विचार / ब्लग

पितृ श्राद्ध गर्ने परम्परा र यसको सांस्कृतिक महत्त्व

प्रकाशित |
विष्णु भगवान्ले मत्स्य अवतार र कुर्म अवतारपछि पृथ्वीको रक्षार्थ तेस्रो अवतारको रुपमा बराह (टाउको सुङ्गुरको र अन्य बाँकी सबै शरीरको भाग मानिसको) अवतार लिनुपरेको थियो । बराहरूपी भगवान् विष्णुले महाबलशाली दैंत्य हिरणाक्ष्यको बध गरी पृथ्वीको रक्षा गरेका थिए । यसरी पृथ्वीलाई हिरणाक्ष्यबाट खोसेर ल्याइसकेपछि उनको बराहरूपी शरीरमा तिल, कुश, जौ र दूध उत्पत्ति हुन गएछ । त्यसपछि उनले दूध र जौको तीनओटा पिण्ड बनाएछन् । तिल र कुश भुईंमा ओछ्याएर ती पिण्डमा तिल छर्केर दक्षिणतिर फर्की तीनओटै पिण्डहरुमा यस्तो आह्वान् गर्दै दान गरेछन्– ‘हे पिता ! हे पितामह !! हे प्रपितामह !!! यी तीन पिण्डहरु मैले तपाईंहरुलाई प्रत्येकले एक–एक पाउने गरी अर्पण गरेको छु । कृपया स्वीकार गरी तृप्त हुनुहोस् ।’ 
 
बराह अवताररूपी विष्णु भगवान्ले तीनओटा पिण्डले आफ्ना तीन तहका पितृहरुलाई यसरी तृप्त पारेका थिए । ऋषिहरुतिर नजर लगाउँदै बराह अवताररूपी विष्णु भगवानले भने– ‘हे मुनिबरहरु ! नाम जानेका पितृहरुको नामोच्चारण गर्ने र नाम नजानेकाहरुका लागि अमुक नाम भनेर पिण्डदान गरेपछि तपाईंहरु सबैका पितृहरुले पिण्ड पाएर तृप्त हुनेछन् । पितृहरु चाहे स्वर्ग या नर्क जहाँ–जहाँ रहे तापनि यस रितले दिएको पिण्ड उनीहरुले अवश्यमेव पाउनेछन् । बराह भगवानबाट यस्तो सल्लाह र निर्देशन पाएपछि ऋषि–मुनिहरुले त्यसै  समयदेखि यस भूलोकमा पितृहरुलाई पिण्डदान गर्ने चलन चलाए । 
 
त्यसपछि पञ्चमहाभूत (जल, स्थल, वायु, आकाश, तेज) को यस धरतीमा चराचर सृष्टि हुन थाल्यो । मानिसको देहबाट एकमात्र प्राण जाँदैमा अरु सबै नष्ट नहुने तथ्यको बोध हुँदै गयो । यी पञ्चभूतको साझा देहमा रहेको आत्मा त्यो हो जो सारको रुपमा रहेको हुन्छ, जुन अकाट्य छ, अजय छ, अमर छ । यो ज्यादै सूक्ष्म हुन्छ जसलाई भौतिक आँखाले देख्न सकिँदैन, तर यसको आकार भने पूर्व शरीरका जस्तै हुन्छ । फूलको बास्नालाई जसरी हावाले एक ठाउँबाट अर्को ठाउँमा लैजान्छ, सूर्यको किरण जसरी आफ्नो तेजका साथ टाढा–टाढासम्म जान्छ, त्यसैगरी मानव शरीरबाट प्राणवायुले जब छोड्छ, तब आत्माले पनि त्यतिबेलै मानव शरीरलाई छाडेर नयाँ शरीर प्राप्तिका निम्ति विचरण गर्न थाल्छ । यस आत्माको कुनै निश्चित दिशा हुँदैन, जतातिर पनि जान सक्छ । मानिसको मृत्यु भएको दिनदेखि १३ दिनसम्म, मासिका श्राद्धसम्म, ६ महिना र एक वर्ष भएपछि गरिने पुण्यवत् पितृकार्य, यी सबै पटक दिएको पिण्डदानका प्रभावले मानव देहको प्रेतात्माले पितृको आत्मा प्राप्त गरी उक्त पितृको आत्म ईश्वरमा गएर लीन हुन्छ भनिएको छ । यसरी हामीले आफ्ना पितृलाई दिएको पिण्डदान साक्षात् ईश्वरलाई नै दिएको ठहर्न जान्छ । जसरी सूर्यको तेजले सागरको जलमाथि  खैँचिन्छ र पछि त्यही जल वर्षाको रूपमा पृथ्वीमा झर्छ । त्यसैगरी पितृहरुको आत्माले उनीहरुको सन्ततिले दिएको पिण्डदानको बास्ना, भाव आफूतिर खैँचेर लिन्छन् । यसकारण पितृहरुलाई पिण्डदान गर्न अतिजरूरी देखिएको छ । हिन्दु धर्म, संस्कृति र परम्पराअनुसार भनिएको छ– छोरो त्यही हो जसले आफ्ना पितृका खातिर उनीहरुलाई पिण्डदान गरेर तृप्त पार्छ र आफू पनि निर्धक्कसँग आनन्दपूर्वक रहन सक्छ ।
 
बराह अवताररूपी विष्णु भगवानले पुनः ऋषि–मुनिहरुतिर फर्केर हेर्दै भने–हे मुनिबरहरु ! तपाईंहरु सबैले पनि अब उप्रान्त आ–आफ्ना पितृहरुलाई स्वच्छ भाव र असीम श्रद्धापूर्वक नियमितरूपले पिण्डदान दिने गर्नुहोला । त्यहाँ भएका ऋषिहरु सबैलाई यही उपदेश दिँदै बराहरूपी विष्णु भगवानको स्वरुप केहीबेर प्राणायाम गरी विष्णु भगवान्को दिव्य शरीरसँग गएर लीन भएको थियो भन्ने कुरा हिन्दुहरुको महान् पाचीन ग्रन्थ महाभारतअन्तर्गतको शान्तिपर्वमा उल्लेखित भएको छ ।
 
हिन्दु धर्म, संस्कृति र परम्परा पितृसत्तात्मक छ । हिन्दु समाजमा परापूर्वकालदेखि नै छोरीलाई त्रिगुणधारी (छोरी, बुहारी र आमा) स्त्रीको रुपमा लिइन्छ । छोरा र छोरीका कार्य विभाजन पहिलेदेखि नै निश्चित गरिएको छ । छोरी जन्मेपछि माइत छउञ्जेल कन्या, विवाह भएपछि बुहारी र बच्चा–बच्ची जन्माएपछि आमा बन्ने अवस्था हुन्छ । विवाहपश्चात् छोरी अनिवार्यरूपले पराइघर बस्नुपर्ने बाध्यात्मक परम्परा छ । विवाह भएपछि छोरी जातिको जन्मघरतिरको थर, गोत्र परिवर्तन भएर कर्मघरतिरको थर, गोत्र कायम हुनजान्छ । वंश परम्परा पनि कर्मघरतिरबाटै जन्म–जन्मान्तरसम्म कायम हुँदै जान्छ । सायद यसो भएर पनि होला, छोरा र छोरीबाट सम्पादन हुने कार्यहरु फरक–फरक गरेर तोकिएका छन् ।
 
छोराको लागि उपनयन (व्रतबन्ध) कर्म विधिपूर्वक गरेर उसका गलामा जनै (यज्ञोपवित) धारण गराइन्छ । त्यसपछि मात्र छोरो कर्मकाण्डअन्तर्गतका सबै कार्यहरु (विवाह, व्रतबन्ध, यज्ञादि, दान–पुण्य, मृत्युपछि गरिने किरिया, पिण्डदान आदि) सम्पादन गर्नका निम्ति योग्य हुनजान्छ । कर्मकाण्डीय हिसाबले छोरो अग्रपंक्तिमा भएको देखिन्छ, तर मान्यता क्रमले हेर्ने हो यदि भने छोरी जातिलाई साक्षात् लक्ष्मीका प्रारुप मानिन्छ । छोरी नभएको घर बास्नाबिनाको  फूल, तेजबिनाको सूर्यको किरण, फलबिनाको वृक्ष, छायाँबिनाको दर्पण, पानीबिनाको खोला समान हुन्छ । छोरीलाई जननी, जन्मभूमि, गौमाता, दीपदायिनी भनेर पनि सम्मान गरिन्छ । हिन्दु शास्त्रमा भनिएको छ– जहाँ नारीजातिको सम्मान हुन्छ त्यहाँ देवताहरु पनि रमाउँछन् । त्यसैले  सन्तानका रूपमा हरेक हिन्दुहरुको घरमा छोरा र छोरी दुवै हुनु नितान्त आवश्यक छ ।
 
आजकल हिन्दु समाजमा कतिपय ठाउँमा माता–पिताको मृत्यु हुन गयो भने उनीहरुको काज–किरिया आदि कर्म छोरी जातिले गर्ने गरेको पनि पाइएको छ । मृत्यु भएपछि हरेक माता–पिताका नाममा काज–किरिया, पिण्डदान जस्ता महत्त्वपूर्ण कर्महरु सम्पादन गरिनु स्वागतयोग्य काम हो । तर, छोरी जातिबाट यस्ता कर्महरु सम्पादित हुँदा शास्त्रोत्तर कर्मकाण्ड जति सबै पूर्ण होलान ? हिन्दु धर्म, संस्कृति, रीति–रिवाज र परम्पराले स्वीकार गर्ला ? जीवनभर यस्ता कर्महरुले निरन्तरता पाउन सक्लान् ? गम्भीररूपले सोच्नुपर्ने विषय यही हो । जे होस् मातृदेवो भवः, पितृदेवो भवः भन्ने हाम्रो हिन्दु परम्परा भएअनुसार प्राचीन समयदेखि गर्दै आएका एकोदिष्ट श्राद्ध (मरेको दिनको तिथिमा दिइने पिण्डदान) र सोह्रश्राद्ध (आश्विन कृष्ण पितृपक्षमा दिइने पिण्डदान) मा गरी मुख्यतया वर्षको दुई पटक श्राद्ध गर्ने हिन्दु परम्परा छ । हुन त विभिन्न तीर्थस्थलहरुमा गएर पितृहरुका नाममा पिण्डदान दिने पनि गरिन्छ, यसरी दिइने पिण्डदान गणनामा ल्याइने गरिँदैन । सोह्रश्राद्ध जस्तो वर्षमा एक पटक आउने यस पावन पितृपक्षमा हामी प्रत्येकले आ–आफ्ना पितृहरुलाई श्रद्धापूर्वक पिण्डदान दिइ उनीहरुलाई तृप्त पारौँ । आफ्नो धर्म–संस्कृतिको सम्मान गर्दै परम्परालाई निरन्तरता दिन सकौँ । आ–आफ्ना पितृहरुबाट मनग्य आशीर्वाद प्राप्त गरी जीवन सुखमय बनाऔँ । सबैमा मेरो यहस् सादुभाव । अस्तु ! [न्यूपोर्ट न्यूज, भर्जिनिया, अमेरिका]
 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया