मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी

पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी


काठमाडौँ । पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । 
 
ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ६५ बल खेल्दै दुई चौका प्रहार गरे । यस्तै प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले ३० रनको योगदान दिए । उनले ४६ बलमा चार चौका हाने । 
 
नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाए । सो क्रममा उनले एक एक छक्का र चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले १५ रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुई दुई तथा नोसिना पोकानाले एक विकेट लिए । 
 
यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीका ब्याटस्म्यानलाई खुलेर खेल्न दिएनन् । उनले कसिलो बलिङ गर्दै चार विकेट लिए । लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिए । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना एक÷एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाई पेभेलियन फर्किए । 
 
बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए । आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यू गरेका सोबले पहिलो बलमै विकेट लिएका थिए । उनले पपुवा न्युगिनीका प्रारम्भिक ब्याटस्म्यान टोनी उरालाई पेभेलियन फर्काएका थिए । यस्तै सोमपाल कामीले एक विकेट लिए ।  
 
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो ।