मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सार्वजनिक ओहोदामा बस्नेले आलोचक पाल्नुपर्छ : पूर्वसेनापति कटवाल

सार्वजनिक ओहोदामा बस्नेले आलोचक पाल्नुपर्छ : पूर्वसेनापति कटवाल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले सार्वजनिक ओहोदामा बस्ने व्यक्तिले आफ्नो आलोचना गर्ने व्यक्ति पालेमा मात्र सफल हुन मद्दत मिल्ने अनुभव सुनाएका छन् । 
 
शनिबार टेक्ससको ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा कटवालले बाहिरको प्रतिक्रिया बुझ्न आफूबाट गरेका सही एवं गलत कार्यहरुका बारेमा यथार्थ जानकारी लिनका लागि आलोचकहरु तयार पारेर उनीहरुको कुरा आफूले सुनेका अनुभव प्रस्तुत गरे । 
 
‘पदमा हुँदा चाकडी गर्नका लागि आफ्ना बारेमा राम्रा कुरामात्र सुनाउने जमातहरु हुन्छन् । तर तिनका कुराभन्दा आलोचकका कुरा सुनेमा आफूबाट कामको दौरानमा भए गरेका गल्ती कमजोरी सुधार्न सहयोग पुग्छ’, कटवालले भने ।
 
प्रधान सेनापति पदमा वहाल हुँदा बाहिरका आलोचनाहरु, प्रतिक्रियाहरु बुझ्नका लागि एक जना वरिष्ठ सैनिक अधिकारीलाई जिम्मा नै दिएको प्रसङ्गसमेत उनले जोडे । राजा अकबरदेखि लिएर महेन्द्रसम्मले आलोचकहरु तयार पारेर सफल भएको सन्दर्भ प्रस्तुत गर्दै खराब नियत भएको आलोचक होइन, असल नियत भएको र नडराई यथार्थ कुरा भन्न सक्ने आलोचकहरु तयार पार्नुपर्ने बताए । 
 
पृथ्वीनारायण शाहका कारण अहिलेको नेपाल देश भन्न पाइएको उल्लेख गर्दै कटवालले इतिहास मेट्न नहुने धारणा राखे । संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटेका छैनन् । भारतदेखि बेलायत, अमेरिका कुनै पनि देशले आफ्नो इतिहास नमेटेको र नेपालले पनि पृथ्वीनारायण शाहको इतिहास मेट्न नहुने उल्लेख गरे । 
 
आफ्नो सक्रियतालाई अनुमान गरेर विभिन्न व्यक्तिहरुले राजनीतिक दल खोल्न लागेको अनुमान गरे पनि आफू त्यसतर्फ नलागेको उनले बताए । ‘मैले बोल्न पाएकै छु, हिँडडुल गर्न पाएकै छु । किन दल खोल्नुपर्‍यो ?’, उनले प्रश्न गरे ।
 
अमेरिका भ्रमणमा रहेका कटवाल शुक्रबार र शनिबार ड्यालसका विभिन्न संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा व्यस्त थिए । पदावधिको केही महिनामात्र बाँकी हुँदा २०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हठात निर्णय गरेर प्रधान सेनापतिबाट हटाउने निर्णय गरेपछि कटवाल त्यसयता निकै चर्चित छन् । कटवाललाई हटाउने निर्णयका कारण तत्कालीन माओवादी नेतृत्वको सरकार गिरेको थियो । 
 
२०६६ सालमा अवकाश पाएका कटवाल त्यसयता सामाजिक क्रियाकलापमा सक्रिय छन् । कार्यक्रम नेजा अध्यक्ष विकासराज न्यौपानेको सभापतित्व र महासचिव सुरज भण्डारीको सञ्चालनमा भएको थियो ।