नेपाल

निर्मला पन्तको दोषी पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित |
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका सम्बन्धमा शीघ्र दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर प्रधानमन्त्रीले शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न निर्देशन दिएका हुन् ।  
 
निर्मला हत्या प्रकरणको आज तीन वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले चासोपूर्वक दोषी पत्ता लगाउन र कारबाही गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग सो प्रकरणमा हालसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन् । 
 
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्,  “निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।”
 
कञ्चनपुरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या भएको आज (साउन १० गते) ३ वर्ष पूरा भएको छ । विसं २०७५ साउन १० गते विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् । जघन्य अपराध भएको तीन वर्ष बित्दासमेत अनुसन्धान निष्कर्षमा पुग्न नसकेको तथा दोषी पत्ता लाग्न सकेको छैन । रासस
 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया