मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तराईको मरुभूमिकरण रोक्न चुरेको संरक्षण अपरिहार्य : वनमन्त्री यादव

तराईको मरुभूमिकरण रोक्न चुरेको संरक्षण अपरिहार्य : वनमन्त्री यादव


काठमाडौँ । वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले तराईको मरुभूमिकरण रोक्न चुरे क्षेत्रको संरक्षण अपरिहार्य भएको बताएका छन् । 
 
मन्त्रालयको शुक्रबार जिम्मेवारी सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले तराई मधेश अन्नको भण्डार भएकाले यसको दिगो संरक्षणका लागि चुरेको संरक्षण आवश्यक रहेकामा जोड दिए ।
 
वन मन्त्रालय जनताको जीवनसँग जोडिएको महत्वपूर्ण मन्त्रालय भएको बताउँदै मन्त्री यादवले सरकारको साझा न्यूनतम कार्यक्रमअनुसार मन्त्रालयका नीति तथा योजना अघि बढाउने धारणा व्यक्त गरे । सोही कार्यक्रमअनुसार चुरे क्षेत्र उत्खनन गरी ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने कार्य रोक्ने उनको भनाइ थियो ।
 
जैविक विविधताविरुद्ध भइरहेका अनावश्यक गतिविधि नियन्त्रण गर्न सरोकारवाला सबै निकाय सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिँदै उनले जलवायुका क्षेत्रमा भइरहेका परिवर्तनले हुने क्षति रोक्न नेपालले अन्तर्राष्ट्रियस्तरमा सशक्तरूपमा कुरा उठाउनुपर्ने बताए ।  
 
उनले वन तथा वतावरणका क्षेत्रमा नकारात्मक प्रभाव पार्ने गतिविधि नियन्त्रण गर्न मन्त्रालयले महत्त्वपूर्ण भूमिका खेल्ने र यसका लागि कर्मचारीलाई थप प्रयत्न गर्न आग्रह गरे । साथै उनले मन्त्रालयका चुनौती र समस्याको समाधानका लागि आफूले आवश्यक नीति निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
 
कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले मन्त्रीको कार्यकाल सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै विज्ञ कर्मचारी परिचालनका लागि नेतृत्वको प्रभावकारी भूमिकाको अपेक्षासमेत गरे ।  
 
सो अवसरमा मन्त्रालयका सहसचिव शिव वाग्लेले मन्त्रालयका गतिविधि, साङ्गठनिक संरचना, नीति कानूनलगायत विषयमा जानकारी गराएका थिए । आजै मन्त्रीको सपथ लिएका मन्त्री यादवले नेपालको वन तथा वातावरण क्षेत्र सुधारको रणनीतिक कार्ययोजनामा हस्ताक्षर गरी पहिलो निर्णय गरेका थिए । रासस