विचार / ब्लग

संस्मरणमा झापाबजार

प्रकाशित |
विसं २०२८ साल वैशाखदेखि मङ्सिरसम्म म डिल्लीराज हाइस्कुल झापामा शिक्षकका रूपमा कार्यरत थिएँ । त्यसबेला मैले झापाबजार जस्तो देखेँ त्यहीअनुरूपको चित्रण गरेको छु ।
 
सम्बत् २०२७ साल चैत महिनाको १० गते म सरस्वती स्कुलमा पढाइरहेको थिएँ । धनकुटा आकाशवाणी कार्यालयका गोपाल श्रेष्ठले मलाई एकैपटक दुईवटा आकाशवाणी थमाइदिए । एउटामा भद्रपुरबाट भरत पोखरेलले पठाएको स्कुलमा शिक्षक हुन आउनू भन्ने व्यहोरा थियो भने अर्कोमा काठमाडौँँबाट शिवशङ्करले पठाएको बिए पास भएको बधाई थियो । सोही बेलादेखि झापा जाने तयारी हुन थाल्यो । मलाई झापा पठाउन आमाले मन गर्नुभएन । दाजुको पनि विचार थिएन । तर, मलाई भने काठमाडौँँ गएर एमए पढ्नका लागि खर्च जोहो गर्नु थियो । योग्यताअनुसारको काम पनि पाउँछु होला भन्ने सोच थियो । त्यसैले मैले नै झापा जाने निधो गरेको थिएँ । यद्यपि तालमेल मिलिरहेको थिएन । सम्बत् २०२८ साल वैशाख महिनाको सुरुतिर झापाको जुरोपानी गाउँपञ्चायत भुँडेसिमलमा रहेको हाम्रो जमिनको नापी हुने खबर आयो । मलाई सोही प्रयोजनका झापा पठाउनुहुने भयो । धरानबाट वासुदेव वाग्लेसित म झपाको गौरीगञ्जतर्फ लागेँ । झापामा नापीको काम सकियो । झापामा केबल १९ वर्षको केटाले बिए पास गरेको सुन्दा अचम्म नमान्ने मानिस कमै भेटिए ।
 
भुँडेसिमलबाट वासुदेवजी र म झापाबजारतिर लाग्यौँ । मैले नै वासुदेवजीलाई आफूसित जान कर गरेको थिएँ । उहाँ पनि साहित्याचार्य सकेर कामको खोजीमा नै हुनुहुन्थ्यो । झापाबजारको शिवालयमा चिनजानका शारदा गिरीसँग भेट्ने पनि मनसुवा थियो, उहाँको । दुवैजना राती शिवालयमा नै बस्यौँ । बिहानको स्कुल रहेछ । अर्को दिन स्कुल जाने विचारले मैले धनकुटा बजारमा सिलाएको जुत्ता पालिस गराएँ । धर्मशालामा नै खानपिन गरी विश्राम गरियो । भोलिपल्ट स्कुल जाने बेलामा जुत्ता खोज्दा भेटिएन । निकैबेर खोजी गरेपछि जुत्ता आकारको अस्थिपञ्जर फेला प¥यो । भएको के रहेछ भने छालाको जुत्ता भएकाले कुकुरले लोभ गरेछ । विरूप मात्र होइन प्रयोग गर्नै नमिल्ने बनाइदिएछ । फसाद प¥यो । जुत्ता किन्ने पैसा हामी दुवैजनासँग थिएन । शारदा गिरीसँग पैसा सापट लिएर झापाबजारतिर दौडियौँ, जुत्ता किन्न । अचम्मै भयो । झापाबजारमा जुत्ता नै पाइएन । अब चप्पल किन्नुको विकल्प रहेन । चप्पल नै लगाएर स्कुल जानुपर्ने भयो । 
 
मेरो काम पक्का भयो तर नेपाली विषयको शिक्षक तत्काल आवश्यक नभएकाले वासुदेवजीलाई काम मिलेन । उहाँ गौरीगञ्ज नै फर्कनुभयो । मलाई सारै खल्लो लाग्यो । दुवैजना सँगसँगै काम गर्ने इच्छा थियो । छोटो समयमा हाम्रो मित्रताले घनिष्ठताको स्वरूप लिइसकेछ । मैले अम्बिकादेवी कोइरालाको घरमा खाने र शिवालयमा बस्नेगरी काम सुरु गरेँ । सोही चप्पलले ३ महिना काम चलाउनुप¥यो । धनकुटा गएपछि बल्ल अर्को जुत्ता सिलाउन लगाएँ ।
 
झापाबजार नेपाल–भारत सीमामा अवस्थित एउटा पुरानो बजार हो । यहाँ २००७ सालपूर्व जिल्लाको सदरमुकाम रहेको थियो । पृथ्वीनारायण शाहको शासनकालपूर्व झापा सेन वंशको अधीनमा थियो । इस्वी १७७७ मा अभिमानसिंह बस्नेत र पार्थ भण्डारीको नेतृत्वमा गएको गोर्खाली फौजले झापा कब्जा ग¥यो । त्यसबेला सेन राजा कर्ण सेन थिए । धेरै कालसम्म झापा मोरङ गोस्वाराअन्तर्गत नै थियो । श्री ३ चन्द्रशमशेरको पालामा जिल्ला विभाजन हुँदा गोस्वारा झापा गाउँ कायम भएपछि झापा सदरमुकाम भयो । 
चारैतिर जङ्गल नै जङ्गलको बीचमा थियो, झापा गाउँ । झापाका आदिवासी राजवंशी थिए । उनीहरूको भाषामा झापाल भनेको ढाकिएको अर्थात् ढकनी भन्ने हुन्छ । त्यसैले यस बस्तीलाई जङ्गलले ढाकिएको भन्ने अर्थमा झापाल भनिन्थ्यो । यही शब्द अपभ्रंश भई बस्तीको नाम झापा रहन गयो । श्री ३ चन्द्रशमशेरले ६२ बिघा जग्गामा स्थापना गरेको सैनिक किल्ला गढ रहेको चन्द्रगढी सम्बत २००७ सालको क्रान्तिपछि जिल्लाको सदरमुकाम बन्न पुग्यो । 
 
कुनैबेला जिल्लाको सदरमुकाम र व्यापारिक केन्द्र रहेको झापाबजार म पुग्दा केबल अतीत सम्झेर रमाइरहेको थियो । शिक्षाको नाममा एउटा डिल्लीराज हाइस्कुल र ३ वटा प्राथमिक विद्यालय थिए । झापाको फूलगाछीमा ठूलै बिर्तामौजा भएका डिल्लीराज गणेशले जग्गादान गरी भवनसमेत बनाइदिपछि झापाबजारमा हाइस्कुलको तहको पठनपाठन सुरु भएको थियो । ती दातासित पनि मेरो परिचय भयो । उनले आना कान्छा छोरा भक्तराजलाई पढाउने जिम्मा मैलाई दिए । मैले उनको घरैमा गएर पढाउने गरेँ । गर्मीको समय वैशाखदेखि श्रावणसम्म स्कुल बिहान सञ्चालन हुने गर्दथ्यो ।
 
स्कुलका प्रधानाध्यापक टहलदास अधिकारी हुनुहुन्थ्यो । उहाँ जिल्लाभरि टिडी सरका नामले परिचित हुनुहुन्थ्यो । कडा मिजासका शिक्षकका रूपमा उहाँको ख्याति थियो । उहाँको विश्वास जित्न पनि मलाई समय लागेन । हुन त सुरुमा म फुच्चेप्रति उहाँको सकारात्मक सोचाइ थिएन तर कुमरखोदका प्रधानपञ्च मोहनप्रसाद श्रेष्ठ (राइटर)समेतले मलाई विश्वास गरेको हुनाले उहाँले पनि मलाई विश्वास गर्नुभयो । छोटो समयमा नै म बजारमा घुलमिल भएँ । स्कुलमा पनि मेरो आनै पहिचान कायम भयो । 
 
स्कुलमा प्रधानाध्यापक टिडी अधिकारीसहित मिथिलेशकुमार मिश्र (भारतीय नागरिक), दुर्गाप्रसाद पोखरेल, रोहिणीप्रसाद उपाध्यायलगायत ७ जना शिक्षक थियौँ । त्यसबेला शिक्षकहरू विद्यार्थीकै घरमा खाने र त्यहीँ बस्ने गर्दथे । दुर्गाप्रसाद उगनलाल गणेशकहाँ र रोहिणी गङ्गा असईकहाँ बस्ने गर्दथे । रोहिणी र म गङ्गा असईको अस्थायी कटेरोमा बस्न थाल्यौँ । छोटो समयमा नै रोहिणी मेरा मिल्ने र हितैषी मित्र भइसकेका थिए । मेरो खानपिन अम्बिकादेवी कोइरालाकहाँ हुन्थ्यो । शम्भु र रमेशलाई पढाउने दायित्व भने मेरो थियो ।
 
धनकुटाका स्कुलमा कविगोष्ठी, वादविवाद, हाजिरीजवाफ जस्ता प्रतियोगिताहरू भइरहन्थे । झापामा रहँदा मैले हाजिरीजवाफ र वादविवाद प्रतियोगिता सञ्चालन गरेँ । त्यसबेला हाजिरीजवाफ सर्वथा नयाँ थियो । यस्ता कार्यक्रम भएका दिन विद्यालयमा झापाबजारका अभिभावकहरूको पनि उपस्थिति हुने गर्दथ्यो । झापाबजारमा मलाई छोटा मास्टर भन्ने गर्दथे । १९ वर्षको उमेरमा नै बिए पास गरी शिक्षक भएकामा सबै अचम्म मान्दथे । कति विद्यार्थीहरू त मभन्दा पनि जेठा थिए । सुरुमा म विद्यार्थीहरूलाई तपाईँ भनी सम्बोधन गर्दथेँ तर सो पाच्य भएन । स्कुलमा सानो छात्रावास पनि थियो । म अङ्ग्रेजी, इतिहास र भूगोल विषय पढाउँथे ।
 
स्कुलका शिक्षकहरूप्रति बजारमा ठूलो मानसम्मान थियो विवाह व्रतबन्धलगायतका अन्य चाडपर्वहरूमा शिक्षकहरूलाई प्रेमपूर्वक आमन्त्रण गरिन्थ्यो । छिमेकी गाउँका मानिसहरू शिक्षकलाई विशेष उत्सवमा बोलाउने गर्दथे । यस्ता कार्यक्रमहरूमा सहभागी हुन जाँदा सबैजना साइकल चढेर जान्थे तर मलाई भने साइकलमा समेत अरु कसैले लिट दिनुपर्दथ्यो । बिस्तारै मैले पनि साइकल चलाउन सिकेँ । यो मेरो झापा बसाइको महङ्खवपूर्ण उपलब्धि नै भयो ।
 
स्कुलमा पहाडी मूलका ब्राह्मण क्षेत्री नेवार राई भुजेल र पराजुलीहरू पढ्दथे । आदिवासी मूलका गनगाई, राजवंशी र मुसलमान समेत पढ्न आउँथे । तर, सतार समुदायका एकजना पनि विद्यार्थी थिएनन् । त्यतिबेलासम्म सतार जातिमा शिक्षाको उज्यालो घाम पुग्न सकेकै थिएन । कक्षामा विद्यार्थीहरू ज्यादै अनुशासित थिए । शिक्षकलाई बाटोमा भेट्दा साइकलबाट ओर्लने गर्दथे । यो उनीहरूको शिक्षकप्रतिको ठूलो आदरभाव थियो । समय बित्दै जाँदा म टिडी सरको पारिवारिक सदस्यसरह हुन पुगेँ । दिदी (गुरुआमा) तथा केटाकेटीहरू पनि खुब झुम्मिन थाले । उहाँहरूसित अहिलेसम्म पनि मेरो सम्पर्क कायमै छ । म काठमाडौँँमा एमए पढ्न आएको एक वर्षपछि उहाँ पनि बिएड् पढ्न सपरिवार काठमाडौँ आउनुभयो । दुःख सुखका बेला सँगै भइयो । उहाँसित भेटघाट भइरह्यो । अहिले पनि भद्रपुर पुग्दा उहाँको घरमा भलाकुसारी गर्न छिर्दछु ।
 
मेरो कोठाका साथी रोहिणी थिए । उनी खोटाङबाट आसामतिर बसाइँ सरी उतै पढाइ पूरा गरेर झापाको राजगढमा बसोबास गर्न थालेका थिए । उनले केही समय खोटाङमा पढाए । त्यसपछि झापा पढाउन आइपुगेका थिए । मित्रतामा उमेरको हिसाब छैन भन्ने तथ्य हामीले साबित गरिदिएका थियौँ । म राजगढ उनको घरमा पनि पुगेको छु उनी झापापछि चन्द्रगढी सरुवा भए । उतै बस्छन् । अहिले पनि हाम्रो सम्बन्ध उस्तै छ । उनी काठमाडौँँ आउँदा होस् वा म चन्द्रगढी जाँदा होस् हाम्रो भेटघाट भइरहन्छ । हामी झापामा साथै रहँदाको एउटा घटना ताजै छ ः
कात्तिकको महिना थियो बिहानीपख खुब जाडो हुने । एकपटक जाडो भएर रोहिणी र म राडी ओढेर सुतेका थियौँ । बिहानै दाजु आइपुग्नुभयो । हाम्रो चाला देखेर यसरी राडी पनि ओढ्ने हो भन्दै उहाँले सिरक किनिदिनुभयो । नेपाली विषयका शिक्षक दुर्गाप्रसाद पोखरेल शास्त्री शान्तिनगर निवासी थिए । पछि उनको अन्यत्रै सरुवा भएको थियो तर केही समयपछि उनी बितेको खबर पाएँ । झापा छाडेपछि उनीसित भेट हुन पाएन ।
 
मैले झापाको डिल्लीराज स्कुलमा पढाएका केही विद्यार्थीहरूसित हालसम्म पनि मेरो सम्बन्ध र मित्रता छँदै छ । तीमध्ये केहीको मैले स्मरण गर्नेपर्ने हुन्छ । मैले कक्षा दशसम्म पढाएका गोविन्द अग्रवाल र श्यामसुन्दर अग्रवाल २०२९ सालमा एसएलसी उत्तीर्ण गरी उच्चशिक्षाको सिलसिलामा काठमाडौँ आए मेरै आश्रयमा । लड्डुसाहेब बद्रीलाल श्रेष्ठ र गोपाल अग्रवालले लिएर आउनुभएको थियो । उहाँहरूले मेरो जिम्मा लगाउनुभयो । त्यसैले मैले झोँछेमा डेरा खोजी नेपाल कमर्स क्याम्पस मा भर्ना गरिदिएँ । दुवैलाई घरको नियास्रो लागेछ । केही महिना पछि त दुवैजना घर जाने कुरा गर्न थाले । मैले नै सम्झाएँ । उनीहरू र मेरो उमेरमा खासै फरक थिएन । समवयका साथी जस्तो । उनीहरूले मलाई सँगै बसौँ भनी कर गर्न थाले । उनीहरूको आग्रहलाई टार्न सकिनँ । हामी सँगै बस्न थाल्यौँ । सम्बत् २०२९ सालको दशैँमा घर गएका फेरि काठमाडौँ फर्किएनन्, उतै बन्दव्यापार गरेर बस्न थाले । गोविन्द अग्रवाल भने घुम्दै फिर्दै रुम्जाटार भने झैँ व्यापारकै सिलसिलामा काठमाडौँ आए । हाल उनी अमृतभोग क्याटरिङ सञ्चालन गरेर बसेका छन् । हाम्रो प्रेम अद्यापि छँदै छ । श्यामसुन्दरसँग सम्पर्क छैन, बिर्तामोड झापातिरै बन्दव्यापार गर्दै छन् भन्नेसम्म सुनेको छु । 
 
मैले विश्वविद्यालयमा सेवा गर्न थालेपछि झापाबाट एसएलसी पास गरी प्रेमकुमार सुवेदी, खुमानन्द सुवेदी, हरिलाल गणेश, गोमा सुवेदी काठमाडौँ पढ्न आए । प्रेमकुमार अमृत साइन्स क्याम्पस र अरू पाटन क्याम्पस (हालको नेपाल कमर्स क्याम्पस) भर्ना भए । कालन्तरमा हामी भोटेबहालको एउटै डेरामा पनि बस्यौँ । 
 
प्रेमकुमार सुवेदीले जीव विज्ञानमा स्नातकोत्तर गरी त्रिचन्द्र क्याम्पसमा पढाउँदै छन् भने खुमानन्द सुवेदी नेपाल राष्ट्र बैँकबाट अवकाश लिई बिर्तमोड झापामा आनै व्यवसाय सञ्चालन गर्दै छन् । सुरुमा उनलाई पाटन क्याम्पसमै सानोतिनो जागिर लगाइदिएको थिएँ, गोविन्द आचार्यको सदासयताबाट । पछि उनी राष्ट्र बैँकतिर लागे । उनीसँग मेरो सम्बन्ध छँदै छ । प्रेमकुमारसँग पनि यदाकदा भेट हुन्छ ।
 
हरिलाल गणेश नेपाल बैँक लिमिटेडबाट निवृत्त भई हाल विराटनगरमा बसोबास गर्दै छन् । उनीसित त झन पारिवारिक सम्बन्ध नै छ । सम्बत् २०३२ सालको फाल्गुनमा हरिलाल गणेशसितै झापा बजार पुगेको थिएँ । त्यसपछि भने जाने अनुकूल परेको छैन । 
झापा बजारमा आउँदा कुमरखोदका प्रधानपञ्च मोहन राइटर, जो मेरा आदर्श व्यक्ति हुन् । उनीबाट विशेष स्नेह पाएको थिएँ । उनै राइटर साहेबका छोरा विश्वकिरण श्रेष्ठलाई मैले कक्षा छ म पठाएको थिएँ । हाल कुनै मेडिकल कम्पनीका विशिष्ट पदाधिकारी बन्न पुगेका छन् । यदाकदा भेट हुन्छ । यी सबैजनासित भलाकुसारी गर्न पाउँदा मलाई अपार आनन्द लाग्छ ।
 
झापाबजारमा सबै जातजाति मिलेर बसेका थिए । पहाडिया, मधेसी, उच्च, नीच बीचमा कुनै राजनीतिक विभाजन थिएन । झापाबजारको बन्दव्यवसायमा माडवारी समुदायको एकाधिकार थियो । गोपालबाबु, चन्दाबाबु, भमरलाल, श्यामसुन्दर अग्रवाल आदि त्यहाँका मुख्य व्यापारी थिए । झापाबजारमा नेवार, ब्राह्मण, गणेश, क्षेत्री, माडवारी, कामत, राजवंशी, मुसलमान, सतार आदिको बसोबास थियो । पुलिसको जागिर खाई झापाबजारमा पुगेका अधिकांशले कालान्तरमा त्यहीँ बसोबास गर्न थालेका थिए । धनकुटाका बद्रीलाल श्रेष्ठ लड्डुसाहेब थानेदार भई झापाबजार पुगेका थिए । उनी कालन्तरमा त्यहीँ बसोबास गर्न थाले । धनकुटाका भएर होला मलाई निकै स्नेह गर्दथे । उनको घरमा प्रायशः तास खेल्नेको भिडभाड रहन्थ्यो । पर्वतका खडानन्द सुवेदी पनि थानेदार भई झापाबजार पुगेका थिए । उनले त आना भाइ सदानन्द सुवेदीलाईसमेत उतै बोलाई बसोबास गर्न थालेका थिए । 
 
खोटाङका शालिग्राम घिमिरे पनि असईको जागिर खाँदै झापाबजार पुगे । उनी पनि उतै बस्न थाले । घिमिरे परिवारसित मेरो पनि घनिष्ट सम्बन्ध थियो शालिग्रामका तीन छोरा एक छोरीमध्ये जेठा दीपक म झापा हुँदा काठमाडौँमा पढ्दै थिए भने प्रदीप, आतंक र ज्योतिलाई मैले पढाएको थिएँ । झापाको त्यही नाताले दीपकसँग काठमाडौँ आउँदा उठबस भयो । प्रेम बढ्यो । दुःख सुखका साथी भयौँ । हाम्रो सम्पर्क बढ्दै आयो । यही पृष्ठभूमिले गर्दा हाम्रै मिश्र परिवार (मेरी पनातिनी)सँग उनका छोराको विवाह हुन पुग्यो । थानेदार भोजविक्रम ज्ञवालीले पनि झापाबजारमै घर बनाएका थिए । गङ्गा असई पनि जागिर खाने क्रममा त्यसै बसाइँसराइ गरी बस्न लागेका थिए । एउटा अनौठो संयोग नै मान्नुपर्छ पुलिसमा जागिर खाई झापाबजारमा बसोबास गर्नेहरूको सङ्ख्या निकै ठूलो थियो । सिन्धुलीबाट आएका धनञ्जय बराल अन्तःशुल्कमा जागिरे थिए । उनले पनि मेरै चेली रुद्रासित विवाह गरी झापामै बसोबास गर्न थाले । 
 
झापाबजारमा सरकारी कार्यालय नाममा आयुर्वेदिक औषधालय, हुलाक, प्रहरी चौकी मात्र थिए । हुन त राष्ट्र बैँकको सटही काउन्टर पनि थियो । एकजना बङ्गाली कम्पाउन्डर थिए । झापाका नामुद डाक्टर । सबैका प्रिय । बाह्रै महिना व्यस्त रहन्थे । उनी धनकुटामा पनि बसेका रहेछन् ।
 
