मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नेपालीहरुको पहिलो चाड जनैपूर्णिमा

नेपालीहरुको पहिलो चाड जनैपूर्णिमा


हिन्दु पञ्चाङ्गअनुसार जनै पूर्णिमा श्रावणमास शुक्लपक्षको पूर्णचन्द्रका दिन पर्दछ । यो नेपालीहरुका निम्ति वर्षको पहिलो चाड हो । ब्राह्मण, क्षत्रीय, वैश्य जातिका लागि त यो सबैभन्दा महŒवपूर्णको चाड मानिएको छ । यस दिन हिन्दु मुलुकहरु र विशेषगरी नेपालका प्रत्येक नरनारीहरु बिहान सबेरै उठेर विभिन्न जलासयहरुमा स्नान, जप–ध्यान, आदि जस्ता नित्यकर्महरुबाट निवृत्त भएर शुद्ध, सुकिला–मुकिला, राम्रा र नयाँ–नयाँ कपडा लगाइ रक्षा बन्धनका निम्ति तयारी अवस्थामा रहन्छन् ।
 
प्रत्येकले अघिल्यै दिन आफूलाई वर्षभरि चाहिने जनैको जोहो गरी तिनलाई रङ्ग्याएर अभिमन्त्रणका लागि तयार पारी राख्ने गर्दछन् । जनैलाई शुद्ध र पवित्र पार्न शिवालय, गणेश मन्दिर या अन्य कुनै पवित्र स्थानमा चण्डी, रुद्रीको पाठ गरी शिवलिङ्गमा जलधारा सञ्चालन गरेर ब्राह्मणहरुद्वारा वेदका मन्त्रहरु उच्चारण गराई अभिमन्त्रित गर्नुपर्ने हुन्छ । यसरी एक निश्चित विधि र प्रक्रिया पु¥याएर अभिमन्त्रित गरिएको जनै र तागो बल्ल धारणयोग्य हुन्छ । यस्तो जनै र तागो पण्डित, पुरोहित, भाञ्जा, ज्वाईं या अन्य कुनै पूज्य आचरणवान् ब्राह्मणद्वारा पुरुषले दाहिने हातको नाडीमा तागो र गलामा जनै धारण गरिन्छ भने महिलाले देव्रे हातको नाडीमा धारण गर्ने गरिन्छ । पण्डितले तागो बाँधिदिँदा यो मन्त्र भन्ने चलन छ ।
 
येन बद्धो बलीराजा दानब्रेन्दो महावलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।।
 
भावार्थ : मैले तपाईंको हातको नाडीमा तपाईंकै रक्षाको लागि त्यही तागो (धागो) बाँधिदिँदै छु । जुन किसिमको धागो दानवहरुका राजा बलीका हातमा बाध्नाले उनको रक्षा भएको थियो । त्यसपछि पण्डितलाई सक्दो दक्षिणा दिएर भोजन गराई आफूले पनि भोजन गर्ने गरिन्छ । यस दिनको भोजन राम्रो, मीठो, विभिन्न परिकारको र स्तरीय हुन्छ ।
 
तागो र जनै दुवै कपासबाट बनाइन्छ । यी दुवै काँचो धागोबाट गाउँघरमा पनि बनाउन सकिन्छ तर केही झन्झट भने हुन्छ । त्यसैले आजकल सबैले बजारबाटै खरिद गर्ने गर्दछन् । तागोलाई आफ्नो चाहनाअनुसार रङ्ग्याउन सकिन्छ । पुरुष जातिले गलामा लगाउने जनैमा ६ ओटा सरा हुन्छन्, जसलाई पुनः ३/३ सराको अर्को दुई खण्डमा विभाजित गरिएको हुन्छ । यी दुवै खण्डका टुप्पा जोड्दा एक विशेष किसिमको गाँठो पारिन्छ जसलाई शिखा भनिन्छ । पहिलो खण्डका ३ सरालाई ब्रह्मा, विष्णु, महेशका प्रतीक र दोस्रो खण्डका ३ सरालाई कर्म, उपासना र ज्ञानका प्रतीक हुन भनेर मानिन्छ । जनैका यी ६ ओटा प्रत्येक सराहरुमा स–साना ९/९ ओटा अरु सरा हुन्छन् । यस किसिमको जनै अभिमन्त्रित गरिएपछि उपनयन कर्म गरेका पुरुष जाति मात्र धारण गर्न पाउने अधिकारी हुन्छन् । एक पटक लगाएको जनै टुट्न गएमा या विशेष परिस्थितिमा बाहेक अरु समयमा गलाबाट निकाल्न नमिल्ने धार्मिक प्रावधान छ । अभिमन्त्रित नगरिएको जनै वर्षभरिमा गरिने कुनै पनि कर्ममा प्रयोगयोग्य हुँदैन ।
 
