मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न माग

प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न माग


काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले देशभर कोभिड–१९ का सङ्क्रमितको उपचारमा देखिएको समस्या समाधान गर्न तत्काल प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न सुझाव दिएकी छन् । 
 
सबै प्रदेशका प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गरी हरेक बिरामीको पहिलो स्क्रिनिङ त्यही सेन्टरबाट गर्ने र सेन्टरको सिफारिसमा अस्पतालहरुले उपचार तथा भर्ना गर्दा उपचारमा सहज हुने उनको भनाइ छ । 
 
उनले आज एक वक्तव्यमार्फत निजी अस्पतालले बिरामीसँग लिने शुल्कमा सरकारले कडा निगरानी राख्नुपर्ने, कोरोनाका बिरामीको स्वास्थ्य बीमा गर्नुपर्ने, प्रत्येक अस्पतालमा उपलब्ध बेड, अक्सिजन, आइसियू तथा भेन्टिलेटरको संख्या पारदर्शी तरिकाले वितरण गर्नुपर्ने माग गरेकी हुन् ।  
 
प्रत्येक अस्पतालमा चाँडो भन्दा चाँडो अक्सिजनको उपलब्धताको सुनिश्चितता गर्नुपर्ने, घरबाट अस्पताल जान नसक्ने विरामीको लागि यातायातको व्यवस्था गर्नुपर्ने, होम आइसोलेसनमा बसिरहेका संक्रमितहरूलाई नियमित स्वास्थ्य अनुगमनका लागि टोल–टोलमा स्वास्थ्यकर्मीको ‘मोबाइल’ टोली परिचालन गर्नुपर्ने र सबै अस्पताल तथा स्वास्थ्य केन्द्रमा स्वास्थ्य जन शक्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने उनको माग छ । 
 
विपन्न र तथा पिछडिएका समुदायका निम्ति नगद वा खाद्यान्नको व्यवस्था गर्नुपर्ने, खाद्यान्न र नगदको वितरण वडास्तरमा सर्वदलीय सहमति मार्फत गर्नुपर्ने तथा रोजगारी गुमाएका र दैनिक मजदूरी गर्ने विपन्न नागरिकको पहिचान गरी तत्काल राहतको व्यवस्था गर्न उनले माग गरेकी छन् । 
 
नेत्री संग्रौलाले पिसीआर परीक्षण व्यापक बनाउन, परीक्षण पोजिटिभ देखिएका बिरामीलाई सफा र सुरक्षित आइसोलेसन केन्द्रमा  राख्न, सिकिस्त बिरामीलाई अस्पतालमा रेफर गर्ने र एम्बुलेन्स उपलब्ध गराउन तथा पालिका र प्रदेशको बजेट खर्च गर्दा पहिलो प्राथमिकता कोभिड सङ्क्रमण रोकथाम र उपचारलाई दिन स्थानीय सरकारको भूमिका हुनुपर्नेसमेत उल्लेख गरेकी छन् । 
 
देशभर स्वास्थ्य सङ्कटका लगाइ अक्सिजनलगायतका अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न, कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन तथा जनताको जीवन जोगाउन आवश्यक सबै कदमहरु उठाउन उनले सरकारसँग माग गरेकी छन् । साथै उनले राष्ट्रिय संकटको यो घडीमा राष्ट्रिय सङ्कल्प आवश्यक पर्ने भएकाले तत्काल संसद् अधिवेशन आह्वान गर्न पनि माग गरेकी छन् । रासस