तत्कालीन समयमा झापाका धनीमानीको प्रसङ्ग चल्दा माडवारी सत्यनारायणको विशेष चर्चा हुन्थ्यो । झापाबजारबाट भद्रपुरसम्म पुग्दा अरु कसैको जमिनमा टेक्नु पर्दैन भन्ने भनाइ प्रचलित थियो, मानिसहरूमा । त्यतिबेला झापाबजार त्यति सुगम थिएन । सम्बत् २०२८ सालमा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा चालु भइसकेको थिएन । हिउँदमा मात्र यातायातका साधन चल्थे । बर्खामा भने खोलानालामा पुल नभएका कारण यातायात बन्द नै रहन्थ्यो । हिउँदमा पनि झापाबजार जान सुरुङ्गा, झिलझिले, दुर्गापुर, बिर्ताबजार, भद्रपुर हुँदै हिँडेरै जानुपर्दथ्यो । बर्सातमा भने झापाबजारबाट बिहारको दिघल बैँक, बहादुरगञ्ज, किशनगञ्ज, पूर्णिमा हुँदै जोगबनी नाकाबाट नेपाल छिरेर विराटनगर निस्कनुपर्दथ्यो । अर्थात् बर्सातको बेला झापाबजारसम्म पुग्न कष्टकर नै थियो । एकपटक दशैँमा धनकुटा जाँदा म झापाबजारबाट बयलगाडामा बहादुरगञ्ज पुगेर राती त्यहीँ बास बसी भोलिपल्ट उल्लिखित मार्ग हुँदै विराटनगर पुगेको छु । 
 
झापाबजारमा साताको दुईदिन हटिया लाग्दथ्यो । हटिया दिउसो २ बजे सुरु भई साँझसम्म चल्दथ्यो । त्यसबेला झापाबजारमा चियापसल दुइटा मात्र थिए । जसमध्ये पाचुको चियापसलमा दहीचिउरा, चना चिउरा र चियाखानेको भीड नै लाग्दथ्यो । मिठाई पसल एउटा मात्र थियो । त्यहाँ पाइने एउटा मिठाईको नाम नै पलङतोड राखिएको थियो । मदिरा भने खुलमखुला बिक्री हुँदैनथ्यो । मदिरा सेवन गर्ने त थिए तर गोप्य रूपमा घरमै बसेर मापासे गर्दथे । 
 
झापाबजारमा पहाडिया मूलका महिलाहरू बढी सक्रिय थिए । उनीहरू गाउँका भोजभतेर, पर्व तथा उत्सवहरूमा खुब रमाइलो गर्थे । सामूहिक भावनाको अनुपम नमुना देखिन्थ्यो । पुरूषहरू भने प्रायः खेतीपातीमा व्यस्त रहन्थे । फुर्सदको समयमा तास खेलिरहेका भेटिन्थे । तास खेल्ने मूल अड्डा लडसाहेबको घर थियो । शिक्षकले मदिरा सेवन गरेमा सुपाच्य ठानिन्नथ्यो । मैले चाल पाउँदा एकपटक गाउँ पञ्चायतका सचिव कुमार, प्राथमिक स्कुलको शिक्षक प्रधान सर र मेरा मित्रले लुकेर मदिरा सेवन गरेका थिए । त्यसबेला म शाकाहारी नै थिएँ । मैले मदिरा सेवन गर्ने कुरै भएन तर पहिलोपल्ट मापासेको प्रत्यक्षदर्शी बनेको थिएँ । 
 
झापाबजारमा सबै चाडपर्वहरू एकअर्का बीच सद्भाव राखी मनाइने गरिन्थ्यो । दशैँ–तिहार, तीजलगायतका पर्वमा पहाडिया मूलका मानिसहरू बढी रमाउने गर्दथे । झापामा विशेष पर्वहरूमा दधिकादो खेलिन्थ्यो । विशेषगरी कृष्णाष्टमीको दिन झापामा हाट लाग्ने स्थानमा हिलोमा खेलिने यो खेल हेर्दा खुब रमाइलो लाग्थ्यो । 
 
