मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना संक्रमणबाट पत्रकार कार्कीको मृत्यु, महासंघद्वारा दुःख व्यक्त

कोरोना संक्रमणबाट पत्रकार कार्कीको मृत्यु, महासंघद्वारा दुःख व्यक्त


काठमाडौँ । नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण ३४ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत स्तब्ध र दुःखी भएको जनाएका छन् । 
 
वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । १४ दिनदेखि उपचाररत कार्कीको शनिबार साँझ ८ः०० बजे उपचारको क्रममा निधन भएको हो ।
 
झापाको साविक दोरामारी गाविस निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । महासंघ च्यानल नेपाल शाखाको हालसमेत तीन कार्यकाल अध्यक्ष भएका कार्की प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य थिए । च्यानल नेपाल टेलिभिजनमा लामो समय समाचार प्रमुख भएर काम गरेका कार्की पछिल्लो समय जनता टाइम्स अनलाइनमा सम्पादकको र सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी वहन गर्दै आएका थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको विज्ञप्तिमा जनाइएको छ ।  
 
महासंघले स्वर्गीय पत्रकार कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ । 
 
नेपालमा कोरोनाकै कारण हालसम्म १३ जना पत्रकारको निधन भएको छ भने ७ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गरेको छ ।