरोनाभाइरसबारे प्रयोगशाला दुर्घटनाको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।
 
तर, जेनेभास्थित राष्ट्रसंघका लागि चिनियाँ राजदूत चेन सुले अनुसन्धान टोलीको कामलाई राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएका छन् । अरू ठाउँमा पनि टोलीहरू पठाउनुपर्ने बेला भएको उनको भनाइ छ । एजेन्सी