मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

ह्यारी र टीकाले शुरु गरे, अब यात्रा नथामियोस्

ह्यारी र टीकाले शुरु गरे, अब यात्रा नथामियोस्

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिजो राती युलेश सिटी काउन्सिलमा टीका पौडेलले चुनाव जितेको समाचारले अमेरिकी नेपाली समुदाय तरङ्गित भयो । करिब चार महिनाको अथक परिश्रम सफल हुँदा चुनावमा खटिएका सबै प्रफुल्ल नहुने कुरै थिएन । एउटा नेपाली अमेरिकी राजनीतिको मूलधारमा प्रवेश गर्नु र सफल हुनु खुशी र उत्साह दुबै एकसाथ हात लागेको अर्थमा बुझ्दा हुन्छ ।  
 
झण्डै दुईवर्ष अघि ह्यारी भन्डारीले मेरिल्याण्ड स्टेट डेलिगेटमा चुनाव जित्ताको तरङ्ग अझै सेलाएको छैन । अमेरिकी राजनीतिमा नेपालीले पाएको यो सबैभन्दा ठूलो सफलता थियो । आखिर लाग्दा त हुँदोरैछ ! भण्डारी निरन्तर लागिरहे , उनलाई सफलता हात पर्यो ।

त्यसैगरी यहाँका अन्य सहरहरुमा पनि नेपालीहरु सकृय हुँदैछन् , मूलधारलाई समातेर राजनीतिक यात्रा छिचोल्न प्रयास गर्दैछन् । यसले हाम्रो समुदायलाई चिनाउने र हाम्रा कुराहरु अमेरिकी समाजमा अन्तरघुलन गराउने काम गर्नेछ ।  
 
तर हाम्रै समुदायमा अर्को पक्ष पनि छ जसले यताको मूलधारभन्दा नेपालको राजनीतिलाई धेरै मलजल गर्छ । नेपालका स्यानाठूला दलका भारेभुरे नेतालाई खादा ओढाएर सम्मान दिन्छ । आफैंआफमा तनातान गर्छ । समुदायलाई नेपालको दलीय राजनीतिमा विभाजन गराउँछ । समाजलाई जोड्नु पर्ने सकृयता एक अर्काको सत्तोसराप गर्न तम्सिन्छ र जग हँसाइ निम्त्याउँछ ।  
 
मलाई सम्झना छ – सायद २००९ मा हुनुपर्छ्, सुशील कोइराला ह्युस्टन आउनुभाथ्यो । मेरैमा बस्नु भो । उहाँलाई कस्ले के कान फुकेका रैछन् , मलाई भन्नु भो -ताराजी यहाँ जनसंपर्क तँपाइकै कारणले गठन नभएको भन्ने साथीहरुको आरोप छ , यसलाई अघाडि बढाउनु पर्यो । 
 
मैले भने- दाइ ! तँपाइका सबैकुरा मानौंला तर यो कुरामा मेरो विमती छ । यहाँ मेरो परिचय नेपाली हो । मैले नै यसरी नेपालको दलीय कुरालाई मलजल गर्नेहोभने भोली अर्कोले गर्छ , पर्सी अर्कोले गर्ला !! यस्तो राम्रोसंग मिलेर बसेको हाम्रो समुदाय बाँडिन्छ । त्यसैले यो विषयमा मलाई जोड नगर्नु होला । 
 
सायद उहाँले मेरो आसय बुझ्नु भो । त्यस यता धेरैपटक भेट भयो , कुराकानी हुन्थ्यो तर उहाँले त्यो विषय कहिल्यै उठाउनु भएन ।  
 
यतिबेला अमेरिकामा २/३ गुटमा बाँडिएको जनसंपर्क देख्छु । प्रवाशी मन्च त्यसैगरी विभाजित देख्छु, दुख र ग्लानी हुन्छ । तर मैले सुशील दालाई दिएको त्यो जवाफ उपयुक्त रहेछ, म सही रहेछु । अहिले मलाई त्यसले सन्तुष्टी दिएकोछ । 
 
नेपालका आउटडेटेड नेताहरुको दौराको फेर समातेर घुम्नुभन्दा यतैको सामाजिक र राजनीतिक सकृयतामा समय दिनसके त्यसले आफुलाई त सन्तोष दिन्छ्नै  हाम्रो समुदायलाई समेत उर्जा दिन्छ । हामी यहाँ संगठित बनौं न । हामी नेपाली हौं , आफ्नो समाज र मातृभुमिको लागि सबै वैचारिक आग्रह बिर्सेर आआफ्नो क्षेत्रबाट योगदान गरौं न ।  
 
ह्युस्टनलाई हेर्नुस् त ! कसरी अहिलेसम्म नेपाली समुदाय नेपालको फोहोरी दलीय राजनीतिबाट मुक्त छ । सबैले आआफ्नो दिमागबाट त्यो दलीय सोच फाल्न सक्यौं ,एकता र स्वाभिमानी सम्बन्धलाई बलियो बनायौं भने अमेरिकी समाजभित्र आफ्नो समुदायको प्रभाव विस्तार गर्न क्रमश सफल हुनेछौं ।  
 
हिजो ह्यारी भण्डारीको सफलताले यहाँको मूलधारमा आज युलेसबाट टीका पौडेलको नयाँ जन्म भयो । भोली क्यालिफोर्निया र न्युयोर्कमा अर्को कुनै नेपाली उदाउने छन् । यो शुभयात्राको प्रारम्भ हो,अब यो यात्रा थामिनु भएन , निरन्तर चल्नु पर्छ ।