मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रोग र भोकको सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीको आग्रह

रोग र भोकको सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीको आग्रह


काठमाडौँ । पाँच पूर्वप्रधानमन्त्रीले कोरोनाविरुद्ध खोपको समुचित व्यवस्था गर्दै निषेधाज्ञाका कारण बन्देजको अवस्थामा विपन्न, श्रमजीवी वर्ग एवं समुदायमा परिरहेको मर्काप्रति संवेदनशील  हुन सरकारसँग माग गरेका छन् ।  
 
कमजोर वर्ग तथा समुदायमा परेको रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजनासहित अग्रसर हुन उनीहरुले सरकारसँग अनुरोध गरेका हुन् ।   
 
उनीहरुले संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि हमला भइरहेको भन्दै त्यसविरुद्ध ऐक्यवद्धता जनाउँदै आज अपिल गरेका छन् ।  
विज्ञप्तिमा नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहेको उल्लेख गरेका छन् ।  
 
संयुक्त विज्ञप्तिमा भनिएको छ “प्रधानमन्त्रीका क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुङ्गा, वालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने कार्यक्रम ल्याउनु  राष्ट्रहित र जनविरोधी छ ।”
 
उनीहरुले यस्तो गलत निर्णयबाट अत्यन्त संवेदनशील अवस्थामा रहेको नेपालको भू–बनौटमा असर पर्न गई गम्भीर पर्यावरणीय समस्या सिर्जना हुनेछ उल्लेख गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्ने पूर्वप्रधानमन्त्रीमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराई छन् । रासस