मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमालेमा बाटो बिराएकालाई आममाफी भयो : अध्यक्ष ओली

एमालेमा बाटो बिराएकालाई आममाफी भयो : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताएका छन् । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताए ।
     
“पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, देशका कुरा गरौँ, एकताका कुरा गरौँ”, अध्यक्ष ओलीले भने, “बाटो बिराएका र भड्किएकालाई आममाफी भयो ।”
     
पार्टी एकतालाई आग्रह गर्दै उनले भने, “आउनोस् मिलेर काम गरौँ, यस आन्दोलनलाई मजबुत गरौँ, एकजुट भएर जाउँ ।” यसअघि विभिन्न चरणका पार्टीको आचारसंहिता र विधि उल्लङ्घन गरेको भन्दै एमालले केहीलाई कारवाहीको घोषणा गरेको तर पुष्पलालको स्मृतिका अवसरमा पार्टी अध्यक्ष ओलीले सबैलाई आममाफी दिने घोषणा गरे । 
 
उनले भने, “म सङ्गठनको प्रमुख हुँ, तर साथीहरू मलाई कु गर्दैछन्, कहिले अध्यक्षबाट हटाउने भन्छन्, केही साधारण सदस्यबाटै हटाउने भन्छन् ।” उनले फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपको बिरुवालाई सानोतिनो हावा हुन्डरीले केही असर नपार्ने जिकिर गरे ।
      
अध्यक्ष ओलीले कुनै पनि आन्दोलले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएको स्पष्ट पारे । “मैले समृद्ध नेपाल स् खुसी नेपाली राष्ट्रको सङ्कल्पका लागि काम गरेको हुँ”, उनले भने, “यो आन्दोलन कर्कलाको पानी होइन, हल्लाउँदमा टुप्लुक्क झर्ने, यो सङ्घर्षको मैदानमा उत्रिएको छ ।” 
     
प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेश, स्थानीय तहमासमेत एमाले पहिलो पार्टी भएको स्मरण गराउँदै अध्यक्ष ओली वर्तमान सरकार सर्वोच्च अदालतको परमादेशमार्फत बनेको र अदालतले न्यायालयप्रति मर्यादा हुने गरी काम गर्नुपर्ने बताए । पुष्पलालले देखाएको बाटो र प्रेरणाबाट अघि बढ्न उनले सबैलाई आग्रह गरे । 
 
एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टी एकता र सुदृढीकरणको अभियानमा जानुपर्ने जरुरी भएकासमेत बताए । एमालेका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८० मा रामेछापमा भएको थियो  भने २०३५ साल साउन ७ गते निधन भएको थियो । उनले २००६ सालमा पहिलो पटक नेपालमा नेकपाको स्थापना गरेका थिए । रासस