प्रवास

एनआरएनएको महाधिवेशन स्थगित

प्रकाशित |
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । 
 
एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो । 
 
परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार कानूनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ । 
 
एनआरएनएका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको बैठकमा संस्थाको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको जनाइएको छ ।
 
अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरी थप निर्णय गरिने जनाउँदै एनआरएनएले महाधिवेशनका लागि काठमाडौँ आइसकेका र आउन तयार रहेका प्रतिनिधिमा पुगेको असुविधाप्रति क्षमा मागेको छ ।
 
एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्य, रविना थापा र डा बद्री केसीले प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् ।
 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया