मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

भारतीयलाई नेपाल जाँदा भिसा नचाहिने एनआरएनलाई चाहिने दर्दनाक हो

भारतीयलाई नेपाल जाँदा भिसा नचाहिने एनआरएनलाई चाहिने दर्दनाक हो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । एनआरएनए एनसिसी अमेरिकाका नवनिर्वाचित अध्यक्ष बुद्धि सुवेदी चुनाव सकिएकाले जीत हारको विषय पनि समाप्त भएको हुँदा अब सकारात्मक उत्साहका साथ अमेरिकामा बस्ने नेपाली समुदायका पक्षमा सक्रियरुपमा काम गर्ने बताएका छन् ।

‘चुनावमा उम्मेदवार हुने सबै पक्षलाई समेटेर अगाडि बढ्ने, सदस्यता अभियानका त्रुटिलाई सुधार गर्ने, नेपाली नागरिकताको निरन्तरता अभियानलाई केन्द्रमा राखेर मुद्दाका रुपमा उठाउने, एनआरएनए एनसिसी अमेरिकाको कार्यालय भवन बनाउने मेरो प्रथामिकतामा हुन्छन्’, सुवेदीले भने ।
 
एनआरएनए आइसिसीमा आबद्ध सदस्यताका हिसाबले सबैभन्दा ठूलो एनसिसीको नेतृत्व लिने तयारीमा रहेको बुद्धि सुवेदीले बुधबार बिहान हिमालयखबरका    विकासराज न्यौपानेसँगको अन्तर्वार्ताका क्रममा आजीवन सदस्यता लिनेको भवितव्य बिमासमेत गर्ने योजना सुनाए । प्रस्तुत छ, अन्तर्वार्ताको सार संक्षेप ।
 
चुनाव भयो प्रतिस्पर्धा थियो तपाईं अगाडि हुनुभयो । यसलाई कसरी विश्लेषण गर्नुभएको छ ?
 
अब जीत हार भन्ने रहेन । यो सबै नेपाली डायोस्पोराको जीत हो । एनआरएनए अमेरिका गैरराजनीतिक संस्था हो । अहिले यहाँ आबद्ध समुदायले मलाई जिम्मेवारी दिनुभएको छ । म मेरो क्षमताले भ्याएसम्म इमान्दारिकताका साथ नेपाली समुदायको हितका लागि काम गर्छु । जति सक्छु राम्रो काम गर्ने प्रयास गर्छु । समुदायलाई अप्ठ्यारो पर्ने खालको कुनै पनि काम गर्ने छैन । म सकारात्मक उत्साह (पोजेटिभ भाइभ)का साथ अगाडि बढ्छु । समुदायमा पनि पोजेटिभ भाइभ ल्याउनुपर्छ भन्ने सोच म राख्छु र यही उत्साहका साथ नेपाली समुदायको हितका लागि खटिने छु ।

चुनावी अभियानका क्रममा विभिन्न सहरमा पुग्नुभयो, कार्यक्रम गर्नुभयो । नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभयो, यसबाट तपाईंले के अनुभव गर्नुभयो ?
 
नेपाली समुदाय अमेरिकाभर छरिएर बस्नुभएको छ । समुदाय कहाँ कसरी बस्नुभएको छ भन्ने मलाई चासो थियो । जिज्ञासा थियो । म पहिलेदेखि यस्तोमा यसमा रमाउने मान्छे पनि हो । यसले गर्दा पनि सकेसम्म चुनावको क्रममा धेरै ठाउँमा पुगेर कुरा सुने । अनुभवहरु आदानप्रदान गरियो । अमेरिका ठूलो छ, त्यसैले विभिन्न सहरमा पुग्दा समय लाग्यो । भोलिका दिनमा काम गर्न सजिलो होस् पनि भनेर सकेसम्म भ्याएसम्म धेरै ठाउँमा जाने प्रयास गरेँ । समुदायका समस्या सुझाव उहाँहरुका अनुभव बुझ्ने मौका पाएँ । भोलिका दिनमा संस्थाले के गर्नुपर्छ भन्ने इच्छा–आकांक्षा सुन्ने र बुझ्ने मौका पनि पाएँ । समयका हिसाबले लाग्यो नै । आउने दुई वर्ष पनि समय दिनैपर्छ । जानुप¥यो, भेट्नुप¥यो समुदायमा सहयोग गरिदियोस् भन्ने चाहना पनि हुँदा रहेछन् यसलाई सहज रुपमा लिनुपर्छ । मैले त्यसरी नै लिएँ ।

चित्त नबुझेका कुरा पनि केही छन् कि?
 
नराम्रो कुरा केही छन् । मेरो कार्यकाल सकिँदा चुनावी प्रक्रियामा धेरै सुधार भएको देख्नुहुन्छ । आउने साधारण सभामा पनि केही कुरा परिवर्तन गर्न सोचमा हामी लागिरहेका छौँ । चुनावी प्रक्रिया, सदस्यता अभियानमा केही परिवर्तनका लागि प्रस्ताव भई कार्यसमितिबाट स्वीकृत पनि भएको छ ।
 
केही सुधार गर्नुपर्ने विषय पनि छन् । मुख्यरुपमा सदस्यता वितरण अभियानमा केही परिवर्तन गर्नुपर्ने आवश्यकता देखेको छु । यसमा अलि परिस्कृत गरेर नयाँ ढंगबाट लानुपर्छ । आइडीमात्र होइन, सदस्यता लिन लाइभ फोटो चाहिने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ । एकै जनाले धेरै सदस्य बनाउने गरिएको गुनासो पनि सुन्नमा आएका छन् । यसमा सुधार गर्न सदस्यता लिनका लागि गिफ्टकार्डमार्फत शुल्क तिर्न नपाइने व्यवस्था गर्न सकिन्छ । कार्डमा उसको नाम भएको हुनुपर्ने व्यवस्था गरेमा यसमा केही सुधार हुन्छ । यो सुधार गर्ने योजना मेरो प्राथमिकतामा छ ।
 
‘वान भोट वान डिभाइस’ भन्ने व्यवस्थाका कानुनी जटिलता भएकाले यो हटाउनुपर्ने देखियो । यो डिलिट हुँदैछ । मेम्बर बन्ने कुरा अब गिफ्टकार्डबाट बन्न नपाइने हुनुपर्छ । राम्रो काम गर्दा सदस्यता वढ्छ म यसमा ढुक्क छु । राम्रो काम गरेपछि स्वतःस्फूर्तरुपमा सदस्यता बढ्छ ।
 
चुनावका क्रममा साधन र स्रोत खर्च भयो । साँच्चै जीत निकाल्न निकै कठिन थियो । चुनावका क्रममा मन नपरेका कुरा केही छन् कि ?
 
यस्तो त मलाई लाग्दैन । अमेरिका ठूलो ठाउँ भएकाले सकेसम्म बढीभन्दा बढी समुदायका सदस्यलाई भेट्न खोज्दा समय र स्रोत लाग्छ । तर, बाहिर भनिएजस्तो खर्जिलो भने होइन । कति साथीहरुले खान, बस्न पनि आफैँ व्यवस्था गर्नुभयो । चुनाव जित्नकै लागि भोट किनबेच भयो भन्ने पनि मलाई लाग्दैन । यो मेरो जानकारीमा छैन, थाहा पाउने कुरा पनि भएन । तर, भोलिका दिनमा यस्ता गुनासो पनि सुधार गर्नेतिर लागिन्छ । संस्था ठूलो हुँदैछ । सुधार पनि भइरहेको छ । संस्थामा सुधार गर्दै जानु पनि पर्छ । परिमार्जन र सुधार अनुभवका आधारमा गर्ने हो । म सबै कुरा सकारात्मक देख्छु ।
मेरो लक्ष्य सबै च्याप्टर २९ राज्यमै पुग्ने थियो । सबैमा सम्भव भएन २७ मा पुगेँ । म पुग्नुको पनि यथोचित कारण छ । म गएर समुदायका कुरा प्रत्यक्ष सुन्न पाएँ भने आत्मीयता भयो भने समस्याहरुका विषयमा बुझ्न पाइयो भने काम गर्न सजिलो हुन्छ ।
 