जनैपूर्णिमालाई रक्षा बन्धन या गुरूपूर्णिमा पनि भनिन्छ । नेपालको तराईमा दाजुभाइहरुले आफ्ना दिदीबहिनीहरुद्वारा धागोबाटै बनेको राखी बाँध्ने चलन छ । जनै पूर्णिमाका दिन हातको नाडीमा बाँधेको तागो र राखीले तिहारमा फूलको माला बनाएर गाईको गलामा लगाउन पाइयो भने मृत्युपश्चात् बैतरणी नदी सजिल्यै तरेर स्वर्ग पुग्न सकिन्छ भन्ने जनविश्वास छ ।

जनै पूर्णिमाका दिन नेवार समुदायमा क्वाँटी बनाएर खाने–खुवाउने चलन छ । क्वाँटी बनाउनका निम्ति २/४ दिन अघिदेखि ९ थरीका गेडा–गुडीहरु पानीमा भिजाएर राखिन्छ । भिजाइएको गेडागुडीमा टुसा उम्रेपछि यो मिश्रणलाई पिनेर आफ्नो इच्छाअनुसार झोल या ठोस दुवै परिकार बनाउन सकिन्छ । यसै मिश्रणलाई क्वाँटी भनिन्छ । यो खाने र खुवाउने गर्नाले वर्षादको हिलोमा काम गर्दाखेरि शरीरमा गडेको चिसोको नाश हुन्छ, पाचन प्रणालीमा राम्रो सुधार हुन्छ र शरीरको राम्रो पोषण हुन्छ भन्ने विश्वास छ । आजकल क्वाँटीमा भाङ्ग–धतुरो मिसाएर नशालु बनाई खाने र खुवाउने चलन पनि चल्दै आएको छ । कतिपय नेवार समुदायले भ्यागुतोलाई यस धरतीमा पानीको वर्षा गराउने भगवान्को प्रतिनिधि मानेर पूजा गर्ने गरेको पनि पाइन्छ । यिनीहरु भन्छन्, भागुतो कोलाहल स्वर गरी कराउन थालेपछि मात्र वर्षायामको सुरू हुन थाल्छ । त्यसैले यिनलाई खुसी पारियो भने हामी बसेको ठाउँमा ठीक समयमा ठीक मात्राको वर्षा हुन्छ जसको कारणले गर्दाखेरि लगाएको खेतीपाती राम्रोसँग फस्टाउन पाउँछ अनि उत्पादन पनि वृद्धि हुन्छ भन्ने खालको जनविश्वास गरिन्छ ।
 
नेवार जातिले जनै पूर्णिमा पर्वलाई गुन्ही र पुन्हीको रुपमा मनाउने चलन पनि छ । आफूले वर्षभरिमा उब्जाएका जति थरिका खानेकुराहरु हुन्छन्, तिनलाई त्यतिनै थरिका चाडपर्व या उत्सवका रुपमा विशेष किसिमको भोजको आयोजना गरेर आफन्तहरुलाई डाकी खुवाउने र खाने गर्दछन् । नेवार जातिको भोज–भतेर गर्नमा ठूलो सोख हुन्छ । यसैले त भन्ने गरिन्छ–नेवार जातिका चाडपर्वहरु धेरै हुन्छन् । वर्षादको याममा गरिने सबै प्रकारका खेतीपातीको काम सकिएपछि आउने पहिलो चाड यस जनै पूर्णिमाका दिन नेपाल राज्यमा स्थित विभिन्न शिवालय मन्दिरहरु, बौद्ध स्तुपहरु, काठमाडौँको पशुपतिनाथ मन्दिर, भक्तपुरको कुम्भेश्वर महादेव मन्दिर, रसुवाको गोसार्इंकुण्ड, जनकपुरको गंगासागर र धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी महादेव, जुम्लाको दानसाधु, चितवनको देवघाट, मुस्ताङको मुक्तिनाथ मन्दिर आदि र भारतको काशी, गया, जगन्नाथ, कुरुक्षेत्र जस्ता धार्मिक पीठहरुमा श्रद्धालु भक्तजनहरुको जमघट हुन्छ । यी स्थानहरुमा पण्डित र ब्राह्मणहरुद्वारा तागो बाँध्ने व्यक्तिहरुको भीड लाग्छ ।
 
