मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

खाइ खाइ विकास गरौँ !

खाइ खाइ विकास गरौँ !


देशको विकास त्यसै हुँदैन
देशभक्तिको चर्को नारा लाउनु पर्छ
चाहेको ठाउँमा पुग्नु छ भने
ठूलाबडाको निवास सारा धाउनु पर्छ
पाउमा लम्पसार परेर भए पनि
ठूलाबडाको भजन गाउनुपर्छ
ज्ञापनपत्र बुझाएर भन्नुपर्छ कि
मेरो पनि पालो आउनुपर्छ
मुखले बोलेर मात्र राजनीति हुँदैन
दह्रो हातले पार्टीको झन्डा समाउनु पर्छ
जनताको मन जितेर भए पनि
दशतिरको कोषबाट खाइखाइ कमाउनु पर्छ
बल प्रयोग गरेर भए पनि
विरोधी जति सबैलाई ठेगान लगाउनु पर्छ
अरुलाई जोगाउने मन छ भने
खाइखाइ नै जोगाउनु पर्छ
 
गरिब बनेर राजनीति चलाउन सकिन्न
धनी बन्ने धुनमा धुन्धुकारी नै बन्नु पर्छ
नियम मिचेर गरेको काम सबै
नियम संगत नै छ भन्नु पर्छ
गुन लगाउन मन लाग्यो भने
आफ्नो गुटको मान्छे गन्नु पर्छ
सुन लगाउन मन लाग्यो भने
सुरक्षा निकायहरु छल्नु पर्छ
 
आफूखुसी गर्न नियम कानुनले रोक्यो भने
नीतिगत निर्णयमा पास गराइदिए हुन्छ
अख्तियारले आँखा लगायो भने
अधिकार काटेर तल झराइदिए हुन्छ
विपक्षीले त त्यसै विरोध गर्छन्
आफ्ना पार्टीकाले मन पराइदिए हुन्छ
कार्यकर्ताहरुले किचकिच गर्न थाले भने
कुनै शीर्षकबाट माना चामल भराइदिए हुन्छ 
 
प्रगति धेरै नभए पनि
समृद्धिको नारा घन्कनु पर्छ
खोले खाएर भए पनि
विश्वमा हामी चम्कनु पर्छ
जुठोलाई चोखो बनाउन यहाँ
सुनपानीले छम्कनु पर्छ
करै करको आम्दानीले भए पनि
विकासको पथमा लम्कनु पर्छ
विकासको पथमा लम्कनु पर्छ ।