मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सन्दर्भ: जीवन बिमा जनचेतना महिना

सन्दर्भ: जीवन बिमा जनचेतना महिना


अमेरिकामा प्रत्येक वर्ष सेप्टेम्बर महिनालाई जीवन विमा जनचेतना महिनाको रुपमा मनाउने गरिन्छ । यो वर्ष पनि जीवन विमासम्बन्धी संघ संस्थाहरुले यसलाई निरन्तरता दिएका छन् । जीवन विमाको महत्वका बारेमा जनमानसलाई जानकारी उपलब्ध गराउनु नै यसको उद्देश्य हो । लामो समयदेखि यस पेशामा आवद्ध भएको नाताले यस सामग्रीमा जीवन विमाको बारेमा नेपाली समाजलाई जानकारी गराउने सानो प्रयास गरिएको छ।  
 
अहिले जीवन बिमाको महत्व अमेरिकी समाजमा मात्रै होइन विश्वभरी नै बढेको छ । विशेषगरी कोभिड १९ महामारीको कारण पनि यसबारेमा जनमानसको चासो र महत्व बढेको हो । सन् २०१९ को अन्त्यतिरबाट शुरु भएको यो महामारीका कारण विश्वभरी हालसम्म ४५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अझै पनि यो महामारीको शिकार हुने क्रम रोकिएको छैन । विश्वका सबै मुलुकका जनतालाई यसले प्रभाव पारिसकेको छ । यो महामारीबाट कहिले विश्वले पूर्णरुपमा छुटकारा पाउछ भन्ने कुने ठेगान छैन ।
 
एक्कासी शुरु भएको यो महामारीले लाखौं मानिसको ज्यान लिएको मात्रै छैन, मृतकका परिवारलाई आर्थिक समस्यामा पारिदिएको छ । मृत्यु भएका लाखौंका परिवारको मूख्य आम्दानीको स्रोत सुकेको छ । उनीहरु आर्थिक समस्यामा परेका छन् । परिवारको मूख्य आम्दानीकर्ता नै नरहेको अवस्थामा परिवार आर्थिक समस्यामा पर्नु स्वभाविक नै हो । कोभिड महामारी एउटा उदाहरण मात्रै हो । यस्ता महामारी कुनै पनि बेला कुनै पनि रुपमा उत्पन्न हुन सक्छन् ।
 
यसप्रकारका महामारी वा अन्य कुनै कारण व्यक्तिको मृत्यु हुन गएको अवस्थामा परिवारलाई पर्न जाने आर्थिक भारलाई कम गर्ने पहिलो उपाय हुनसक्छ जीवन विमा । व्यक्तिको मृत्युका अनेक कारण हुन सक्छन् । तर ती सबै मृत्युबाट परिवारलाई पर्ने आर्थिक भारलाई कम गर्ने उपाय हो जीवन बिमा। निश्चित आम्दानी भएकाहरुको लागि त झन् जीवन बिमा अत्यन्त उपयोगी माध्यम बन्न सक्छ भने आफ्नो मृत्युपछि पनि परिवारको लागि आर्थिक जोहो गर्ने सोचाई भएकाहरुका लागि यो नै सबैभन्दा प्रभावकारी माध्यम हुनसक्छ ।
 
जीवन विमा भनेको कुनै पनि व्यक्तिले विमा कम्पनीसँग गरेको करार हो, जुन आफू जिउँदै भोगचलन गर्ने गरी वा आफ्नो मृत्युपछि आफ्नो परिवारलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले गरिएको हुन्छ ।
 
जीवन बिमालाई भविष्यको लगानी पनि भन्ने गरिन्छ । व्यक्तिले बिमा कम्पनीलाई निश्चित समयमा निश्चित रकम प्रिमियमको रुपमा बुझाएको हुन्छ । बिमा कम्पनीले सोही रकम निश्चित समयपछि वा व्यक्तिको मृत्युपछि बिमा गर्ने व्यक्तिले बुझाएको रकममा निश्चित प्रतिशत जोडेर सम्झौता अनुसार फिर्ता गर्छ । अथवा बिमा लेखमा गरिएको सम्झौता अनुसार बिमितका विभिन्न आर्थिक दायित्वको जिम्मेवारी कम्पनीले बेहोर्छ । बिमालेख खरिद गरेपछि विमितले तोकिएको समयमा प्रिमियम तिर्नुपर्छ । विमितको मूख्य जिम्मेवारी नै यही हो । बाँकी दायित्व बिमा कम्पनीको हुन्छ ।
 
