मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएले यसै वर्षदेखि अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको थालनी गर्ने

एनआरएनएले यसै वर्षदेखि अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको थालनी गर्ने


बोस्टन, अमेरिका । गैरआवासीय नेपाली संघको भाषा, साहित्य,संस्कृति तथा सम्पदा समितिले प्रत्येक वर्ष गैरआवासीय नेपाली लेखकहरुको नेपाली वाङ्मयमा प्रकाशित पुस्तकमध्ये एक उत्कृष्ट पुस्तकलाई अरनिको पुरस्कार दिने घोषणा गरेको छ । 
 
सोमबार सम्पन्न नेपाली भाषा, साहित्य तथा संस्कृति अन्तर्राष्ट्रिय पुरस्कार अक्षयकोष प्रबन्ध समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले विक्रम सम्वत २०७७ भरि प्रकाशित नेपाली वाङ्मयका गैरआवासीय नेपाली लेखकका पुस्तकहरुको संकलन यही जुलाई २०२१ सम्म गरिसक्ने निर्णय गरेको छ । त्यसका लागि अमेरिकाको बोस्टन , फ्रान्सको पेरिस र संघको अन्तर्राष्ट्रिय सचिवालय काठमाडौँमध्ये कुनै एक स्थानमा पुस्तक पठाउन सकिने छ । 
 
दुई लाख रुपैयाँको पुरस्कार राशी भएको पुरस्कार अक्टोबरमा सम्पन्न हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदान गरिने छ । 
 
अक्षयकोष सञ्चालन गर्न बनेको विनिमय २०७७ अनुसार प्रबन्ध समितिको संयोजकमा एनआरएनएका पूर्वकोषाध्यक्ष तथा भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापा, सदस्यहरुमा साहित्यकारहरु नयनराज पाण्डे, निलम कार्की निहारिका, ददी सापकोटा र सदस्य सचिवमा महेश्वर पन्त रहेका छन् । साथै सल्लाहकारहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगा उप्रेती, एनआरएनए अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने रहेका छन् ।  
 
समितिले पुरस्कार सञ्चालनका लागि पचास लाखको अक्षयकोषको स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म २१ लाखको प्रतिबद्धता जुटाइसकेको समितिका अर्थ संयोजक ईश्वरी भट्टले जानकारी दिए । त्यसैगरी अर्को वर्षबाट प्रवासमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदाका लागि योगदान दिएका महत्त्वपूर्ण व्यक्तित्वलाई समेत सम्मान र पुरुस्कृत गर्न थालिने सदस्य सचिव महेश्वर पन्तले बताए । 
 
उनका अनुसार प्रबन्ध समितिले मूल्यांकनका निम्ति विशिष्ट साहित्यकारहरु रहेको छुट्टै समिति बनाउने र सेप्टेम्बर महिनासम्म पुरस्कार घोषणा गरिने छ । कलाकार अरनिकोलाई पहिलो गैरआवासीय नेपालीको रुपमा समेत मानिएकोले पुरस्कारको नाम उनको र नेपाली कलाको सम्मानार्थ राखिएको अध्यक्ष पन्तले बताए । 
 
पुरस्कारका लागि पुस्तक लेखक स्वयं, प्रकाशक, संघसस्था वा लेखकका शुभेच्छुकहरुले तलका तीन ठेगानामध्ये कुनै एक ठेगानामा जुलाई मसान्त २०२१ सम्म विसं २०७७ मा छापिएको तीनप्रति पुस्तक पठाउनु पर्नेछ ।
 
(क ) Dadi Saokota 17 Rue Françis Perrin 91190 Gif-Sur-Yvette , France
(ख ) Maheshwor Pant 1646 Main St Walpole MA 02062
(ग ) गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सचिवालय , सुवर्ण शमशेर मार्ग , बालुवाटार , काठमाडौं ।