मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नौ लाखको लोभमा सैनिकले गरे आफ्नै मिल्ने साथीको हत्या

नौ लाखको लोभमा सैनिकले गरे आफ्नै मिल्ने साथीको हत्या

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली सेनाको द फेमस महेन्द्र दल, शिवपुरीमा हुद्दा पदमा कार्यरत धादिङको निलकण्ठ नगरपालिका–१३ बस्ने ३६ वर्षीय भरत गुरूङको हत्या आरोपमा उनकै साथी सिपाही गंगाधर ढकाल पक्राउ परेका छन् ।  
 
ढकालले चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडामा ९ लाख रुपैयाँका लागि गुरूङको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी सो हत्या प्रकरणबारे जानकारी दिएको हो ।  
 
भरतपुर महानगरपालिका–१७ सिमलडाँडास्थित घोलमा बिहीबार गुरुङको शव फेला परेको थियो । गुरुङको टाउकोमा गोली लागेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  
 
प्रहरीले घटनास्थलमा गोलीको खोकासमेत भेटिएको थियो । ढकाललाई प्रहरीले बिहीबार रतपुर–२० चनौलीबाट पक्राउ गरेको हो । प्रहरीले झाडीमा फालेको एसएमजी हतियार एक थान, एक थान गोलीको खोका, नगद आठ लाख रूपैयाँसहित घटनामा प्रयोग भएका सामग्री बरामद गरेको पत्रकार सम्मेलन गरी जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीका अनुसार हुद्दा गुरुङ गत पुसमा शान्ति सेनाको मिसनमा गई लेवनानबाट फर्किएका थिए । शान्तिसेनामा जाँदा कमाएको रकमबाट उनले चितवनमा जग्गाको बैना गरेको बताइएको छ । उनले ग्लोबल आइएमई बैंकमा रहेको आफ्नो खाताको चेक मिल्ने साथी ढकाल दिएका थिए ।
 
तर, ढकालले साउन ३ गते भरतको हस्ताक्षरसमेत आफैँले गरी बैंकबाट ९ लाख रुपैयाँ निकालेको पाइएको छ । जसमध्ये एक लाख रुपैयाँ आफैँसँग राराखी बाँकी ८ लाख रुपैयाँमध्ये ६ लाख  आफ्नो श्रीमतीलाई ६ लाख र बाँकी दुई लाख आफ्नो बुबालाई दिए ।  
 
साउन ५ गते मृतक गुरुङले जग्गा पास गर्न आफू चितवन आउनुपर्ने बताएपछि ढकाल मोटरसाइकल लिएर काठमाडौँबाट गुरुङलाई चितवन ल्याएपछि उनीहरु होटलमै बास बस्छन् । 
 
चितवनका प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार ६ गते भरतका माइलो बुबाका छोरा रविनको भरतपुर–१९ शारदानगरस्थित घरमा पुग्छन् ।  
 
त्यही दिन बजार घुमाउन लगेका ढकालले गुरुङलाई अत्याधिक मादक पदार्थ खुवाई रातभर मोटरसाइकलमा घुमाएर असार ७ गते बिहान ५ बजेतिर सिमलडाँडानजिकै पुगेपछि गोली हानेर हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
 
सुरुमा पिसाब लाग्यो भनी मोटरसाइकल रोकेका ढकालले मोटरसाइकलको पछाडि बसिरहेका गुरुङलाई दायाँ कान नजिकबाट गोली प्रहार गरे । उनी भुइँमा लडेपछि ७ मिटरको दूरीमा रहेको कुलोमा फालेर ढकाल घटनास्थलबाट फरार भए ।  
 
उनले घटनामा प्रयोग भएको हतियार भरतपुर–८ स्थित गरुवास्थित झाडीमा फालेर आफू पूर्वी चितवनको सौराहाचोकस्थित फुपूको घरमा पुगेका थिए । प्रहरीले शुक्रबार अनुसन्धानका लागि उनको फुपूको घर पुगेको थियो । 
 
प्रहरकिा अनुसार सिपाही ढकाललाई मुलुकी अपराधसंहिता–२०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसूरअन्तर्गत दफा १७७ बमोजिम जन्मकैदको सजायको माग गरिएको छ ।