मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री देउवाले पाए विश्वासको १६५ मत

प्रधानमन्त्री देउवाले पाए विश्वासको १६५ मत


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् । 
 
आइतबार भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । जसमा केपी ओली पक्षका सांसदहरु गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, कृष्णकुमार (किसन) श्रेष्ठ, पार्वती विशुंखे, हिराचन्द्र केसी, बिना बुढाथोकी र सविना हुसेनले देउवालाई मत दिएका न् । 
 
देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् । 
 
मतदानमा २४९ सांसदले भाग लिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगरेको जानकारी दिए । 
 
सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । 
 
प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् । 
 
गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त भएका हुन् । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।