मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

घुम्ती शिविरबाट दुई सय सेवाग्राहीहरु लाभान्वित

घुम्ती शिविरबाट दुई सय सेवाग्राहीहरु लाभान्वित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोस्टन (अमेरिका)- अमेरिकाको म्यासाच्यूसेट्स राज्यको बोस्टनमा नेपाली राजदूतावासले  नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको ‘घुम्ती कन्सुलर शिविर’बाट दुई सय बढी सेवाग्राहीहरु लाभान्वित भएका छन्।
 
वासिङ्टन डिसी स्थित नेपाली राजदूतावास, स्थानीय नेपाली समुदायीक संस्थाहरु एनआरएनए म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए न्यु ह्याप्सार च्याप्टरको संयुक्त आयोजनामा सेवाग्राहीहरुलाई कन्सुलर सेवाहरु प्रदान गर्ने उद्देश्यले सेप्टेम्बर २५ र २६ मा शिवीर आयोजना गरिएको हो । 
 
दुई दिने घुम्ती कन्सुलर शिविरबाट नेपाली समुदायका सेवाग्राहीहरु लाभान्वित भएका हुन्।अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिनु भएको छ। घुम्ती कन्सुलर शिविर सेवा’ निकै प्रभावकारी भएको उहाँको ठम्याइ छ। 
 
‘घुम्ती कन्सुलर शिविर निकै प्रभावकारी भएको छ। यस्ता सेवाहरुको संख्या बढाएर कार्यक्रमलाई निरन्तरता दिनु पर्ने महसुस भएको छ ।’ 
समुदायका लागि घुम्ती शिविर कार्यक्रम निकै प्रभाकारी देखिएको प्रतिक्रया दिदै डा.खतिवडाले वर्षमा सके दुई पटक, नसके कम्तिमा एक पटक भएपनि, यस्तो कार्यक्रम प्राथमिकताका साथ आयोजना गर्न राजदूतावासले हरसम्मभव प्रयास गर्ने बिचार व्यक्त गर्नु भयो। कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने स्थानीय आयोजक संस्थाहरुप्रति गर्व गर्दै खतिवडाले आभार प्रकट गर्नु भयो। 
 
घुम्ती शिविर मार्फत म्यासाच्यूसेट्स राज्यसहित न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने सेवाग्राहीहरु लाभान्वित भएको आयोजकले जनाएको छ। 
 
शिविर मार्फत सेवाग्राहीहरुले राहदानी नविकरण य, गैर आवासीय नेपाली परिचयपत्र (NRN ID), अधिकृत वारेसनामा (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document) र पर्यटक भिषा(Tourist Visa) सेवाहरु प्रदान गरिएको नियोग उपप्रमुख कुमारराज खरेलले जानकारी दिनु भयो।
कोरोना कहरको अवस्था सुधार भए पश्चात् विभिन्न राज्यहरुमा सात वटा घुम्ती शिविर सम्पन्न गरिसकिएको र  बोष्टनमा सम्पन्न भएको आठौं घुम्ती शिविर पनि सफलतापूर्वक सम्पन्न भएको भन्दै उहाँले खुशी व्यक्त गर्नु भयो। स्थानीय आयोजक संस्थाहरुको सक्रिय भूमिकाका कारण सोचे भन्दा बढी सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिएको भन्दै खरेलले सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त भयो ।खरेलले भन्नु भयो, ‘सोचे भन्दा बढी सेवाग्राहीहरुलाई सक्दो गुणस्तरी सेवाहरु प्रदान गर्न सकेकोमा हामी सारै खुशी छौं। महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने स्थानीय आयोजक संस्थाहरुलाई धन्यवाद छ ।’ 
 
घुम्ती शिविरमा सेवा लिन आउने सेवाग्राहीहरुको घुइचो हेर्दा , कार्यक्रम प्रभावकारी रहेको र दुई दिने शिविर पर्याप्त नभएको पुष्टि गरेको थियो। पासपोर्ट नविकरणका लागि छोरीसंग शिविरमा आउनु भएकी ५५ वर्षिया लक्ष्मी भट्टराईले सहज, छिटो र छरितो सेवा प्राप्त गर्न पाएकोमा निकै खुशी व्यक्त गर्नु भयो। 
 
भट्टराईकी ३५ वर्षिया छोरी नितु गौतमले पनि केही प्राविधिक समस्याहरु बाहेक समग्रमा सेवा प्रसंशनीय रहेको प्रतिक्रिया दिनु भयो। अधिकृत वारेसनामा बनाउन आउनु भएका भाष्कर ज्ञवालीले पनि शिविरमा प्रदान गरिएका सेवाहरु गुणस्तरीय नै रहेको जिकिर थियो। आफ्नी छोरीको पासपोर्ट बनाउन आउनु भएकी लक्ष्मी लम्सालको प्रतिक्रिया पनि उस्तै थियो ।अक्टोबरको पहिलो साता सपरिवार नेपाल जाने तयारी गर्दै गर्नु भएका हरि पौडेलले पनि सेवा गुणस्तरीय नै प्राप्त गरेको भन्दै स्थानीय आयोजक संस्थाहरु र राजदूतावासको खुलेरै प्रशंसा गर्नु भयो । 
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकिएकोमा आयोजक संस्था एनआरएनए म्यासाच्यूसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले खुशी व्यक्त गर्नु भएको छ। प्राथमिकता दिएर कार्यक्रममा सक्रिय सहभागी भइदिनु हुने राजदूत युवराज खतिवडा र स्थानीय स्तरमै आएर नेपाली समुदायलाई आफ्ना अमुल्य सेवाहरु सहज रुपमा प्रदान गरिदिने राजदूतावासका कर्मचारीहरुप्रति तामाङले आभार प्रकट गर्नु भएको छ। 
 
यसैबिच,  आयोजक संस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीले पनि कार्यक्रम सोचे भन्दा बढी प्रभावकारी र उपलब्धिमुलक रहेको प्रतिक्रिया दिनु भएको छ। 
 
‘कार्यक्रम सोचे भन्दा बढी सफल भएको मेरो बुझाइ छ।हरसम्भव सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिने हाम्रो प्रयास रह्यो।’कार्कीले भन्नु भयो,’यो कार्यक्रम हाम्रा लागी पाठ सिकाइको अवसर पनि रह्यो। भावी दिनमा यस कार्यक्रममा भोगेका समस्याहरुलाई न्यूनिकरण गरेर थप गुणस्तरीय सेवा प्रदान गर्ने छौं’।सेवाग्राहीहरुको प्रतिक्रिया र कार्यक्रमको समग्र उपलव्धिको मुल्याङ्कन गर्दा, कार्यक्रम निकै प्रभावकारी र उपलव्धिमूलक भएको भन्दै कार्कीले कार्यक्रमलाई निरन्तरता दिन नेपाली समुदायका तर्फबाट राजदूतावासलाई अनुरोध समेत गर्नु भएको छ। कार्यक्रममा सहभागीहरुले घुम्ती शिविरको निरन्तरताका लागि राजदूतावाससंग जोडदार माग समेत गरेका छन् ।
 
झण्डै २५ हजार नेपाली समुदायको बसोवास रहेको अनुमान गरिएको यस क्षेत्रमा, प्रभावकारी गुणस्तरीय कन्सुलर सेवाहरु प्रदान गर्न राजदूतावासले यस किसिमको घुम्ती सेवाहरुलाई प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने स्थानीय माग छ ।