प्रत्येक सहरमा बस्ने समुदायका आआफ्ना समस्या हुन्छन्, २७ राज्यमा पुग्दा के अनुभव गर्नुभयो ?
 
धेरै ठाउँमा जाँदा धेरैको चासो भनेको संस्था एकदमै सदस्यमुखी होस् भन्ने छ । धेरैको चासो नेपालमा हाम्रो कदर होस्, नेपाली नागरिकताको निरन्तरताको कुरा पूरा होस् । नेपालमा घरजग्गा सम्पत्ति राख्न सहज होस् । लामो समयदेखि यसमा नियम कानुन नबनेकाले अमेरिका एनआरएनएले केही गरिदिओस् भन्ने मैले पाएँ । यो प्रश्न र चासो प्रायः सबै ठाउँमा आयो । हामीले अब आउने कामको पहिलो प्राथमिकतामा यही एजेण्डा हुन्छ । यसका लागि हामीले नेपालमा दबाब दिन डेलिगेट लिएर जानेलगायत सम्भव भएसम्मका सबै प्रयास गर्छु ।
 
कति ठाउँमा सामुदायिक केन्द्र बनाउन सहयोग गर्नुप¥यो भन्ने छ । दोस्रो पुस्ताका भाई बहिनीलाई कसरी सहयोग गर्न सकिन्छ जस्ता मुद्दा उठेका थिए । यस्तै प्रश्न प्रायः उठेका थिए ।
 
नागरिकताको निरन्तरता आजको भोलि नै हुन्छ । यो मुद्दा सल्टिन्छ भन्ने होइन । यसका लागि कहीँ न कहीँ उठाउनुपर्छ अगाडि मुद्दाका रुपमा लैजानुपर्छ भन्ने छ । नेपाल हाम्रो मातृभूमि हो । हामीलाई नेपालको माया छ । तर, पर्यटक भएर जानुपर्ने, टुरिस्ट भिसा लगाउनुपर्ने अवस्था छ यो दर्दनाक विषय हो । यो विषय उठाइएन भने यो विषय त्यसै सेलाएर जान्छ । हामीले हाम्रो समस्याको विषयमा कुरा उठाउनै पर्छ ।
 
भारतीयहरु नेपाल आउँदा भिसा लिनु नपर्ने, हामी आफ्नो देशमा आमाबा, दाजुभाइ, नातेदार भेट्न नेपाल जान टुरिस्ट भिसा लिनुपर्ने अवस्था त मन दुख्ने नै हो नि ? मैले एक चरणमा यो राजदूतसमक्ष उठाइसकेको छु । सिकागोमा राजदूतसँग यो कुरा राख्दा उहाँले राम्रो कुरा उठाउनु भयो भन्नुभयो । सकारात्मकरुपमा लिनुभएको छ ।
 
नागरिकताको निरन्तरता मुद्दा अमेरिकामा बस्ने समुदायका लागि बढी चासोको विषय हो । तर, यो मुद्दा त्यसरुपमा उठेन भन्ने छ नि ?
 
म यसका लागि पहल गर्न विशेष पहल गर्छु । एनआरएनएको सुरूवात ‘एकपटकको नेपाली सधैँको नेपाली’ अभियानका रुपमा भएको हो । यसका लागि विभिन्न चरणमा काम गर्न सोचमा म छु । अरु एनसिसीसँग समूह बनाएर काम गर्ने मेरो सोच छ ।
 
नेतृत्व लिएपछि के कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
 
माथिको विषयबाहेक अर्को मेरो प्राथमिकतामा एनआरएनए एनसिसीको आफ्नो भवन बनाउनु मेरो प्राथमिकता हो । अहिलेसम्म एनआरएनए अमेरिकाको कार्यालय छैन । अध्यक्षको व्यक्तिगत ठेगानामा वा महासचिवको ठेगानामा पत्राचार गर्नुपर्ने अवस्था छ । मेरो कार्यकालमै एनआरएनए अमेरिकाको भवन तयार पार्ने मेरो लक्ष्य छ । पहिलो बैठकमै कार्यसमितिका सदस्यसँग यो प्रस्ताव राखेर छलफल गर्छु । भवन बनाउने मेरो प्राथमिकतामा पर्छ । अर्को कर्पोरेट कन्सेप्टमा संस्थालाई लैजाने प्रस्ताव पास भएको छ । अब विभिन्न निकायबाट सहयोग अनुदान लिने मेरो प्राथमिकता हुन्छ ।
 
चुनावपछिको दरारलाई कसरी मिलाएर लैजानुहुन्छ ?
 
म सबै चुनावमा उम्मेदवार बन्नुभएका साथीहरुलाई सम्पर्क गरेर उहाँहरुका एजेण्डासमेत समावेश गरेर अगाडि बढाउन सकारात्मक छु । उहाँहरुलाई यो अभियानमा सँगै लिएर जानुपर्छ । यसको विकल्प छैन । सँगै मिलेर जाने हो । चुनाव सकियो हामी आफ्नो उद्देश्यमा मिलेर अगाडि बढ्नुपर्छ । यसमा मलाई उहाँहरुको सहयोग पनि आवश्यकपर्छ ।
 
एनआरएनए अमेरिकामा सदस्यता बनाउनै कठिन छ किन ?

तुलनात्मक रुपमा बढ्दै छ । तर, जति हुनुपर्ने हो त्यो भएको छैन । संस्था सदस्यमुखी बन्नै पर्छ । संस्थामा राजनीति बढी भयो भनेर चासो नदिने पनि हुनुहुन्छ । वास्तवमा संस्थाले समुदायको चाहनाअनुसार अझ केही गर्नुपर्ने म देख्छु । मेरो विचारमा आजीवन सदस्यको बिमा गरिदिने, समूहमा बिमा गर्न सकिन्छ । यसले गर्दा आजीवन सदस्य बन्ने चासो बढ्छ । यो संस्थाले नै आजीवन सदस्यता लिनेका लागि बिमा गरिदिन सकिन्छ । लाइफ मेम्बर बढ्दा संस्था पनि मजबुत बन्छ ।
 
नेपाली समुदायमा व्यवसायमा पनि बढिरहेको छ, नेपालमा लगानी गर्न पनि पुगेका छन्, व्यवसायको यो स्थितिका बारेमा के भन्नुहुन्छ ?

हामी नेपालीको व्यवसायमा गर्ने चाहना कमजोर छ । म बिजनेसतिरको विद्यार्थी पनि हो । म जहाँ बसेको छु सानो ठाउँ भए पनि ६५ परिवारले व्यवसाय गर्नुहुन्छ । व्यवसाय गर्न चाहने नेपालीलाई प्रोत्साहन गर्नुपर्छ । मिलेर कलेक्टिभरुपमा लगानी गर्न सकिन्छ कि यसको पनि सम्भावना छ । तर, व्यवसाय गर्ने पहिलेभन्दा अहिले बढेको छ । नेपालमा पनि लगानी गर्ने चाहना हाम्रो छ । तर, यसमा पहिले पहिले लगानीका लागि सक्षम हुनुपर्छ । नेपाल अमेरिका दोहोरो कर हटाउने विषयमा पनि हामीले निरन्तर पहल गर्नुपर्छ । यसमा कानुनी पक्ष पनि छन् । तर, पहल गर्न छाड्न हुन्न ।