मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

जापानमा अब यस्तो एनआरएनए देख्न नपरोस् !

जापानमा अब यस्तो एनआरएनए देख्न नपरोस् !


त्यसै कसैलाई छिःछि भन्ने रहर हुँदैन । त्यसका गतिविधिले उक्त शब्द उचारण गर्न बाध्य बनाउँछ । त्यस्तै भएको छ अहिले एनआरएनए जापानमा । हुन त हामी यतिबेला विश्वकै सभ्य मुलुकहरुमध्ये पर्ने जापानका छौँ । जहाँ हामी कर्म गरिरहेका छौँ ।  र, पनि हाम्रा गतिविधि भने सभ्य छैन । व्यक्तिमात्र नभई नेपालीका लागि भनेर स्थापना गरिएको संस्थाहरु भष्ट्राचारमा चुर्लुम्म डुबेको देख्दा उदेक लागेर आउँछ। अझ आफूलाई नेपाली साझा संस्था भनेर कहिल्यै नथाक्ने एनआरएनएभित्रको गतिविधिले हरेक नेपालीको मुखबाट छिःछि भन्ने शब्द आएको छ । 
 

आफूलाई एनआरएनएका अभियन्ता घोषणा गर्नेहरु जापानमा अरु कुरा त छोडौँ, संस्था अनि संस्थामा नेतृत्व गरेका महाशयहरुले हरेक ठाउँमा भष्ट्राचार गरेका छन् । यतिसम्म कि जापानमा दुर्घटना परेर मृत्यु भएकाहरुको परिवारलाई आएको राहत रकम पनि बीचैमा खानेहरु देख्दा छिःछि एनआरएनए नभनी कसले आहा एनआरएनए भन्न सक्ला र ? 

 
एनआरएनए जापानमा स्थापनादेखि अहिलेसम्म भष्ट्राचार हुन रोकिएको छैन । जसका कारण व्यापक विरोध आएपछि त्यस्का निम्ति छानविन समिति बन्यो । नेपालीहरुको साझा संस्था भनेर दाबी गरिएको एनआरएनए, जापानमा व्यापक भष्ट्राचार भयो भनि आवाज उठेपछि एनआरएनए आइसिसीद्वारा छानविन गर्न समिति नै गठन गरिएको  थियो । 
 
एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङका संयोजकत्वमा उच्चस्तरीय छानविन समितिले एनआरएनए जापानको वर्तमान कार्यसमितिलगायत पूर्व कार्यसमितिहरू र छानविनसँग सम्बन्धित सरोकारवाला जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उच्चस्तरीय छानविन समितिको कामलाई परिणाममुखी बनाउन सकारात्मक सहयोग लागि अपिल गरेको थियो । 
 
समितिले एनआरएनए जापानले सन्‌ २०१५ मा महाभूकम्पको सहयोगार्थ उठाइएको रकम प्रयोग सम्बन्धमा, सन्‌ २०१८ मा सम्पन्न नेपाल फेस्टिबलमा विभिन्न संघसस्थाले दिएको सहयोग रकम वार्षिक प्रतिवेदनमा उल्लेख नगरेको सम्बन्धमा, आध्यात्मिक सेवा केन्द्र जापानद्वारा प्रदान गरिको सहयोग रकमको सम्बन्धमा, स्मारिका प्रकाशनमा अनियमितता भएको भन्ने सम्बन्धमा उजुरी रहेको बताइएको थियो। 
 
लामो समयको प्रतीक्षापछि छानविन समितिको प्रतिवेदन त आयो तर उक्त प्रतिवेदन हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै भएको छ। किनकि प्रतिवेदनमा भष्ट्राचार, अनियमिता त भयो भनिएको छ। तर, भष्ट्राचार अनि अनियमितता कसले गर्‍यो भन्ने आँट गरिएको छैन। यसलाईई जापानवासी नेपालीले कसरी बुझ्ने ? गहन प्रश्न तेर्सिएको छ। 
 
एनआरएनए जापान भष्ट्राचार अनि अनियमितातामा डुबेर आइसिसीद्वारा हस्तक्षेपकारी भूमिकाअन्तर्गत निर्वाचन अनुगमन समितिको निगरानीमा परेको अवस्था छ। अध्यक्षलाई हटाएर वरिष्ठ उपाध्यक्षलाई अधिवेशन सम्पन्न गर्नका लागि कार्यबाहक दिइएको छ। जाँदा जाँदै पनि हालै सदस्यता बनेका र नवीकरण गरेको सदस्यता रुजु गर्न ५ लाख ३२ हजार येन ज्याला भन्दै भुक्तानी गरिएको छ। 
 
सामाजिक संस्थाका भोलिन्टियर गर्छु भनेर जाने, ज्याला भुक्तानी भनेर रकम निकासा गर्ने, ककसलाई भुक्तानी गरेको हो अत्तोपत्तो छैन। जिज्ञासा राख्दा गएका वर्षहरुमा अहिलेको भन्दा डबल खर्च हुन्थ्यो रे १ लाजको पसारो । यी र यस्तै दर्जनौँ प्रकरणमा ओसाकामा हुन लागेको अधिवेशनमा हरेकले अवश्य जवाफ माग्ने छन् । उदेकचाहिँ के लागिरहेको छ भने कामचलाउ समितिले छोड्ने बेलामा पनि अनियमितता गर्न छोडेन । 
 
यतिबेला नयाँ नेतृत्वका लागि एनआरएनए जापानको अधिवेशन नजिकिँदै जाँदा जापानका यस संस्थाको नेतृत्व लागि इच्छा जनाउनेहरूको चहलपहल बढेको छ। एनआरएनए जापानको १०औँ अधिवेसन सम्पन्न गर्नको लागि यसअघि नै निर्वाचन समितिको आयुक्तमा डा. नेत्रप्रकाश भण्डारी, ऋषभ पौडेल  र गृष्मा पौडेल चयन भएका हुन्। विवादका कारण गृष्मा पौडेलले भने राजीनामा दिएकी छिन्। जापानमा सन् २००४ मा स्थापना भएको एनआरएनएको १० औँ अधिवेसन जुलाई २५ तारिक ओसाकामा आयोजना हुँदै छ। सदस्यताका लागि करिब १२ हजारले आवेदन दिएकोमा अहिलेसम्म ९ हजार २७३ जनाको सदस्यता स्वीकृत भएको बताइएको छ। करिब १ लाख नेपालीको जनसंख्या रहेको जापानमा १० प्रतिशतमात्र नेपालीले एनआरएनएको सदस्यता हुनुले पनि यसप्रति जापानमा नेपालीको भरोसा अनि विश्वास कति छ भन्ने प्रष्ट हुन्छ। 
 
पछिल्लो समय जापानमा एनआरएनएको नेता बन्नका लागि सामाजिक सञ्जाल रंगिएका छन्। भोट माग्नेको ताँति नै देख्न सकिन्छ। आफूले जितेपछि सारा काम गर्ने ठेली नै प्रस्तुत गरिएका छन्। थाहा छ, चुनाव जितेपछि केही हुनेवाला छैन। अन्त्यमा एनआरएनएमा अब जितेर आउनेलाई एउटैमात्र अनुरोध छ। एनआरएनएमा गएर केही काम गर्न नसके पनि तपाईंहरुका गतिविधिले छिःछि एनआरएनए भन्न नपरोस् । 
 
(लेखक नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार हुन्।)