शुद्ध, सफेद, सेतो कच्चा कपासबाट धागो बनाइन्छ, जसलाई कच्चा धागो या काँचो धागो भनेर भनिन्छ । यही धागोबाट बनाइने तागो र जनैलाई आ–आफ्नो इच्छाअनुसारको रङ्गले रङ्ग्याउन सकिन्छ । यस्तो जनै वेदको मन्त्रद्वारा एक निश्चित विधि–विधान पु¥याएर अभिमन्त्रित गरेपछि मात्र प्रयोगयोग्य हुन्छ भन्ने चलनको सुरूवात सबैभन्दा पहिले सप्त ऋषिहरुले गरेका हुन् भन्ने शास्त्रीय कथन छ । यिनै ऋषिहरुले देखाएको बाटोलाई पछ्याएर हालसम्म अटुट रुपले यो पर्व मनाइँदै आइएको हुनाले यसलाई ऋषि पूर्णिमा भनेर नामाकरण गरिएको हो । हिन्दु धर्मशास्त्रहरुमा जनै पूर्णिमा (ऋषि पूर्णिमा)बारे पौराणिक कथनहरु धेरै भेटिन्छन्, जसमध्ये केहीलाई यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
 
वामन अवताररुपी विष्णु भगवान्ले दैत्य सम्राट बलीलाई पाताल पठाएपछि भनेका थिए– बली ! वर्षको एक पटक म तिम्रो ढोकाको पहरेदार बन्न पातालमा आउने छु । आफ्नो यसै भनाइअनुसार भगवान् विष्णु यसै समयमा बैकुण्ठ छोडेर पातालमा गएछन् । विष्णु भगवान् बैकुण्ठमा नदेखेपछि लक्ष्मी आत्तिएर एक साधारण महिलाको भेष धारण गरी उनको खोजी गर्दै पातालमा बली राजासामु पुगिछन् । यो दिन श्रावण पूर्णिमाको दिन परेको रहेछ । लक्ष्मीले मनमनले विचार गरेर एक्कासि बली राजाको पाखुरामा एक प्रियतम बहिनीको हैसियतले झैँ गरी रङ्गी–बिङ्गी पवित्र धागो (राखी) बाँधेर प्रणाम गरिछन् । एक अपरिचित महिलाबाट यस्तो अतुलनीय र महŒवपूर्णको काम भएको देखेर बली राजाले बडो प्रेमभावले लक्ष्मीलाई तिमी को हौ र यहाँ के कामको लागि आएकी हौ भनी सोधेछन् । लक्ष्मीले आफ्ना पति परमेश्वर विष्णु भगवान्लाई खोज्दै आएकी हुँ, कृपया उनलाई साथमा लिएर जान पाऊंँ भनिछन् । लक्ष्मीको कार्यबाट अतिप्रभावित भएर बली राजाले उनको सदिच्छा पूरा गर्ने कबुल गरे, जसअनुसार लक्ष्मीले विष्णु भगवान्लाई आफ्नो साथमा बैकुण्ठमा लिएर आएकी थिइन् ।

परापूर्वकालमा आफ्नी बैनी यमुनालाई भेट्न भनेर एक समयमा मृत्युदेव यमराज पृथ्वीमा आएछन् । उक्त दिन श्रावण पूर्णिमाको दिन परेको रहेछ, बैनी यमुनाले आफ्ना दाजु यमराजको भव्य स्वागत गरिछन् र बैनी–दाजुबीचको माया–ममता सदाको निम्ति अटल र अबर रहोस् भन्ने प्रतिज्ञा गर्दै दाजुका दाहिने हातको नाडीमा एक सुन्दर र आकर्षक राखी बाँधिदिइछन् । आफ्नी बैनी यमुनाको यस्तो ममतामयी कार्यबाट अति प्रसन्न हुँदै आजको यस दिन बैनी–दिदीबाट जो पुरुषले आफ्ना हातको नाडीमा राखी धारण गर्नेछ, त्यस पुरुषको चारैतिरबाट सुरक्षा हुनेछ र दीर्घायूको पनि भएर जानेछ भनेर घोषणा गरेछन् ।
 
जनैपूर्णिमा जस्तो पावनपर्वका दिन पवित्र वेदका मन्त्रहरुद्वारा अभिमन्त्रित गरेर हातको नाडीमा बाँधेको तागो, राखी र गलामा धारण गरेको जनैले व्यक्तिलाई भयबाट दैवी विपत्तिबाट सुरक्षित पार्दछ र मन ढुक्क भई आत्मबल बढेर जान्छ भन्ने लोकोक्ति छ । शक्तिशाली गायत्री मन्त्रको जप गर्दा जनैको प्रयोग गर्न अनिवार्य हुन्छ । आज जनै पूर्णिमा जस्तो गरिमामय चाडको यस सुखद घडीमा देश, विदेशमा छिरलिएर रहने सम्पूर्ण नेपालीहरुप्रति मेरो तर्फबाट यहाँहरु सबैको सुस्वास्थ्य, दीर्घायू, अटल सौभाग्य, आरोग्य, ऐश्वर्यको निम्ति मंगलचरण हार्दिक शुभकामनासहित सादुभाव । अस्तु !
 
(न्यूपोर्ट न्यूज, भर्जिनिया, अमेरिका)