जीवन बिमाका प्रकार
अमेरिकी बजारमा सामान्यतया दुई प्रकारका जीवन बिमा पोलिसी रहेका छन् । टर्म लाइफ अर्थात निश्चित समयको लागि खरिद गरिने जीवन बिमा। यसप्रकारको विमा खरिद गर्ने व्यक्तिको विमालेख समयभित्रै मृत्यु भएमा मात्रै परिवारले विमित रकम भुक्तानी पाउछन्। बिमालेखमा तोकिएको समय समाप्त भएपछि विमा स्वत: समाप्त हुन्छ । विमित व्यक्तिले कुनै पनि रकम फिर्ता पाउनेछैन । १०, १५, २०, ३० वर्षको समयावधि राखेर यसप्रकारको बिमा पोलिसी खरिद गर्न सकिन्छ । यसरी तोकिएको समयावधि भित्र बिमा गरिएको व्यक्तिको मृत्यु भएमा उसको परिवारले बिमा रकम पाउछन् ।
 
अर्को प्रकारको जीवन विमा हो, पूर्ण जीवन विमा। यसप्रकारको विमा पोलिसी खरिद गर्नेले पनि निश्चित समयसम्म नै प्रिमियम तिर्नुपर्छ तर विमा रकम प्राप्त गर्नको लागि व्यक्तिको मृत्यु हुनु पर्छ भन्ने छैन। विमा लेखमा तोकिएको समय समाप्त भएपछि व्यक्तिले आफ्नो रकम फिर्ता पाउछ भने सो अघि नै उसको मृत्यु भएमा परिवारले रकम पाउँछन् । यसैले पनि यसप्रकारको विमालाई भविष्यको लागि लगानी भन्ने गरिएको हो । टर्म लाइफ पोलिसीको तुलनामा पूर्ण जीवन बिमाको प्रिमियम महंगो हुन्छ । टर्म लाइफमा जाखिम कम हुने हुनाले बिमा कम्पनीले सस्तो प्रिमियममा बिमालेख बिक्री गर्ने गर्दछन् । तर पूर्ण जीवन बिमामा व्यक्तिको मृत्यु भए वा नभए दुवै अवस्थामा कम्पनीले भुक्तानी गर्नुपर्छ । त्यसैले यस्ता पोलिसीको प्रिमियम बढी हुने गर्दछ ।
 
बिमा विक्रीमा बृद्धि
विश्वभर फैलिएको कोरोना महामारीले जीवन बिमाको आवश्यकता बढाइदिएको छ । लाइफ इन्स्योरेन्स मार्केटिड एण्ड रिसर्च एशोसियसन(लिमरा)का अनुसार सन् २०२१ को पहिलो ६ महिनामा जीवन बिमा खरिद गर्ने अमेरिकीहरुको संख्यामा गत वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिदर सन् १९८३ यताको सबैभन्दा धेरै हो । विमालेख खरिदको लागि खर्च गरिने प्रिमियम रकम पनि यो वर्षको दोस्रो चौमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ । समग्रमा पहिलो ६ महिनाको अवधिमा प्रिमियम रकम १८ प्रतिशतले बढेको एशोसियसनको अध्ययनले देखाएको  छ ।
 
