मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

नेपाल रेडक्रसद्वारा एक लाख मात्रा भेरोसिल खोप प्रदान

नेपाल रेडक्रसद्वारा एक लाख मात्रा भेरोसिल खोप प्रदान


काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई  निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा  सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख मात्रा भेरोसिल खोप प्रदान गरेको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारीले मन्त्रालयमा आयोजित कार्यक्रममा सो खोप हस्तान्तरण गरेका हुन् । सो अवसरमा सोसाइटीका महामन्त्री पिताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले सोसाइटीका मानवीय सेवाको गतिविधिका बारेमा राज्यमन्त्री श्रेष्ठलाई सङ्क्षिप्त जानकारी दिएका थिए । 
 
राज्यमन्त्री श्रेष्ठले महामारी नियन्त्रणमा नेपाल रेडक्रसले सरकारलाई पु¥याएको निरन्तर सहयोगप्रति धन्यवाद दिँदै अगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको लक्ष्यलाई सहयोग गर्न आग्रह गरे ।    
 
नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) मार्फत सोसाइटीले पछिल्लो समय खोपका लागि  ‘लबिङ’ (पैरबी) लाई तीव्र बनाएको थियो । 
 
अहिले पनि आइएफआरसीले  ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशलाई खोप सहयोग गर्न खोप उत्पादक तथा धनी देशलाई निरन्तर पैरबी गर्दै आएको छ  । अमेरिकाले हालै कोभ्याक्सअन्तर्गत जनसन खोप नेपाललाई प्रदान गरेको थियो भने जापानले १६ लाख मात्रा एष्ट्राजेनेका प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 
 
महामन्त्री अर्यालले खोप उत्पादक देशले मानवीय सहयोगअन्तर्गत सोसाइटीलाई खोप प्रदान गर्न सुरुआत गरेको र यस क्रममा  चिनियाँ रेडक्रसले एक लाख मात्रा भेरोसिल  प्रदान गरेको जानकारी दिए । उनले भने,  “खोप उत्पादक देशका देशीय रेडक्रसमार्फत हाम्रो पैरबी निरन्तर जारी नै छ । ती देशका सोसाइटीबाट थप सकारात्मक सन्देश आएको छ ।”
 
मन्त्रालयका अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्ण मात्राको कोरोनाको खोप लगाइसकिएको छ । हालसम्म ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् भने रुकुम पूर्व, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 
 
यसैगरी खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण पनि घट्दै गइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए । 
 
सरकारले अगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने जनाएको छ । यसका लागि दुई मात्रा खोप लगाउँदा पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक पर्छ ।  
 
यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार  विश्वका सबैभन्दा गरिब ५० देशले दुई  प्रतिशत मात्र खोप पाएका छन् । यी देशमा विश्वका १७ प्रतिशत जनसङ्ख्या बसोवास गर्दछन् । रोग प्रतिरोधात्मक क्षमताका लागि देशभित्र र अन्तर्राष्ट्रियस्तरमा ६० देखि ७० प्रतिशत मानिसलाई खोप लगाइनुपर्छ । रासस