राजाको जन्मोत्सव धुमधामले मनाइन्थ्यो । राजा महेन्द्रको पचासौँ जन्मोत्सवमा म पनि सरिक भएको थिएँ । विद्यालयका शिक्षक, विद्यार्थीलगायत सर्वसाधारणको जुलुसले बजार परिक्रमा गरेका थियौँ । तिहारमा जुवाको खाल जम्थ्यो । झापाबजारमा ठूलो खाल बस्थ्यो । जुवा खेल्न भारतबाट पनि जुवाडे आउने गर्दथे । सम्बन्धित थानाका थानेदारसमेत खेलमा प्रत्यक्षदर्शी हुन्थे । जित्नेले जिताउरी दिन्थे । जुवा खेल्नेमा कतिपय शिक्षकहरू पनि पर्दथे । मैले पनि जिताउरीसम्म पाएको थिएँ । त्यसबेला हिउँदमा पनि झापाबजार यातायातबाट जोडिइसकेको थिएन । बर्सातको त कुरै नगरौँ । हिउँदमा मानिसहरू साइकल, बयलगाडा, घोडा आदि प्रयोग गरेर गन्तव्यसम्म पुग्ने गर्दथे । बर्सातमा त झापाबजारमा जुत्ताचप्पल लगाएर हिँड्ने अवस्था पनि थिएन, जताततै हिलै हिलो । बयलगाडा र घोडामा हिँड्नेलाई पनि सकस थियो । बर्सातको समयमा हुनेखानेको सवारी साधन भनेको हात्ती नै थियो । झापाबजारमा सत्यनारायण, फागुलाललगायतका एकादुईसित मात्र हात्ती थिए । तसर्थ बर्सातमा सर्वसाधारणको जनजीवन निकै कष्टकर हुन्थ्यो । एकपटक विद्यालयको कामले झापाबजारबाट भद्रपुरसम्म हात्ती चढेर यात्रा गरेको थिएँ । करिब एक हप्तासम्म खुब जिउ दुख्यो । 
 
झापाबजारदेखि २ किलोमिटर पर भारतको बिहारमा दिघल बैँक बजार छ । जहाँ झापाका मानिसहरू किनमेलका लागि पुग्ने गर्दथे । पुस र माघ गरी दुईमहिनासम्म त्यहाँ ठूलो मेला लाग्दथ्यो । सरकस, थिएटर, सिनेमा, नागनाच, तमासा सबै हुन्थ्यो । नेपालीहरू पनि फुर्सतको समय मेलामा सहभागी हुन जान्थे र धान बेचेको पैसा उतै बुझाउँथे । लब्धप्रतिष्ठित व्यक्तिसमेत उक्त मेलामा रमाउँथे । मेलामा नगरवधूहरूका लागि बेग्लै इलाका छुट्याइएको हुन्थ्यो । त्यहाँ लुकिछिपी जानेहरू धेरै हुन्थे । यस मेलामा गाई, भैँसी, घोडा, हात्ती जस्ता चौपायाको समेत बजार लाग्दथ्यो । 
 
झापाबजार मेरो प्रिय स्थल बनिसकेको थियो । शिवालयका शारदा गिरी, गङ्गा र शालिग्राम असईको परिवार अम्बिका कोइराला दिदी, रुद्रका दिदी र आमा, लड्डुसाहेब, मोहन राइटर, डिल्लीराज गणेश, फागुलाल गणेश, सुबेदार सबैबाट मैले स्नेह र माया पाएको थिएँ । बिहान–बेलुका केटाकेटी पनि पढाउने गर्दथेँ । तलब पूरै बचत हुन्थ्यो । विद्यार्थी सबै अनुशासित र गुरुलाई श्रद्धा गर्ने किसिमका थिए । 
 
बर्सात सकिएर हिउँदको आरम्भ हुनासाथ झापाबजारको रौनक नै अर्कै हुन्थ्यो । मैले प्रायः दशैँ धनकुटामा र तिहार झापामै मनाएको छु । झापाको तिहार खुब रमाइलो हुन्थ्यो । आज पनि ती स्मरण ताजै छन् । तिहारपछि काठमाडौँँ जाने कुरा चल्न थाल्यो । दसैँपछि विश्वविद्यालयमा भर्ना पनि खुलेको थियो । झापामा काम गर्नुको उद्देश्य पनि केही रकम जम्मा गरी एमए पढ्नु थियो । गर्मीको छुट्टी र दशैँमा घर जाँदा भएको पैसा उतै बुझाएको थिएँ । त्यसैले एक वर्ष जति काम गरेपछि मात्र पढ्न जाने सोच बनाएँ । तर, २०२८ साल कात्तिकमा कृष्णप्रसाद पोखरेलले काठमाडौँँ जाने र डा रामप्रसाद पोखरेलको क्लिनिकमा काम गर्ने व्यवस्था मिलाइदिनुभयो । 
 