कोभिड १९ महामारीको कारण अमेरिकीहरुमा जीवन बिमा खरिद गर्नुपर्ने आवश्यकता महसुस भएको अध्ययनले देखाएको छ । महामारीको कारण व्यक्तिको मृत्यु हुने सम्भावना बढेपछि अमेरिकीहरुले आफ्नो परिवारको आर्थिक सुरक्षार्थ जीवन बिमाको आवश्यकता देख्न थालेका हुन् । अमेरिकी बिमा कम्पनी युएसएएले गरेको अध्ययन अनुसार ४६ प्रतिशत अमरिकीहरुसंग जीवन बिमा छैन । अध्ययनमा संलग्न जीवन बिमा खरिद नगरेका ४० प्रतिशत सामान्य नागरिकले आफ्नो मृत्युपछि आफ्नो परिवारले बढीमा एक वर्ष मात्रै आर्थिक भार वहन गर्न सक्षम रहने बताएका छन्। जीवन बिमा भए अवश्य पनि यस्तो अवस्था रहदैन । त्यसैले पनि जीवन बिमा परिवारको आर्थिक समस्याको समाधान भएको पुष्टि हुन्छ। ४७ प्रतिशत अमरिकीहरु पैसा नै आफ्नो मृत्युपछि परिवारको लागि महत्वपूर्ण हुने बताउछन् । तीमध्ये ३१ प्रतिशतले जीवन बिमा आफ्नो परिवारलाई सम्पत्ति हस्तान्तरण गर्ने राम्रो माध्यम भएको ठान्छन् ।
 
हुन पनि व्यक्तिले आफ्नो जीवनमा अनेक प्रकारका आर्थिक जिम्मेवारीहरु लिएको हुन्छ। गाडी, घर, सन्तानको शिक्षा अनेक क्षेत्रमा उसले आफ्नो आम्दानी खर्च गरिरहेको हुन्छ । तर आर्थिक जिम्मेवारीमा रहेको व्यक्तिको अचानक मृत्यु भएको खण्डमा परिवारका सदस्यलाई त्यो जिम्मेवारी वहन गर्न गाह्रो पर्छ । यदि जीवन विमा खरिद गरेको छ भने परिवारले त्यो रकम त्यसप्रकारको आर्थिक जिम्मेवारीमा खर्च गर्न सक्छन् । आफ्नो परिवारलाई आर्थिक समस्याबाट मुक्त बनाउनका लागि जीवन बिमा खरिद गर्नु अत्यन्त बुद्धिमानीपूर्ण काम हो ।
 
जीवन बिमा खरिद गर्दा धेरै विषयमा ध्यान दिनुपर्छ । सबभन्दा पहिले बिमा पोलिसीको बारेमा राम्रो जानकार हुनुपर्छ । कस्तो प्रकारको जीवन बिमा हो भन्नेबारेमा प्रष्ट नभइकन खरिदको निर्णय गर्नुहुन्न । धेरै नेपालीले जीवन बिमा खरिद गरेका छन् । तर आवश्यक जानकारीविना खरिद गरिएका कारण बेला बेलामा ठगीमा परेका घट्ना पनि नभएका होइनन् ।
 
अमेरिकी नेपाली समाजमा अहिले थुप्रै सामाजिक संस्थाहरु कृयाशील छन्। नेपालीलाई विमासम्बन्धी जनचेतना जगाउने नाममा पनि संघसंस्था कृयाशील छन् तर धेरै नेपालीहरु विना पर्याप्त जानकारी विमालेख खरिद गर्ने गरेका छन् । यसरी खोलिएका कयौं संघ संस्थाका प्रतिनिधिहरु आफैले विमा खरिद नगरेको पाइएको छ ।
 
धेरैले संस्थामा नेतृत्व गर्ने आफ्नो उद्देश्यलाई ध्यान दिएर आफ्ना गतिविधि गर्ने गरेका छन् । चुनावपछि उनीहरु हराएर जान्छन् । त्यसैले पर्याप्त जानकारीविना बिमा खरिद गरिएको अवस्थामा त्यसले प्रतिफल नदिने मात्रै होइन आफूले बुझाएको प्रिमियम रकम नै डुब्ने खतरा सधै रहिरहन्छ । यसको ज्वलन्त उदाहरण सन् २०१६ मा भएको विमा काण्डलाई सम्झिए पुग्छ । यस्ता प्रकारका समस्या जनचेतनाको कमीले गर्दा सिर्जना हुने गर्दछन् । बिमाका समग्र पक्षका बारेमा बुझेर मात्रै खरिद  गरेको खण्डमा यस्ता समस्या अवश्य पनि दोहोरिने छैनन् । यसकारण यो जनचेतना महिनालाई बिमाका बारेमा बुझ्न उपयोग गरौं । यसले अवश्य पनि तपाईको मात्रै होइन तपाईको परिवारको भविष्य पनि सुनिश्चित हुनेछ।