जसमा दाजुले पनि सहमति जनाउनुभएको थियो । दाजु कात्तिकमै झापा आउनुभयो र काठमाडौँँ पढ्न जाने सल्लाह दिनुभयो । म असमजमा परेँ । अन्ततः काठमाडौँँ जाने नै निधो गरेर विद्यालय तथा शुभेच्छुकलाई खबर गरेँ । यो खबर स्कुल तथा बजारमा फैलियो । टिडी सर, रोहिणी, राइटर साहेब, लड्डुसाहेब, गङ्गा असई, शालीग्राम असई, डिल्लीराज गणेश, फागुलाल कसैले पनि मेरो बहिर्गमन रुचाएनन् । सबैले अरु १ वर्ष त्यहीँ बस्ने सल्लाह दिए । लड्डुसाहेबले त मेरो विवाह समेत गराउने सोच राख्नुभएको रहेछ । सबैतिरको अनुरोधबाट मेरो मन पग्लियो । अरु एक वर्ष बस्ने निधो गरेँ । सोही कुरा हवाई पत्रमार्फत दाजुलाई जानकारी दिन बेलुका हुलाकमा पत्र खसाएँ । एउटा मात्र मन भए पो ? धेरैवटा मन भयो । एउटाले जाने भन्छ अर्काले बस्ने भन्छ । रातभरि छटपटी भयो । अन्ततः जाने नै निधो गरेँ । बिहानै हुलाक गएर हाकिमसित अनुरोध गरी हवाइपत्र फिर्ता लिएँ । धन्न चलान भइसकेको रहेनछ । 
 
मैले स्कुल छाड्ने कुराले फेरि तहल्का मच्चियो । मेरो दृढ विश्वास सुनेपछि बीचमै स्कुल छाड्न पाइँदैन भन्न थालियो । शैक्षिक सत्र पूरा गर्नुपर्ने नभए तलबभत्ता नपाइने जस्ता कुरा पनि भए । सञ्चालक समितिका सचिवले पनि सोही विचार व्यक्त गरेँ । मैले राइटर साहेब र थानेदारसँग मेरा धारणा राखेँ । मैले पढ्ने दृढ इच्छा देखाएपछि दुवैजना मेरो कुरामा सहमत हुनुभयो । उहाँहरूले मलाई तलबभत्ता दिई छुट्टी दिन टिडी सर र फागुलालजीलाई सिफारिस गरिदिनुभयो । उहाँहरूले भनेपछि अरुले नमान्ने कुरै भएन । मङ्सिर १४ गते जाने तय भयो । सबै घरबाट मेरो बिदाइ हुन थाल्यो । विशेषगरी महिला समूह (आमाहरू)ले विस्मात गर्नुभयो । झापाबजारमा आएको रौनक चाँडै अस्ताएको समेत टिप्पणी भयो । स्कुलले बिदाइ समारोहको आयोजना ग¥यो । मालसामान खासै थिएन एउटा झोला न हो । मलाई बिदा गर्न विद्यार्थीहरू शरणामतीको बिरिङ खोलासम्म आए । त्यहाँसम्म आउनेमा रोहिणी र दुर्गा सर पनि हुनुहुन्थ्यो । झापाबाट बिदाइ भएर हिँडेको दिन गोलधापमा रहेको मैयाँ दिदीको घरमा बास बसेँ । भोलिपल्ट धरान पुगेँ, सम्झनामा हृदयभरि झापाबजार सँगालेर । 
 
धरान पुग्दा आमा त धनकुटाबाट सेलरोटी अनर्सालगायतका खानेकुरा लिएर आउनुभएको रहेछ । छोरो सानो, नेपाल जाने भनेदेखि नै उहाँलाई ठूलो चिन्ता थियो । आमाको मन न हो । सम्बत् २०२८ साल मङ्सिर १४ गते माधव दाइसित विराटनगरबाट प्लेन चढेर काठमाडौँँ उडेँ । काठमाडौँँ आएपछि पनि तीन महिनासम्म त झापाको सम्झनाले पिर्नुसम्म पि¥यो । बेकारमा काठमाडौँँ आएछु जस्तो पनि लाग्यो । उतै बसेर एमएको प्राइभेट परीक्षा दिएको भए पनि हुने रहेछ जस्तो पनि लाग्यो । झापाको सरस जीवन छाडेर काठमाडौँँको निरस जीवनमा प्रवेश गरेझैँ लाग्यो । विश्वविद्यालयका कक्षा सुरु भएपछि बिस्तारै मन बुझ्दै गयो । निकै छोटो समय बसे पनि मेरो जीवनमा दीर्घ छाप परेको ठाउँ हो, झापाबजार । मेरो दोस्रो घर नै झापाबजार हो झैँ लाग्छ, आज पनि । यद्यपि यी सबै आज केबल सम्झनामा सीमित छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया